
‘नेपालय’ प्रकाशन गृहले ल्याएको पुस्तक ‘पृथ्वीनारायण शाह नायक, प्रतिनायक अनि नायकदेशीय’भित्र ११ उपशीर्षक छन् । १३३ पृष्ठको संक्षिप्त पुस्तक उत्कृष्ट छ । पुस्तक पढिरहँदा हाम्रो इतिहास लेखनका बारेमा मतैक्यता नहुँदा बढ्ढो खिन्न लाग्छ । संयुक्तराज्य अमेरिका स्वतन्त्र हुनुभन्दा करिब ६ वर्षअगाडि नै आधुनिक नेपालको इतिहास सुरु हुन्छ । यसको एकीकरण तथा निर्माणको जग बसाल्ने वीरपुर्खा इतिहास पुरुषको गलत तवरले व्याख्या विश्लेषण भइदिनाले एक पुस्ताबाट अर्को पुस्तामा सही ज्ञानको हस्तान्तरण हुनसकेको छैन ।
इतिहासप्रति गर्व गर्नुको सट्टा नेपालीको चिनारी दिलाउने वीरविरंगनाको अपमान गर्छौँ । यसमा राज्य सञ्चालनको तकनिकिको पनि कमीकमजोरी छ । अमेरिकामा सरकारका महत्वपूर्ण निर्णयको एकप्रति द लाइब्रेरी अफ कंग्रेसमा, एकप्रति राष्ट्रपति कार्यालय र एकप्रति बहालवाला राष्ट्रपतिको निजी रेकर्डमा जान्छ । ताकि भोलि राष्ट्रपति हेटे पनि रेकर्ड नहटोस् । पुस्तकालय–संग्रहालय बनाउने गज्जबको प्रणाली विकास भएकाले राष्ट्रपति हुँदा गरेका महत्वपूर्ण कायको फेहरिस्त आमसर्वसाधारणले पढ्न र हेर्न पाउँछन् । जसले गर्दा त्यहाँको इतिहास लेखनमा लिपिबद्ध गर्न सहज र अनुसन्धानकर्तामा कुनै द्विविधा हुँदैन । हाम्रोमा ऐतिहासिक निर्णय, कागजातलाई व्यवस्थित गर्ने कार्य त्यो समय त के अहिले पनि त्यति व्यवस्थित देखिँदैन । इतिहास लेखनमा आफ्नो सम्पूर्ण समय लगाउने विद्वत्वर्ग तथा लेखकहरूलाई समेत कठिनाई उत्पन्न छ । दुःखको कुरा कतिपय विदेशी आआफ्नै स्वार्थबमोजिम परिचालित थिए, तिनैले लेखेका विषयलाई सही हो भनी सनसनी मच्चाउने र आफूलाई इतिहासवेत्ता र बुझक्कड बनाउने लहड पनि छ ।
नेपाल दक्षिण एसियाकै सबभन्दा पुरानो राष्ट्र तथा संसारको सर्वशक्तिमान मुलुक संयुक्तराज्य अमेरिका स्वतन्त्र हुनुभन्दा पनि अगाडिदेखि आफ्नो स्वतन्त्र हैसियत आजसम्म बचाइरहेको मुलुक हो । यसको सूत्रपात गर्ने एकीकरणकर्ता पृथ्वीनारायण शाहलगायतको योगदानलाई कम आँक्नै मिल्दैन । आज हामीलाई नेपाली हौँ भनी गर्व गर्ने चिनारी दिएर के पुर्खाले गल्ती गरेका हुन् ? आज उनीहरूको अवमूल्यन गर्ने काम भइरहेको छ । त्यो समयमा पनि अहिलेजस्तै भूराजनीतिक प्रतिस्पर्धा र एकदमै चुनौतीपूर्ण विश्व राजनीतिक परिदृश्य थियो । एकातिर भारतमा आफ्नो आधिपत्य विस्तार गरिरहेको इस्टइन्डिया कम्पनीका नामले अंग्रेज शासन त अर्कोतिर चिनियाँ बादशाहको अदृश्य संरक्षणमा रहेको तिब्बत । राजाले त्यतिखेर समग्र राज्य सञ्चालनका पात्रलाई सो अवस्थाको समग्र परिदृश्य, परिस्थिति र वस्तुस्थितिलाई नियालेर धेरै सुझबुझपूर्ण तवरले दिव्योपदेश दिएको कुरा लेखकले गहिरो अध्ययनले पुष्टि गरेका छन् जो सत्य हो ।
