
भारतीय क्रिकेटर शिखर धवन विश्व क्रिकेटकै चर्चित खेलाडी हुन् । भारतलाई कैयन् महत्वपूर्ण उपाधि दिलाएका उनी ‘कर्णाली याक्स’बाट फ्रेन्चाइज नेपाल प्रिमियर लिग खेल्न नेपाल आएका थिए । ‘कर्णाली याक्स’का लागि धवनले चार खेल खेले । उनै विश्वचर्चित ओपनरलाई ‘कर्णाली याक्स’का सहसञ्चालक गृहेन्द्र घिमिरेले सगरमाथा आधार शिविरसम्म पुर्याएका थिए । त्यही अनुभव घिमिरेले रमेश सुवेदीलाई सुनाएका छन् :
कर्णाली याक्स’को टिम र नेपाल क्रिकेट संघ (क्यान) सचिव पारस खड्का साँझपख छलफलमा थियौँ । नेपाली क्रिकेट र नेपाल प्रिमियर लिग (एनपिएल)को ब्रान्ड कसरी बढाउने कुराकानीमा केन्द्रित थियौँ । त्यसका लागि विश्व क्रिकेटकै चर्चित नाम भित्र्याउने सल्लाह भयो । धेरै चरणको छलफलपछि अन्तिममा शिखर धवन ल्याउने टुंगो लाग्यो ।
धवनको सिइओ अमितेश शाहसँग हामीले २०–२५ पटक इमेलमा संवाद गर्यौँ । इमेल क्यानका सचिव पारस खड्काले उपलब्ध गराएका थिए । त्यतिवेलासम्म पनि हामीले धवनसँग गफ गर्न पाएका थिएनौँ । अमितेशकै धवनसँग सीधै गफ नहुनेरहेछ । हामी जसरी पनि धवनलाई नेपाल भित्र्याउने पक्षमा पुगिसकेका थियौँ । प्रस्ताव उताबाट पास भयो । त्यसपछि सीधै फोन नम्बर मागेँ । हामी सम्झौता गर्न भारत आउँदै छौँ भनेँ । त्यसपछि मात्रै क्यानलाई आधिकारिक जानकारी दिएका हौँ ।
मैले पारससँग माग राखेँ, ‘यदि धवन आउने भए, हामीले उद्घाटन खेल खेल्न पाउने कि नपाउने ?’ जितहार आफ्नो ठाउँमा छ, उद्घाटनमा धवनलाई खेलाउन पाए, हाम्रो म्यासेज जान्छ भन्ने हाम्रो योजना थियो । पारसले भने, ‘मैले सीधै भन्न मिल्दैन, टिमसँग कुरा गर्छु ।’ पछि यो पास भयो । तर, धवनको नै नमिल्ने भयो । उनी पारिवारिक कारण ओमान पुगेका रहेछन् । धवनले, ‘म पहिलो खेल भ्याउदिनँ । रेस्ट गर्छु,’ भनेका थिए ।
सम्झौता गर्न हामी भारत जाने भयौँ । त्यसका लागि कर्णाली याक्सका मालिक झनकदत्त खनाल र भारतका लागि कार्यवाहक राजदूत डा. सुरेन्द्र थापा धवनसँग भेट्ने पक्का भयो । उसले होटेल वा रेस्टुरेन्टमा बोलाउँछ भन्ने लागेको थियो । तर, उसको घर प्रवेश गर्न हामीलाई ‘कोड’ आयो । उसले दिएको कोडपछि हामी उसैले दिएको समयभित्र प्रवेश गरिसक्नुपर्ने थियो ।
सेलेब्रिटी बस्ने वातावरण नै फरक हुनेरहेछ । त्यो पनि दुईपटक कडा सुरक्षा चेकजाँचपछि गेट पास भइयो । सिइओ अमितेश हामीलाई लिन तल आए । हामी जानुपर्ने भयो, दिल्ली गुडगाउँको अपार्टमेन्टको २२औँ तलामा । २२औँ तलामा पुग्दा धवन आफैँ ढोका खोल्न आए । ढोकाबाट छिर्नेबित्तिकै देवीपूजा गरेको देखेँ ।
फरक स्वभाव लाग्यो उनको । टिभीमा सानो देखेको नजिकै देख्दा त निकै अग्लो । हामीले त्यही अपार्टमेन्टमा चिया खायौँ । सम्झौता भयो । उनले आफैँ ‘टिसर्ट ल्याएका छैनन् ?’ भनेर प्रश्न गरे । उत्साहित भएँ । टिसर्ट पनि निकै मिल्यो । नापेरै लगेजस्तो ।
हामीले सम्झौतामा पशुपतिनाथ र सगरमाथा घुम्न जाने प्रस्ताव गर्यौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि पशुपतिनाथ गइरहेको सुनायौँ । उनी उत्साहित देखिए । सगरमाथा पनि टाढैबाट भए पनि देखाउँदै भन्दा उनले भने, ‘तिमीहरू त कस्तो आयोजक । सगरमाथा नि लैजान्छौ ? खुसीको कुरा हो ।’
