
विदेशी सिनेमामाथिको प्रतिबन्ध हटेपछि साउदीका सिनेमा हलमा नेपाली दर्शकले नेपाली सिनेमा हेरे
नेपाल हुँदा सिरहाबाट देहातका कथाव्यथा लेख्थेँ । वेलाबखत वैदेशिक रोजगारीसम्बन्धी रिपोर्टिङ पनि गर्थें । तर, आज म आफैँ काम गर्न साउदी अरब आइपुगेको छु । खाडीमा उन्नत भविष्यको कामना गर्दै खुन र पसिना बगाउँदै आएका नेपालीको कथालाई अझ नजिकबाट नियालिरहेको छु । मेरा दुई लंगुटिया यार साउदी अरबमा एउटै कम्पनीमा काम गरिरहेका छन् । एकजना सिभिल इन्जिनियर मनी दास र अर्का एचआर म्यानेजर मोहम्मद इसा राइन । ‘खाडीको कथा लेख्छु’, मैले एक दिन दुई साथीहरूलाई भनेको थिएँ । उनीहरूकै प्रेरणा र सहयोगले यो लेख्न सकेँ ।
आधुनिक साउदी बनाउने एमबिएसको दृढता
साउदी अरबलाई बुझ्न साउदीका युवराज मोहम्मद विन सलमानबारे बुझ्नुपर्छ । उनलाई छोटकरीमा ‘एमबिएस’ भनेर पनि चिनिन्छ । उनले साउदी अरबलाई आधुनिक देशको रूपमा अघि बढाउन भरपूर मिहिनेत गरिरहेका छन् । सामाजिक क्षेत्रमा बदलाब ल्याउन पनि उनी विभिन्न कार्यक्रमको नेतृत्व गरिरहेका छन् । उनकै कारण यहाँका युवा पहिलेभन्दा अहिले खुलापनको महसुस गरिरहेका छन् । त्यही भएर युवापुस्ताको उनी रोल मोडल बनेका छन् ।
एमबिएसको मेगा प्रोजेक्ट भनेको साउदी भिजन–२०३० हो । यसका निम्ति उनले साउदी अरबका हरेक क्षेत्रमा अर्बौं डलर लगानी बढाउँदै आधुनिक समाज निर्माण र परिवर्तनमा जोड दिएका छन् । भिजन–२०३० को औपचारिक घोषणा सन् २०१६ मा गरिएको थियो । जसको मुख्य लक्ष्य सन् २०३० सम्ममा साउदी अरबलाई पेट्रोलियम पदार्थको सट्टा नवीकरणीय ऊर्जा उत्पादनमा अब्बल आधुनिक देश बनाउने हो । त्यस्तै अन्य लक्ष्यमा आधुनिक कृषि, इ–सरकारी सेवा, सुविधा सम्पन्न धार्मिक पर्यटकीय स्थल निर्माण आदि रहेका छन् । साउदीले अत्याधुनिक सुविधासहितको लक्जरी होटेल, रेस्टुरेन्ट, पार्क रेड–सी क्षेत्रमा निर्माण गरिरहेको छ ।
साउदी अरबले अहिले ‘फोर–टी’ मा विशेष जोड दिएको छ । टेक्नोलोजी, ट्रान्सफरमिङ, टुरिज्म र ट्रेड । तेलका कुवाहरू प्रशस्तै रहेकाले इन्धन बिजिनेस (ट्रेड) मा साउदी अरबले दशकौँदेखि बलियो पकड बनाएको छ ।
ऐन–कानुनमा सुधार
नेपालमा हुँदा साउदीले परम्परागत संस्कृतिलाई मलजल गरेको, बुर्का अनिवार्य गरेको, महिलालाई सुविधा नदिएको, विनाकारण इस्लामबाहेकका धर्मावलम्बीलाई पक्राउ गर्ने गरेकोजस्ता कुरा सुन्थेँ । यी विषयमा अहिले सुधार भएका रहेछन् । महिलाले बुर्का लगाउनुपर्ने नियम अनिवार्यबाट स्वेच्छिक बनाइएको छ । यहाँका महिला अब घरको कुनै पुरुष (बुबा, दाजुभाइ) भए मात्र बाहिर निस्किने सर्तबाट मुक्त छन् । महिलालाई सवारीसाधन चलाउन पाउने कानुनी अधिकार पनि दिइयो । पहिले रमजानका वेला गैरमुस्लिम समुदायका श्रमिकलाई सडकमा हिँड्डुल गर्न र अजानको वेला बाहिर निस्कन बन्देज थियो । त्यस्तो अवस्थामा भेटे धार्मिक प्रहरीले पक्राउ गर्थे । अहिले यसमा रोक छैन ।
फेरिँदै राजधानी रियाद
