• वि.सं २०८१ माघ ३० बुधबार
  • Wednesday, 12 February, 2025
अन्वेषण अधिकारी/पवन बराइली
२०८१ माघ ५ शनिबार १०:२४:००
रिपाेर्ट

जेन–जीका सपना

जेन जी भन्छ– युवाहरूलाई देश चलाउन दिनुपर्छ 

२०८१ माघ ५ शनिबार १०:२४:००
अन्वेषण अधिकारी/पवन बराइली

 

विश्लेषक भन्छन्– यो पुस्ताको चाहना र सपनाबारे राज्यले सोच्नुपर्छ 

 

सन् १९९७ देखि २०१२ सम्म जन्मिएको पुस्तालाई ‘जेनेरेसन जेट’ अर्थात् ‘जेन जी’ नाम दिइएको छ । १३ देखि २८ वर्षसम्मको यो पुस्ता डिजिटल युगसँगै हुर्कियो । यो पुस्ताभन्दा ठिकअघिको जेनेरेसन वाई अर्थात् मिलेनियल पुस्ता (सन् १९८१ देखि १९९६ सम्म जन्मिएको पुस्ता) ले समाचार रेडियोमा सुन्थ्यो, टेलिभिजनमा हेर्थ्यो । हुलाकमार्फत चिठी महिनौँपछि पाउँथ्यो । तर, ‘जेन जी’ले समाचार हेर्ने–सुन्ने दुबै स्मार्ट फोनको कुनै एप्समार्फत गर्‍यो । चिठीपत्र, प्रेमपत्र म्यासेन्जरभित्र घुस्यो । जेन जी हुर्किंदै गर्दा संसारमा ठुल्ठुला प्रविधिको तीव्र विकास भयो । ती प्रविधि नेपालमा पनि भित्रिए । सन् ९० पछिको राजनीतिक उथलपुथललाई बाल्यकालीन स्मृतिको कतै छेउकुनामा राख्ने यो पुस्ता के सोच्छ ? समाजमा सुनिएजस्तै के यो बिन्दास पुस्ता हो ? यो पुस्ताको सपना कस्तो छ ? उनीहरूका चुनौती कस्ता छन् ? यही पुस्तासँग साक्षात्कार गरी उनीहरूको मनोभावना खोतल्ने प्रयास गरेका छौँ ।

 

      ०००                                      ०००

 

ललितपुर इमाडोल बस्ने निशा दर्नाल (२३) पढाइसँगै तेक्वान्दो खेललाई अघि बढाइरहेकी छिन् । उनी दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) की स्वर्ण विजेता खेलाडी हुन् । विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा देशका लागि उनले पदक जितिसकेकी छिन् । बाल्यकालदेखि तेक्वान्दो सिक्न थालेकी निशा निरन्तरको अभ्यास, लगनशीलता, प्रतिबद्धताका कारण राष्ट्रियस्तरको खेलाडी बन्न सफल भइन् । भन्छिन्, ‘समय व्यवस्थापन र लगनशीलता नै मेरो सफलताको आधार हो । ४ कक्षादेखि तेक्वान्दो सिक्न थालेकी हुँ । दैनिक तालिका तयार गर्ने, अभ्यास, पढाइ र अन्य गतिविधिलाई सन्तुलन मिलाएर अघि बढेँ । बिहान–बेलुका तेक्वान्दोको तालिम गर्थें । दिउँसो पढाइमा केन्द्रित भएँ ।’ ब्लुबर्ड कलेजमा बिबिएस चौथो वर्षमा पढिरहेकी उनी नेपाल पुलिस क्लबबाट तेक्वान्दो खेलिरहेकी छिन् । तेक्वान्दोले आत्मविश्वास बढाएको उनको अनुभव छ । 

 

