
इम्प्रोभाइजेसन फर द थिएटर : अमेरिकन फिल्म कलाकार, प्रशिक्षक तथा लेखक भिओला स्पोलिनले लेखेको किताब ‘इम्प्रोभाइजेसन फर द थिएटर’ सरल भाषामा लेखिएको तर गहन अर्थ राख्ने किताब हो । यसले कलाकारलाई पाँच इन्द्रियलाई सचेत बनाउँदै परिस्थिति बुझ्न सिकाउँछ । जस्तो कि किताबमा एउटा उदाहरण छ, पात्रले के खाना खाइरहेको छ भनेर दर्शकलाई कसरी बुझाउने ? खानाको स्वाद र बास्नाले खानेकुराबारे दर्शकसम्म सम्बन्ध राख्छ । किताबभित्र सानासाना खण्ड छन् । नाटक, सिनेमाका कलाकारलाई मात्रै होइन, किताबको पछिल्लो खण्डमा बाल कलाकारका लागि पनि अभिनयको खुराक छ । साँच्चै भनौँ भने यो किताब भयानक छ । अघिल्ला दुई संस्करणमा एक लाख प्रति बिक्री भएपछि अहिले तेस्रो संस्करण बजारमा आएको रहेछ । किताब उपहार दिने स्विडेन निवासी मित्र शिव चौलागाईंलाई आभार ।
बुद्धकालीन समाज : उमाकान्त पौड्यालले लेखेको किताब बुद्धकालीन समाज पढ्न थालेपछि सन्दर्भहरूले लोभ्याउँछन् । शाक्यमुनि बुद्धको देशनाको मूल ग्रन्थ पालि त्रिपिटकलाई साक्षी राखेर लेखिएको भनिएको यस किताबले बुद्धकालीन समाजको समाजशास्त्रीय इतिहास पहिल्याएको छ । सिद्धार्थ गौतमको जन्म, उनको हुकाइ, विवाह, गृहत्यागदेखि बुद्धत्व प्राप्तिको साधनाबारे लेखकको खोज कडा मिहिनेतबाट आएको छ । कतिपय अतिरञ्जित भ्रमबाट बाहिर निस्कन पनि यो किताबले मद्दत गर्छ ।
भिक्षु, व्यापार र विद्रोह : सुधीर शर्माको किताब भिक्षु, व्यापार र विद्रोह यसरी सुरु हुन्छ, मानौँ यो संस्मरण या आख्यान हो । भित्र छिरेपछि यसले इतिहास पर्गेल्छ । तथ्य, कथ्य र शैली तीनवटै तत्वले मन जितेको किताब हो यो । ३७६ पृष्ठ लामो यो किताब ज्यादै राजनीतिक परिधिको भए पनि यसले आममानिसलाई सबै सन्दर्भ र कुरा बुझाउँछ । हिमालको उत्तरपट्टिबाट नेपालतिर के–के आयो आममानिसलाई पत्तै नहुने रहेछ । खुफिया किताब हो यो ।
मेरो कविताको आराधन : बालकृष्ण समको किताब मेरो कविताको आराधन मलाई मनपर्ने नेपाली किताबमध्ये एक हो । नेपाली भाषामा लेखिएको यति सशक्त अटो बायोग्राफी बिपीपछि यिनकै हो कि ? अत्यन्तै बोझिलो नाटक लेख्ने समले यसरी सरल भाषामा बोधगम्य आत्मवृत्तान्त लेखे भनेर पत्याउनै गाह्रो । तर, उनको हुर्काइ रुचिसँगै किताबले धेरै कुरा भन्छ । उनका हजुरबा डम्बरशमशेरको बिलासिता, अश्लीलता र निरंकुशताले त्यतिखेरका राणा परिवारको प्रतिनिधि कथा भन्छ । ४०८ पृष्ठको किताबले राणाकालीन समयको ठुलो घटना बोल्छ ।
बैरागी काइँलाका संकलित कविता : बैरागी काइँलाका कविता एउटै किताबमा पाउँदा त्यसै मख्ख परिगएँ । किनिहालेँ । पल्टाउँछु । इन्द्रबहादुर राईको लामो भूमिका छ । मिठो छ । कविता किताबभित्र फरक–फरक खण्डमा कविता छुट्याइएको छ । काइँलाका एकसेएक कविता छन् । अरू त के भनूँ, वेलावेला पढिबस्ने किताब हो यो ।
रुदाने : रुपचन्द्र विष्टका बारेमा फाट्टफुट्ट अखबारमा पढियो । साहित्यिक जमातमा केही किस्सा सुनिए । उनको व्यक्तित्व विशेष किसिमको हुँदाहुँदै, उनको योगदानबारे जान्नुपर्ने हुँदाहुँदै पनि उनीबारे गहन अध्ययन भएन । उनी बिचैमा छुटे । तर, एकजना युवा रंगकर्मी टंक चौलागाईं आफ्ना नाटकका साह्रा काम केही बेर थाती लाएर रूपचन्द्रको पछि लागे । किताब पढ्दा थाहा लाग्छ, उनको गहन अनुसन्धान र मिहिनेत ।
बिफोर द कफी गेट्स कोल्ड : जापनिज लेखक तोसिकाजु कवागुजीको जापनिज उपन्यास अंग्रेजीमा अनुवाद हुँदा ‘बिफोर द कफी गेट्स कोल्ड’ भएछ । सन् २०१५ मा मूल भाषाको कृतिले तहल्का मच्चाएछ । सन् २०१९ मा अंग्रेजीमा अनुवाद भएपछि किताबले संसारभरि चर्चा पायो । सन् १८७४ मा खुलेको टोकियो सहरको एउटा क्याफे, जहाँ बसेपछि टाइम ट्राभल गर्न सकिन्छ । त्यसका लागि क्याफेको स्पेसल सिटमा बसेर निश्चित किसिमको कफी पिउनुपर्छ । कस्ता मानिसलाई भेटेर विगतमा यात्रा गर्न सकिन्छ, त्यसका अरू सर्त पनि छन् । त्यसका लागि किताब पढ्दा मज्जा आउँछ । यो किताबमा आधारित भएर फिल्म र टिभी सिरिज पनि बनिसकेका छन् । किताब पढ्दा नै मज्जा आउँछ ।