• वि.सं २०८१ माघ ३० बुधबार
  • Wednesday, 12 February, 2025
लक्ष्मण सुवेदी
२०८१ माघ ५ शनिबार ०८:५२:००
फिल्म

कस्ता फिल्म बन्नुपर्छ अब ?

२०८१ माघ ५ शनिबार ०८:५२:००
लक्ष्मण सुवेदी

 

नेपाली फिल्म निर्माणको इतिहासले ६ दशक पार गरेको छ । विसं २०२१, असोज २२ गते प्रदर्शन भएको पहिलो फिल्म ‘आमा’बाट हिसाब गर्दा निर्माण कार्यको उमेर ६१ वर्षमा टेकेको छ । यात्रा ६१ वर्ष लामो भइसके तापनि मौलिकता र गुणस्तरीयताको मूल्यांकनमा भने नेपाली फिल्म अहिलेसम्म बच्चा अवस्थामै रहेको आमप्रतिक्रिया सुन्नमा आउने गर्दछ । आफ्नो मौलिकताभन्दा विदेशी फिल्मबाट प्रभावित तथा सीधा चोरी गरी नेपाली भाषामा निर्माण गर्नाले नेपाली फिल्मप्रति दर्शकको जति धेरै आकर्षण र विश्वास हुनुपर्ने हो, त्यो भने हुन सकेको छैन । यद्यपि, पछिल्लो दशकमा निर्माण भएका केही फिल्मले भने दर्शकमा क्रमशः विश्वासको वातावरण निर्माण गर्दै गइरहेको पाइन्छ । तर, यतिमै सन्तुष्टि मानिहाल्नुपर्ने अवस्था भने छैन ।

 

विशेषगरी, दर्शकहरूले नेपाली फिल्मको कथा, विषयवस्तु र प्रस्तुतीकरणमा कमजोरी देखाउने गरेका छन् । सीमित बजेट, कम दिन र थोरै म्यानपावरमा काम सक्नुपर्ने बाध्यतात्मक परिस्थितिमा बाँचिरहेको नेपाली फिल्मलाई करोडौँ लगानीमा बनेका विदेशी फिल्मसँग दाँजेर हेर्ने कतिपयको असन्तुलित सोचका कारण राम्रै फिल्म बनाउँदा पनि उनीहरूले नेपाली फिल्मलाई प्राथमिकताको टप थ्रीभित्र पनि राख्ने गरेको पाइँदैन । यद्यपि,पछिल्लो समय दर्शकले स्टार मात्र होइन, फिल्ममा कन्टेन्ट पनि खोज्न थालेका छन् । केही समयअघिसम्म स्टारले मात्र पनि फिल्म चलेको देखिएको थियो । तर, पछिल्लो समय स्टारका साथमा कन्टेन्ट पनि खोज्न थालिएको छ । तर, यो नै स्थायी फर्मुला भने होइन । बजारको मुड कतिवेला बदलिन्छ, कसैले भन्न सक्दैन ।

 

कन्टेन्टको कुरा गर्दा, पछिल्लो समय निर्माता, निर्देशकहरू गाउँ, अझ विकट गाउँ अनि केही दशकअघिका कथा खोज्नतिर लागेको देखिएको छ । यो सबै भएको हो, ‘पूर्णबहादुरको सारंगी’को अभूतपूर्व व्यापारले । यो फिल्मले विश्वव्यापी गरेको अभूतपूर्व व्यापार, पाएको क्रेज र तारिफका कारण पछिल्लो समय अधिकांश निर्माता, निर्देशक गाउँको, गरिब परिवार, अझ सीमान्तकृत वर्गका कथा खोज्न आतुर देखिएका छन् । कन्टेन्ट मात्रै नबिक्ला भन्ने त्रास पनि छ । त्यसकारण बजारमा चर्चामा रहेका कलाकारलाई नै महँगो पारिश्रमिक तिर्न निर्माता तयार देखिन्छ । खाली हिन्दी, कोरियन, अंग्रेजी, तमिल, टर्किस फिल्म चोरेर नेपालीकरण गर्ने बानी लागेका केही निर्माता, निर्देशक पनि अहिले ‘फिल्म त मौलिक नेपाली कथामा बनाउनुपर्छ’ भन्दै ‘पूर्णबहादुरको सारंगी’को उदाहरण लिनेदिने गर्न थालेका छन् । कन्टेन्टको कुरा हुँदै गर्दा कसैले फ्याट्ट ‘१२ गाउँ’को कुरा निकाल्छ । बाँकी साथीहरूले ‘एक्सन फिल्म, त्यसको ब्रान्डिङ, सोसियल मिडिया क्याम्पेन अनि पब्लिसिटी स्टन्ड’बारे जानेजति विश्लेषण र समीक्षा सुरु गरिहाल्छन् ।