भविष्यमा खेलकुदलाई समाज परिवर्तन र व्यक्तित्व विकासको माध्यम बनाउने चाहना रहेको उनी बताउँछिन् । तेक्वान्दो खेललाई ग्रामीण क्षेत्रसम्म पुर्‍याउने सोच रहेको उनी बताउँछिन् । उनी भन्छिन्, ‘ग्रामीण क्षेत्रका युवा–युवतीलाई यो खेलप्रति आकर्षित गराउन भूमिका खेल्ने लक्ष्य लिएको छु । यो खेलबाट उनीहरूको शारीरिक र मानसिक विकासमा सहयोग पुग्नेछ । खेलकुदले अनुशासन, आत्मविश्वास र नेतृत्व विकास गर्न मद्दत गर्छ,’ उनले भनिन् । तेक्वान्दो खेलमार्फत विश्वस्तरमा नेपालको नाम चिनाउन सकिने उनी बताउँछिन् । यसका लागि भविष्यमा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीको सहभागिता बढाउनुपर्ने उनी बताउँछिन् ।

 

नेसनल कलेजमा कानुन विषय दोस्रो वर्षमा अध्ययनरत सहारा भण्डारी (२२ वर्ष) भविष्यमा नेपालमै वकालत गर्ने सोच रहेको बताउँछिन् । विदेश गएर पढ्ने र त्यसपछि नेपाल फर्केर सेवा दिने उनको योजना छ ।

 

‘विदेशमा बिएएलएलबी सकेर आएपछि नेपालमै वकालत गर्ने सोच छ,’ उनले भनिन् ‘नेपालको न्याय प्रणालीमा योगदान दिने र समाजलाई सशक्त बनाउने सोच छ । महिला अधिकार, सामाजिक न्याय, समानताको मुद्दामा विशेष काम गर्ने सोचेको छु । अन्तर्राष्ट्रियस्तरमा कानुन बुझेर मानव अधिकारको क्षेत्रमा योगदान गर्ने, आफ्नै देशमा अवसर खोज्ने सोच छ ।

 

वकिल बनेर वातावरणसँग सम्बन्धित कानुन र मानव अधिकारको क्षेत्रमा बढी काम गर्ने उनले बताइन् । ‘वातावरणसम्बन्धी काम गर्ने, मानव अधिकार संरक्षण र दुर्गम क्षेत्रका जनतालाई कानुनी शिक्षा, सेवा प्रदानजस्ता काम गर्ने योजना छ,’ उनले भनिन् ।

 

कानुनको अध्ययनले न्याय, समानता, मानव अधिकारजस्ता विषयमा सजग र उत्तरदायी बनाएको उनको अनुभव छ । भविष्यमा आफ्नो ज्ञानको प्रयोग गरी समाजलाई कानुनी अधिकार, कर्तव्य र जिम्मेवारीबारे सचेत गराउने सोच छ । ‘समाजमा न्यायको स्थापना, मानव अधिकारको संरक्षण र कानुनी सचेतनाको प्रवर्द्धनमा हामीजस्ता युवाले सक्रिय भूमिका खेल्न सक्छाैँ,’ उनी भन्छिन्, ‘अहिले समाजमा अन्याय, भ्रष्टाचार, अपराधजस्ता विषय व्याप्त छ । हामीजस्ता युवाले कानुन पढेर नयाँ प्रविधि र परिवर्तनलाई समाजमा परिचित गराउन, न्याय प्रणालीलाई प्रभावकारी बनाउन, कानुनी प्रक्रियामा सुधार ल्याउन सक्छौँ ।’

 

सहाराले केही समयअघि डिबेट नेटवर्क नेपालको निर्देशक भएर काम गरिन् । ‘मैले आलोचनात्मक सोचलाई प्रोत्साहन गर्ने काम गरेँ । युवाहरू नेतृत्व, संवाद, सामाजिक परिवर्तनका लागि प्रतिबद्ध हुनुपर्छ,’ उनी भन्छिन्, ‘समाजसँग नजिक भएर काम गरेँ । डिबेट नेटवर्क नेपालले युवापुस्तामाझ क्रिटिकल थिंकिङ बढाउने काम गर्छ । अहिले युवापुस्तामा क्रिटिकल थिंकिङको कमी छ जस्तो लाग्छ । अहिले हामी कुनै घटनाको फ्याक्ट चेक नगरी त्यसको पछि लाग्छौँ ।’