साउदी अरबको राजधानी रियाद देशको मध्यभागमा पर्छ । रियाद प्रोभिन्स सन् १७४६ मा घोषणा भएको थियो । रियादको पुरानो मुख्य बजार बथा हो । त्यहाँ ससाना कोठामा पसल थिए, चिल्ला सडक थिएनन् । अहिले बथा बजार फेरिएको छ । ठुल्ठुला भवन बनेका छन् । धेरै हाइपरमार्केट, सुपरमार्केट, मलहरू खुलिसकेका छन्, जसमध्ये लुलु हाइपरमार्केट चर्चित छ । जहाँ प्रत्येक शुक्रबार ठुलो भिड लाग्छ । हजारौँ श्रमिक त्यहाँ किनमेल गर्न आउँछन् । त्यहाँ पानदेखि सागसब्जी, तरकारी, माछामासु र दैनिक उपभोग्य सामग्री सस्तोमा पाइन्छ । बथामै नेपालीहरूले पनि रेस्टुरेन्ट, ट्राभल्स एजेन्सी, टेलर्स खोलेका छन् । नेपाली श्रमिकहरूको भेटघाट गर्ने एउटा थलोको रूपमा नेपाली होटेल रेस्टुरेन्ट बनेको छ । मःम, चाउमिन, थकाली थालीलगायत विशेष परिकार पाइन्छन् ।
बथादेखि अलिक पर गगनचुम्बी भवनहरूको सहर बनिसकेको छ । त्यहीमध्येको एक हो–किङ्ग्स टावर । किङ्ग्स टावरसँगै कैयौँ अग्ला भवन ठडिएका छन् । टावरबाट रियादका अग्ला भवन, झिलिमिली सहर दृश्यावलोकन गर्न पाइन्छ । चाँैडा सडक, सडकमा फुटपाथ, फरक क्षमता भएका व्यक्तिलाई हिँड्ने अलग्गै लेन, स्वचालित मेट्रो ट्रेन र सडकमा खजुरदेखि पीपलको रुखहरू देख्न पाइन्छ, जसले सहरको सौन्दर्य बढाएको छ ।
सडकदेखि मलसम्ममा पिपलको बोट
राजधानी सहर रियादको सडकदेखि सपिङमलसम्म पीपलको रुख देख्न सकिन्छ । फराकिलो सडकको डिभाइडरमा पीपलको रुख लगाइएको छ । सडकछेउका ससाना पार्कमा सयौँ पीपलका रुख लगाइएका छन् । कतैकतै पीपलको रुखको गार्डेन नै देखिन्छ । द भ्यु प्वाइन्ट सपिङ मलको वरिपरि पनि पीपलका सयौँ रुख लगाइएका छन् । मलको दोस्रो तलामा पनि पीपलको रुख लगाएर आकर्षित र हरियाली बनाइएको छ । राजधानी रियादलाई हराभरा बनाउन ‘ग्रिन रियाद’ कार्यक्रम सुरु गरिएसँगै लाखौँ रुख–बिरुवा रोप्न थालिएको हो । यो योजना तीव्र रूपमा अघि बढिरहेको छ ।
खेलकुदमा ठुलो लगानी
साउदी अरबले आफूलाई खेलकुदको क्षेत्रमा अघि बढाउँदै लगेको छ । साउदीकै क्लबहरूमा क्रिस्टियानो रोनाल्डो, नेइमार, करिम बेन्जेमा, साडियो मानेजस्ता विश्वचर्चित फुटबलरले खेलिरहेका छन् । फुटबललाई बढी फोकस गरेको साउदीले त्यसैअनुसार लगानी पनि गरिरहेको छ । फिफा विश्वकप २०३४ को आयोजना गर्ने एक्लो राष्ट्रको रूपमा साउदीले अवसर पाएको छ । यो घोषणासँगै साउदी अरबको विभिन्न सहरमा आतिसबाजी गरियो । फुटबलको उच्च क्रेजकै कारण यहाँका होटेल, मल मात्र होइन सार्वजनिक स्थानमा पनि ठुल्ठुला टिभी जडान गरिएको छ । सन् २०२९ को एसियन गेम्स पनि साउदीले आयोजना गर्ने लक्ष्य राखेको छ ।
साउदीको हलमा नेपाली फिल्म
राजधानी रियादमा एक दर्जनभन्दा बढी सिनेमा हल छन् । विदेशी चलचित्रमाथिको प्रतिबन्ध हटेपछि ‘छक्का पञ्जा’ नेपाली दर्शकले तिनै हलमा हेरेका थिए । सिनेमा हलमा हिन्दी, अंग्रेजी, अरबिक र दक्षिणी भारतीय चलचित्र बढी लाग्ने गर्छन् । मेला, उत्सव र फेस्टिबलहरू साउदी अरबको विभिन्न सहरमा चिसो मौसम सुरु हुनासाथ बाक्लै आयोजना गरिन्छन् । ‘कन्सर्ट’हरू बाक्लै आयोजना भइरहेका छन् । बर्सेनि लाग्ने रियाद सिजनमा यसपटक चर्चित भारतीय गायक अरजित सिंह आएका थिए । उनको सांगीतिक सो हेर्न हजारौँ संगीतप्रेमी पुगेका थिए । यस्ता गतिविधिले साउदी अरबले विश्वको कल्चरलाई ग्रहण गर्न थालेको संकेत गरेको छ ।
के भन्छन् स्थानीय ?
