• वि.सं २०८१ माघ ३० बुधबार
  • Wednesday, 12 February, 2025
पवन बराइली/नवीन अर्याल
२०८१ पौष २७ शनिबार ११:४२:००
सम्झना

विनाअक्सिजन १४ चुचुरा चढ्दा...

२०८१ पौष २७ शनिबार ११:४२:००
पवन बराइली/नवीन अर्याल

 

विनाअक्सिजन विश्वका आठ हजार मिटरभन्दा अग्ला सबै शिखर आरोहण गरी रेकर्ड बनाउने पहिलो नेपाली हुन्, मिङ्मा जी शेर्पा । सातवटै महादेशका सर्वाेच्च शिखर आरोहण गर्ने कीर्तिमान पनि उनकै नाममा छ । अहिलेसम्म विश्वका २० हिमाल ४२ पटक चढिसकेका छन् । तीमध्ये ३० पटक विनाअक्सिजन र अक्सिजनसहित १२ पटक हिमाल चढिसकेका छन् । कीर्तिमानी आरोही मिङ्माले हिमाल चढ्दाका अनुभव पवन बराइलीनवीन अर्याललाई सुनाएका छन् :

 

 

दोलखाको रोल्वालिङ गाउँमा जन्मिएँ । हाम्रो परिवारको मुख्य कर्म खेती किसानी थियो । बुबा हिमालमा काम गर्न जानुहुन्थ्यो । आमाले खेतीपाती र घरगोठ सम्हाल्नुहुन्थ्यो । म आमासँगै गाईगोठ र घरको काम गर्थेँ । गाउँमा त्यसवेला धेरै छोराछोरी जन्माउनु सामान्यजस्तै थियो । घरमा हामी ६ जना छोराछोरी थियौँ । घरपरिवार चलाउन हिमाली भेगको दुःख उस्तै हुन्थ्यो । घरमा कामको भार बालबालिकाको थाप्लोमा आउँथ्यो ।

 

गाउँमा युवाहरू हिमाल चढ्न जाने र केही महिनापछि फर्केर आउने गर्थे । हिमालमा काम गर्न गएकाहरू घर फर्किँदा लाहुरबाट फर्किएजस्तै हुन्थे । हाम्रो पनि मामा र काकाहरू भरियाका रूपमा हिमालतिर जानुहुन्थ्यो । फर्केर आएपछि यात्राका कथा सुनाउनुहुन्थ्यो । बुबा र मामाले विदेशीहरूले दिएको चकलेट ल्याएर हामीलाई दिनुहुन्थ्यो । गाउँमा चकलेटको अनुहार देख्न पाइँदैनथ्यो । चकलेट खान पाउँदा रमाउँथ्यौँ । चकलेट खान पाइँदोरहेछ, पछि म पनि भरिया बन्छु भन्ने सोच्थेँ ।

 

चारैतिर हिमालले घेरिएको गाउँमा बसे पनि हिमाल कस्तो होला भन्ने कल्पना गरिरहन्थेँ । त्यसवेला आफ्नै गाउँको शिरमा रहेको हिमालमा कहिल्यै पुगिएन । रोल्वालिङ गाउँमा पहाडजस्ता अग्ला ढुंगा हुन्थे । गाउँमा पहिलेदेखि तेन्जिङ नोर्गे शेर्पाको चर्चा हुन्थ्यो । त्यसैले म बाल्यकालमै तेन्जिङ नोर्गे शेर्पाको नाम लिँदै ढुंगामा उक्लिन्थेँ । जंगलमा गाईबस्तु चराउन जाँदा धेरैपटक अग्ला ढुंगामा चढ्दै आफूलाई तेन्जिङ ठानेको छु ।

 

हिमाली क्षेत्रका बालबालिकाले त्यतिवेला पनि स्कुल राम्रोसँग पढ्न पाउँदैनथे । पढ्नकै लागि गाउँ छाडेर सहर झर्थे । मेरो पढाइ राम्रो देखेर मामाले काठमाडौं पढाउन ल्याउनुभयो । त्यसपछि मेरो दैनिकी फेरियो । झोलामा किताबकापी बोकेर स्कुल जान थालेँ । हाम्रो घरको आर्थिक स्थिति कमजोर थियो । हिमालमा जाँदा बुबाको आठवटा औँला हिउँले खाइदियो । त्यसपछि घरको आर्थिक अवस्था झनै कमजोर भयो । औँला नभएर पनि बुबाले परिवार मुस्किलले चलाउनुभयो । धेरै दुःख गर्नुभयो । 

 

मलाई सानोदेखि हिमाल चढ्ने इच्छा खासै थिएन । राम्रो पढ्ने र डाक्टर बन्ने इच्छा थियो । मेरो मामा दावाटासी शेर्पा आरोहण क्षेत्रमा सक्रिय हुनुहुन्थ्यो । पाकिस्तानको केटु हिमाल चढ्ने उहाँ नै पहिलो नेपाली हुनुहुन्थ्यो । उहाँले फरक–फरक तीनवटा रुटबाट सगरमाथा आरोहण गर्नुभएको थियो । 