 

फिल्म न स्टारले मात्रै चल्छ । न कन्टेन्टले मात्रै । स्टार मात्रैले चल्ने भए ‘छड्के–२’ को बक्सअफिस २७ लाखको मात्रै हुने थिएन । कन्टेन्टले मात्रै चल्ने भए, दुईचोटि रिलिज गर्दा पनि ‘सानो संसार’ले १० लाख ग्रस कटाउन हम्मे पर्ने थिएन । यहाँ जे चल्छ, त्यहीअनुसार व्याख्या, समीक्षा, धारणा विकास, विस्तार, विश्लेषण र भविष्यवाणी गर्ने गरिन्छ । जो सर्वथा एक अनुमान, हचुवागिरी र लहैलहैबाहेक केही प्रमाणित हुन सकेको छैन । ठ्याक्कै यहीयही कुरा, यहीयही स्टार भए फिल्म चल्छ भनेर कसैले पनि ठोकुवा गर्न सक्दैन । फिल्म चल्न धेरै फ्याक्टरले काम गर्छन् । राम्रो फिल्म बनाए चल्छ नै भन्न सकिँदैन । नराम्रो फिल्म चल्दैचल्दैन भन्न पनि सकिँदैन । समीक्षक, चलचित्रकर्मीले पूरा हेर्न नसकेको प्रतिक्रिया दिएका कतिपय फिल्मले बक्स अफिसमा करोडौँ व्यापार गरेका छन् । त्यही समीक्षक, चलचित्रकर्मीले ‘यत्तिको राम्रो फिल्म त बनेकै छैन’ भनेर ठोकुवा गरेका कतिपय फिल्म चौबिस घन्टा पनि हलमा टिक्न नसकेका थुप्रै उदाहरण छन् ।

 

फिल्म कस्तो बनाउने, कुन विषयमा बनाउने र कसरी प्रदर्शन गर्ने भन्नेबारेमा प्रत्येक निर्देशक, निर्माताको आ–आफ्नै सोच, धारणा, बुझाइ र योजना हुन्छन् । कहिलेकाहीँ आफूलाई अत्यन्तै राम्रो लागेको विषय मार्केटले मन नपराउन सक्छ भने कहिलेकाहीँ आफूलाई औसत लागेको विषय पनि मार्केटले निकै राम्रो मानिदिन सक्छ ।

 

मुख्य कुरा, मेकर आफूलाई के कुरा ठिक लाग्छ, त्यही बनाउनुपर्छ । मार्केटमा कसरी जाने, मार्केटिङ कसरी गर्ने, के कुरालाई हाइलाइट गर्नेजस्ता यावत् कुराहरूको भने निकै ध्यान दिनुपर्दछ । जसरी नि पैसा कमाउँछु, पैसाबाहेक अरू थोक केही चाहिँदैन भन्ने लाग्छ भने त्यस्ता निर्माता, निर्देशकले फिल्म नबनाए हुन्छ । पैसा कमाउँदैमा राम्रो, नकमाएका फिल्म नराम्रा भन्न मिल्दैन । हरेक फिल्मका आ–आफ्नै अस्तित्व, अर्थ, सुन्दरता र आफ्नै गुण हुन्छन् । सञ्चारको सबैभन्दा प्रभावशाली माध्यमका रूपमा लिइने भएकाले फिल्मलाई पैसाको तराजुमा जोखेर मात्रै राम्रो र नराम्रो भन्न मिल्दैन । ओस्कार अवार्ड जितेका सबै फिल्मले निर्मातालाई आर्थिक मुनाफा दिएका पक्कै छैनन् । कतिपय कुरा सामाजिक प्रतिष्ठा र आत्मसन्तृष्टि र गौरवको विषयसँग पनि जोडिएका हुन्छन् । फिल्मजस्तो प्रतिष्ठित अनि सशक्त माध्यमलाई हामीकहाँ आमरूपमा व्यापारसँग मात्र तुलना गर्ने गरेको पाइन्छ । यो सोचबाट मुक्त भई फिल्म कर्म निरन्तर गरिरहनु नै सच्चा स्रष्टाको पहिचान हो । जीवनयापन गर्न, बाँच्न पैसा चाहिन्छ । तर, सबथोक पैसा मात्रै पनि होइन । यो यथार्थतालाई गहन रूपले मनन गर्न जरुरी छ ।