 

काठमाडौंको जोरपाटीस्थित बेसीगाउँ बस्ने विशाल घतानी आफ्नो अध्ययन र कामलाई सन्तुलन मिलाएर अघि बढाइरहेका छन् । उनी बिहान र दिउँसो आफ्नो पढाइलाई प्राथमिकता दिन्छन् । उनी हप्ताको चार दिन भने साँझको समय ठमेल, दरबारमार्गलगायत क्लबमा गितार बजाउन पुग्छन् । ‘म कलेजका सबै कक्षा नियमित जान्छु । पढाइको समयतालिका बनाएर होमवर्क गर्छु । अहिले पढ्नु र गितार बजाउनु मेरो प्राथमिकता हो । जसले गर्दा मलाई सहज बनाएको छ,’ उनले भने ।

 

साँझको समयमा क्लबमा गितार बजाउनु उनको आम्दानीको स्रोत मात्र नभई आफ्नो रुचि क्षेत्र पनि हो । भन्छन्, ‘गितारले मानसिक रूपमा आनन्द दिन्छ । यसले थप पढाइ र कामलाई सन्तुलित राख्न मद्दत गरेको छ ।’ विशाल ठमेलका क्लबमा गितार बजाएर कला प्रस्तुत गर्छन् । भविष्यमा गीत–संगीत क्षेत्रमा आफूलाई स्थापित गर्ने उनको योजना छ । उनले ‘द समृद्ध ब्यान्ड’ स्थापना गरेका छन् । नेपाली गीत–संगीतको दायरा फराकिलो हुँदै गएको उनी बताउँछन् । क्लबमा गितार बजाउनु उनका लागि मनोरञ्जन मात्रै होइन । ‘मेरा लागि यो संगीतलाई साधना गर्ने थलो पनि बनेको छ । भविष्यमा राम्रो गितारिस्ट बनेर नयाँ–नयाँ शैलीको संगीत सिर्जना गर्ने योजना छ,’ उनले भने । गीत–संगीतबाट नै अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो कला प्रस्तुत गर्ने सोच रहेको उनले बताए ।

 

कोटेश्वरको ग्ल्यासियर कलेजमा कक्षा १२ पढ्ने आधार सुनार (१८) को जीवनशैली बाहिरबाट हेर्दा बिन्दास र सजिलो देखिन्छ । तर, उनी मिहिनेत पनि उत्तिकै गर्छन् । आफ्नो पढाइ र भविष्यको योजनालाई लिएर उनी स्पष्ट छन् । उनले १२ सकेर सरकारी क्षेत्रमा काम गर्ने योजना रहेको बताए । ‘घरको हजुरबुबा र बुबा नेपाल आर्मीमा हुनुहुन्छ । जसले गर्दा मलाई सानैदेखि आर्मी बन्ने इच्छा थियो । १२ सकेपछि नेपाल आर्मीका लागि तयारी गर्ने सोच बनाएको छु,’ उनी भन्छन्, ‘विदेश जानुभन्दा नेपालमै आर्मी बनेर देश र जनताको सेवा गर्ने इच्छा छ । अहिले त्यसरी नै तयारी गरिरहेको छु ।’

 

उनी पढाइको समयमा पूर्ण रूपमा दत्तचित्त भएर लाग्छन् । अरू वेला उनी साथीभाइसँग नयाँ–नयाँ ठाउँमा घुम्न पुग्छन् । नयाँ ठाउँ डुल्दा मस्तिष्क फ्रेस रहने र पढाइमा अझै ध्यान केन्द्रित गर्न सकिने उनको अनुभव छ । ‘सधैँ भविष्यप्रति गम्भीर रूपमा सोचेर हुँदैन । जीवनमा स्पष्ट गन्तव्य भएपछि साथीभाइसँग भेट्नु, रमाइलो गर्नुले केही फरक पार्दैन । तर, आफ्नो भविष्यलाई गम्भीरताका साथ लिनुपर्छ,’ उनले भने । 

 