 

सन् २००६ तिरको कुरा हो । म एसएलसी दिएपछि फुर्सदमा थिएँ । मामाले मलाई जापानी टोलीसँगै मनास्लु हिमाल जान लागेको सुनाउनुभयो । मैले त्यही वेला मामालाई भनेँ, ‘एकपटक मलाई पनि हिमाल जान मन छ ।’ मामाले मलाई भन्नुभयो,‘लौ हिँड न त जाऔँ ।’ त्यसपछि म मामासँगै मनास्लु गएँ । 

 

त्यसवेला मैले हिमाललाई नजिकबाट देख्न पाएँ । तर, दुर्भाग्यवश मनास्लु आरोहण गर्न सकिएन । ६४०० मिटरको उचाइमा पुगेपछि फर्किनुपर्‍यो । त्यसपछि म ल्होत्सेको आरोहणमा गएँ । यो हिमाल कठिनमध्येको एक हो । ल्होत्सेको उचाइ ८५१६ मिटर हो । तर, त्यतिवेला मौसम बिग्रियो । ८३०० मिटरबाटै फर्किनुपर्‍यो । त्यो हिमाल गएपछि हिमालबारे धेरै कुरा सिक्न पाएँ । त्यसपछि मैले हिमाल आरोहणसम्बन्धी तालिम लिएँ ।

 

सन् २००७ मा शेर्पा गाइडको रूपमा सगरमाथा गएँ । त्यसवेला मसँग फ्रान्सका नागरिक थिए । त्यही अवसर पछ्याउँदै पहिलोपटकमै सगरमाथाको सफल आरोहण गरेँ । पछि सन् २०१० मा फेरि सगरमाथा आरोहण गरेँ । मैले अहिलेसम्म ६ पटक सगरमाथा चढिसकेको छु ।

 

त्यसपछि मलाई हिमाल आरोहणमा साहसिक रेकर्ड बनाउने इच्छा जाग्यो । विनाअक्सिजन हिमाल आरोहण गर्ने आँट गरेँ । सन् २०१२ मा आफ्नै जिल्लाको च्योबुचे हिमाल चढ्ने योजना बनाएँ । यो हिमाल चढ्न कसैले पनि आँट गरेको थिएन ।

 

केटुको कथा 

 

केटु हिमाल सन् २०१४ मा विनाअक्सिजन चढेँ । केटु हिमाल चढ्नु आफैँमा चुनौती थियो । केटु चढ्यो भने संसारमा नाम कहलिन्छ भन्ने थियो । यो हिमाल हत्तपत्त कसैले पनि चढ्ने आँट गरेका थिएनन् । त्यसैले मलाई पनि केटु चढ्ने हुटहुटी जाग्यो । त्यसवेला इरानी र टर्कीको नागरिकसँग केटु हिमाल जाने अवसर मिल्यो । खर्च गर्ने अवस्थामा पनि थिएन । उनीहरूसँग शेर्पा गाइडको रूपमा गएको थिएँ । चुनौतीपूर्ण केटु हिमाल चढ्दा मैले तीन जनाका लागि ६ वटा अक्सिजन बोकेर गएको थिएँ । तर, मचाहिँ विनाअक्सिजन थिएँ । उनीहरूले अक्सिजन लिएर चढेँ । मचाहिँ विनाअक्सिजन केटुको टुप्पामा पुगेँ । अक्सिजनविनै चुचुरो पुग्दा पनि सामान्य लाग्यो ।

 

सन् २०२० को हिउँदोमा फेरि अक्सिजनसहित केटु आरोहण गरेँ । त्यसवेला निर्मल पुर्जाको टोलीसँग भेट भयो । हामीले नेपालमा कुनै सल्लाह गरेर गएका थिएनौँ । सबैको उद्देश्य देशको नाम राख्ने नै थियो । निर्मल पुर्जा हामीसँगै आरोहरण गर्ने सहमत भए । विदेशमा गएपछि देशको माया लाग्दोरहेछ । तलमाथि भयो भने आफ्नै नेपाली दाजुभाइले सहयोग गर्ने हो । एउटै देशबाट गएका भए पनि कसले पहिले केटुको टुप्पोमा पाइला राख्यो भन्ने विवाद हुनसक्थ्यो । त्यसैले सबैले सँगसँगै केटु चढ्ने सहमति भयो । सबैले एकैपटक पाइला राख्ने सहमतिअनुसार नेपालको राष्ट्रिय गीत गाउँदै केटुको चुचुरोमा चढ्यौँ । त्यसले विश्वलाई राम्रो सन्देश दियो । नकारात्मक प्रतिस्पर्धाले दुर्घटना हुन सक्थ्यो । दुईजनाले हात समातेर सँगै चुचुरोमा पुगेका दियौँ ।