सम्झौताअनुसार चारवटा खेल सकियो । धवनलाई हामी दुईजना मात्रै सगरमाथा जाऊँ भनेको थिएँ । तर, उनले मेरो बडिगार्डलाई पनि लैजानुपर्छ भने । हामी पाँचजना जाने तयारीमा थियौँ । तर, ३५० केजी मात्रै जान मिल्ने भएर हामी हेलिकोप्टरमा चारजना गयौँ । उनलाई ‘सगरमाथा हेर्न जाने भए, बिहानै पाँच बजे उठ्नुपर्छ,’ भनेको थिएँ । कहिल्यै बिहान पाँच बजे नउठ्ने धवन त्यो दिन पाँच बजे नै उठेका रहेछन् ।
आठ बजे हामी सगरमाथा हेर्न उड्यौँ । पाइलट विदेशी थिए । काभ्रेबाट नै हिमाल देख्न सुरु भयो । त्यहीँबाटै धवनले साथीहरूलाई भ्यु देखाउन थाले । पछाडि रहेका साथीहरूलाई भन्दै थिए,‘मैले गर्दा तिमीहरूले नि हिमाल देख्न पायौ ।’
चरिकोटतिर पुगेपछि हुस्सुमाथि अर्काे हेलिकोप्टर पनि देखियो । प्लेन पनि आयो । गज्जबकै दृश्य थियो यो । हेलिकोप्टर गएर लुक्लामा रोकियो । यही हो ? भनेर धवनले सोध्न थाले । उनलाई निकै जाडो भएछ । हामीले यो पहिलो फेस हो भन्यौँ । बडिगार्ड निकै डराएका थिए ।
सगरमाथानजिकै पुग्यौँ । धवन उत्साहित थिए । सगरमाथा आधारशिविरदेखि कालापत्थर हुँदै चुचुरोसम्म हेलिकोप्टर नजिकबाट फन्को लगाउँदा शिखर र उनको टिम उत्साहित थियो । यो कुन हिमाल हो, यो कुन हो भनेर पाइलटसँग फ्रिक्वन्ट्ली कुरा गरिरहेका थिए । साथै, चुचुरोको समीपमा फोटो पनि खिचिरहेका थिए । स्वर्गीय आनन्द महसुस गरेको उनको भावभंगीले भनिरहेको थियो । आधारशिविरदेखि चुचुरोसम्म फन्को लगाएपछि तल सगरमाथा भ्यु पोइन्ट होटेल आइपुग्यौँ । त्यतिवेला त्यहाँ हिउँ थिएन । उनलाई पहिलोपटक म जाँदाको फोटो देखाएँ । धवनले सोधे, ‘यस्तो मनोरम दृश्य कहिले हुन्छ त ?’ मैले भनेँ, ‘एक महिना लाग्छ ।’
धवन एकदमै खुसी थिए । हामी एभरेस्ट भ्यु पोइन्टमा फर्किएपछि उनले आफ्नो परिवारसहित १० जनाभन्दा बढीलाई भिडियो कल गरेका थिए । ब्रेकफास्ट त्यहीँ गर्यौँ । केही समयपछि चिया र नम्किन खाएँ । सबैलाई भिडियो देखाएँ । साथीभाइहरूलाई उनले भने,‘तिमीहरू बिहानभरि सुत्छौै । हे र त, दिल्लीबाट एक घण्टामा जन्नतमा पुग्न सक्ने रहेछौँ ।’ आफ्नी आमासँग कलमा बोल्दै भनेँ, ‘यो साथीले मलाई सगरमाथा देखाउन ल्याएको हो ।’ आफ्ना साथीभाइमाझ धवनले संसारकै सर्वाेच्च शिखर एक घण्टाको दूरीमा छ, भारतीयहरूलाई थाहै छैन भन्दै आश्चर्य प्रकट गरे ।
हामी फोटो खिचेर लुक्ला झर्यौँ । बजार झरेपछि हेलिकोप्टरले अर्को छोटो फ्लाइट गर्छु भन्यो । धवनले यहीवेला स्थानीय भरियालाई भेटे । २०० किलोसम्म बोक्ने भरिया रहेछन् । उनीहरूसँग कुरा गर्दै त्यो भारी बोक्ने प्रयास पनि गरे । तर, उठाउन सकेनन् । यस्तो काम गर्ने मान्छे पनि हुने रहेछन् भनेर अचम्म माने । हिमालमा आफ्नो फ्यान भेटेपछि फेरि घरमा कुरा गरेर सुनाए । गाइडसँग पनि कुरा गरे । ससाना नानीबाबुसँग गफ गरेर केही समय बिताए ।
हामी ‘कर्णाली याक्स’को टिम भएकाले याक पनि देखायौँ । सामाजिक सञ्जालमा राख्न उनले ‘रिल’ पनि बनाए । डान्स पनि हेरे । उनलाई त्यहाँको जनजीवन कल्पनाभन्दा माथिको लागेको रहेछ । उनले भने, ‘यस्तो पहाडमा पनि मान्छे बस्दा रहेछन् । यहाँ पनि डलर चल्ने रहेछ ।’ उनले नेपाललाई यो स्तरमा सोचेका रहेनछन् ।
धवनसँगका त्यही तस्बिर संसारभरि फैलियो । तस्बिरलाई टुरिजम बोर्डले पनि स्थान दियो । हामीले पर्यटन प्रवद्र्धन गरेछौँ भन्ने लाग्यो । त्यो यात्रापछि महसुस भयो, हामीले नजिकैको दिल्लीमा समेत सगरमाथाको प्रचार गर्न सकेका रहेनछौँ ।