रिलायन्स इन्टरनेसनल एकेडेमीमा कक्षा १२ मा अध्ययनरत संस्कार कुइँकेल देशमै बसेर काम गर्ने आफ्नो सोच रहेको बताउँछन् । व्यापार–व्यवसायमा युवालाई जोड्ने गरी सरकारले नीति ल्याउनुपर्ने उनी बताउँछन् । ‘व्यापार व्यवसायमा युवालाई विशेष प्राथमिकता दिनुपर्छ । विनाझन्झट ऋण उपलब्ध गराउने र त्यसको पारदर्शी निगरानी गर्ने काममा सरकार लाग्नुपर्छ । बेरोजगार युवालाई स्वरोजगार बनाउन सरकार सक्रिय हुनुहुपर्छ,’ उनले भने ।

 

मोलिस कलेज लगनखेलमा ११ कक्षामा अध्ययनरत नवन केसी पनि भविष्यमा देशमै बसेर उद्यम गर्ने सोचमा छन् । तर, सरकारले युवालाई पढाइ र सीपअनुसारको काम दिन नसकेको उनको अनुभव छ । ‘यहाँ त केवल जाँचमा राम्रो अंक ल्याउन पढेजस्तो छ । यसरी कसरी रोजगारी सिर्जना होला र,’ उनले भने, ‘हामीले कृषिबाहेक अरू कुनै वस्तुको उत्पादन गरेजस्तो लाग्दैन । कृषि उत्पादनले पनि राम्रो बजार पाउन सकेको छैन । सरकारले उद्योग, कलकारखाना खोलेर युवालाई देशमै राख्ने वातावरण बनाउनुपर्छ । सीपमूलक र प्राविधिक शिक्षामा सरकारले लगानी गर्नुपर्ने उनले बताए ।

 

युवाहरू नेतृत्वमा नआएसम्म देश विकास हुन नसक्ने रियालयन्स एकेडेमीमा अध्ययनरत प्राप्ति लम्साल बताउँछिन् । ‘युवालाई देश चलाउन दिनुपर्छ । यसो गर्दा हाम्रो देशमा पनि परिवर्तन आउने सम्भावना छ । देशमै केही गर्ने सोच राखेका हामीलाई ठुलो प्रेरणा मिल्नेछ । विकास निर्माण कार्यमा युवाको सहभागिता बढाउन जरुरी छ,’ उनले भनिन् ।

 

एम्बिसन कलेजमा अध्ययनरत झापा शिवसताक्षी नगरपालिका–११ की प्रविज्ञा नेपाललाई भविष्यमा जेनेटिक इन्जिनियरिङमा काम गर्ने इच्छा छ । यस क्षेत्रमा अहिलेसम्म नेपालमा लगानी नभएको उनले बताइन् । ‘विदेश गएर पढेर नेपाल फर्कने इच्छा छ,’ उनले भनिन्, ‘विदेशमा सीप सिकेर त्यसलाई नेपालमै उपयोग गर्न चाहन्छु । देशमा युवालाई स्वरोजगार बनाउने गरी नीतिहरू ल्याउन जरुरी छ ।’

 

एम्बिसन कलेजमै अध्ययनरत नुवाकोटका दिपेन तामाङलाई डाक्टर बनेर गाउँमा गई सेवा गर्ने इच्छा छ । ‘चिकित्सा विज्ञान मेरो रुचिको विषय हो । गरिबहरूले सहुलियत पाउन सकेका छैनन् । गाउँमा स्वास्थ्यको अवस्था राम्रो छैन । यसमा सरकारले ध्यान दिनुपर्छ । म भविष्यमा चिकित्सक बनेर गाउँमै गएर सेवा गर्न चाहन्छु,’ उनले भने ।

 

उक्त कलेजमै अध्ययनरत सिन्धुलीका राम ठटालको योजना आइटी इन्जिनियर बन्ने छ । ‘आइटी क्षेत्रमा काम गर्न चाहन्छु । सरकारले प्रविधिको विकासमा ध्यान दिनुपर्छ भन्ने लाग्छ । प्राविधिक रूपमा अन्य राष्ट्र धेरै अघि बढिसके । हामी निकै पछाडि छौँ । यो अवस्थामा सुधार ल्याउन जरुरी छ,’ उनले भने ।