 

मनास्लुले लोभ्याउँछ 

 

मनास्लु सातपटक आरोहण गरेँ । त्यसमध्ये ६ पटक विनाअक्सिजन शिखरमा पुगेँ । मनास्लुमा विनाअक्सिजन धेरैपटक आरोहण गर्ने आरोहीमा मेरो नाम आउँछ । चढ्न सजिलो र रमाइलो लाग्ने मनास्लु हिमाल हो । त्यो हिमाल सुरक्षित लाग्छ । त्यो हिमालमा कहिलेकाहीँ मात्रै दुर्घटना भएको सुनिन्छ । सन् २०१२ ठुलो हिमपहिरो गएको थियो । त्यसपछि खासै दुर्घटना भएको सुनिँदैन । बेसक्याम्पबाट फर्किँदा एक घण्टाजतिमै गाउँ भेटिन्छ । गाउँलेहरू बेसक्याम्पमा आउँदै गरेको भेटिन्छन् । गाउँलेहरू चौँरी गाईको दुध र दही दिन्छन् । त्यहाँको वातावरणले मलाई लोभ्याउँछ । यो हिमाल मलाई सबैभन्दा मन पर्छ । यो हिमाल चढ्दा बेसक्याम्पदेखि पहिलो क्याम्पसम्म अलि अप्ठ्यारो छ । त्यसपछि सबै बाटो सजिलो लाग्छ । 

 

मृत्युसँग पटक–पटक लुकामारी 

 

सन् २०१३ मा कञ्चनजंघा चढ्ने योजना बनाएँ । मेरा लागि कञ्चनजंघा सहज भएन । मसँगै एकजना इरानी नागरिक थिए । तर, त्यसवेला मौसम बिग्रिएर ८३०० मिटरबाट फर्किनुपर्‍यो । हामी फर्किँदै थियौँ, ८२०० मा पुग्दा डोरीबाट फुत्केर ३० मिटर तल झरेँ । मलाई अब बाँच्दिनँ भन्ने लागिसकेको थियो । हिउँमा पल्टिँदै गर्दा तल रहेका साथीहरूले च्याप्पै समाते । भाग्यवश, साथीहरूले मेरो ज्यान जोगाइदिए । त्यसवेला ठुलो दुर्घटनाबाट जोगिएँ । तर, मलाई कञ्चनजंघा चढ्नु नै थियो । मैले हिम्मत हारिनँ । एक हप्तापछि विनाअक्सिजन कञ्चनजंघामै मृत्युसँग लुकामारी गरेर भए पनि आरोहण गरिछाडेँ ।

 

सन् २०१५ मा मलाई अन्नपूर्णले धोका दियो । त्यसवेला म टोलीसहित आरोहण गर्न पुगेको थिएँ । त्यसवेला म दुर्घटनामा परेँ । दुईपटक हिउँको खाल्डोमा छिरेँ । एकछिन मरेजस्तो भएको थिएँ । तर, भाग्यले म बाँच्न सफल भएँ । 

 

आफ्नै गाउँको च्योबुचे हिमाल चढ्दा एक्लै दुई दिनसम्म बसेको छु । चुचुरोमा पुग्ने वेलामा हावाले हानेको थियो । त्यतिवेला धेरै गाह्रो भयो । फर्किने वेला मौसम बिग्रियो । त्यसपछि दुई दिन टुप्पोमै बस्नुपर्‍यो । समय क्याल्कुलेसन गरेअनुसार मिलेन । बेलुका पाँच बजे चुचुरोमा पुगेको थिएँ । त्यो रात त्यहीँ एक्लै बस्नुपर्‍यो । भोलिपल्ट पनि मौसम बिग्रियो । बादलले पूरै हिमाल ढाक्यो । रातभरि एक्लै चुचुरोमा बस्दा निकै डर लागेको थियो । बादल खुलेन । दुई रात बस्दा शरीर कमजोर भइसकेको थियो । खानेकुरा केही खाएको थिएन । कपडा पनि धेरै थिएन । चिसोले शरीर कठ्यांग्रिसकेको थियो । तेस्रो दिन बल्ल बादल खुल्न थाल्यो । उद्धारका लागि हेलिकोप्टर आयो । हेलिकोप्टरमा झुन्डिएर चढेँ । बल्ल ढुक्कले सास फेर्न सकेँ । त्यसपछि चाहिँ बाँचेँ भन्ने लाग्यो । 

 

हिमाल आरोहण आफैँमा जोखिम छ । यो सफलता सहजै हात लागेको होइन । निरन्तरको मिहिनेत र लगावले सफलता पाएको हो । आगामी दिनहरूमा पनि हिमाल चढ्न गइरहन्छु । हिमाल चढ्नु मेरा लागि पेसा बनिसकेको छ । हिमाल नै हाम्रो बाँच्ने आधार हो ।