 

०५७ सालमा एउटा पनि फाइट नभएको फिल्म ‘दर्पण छायाँ’ले ब्लकबस्टर व्यापार गर्‍यो । त्यसताका अधिकांश फिल्ममा कम्तीमा चारवटा फाइट राखिन्थे । फाइटविनाका फिल्म नुनविनाका तरकारी जस्ता मानिन्थे । मेकर अनि दर्शकलाई पनि त्यही बानी लागेको थियो । विनाफाइट फिल्म बनाएकाले सुरुमा त वितरकले फिल्म चलाउनै मानेनन् । निर्देशक तुुलसी घिमीरेले जसोतसो फिल्म हलमा त ल्याए, तर सुरुका दिनमा पर्याप्त दर्शक आएनन् । आएका अधिकांश दर्शकले ‘फाइटै रहेनछ, कस्तो फिल्म हो..! ’ भनेर गुनासो पनि गरे । तर, फिल्मले प्रदर्शनको छैटौँ दिनबाट यसरी पिकअप लियो की, ‘दर्पण छायाँ’को व्यावसायिक रेकर्ड तोडिन धेरै वर्ष लाग्यो । ‘दर्पण छायाँ’पछि विनाफाइटका उही ‘दर्पण छायाँ’ जोडी निरुता सिंह, दिलीप रायमाझी र उत्तम प्रधानलाई लिएर थुप्रै फिल्म बने । परिणाम, अन्ततः दुःखद निस्किए । ‘दर्पण छायाँ’ चलेको देखेर ‘जिन्दगानी दर्पण छायाँ’ नामको फिल्मसमेत बन्यो । ‘लुट’ चलेको देखेर ‘लुट कम्पनी’ बनाएझैँ ।

 

०६८ सालमा ‘लुट’ चलेपछि त्यस्तै रफ डाइलग र विषयका करिब डेढ दर्जन फिल्म निर्माण गरिए । ०६८ कै चैत्रमा रिलिज भएको एडल्ट फिल्म ‘चपली हाइट’ पनि हिट भयो । ‘चपली हाइट’पछि एडल्ट फिल्म बनाउने लहरै आयो । सधैँ पारिवारिक कथाका फिल्म बनाउँदै आएका दीपक श्रेष्ठजस्ता निर्देशकले पनि त्यही लहरमा बगेर ‘रङ वे’जस्तो अश्लील दृश्य र संवादले भरिएको एडल्ट फिल्म बनाए । अन्ततः अश्लीलतामा सहारा लिएका त्यस्ता सबै फिल्मलाई दर्शकले ‘रिजेक्ट’ गरिदिए ।

 

गलैँचाको व्यापार फस्टाएको देख्दा बग्रेल्ती गलैँचा फ्याक्ट्री खोलिनु, क्याबिन, डान्स रेस्टुरेन्ट फस्टाउँदा लस्करै क्याबिन, डान्स खोलिनु अस्वाभाविक त होइन । तर, कालान्तरमा यो कत्तिको प्रत्युत्पादक हुन्छ भन्ने हेक्काचाहिँ राख्नुपर्छ । ‘१२ गाउँ’ चल्दा ‘अब एक्सन फिल्मको ट्रेन्ड आयो’ भनेर ‘एक्सन’ मा उत्रिनेहरू पनि निकै देखिए । तर, ‘पूर्णबहादुरको सारंगी’ चलेपछि भने ती ‘एक्सनवाला’ थचक्कै हुनपुगेका छन् । मुख्य कुरा, सबै कुरा पैसामा मात्रै मापन गर्न र जता हावा बहेको छ, त्यतै लाग्नाले अन्ततः भड्खालो नै ‘लास्ट डेस्टिनेसन’ बन्न पुग्दछ । त्यसकारण, मेकर आफूलाई के कुराको स्वाद लाग्छ, त्यही बनाउनुपर्छ । र, बजारमा यसरी पुर्‍याउन सक्नुपर्छ कि दर्शकलाई त्यो नौलो, रुचिकर र स्वादिलो लागोस् ।