 

नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा १२ कक्षामा अध्ययनरत एन्जल पुडासैनी भविष्यमा समाजसेवा र राजनीतिमा लाग्न चाहन्छिन् । राजनीतिमा महिलाहरूको प्रतिनिधित्व कम भएको उनको बुझाइ छ । पुरानो पुस्ताका नेताले राजनीतिमा युवालाई ठाउँ दिन आनाकानी गरिरहेको उनी बताउँछिन् । देशमा कानुनसम्मत रूपमा काम नभएको उनको बुझाइ छ । ‘राजनीतिमा महिला निकै कम छन् । सरकारमा पनि महिला मन्त्री निकै कम छन् । यसलाई सुधार्नुपर्छ,’ उनले भनिन्, ‘समाजसेवा र राजनीति मेरो रुचिको विषय हो । भविष्यमा नेपालमै बसेर यी क्षेत्रमा योगदान गर्ने मन छ ।’

 

काठमाडौंको मन्डिखाटारस्थित काष्ठमाण्डप ए लेभल एकेडेमीमा अध्ययनरत विपिन तिमल्सिनाले भविष्यमा अन्तरिक्ष वैज्ञानिक बन्ने लक्ष्य राखेका छन् । ‘भविष्यमा अन्तरिक्ष वैज्ञानिक बनेर मानव सभ्यता र समाजको कल्याणमा आफ्नो जीवन समर्पित गर्ने लक्ष्य छ,’ उनी भन्छन्, ‘सरकारले प्रविधि क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्छ ।’

 

काठमाडौं मोडल सेकेन्डरी स्कुलमा ११ कक्षामा अध्ययनरत सुप्रिया श्रेष्ठ भविष्यमा नेपाली मौलिक उत्पादनको प्रवर्द्धन र पर्यटन व्यवसायमा सक्रिय हुन चाहन्छिन् । ‘मेरो योजना पर्यटन र नेपाली मौलिक उत्पादनको प्रवर्द्धन गर्ने छ । देशमै बसी विदेशी मुद्रा कमाउने लक्ष्य छ । यसले देशको आर्थिक स्थितिमा पनि सुधार ल्याउँछ भन्ने लाग्छ,’ उनले भनिन् । 

 

सरकारले रोजगारी सिर्जना गर्ने गरी नयाँ–नयाँ योजना ल्याउनुपर्ने उनले बताइन् । ‘युवाहरूलाई स्वरोजगार बनाउन सरकारले. नयाँ योजना बनाउनुपर्छ । युवालाई देशमै बसेर आफ्नो प्रतिभा र कौशल विकास गर्नका लागि प्रेरित गर्नुपर्छ,’ उनले भनिन् । राजनीतिक अस्थिरताका कारण नेपालको विकासमा गतिरोध सिर्जना भएको उनको बुझाइ छ । भ्रष्टाचार नियन्त्रण नभएसम्म मुलुकले समृद्धि हासिल गर्न नसक्ने उनले बताइन् ।

 

ब्रिजवाटर इन्टरनेसनल कलेजमा अध्ययनरत प्रितिला गौतमले भविष्यमा नेपालको स्थिरता, विकास र सामाजिक न्यायका लागि पैरवी गर्ने सोच बनाएकी छिन् । ‘भविष्यमा नेपालको स्थिरता, विकास र सामाजिक न्यायका लागि सक्रिय सहभागिता जनाउने योजना छ । युवाको प्रतिनिधित्व बढाउन, उनीहरूलाई राजनीति र नेतृत्वमा अवसर दिनुपर्छ,’ उनले भनिन्, ‘शिक्षा, सीप विकास, उद्यमशीलता प्रोत्साहन र आर्थिक अवसरको पहुँच युवालाई हुनुपर्छ । राज्यले नीति कार्यक्रम र सहुलियतपूर्ण ऋणजस्ता योजना ल्याएर उद्यमीलाई समर्थन गर्न जरुरी छ ।’ नेपालमा लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रता राम्रो भए पनि अस्थिरता, भ्रष्टाचार र दलगत स्वार्थका कारण विकास गतिविधि सोचेजसरी अघि बढ्न नसकेको उनले बताइन् ।