सेप्टेम्बरको २३ तारिखलाई साउदी अरबले राष्ट्रिय दिवस (नेसनल डे) को रूपमा मनाउने गर्छ । यसपटक साउदी अरबको ‘नेसनल–डे’ हेर्न मौका मिल्यो । म बसेको ठाउँबाट करिब ३० किलोमिटरको दूरीमा रहेको रियाद ग्यालरीमा सार्वजनिक बस चढेर पुगेँ । पानीजहाज आकारको रियाद ग्यालरीमा क्युएफएक्स सिनेमा हल, सपिङ सेन्टर, चर्चित रेस्टुरेन्ट थिए । ग्यालरी स्थानीय महिला, पुरुष र बालबालिकाले भरिभराउ थियो । साउदी अरबमा महिलालाई हेर्न मिल्दैन भन्ने सुनेको थिएँ, तर अवस्था बिल्कुल फरक पाएँ । यो फरकपन देखिन थालेको ‘एमबिएस’कालदेखि नै हो । त्यही हुलमा भेटेँ, ३० वर्षिया नौराह अल–गमदीलाई । उनी रियादमा रहेको पाण्डा सुपरमार्केटमा सेल्स रिपे्रजेन्टेटिभको रूपमा विगत पाँच वर्षदेखि कार्यरत छिन् । नौराहले साउदी अरबमा एमबिएसले महिलालाई अवसर दिलाएको बताइन् । देशमा भइरहेको परिवर्तनसँग अत्यधिक खुसी देखिइन् उनी । उनले भनिन्, ‘महिलाले सवारी चलाउन पाउँछन्, रोजजारी पाउँछन् । यो सबै ‘एमबिएस’का कारण भएको हो । देशले सही बाटो समातेको छ ।’
पाण्डा सुपरमार्केटमा भेटिएकी २३ वर्षीया मासाएल अल फहाद ‘महिला अधिकारको क्षेत्रका क्रान्ति’ नै भएको बताउँछिन् । किंग फहाद विश्वविद्यालयको स्नातक छात्रा फहाद भन्छिन्, ‘साउदी अब हिजोको पुरानो साउदी रहेन । अहिले साउदीले नयाँ शैलीमा आफूलाई संसारमा स्थापित गर्न खोजिरहेको छ ।’
रियादको मेट्रोमा कार्यरत २५ वर्षीय इन्जिनियर सालेम बिन फलेह अल–अलसुबेई साउदी अरबमा पूर्वाधारको क्षेत्रमा मात्रै विकास नभई सामाजिक क्षेत्रमा पनि व्यापक बदलाब आएको बताउँछन् । साउदी दुनियाँसँग प्रतिस्पर्धा गर्न आतुर भएकाले नै यहाँको पूर्वाधार विकासले चाँडै फड्को मारेको सालेमको भनाइ छ ।
के भन्छन् प्रवासी ?
जाहिर कैंसर पाकिस्तानका नागरिक हुन् । उनी मोबाइलको पसल सञ्चालन गरिरहेका छन् । एक दशकदेखि साउदी अरबमा बस्दै आएका कैंसरले साउदी अरब फेरिँदै गएको अनुभव सुनाए । ‘अब साउदी अरब पहिलेजस्तो बन्द कोठाभित्र कैद छैन,’ कैंसर भन्छन्, ‘यहाँ पश्चिमी देशको प्रभाव बढ्न थालेको छ । देश आफूलाई बदल्न जुटेको छ ।’
दुई वर्षदेखि साउदीमा कार्यरत सिरहाका इन्जिनियर मनी दास साउदीले आफूलाई अब्बल बनाउन धेरै कोसिस गरिरहेको बताउँछन् । नेपालका पूर्वराजदूत महेन्द्रप्रसाद सिंह साउदी अरब प्रगतिशील देशको रूपमा अघि बढिरहेको मत राख्छन् । एमबिएसले सुधार थाल्दाका बखत उनी साउदी अरबमा नेपालका तर्फबाट राजदूत थिए । उदारीकरणतर्फ साउदी केन्द्रित रहेको सिंहको भनाइ छ ।