 

     ०००                                       ०००

 

समाजशास्त्री डा.केशव सिलवाल जेनेरेसन जेडलाई सामाजिक सञ्जाल र प्रविधिको भरपूर प्रयोग गर्दै हुर्किएको पुस्ता मान्छन् । त्यसैले यो पुस्ताको सोचाइ अघिल्लो पुस्ताको भन्दा एकदमै फरक देख्छन् उनी । भन्छन्, ‘उनीहरू धेरै संघर्ष गर्नुपर्छ भन्ने लक्ष्य लिएर अघि बढिरहेका हुन्छन् । त्यसैले प्लसटु पुस्तासमेत बिदेसिइरहेका छन् । त्यसैको परिणाम नेपालमा मास्टर्स पढ्ने विद्यार्थीको खडेरी परिरहेको छ ।’

 

यो पुस्तालाई उनी विदेशमा गएर संघर्ष गर्न मन पराउने, विदेशी मूल्य–मान्यतालाई मन पराउने खालको ठान्छन् । उनी भन्छन्, ‘उनीहरूको सोचाइ र लक्ष्य भनेको स्वदेशमा मात्रै होइन, विश्वमा आफू कसरी फरक ढंगबाट स्थापित हुने भन्नेतिर छ । विश्वसँग उनीहरू प्रतिस्पर्धा गरिरहेका छन् ।’ 

 

नेपालमा जेनेरेसन जेडबारे समाजशास्त्रीय दृष्टिकोणबाट अध्ययन नभएको उनी बताउँछन् । ‘समाजशस्त्रीय रूपमा उनीहरूले कसरी सोच्छन् भन्ने कुराको अध्ययन भएको छैन । राजनीतिक, आर्थिक रूपमा कसरी सोच्छन् भन्ने कुराको हाम्रोमा छलफल तथा अध्ययन हुन सकेको छैन,’ उनी भन्छन्, ‘यो पुस्ताबारे ठुला राजनीतिक दलले पनि अनुमान गर्न सकिरहेका छैनन् । त्यसकारण यो पुस्ताको अध्ययन, चाहना, सपना, लक्ष्यबारे प्राज्ञिक क्षेत्रमा अध्ययन हुन आवश्यक छ । राज्यले पनि यो पुस्ताबारे सोच्नुपर्छ ।’ 

 

मनोविद् डा. विजय ज्ञवाली ‘जेनेरेसन जेडमा अघिल्लो पुस्ताको तुलनामा शारीरिक र मानसिक स्वास्थ्यमा तीव्र परिवर्तन भइरहेको बताउँछन् । जसका कारण उनीहरू विभिन्न मनोवैज्ञानिक समस्याबाट ग्रसित हुन्छन् । उनी भन्छन्, ‘उनीहरूको मुड एकनासको छैन । उनीहरूले प्रकट गर्ने संवेदनालाई समाज र अभिभावकले आवश्यकताअनुसार सम्बोधन गर्न जरुरी हुन्छ ।’

 

उनका अनुसार यो पुस्तामा एक्लोपन धेरै हुन्छ । किनकि, यो पुस्ता सामाजिक सञ्जालमा धेरै सक्रिय हुन्छ । ‘उनीहरू वास्तविक दुनियाँभन्दा भर्चुअल दुनियाँमा बढी रमाउँछन् । वास्तविक दुनियाँ र भर्चुअल दुनियाँको सन्तुलन मिलाउन नसक्दा एक्लोपनको सिकार हुन सक्छन्,’ उनी भन्छन्, त्यसपछि उनीहरूमा एन्जाइटी, डिप्रेसनजस्ता समस्या देखा पर्छ । यसले उनीहरूमा हीनताबोध, निराशा र आत्मविश्वासको कमी गराउँछ । यसबाट बच्न परिवारले उनीहरूसँग दुःखसुख र बाध्यताबारे छलफल गर्नुपर्छ ।’