लेखकले उल्लेख गरेझैँ जंगलमा तपस्या गर्ने ऋषिमुनिका त शत्रु हुन्छन् भने आफ्नो राज्य बढाएर हिँड्ने पृथ्वीनारायण शाहको शत्रु नहुने कुरै भएन । त्यही भएर पनि केही विदेशी र परिचालितबाट इतिहासलाई गलत किसिमले व्याख्या हुने गरेको छ यतिसम्मकि पृथ्वीनारायण शाह राजनीतिज्ञ होइनन्, साम्राज्यवादी वा विस्तारवादी विचारले अनुप्राणित लुटेरा हुन् भन्ने प्रचारसम्म गर्न भ्याएका छन् । तर, खण्डन कसले गर्ने आधिकारिक के हो भनेर कसले भन्ने ? समस्या यहाँनिर छ । नेपालमा राजतन्त्र बिदा भएर सर्वसाधारणको हातमा राज्यको बागडोर पुगेपछि पृथ्वीनारायण शाहको अपमान गर्दै ठाउँठाउँमा सालिक भत्काउने, इतिहासलाई चटक्कै बिर्सने र गलत व्याख्या गर्ने गरेका ताजा उदाहरण छन् ।
पृथ्वीनारायण शाहको समयको परिवेश विकास निर्माणभन्दा पनि राज्य विस्तारको समय थियो । विश्वभरि नै र उनले आफ्नो बलबुताले भ्याएसम्म गोरखा राज्यलाई विस्तार गरे । सायद उनी आजको समयको शासक भएको भए उनको सोचाइ र प्राथमिकता फरक हुन्थ्यो । हरेक कुरा सापेक्ष हुन्छ र सोहीबमोजिम व्याख्या गर्नुपर्ने हुन्छ । यसमानेमा पनि आफ्नो विषयमा स्पष्ट ढंगले बोलेर जाने नेपाली शासकमा पृथ्वीनारायण शाह मात्र हुन् । उनले आफ्ना मीठा मात्र नभएर तीता अनुभव पनि हामीलाई बताएका छन् ।
लेखक महेशराज पन्तका अनुसार प्राचीनकालमा राजकुमारलाई राजनीति र इतिहासको राम्रो शिक्षा दिने चलन भए पनि पछि गएर अध्यात्मवादको बाढी आएकाले इहलौकिक विद्यामा तिरस्कार बढ्दै गयो र राजनीति र इतिहासको शिक्षा दिने चलन हराउँदै गयो । राजकुमारहरू कि पढ्दै पढ्दैनथे, पढे पनि तन्त्रमन्त्र पूजापाठ गानाबजाना वेदान्तसेदान्त काव्यसाव्य नै विशेष पढ्ने गर्थे । पृथ्वीनारायण शाह राजकाजमा काम नलाग्ने विद्याले दूषित हुन पाएनन् । हुन पनि पृथ्वीनारायण शाहले व्यावहारिक, मुलुकको इतिहास र वस्तुस्थितिलाई भने सूक्ष्म मनन गरेको उनको क्रियाकलाप तथा गतिविधिबाटै प्रस्टै हुन्छ ।
पृथ्वीनारायण शाहलाई राणाकालमा पूरै छायाँमा पार्ने काम भयो । गणतन्त्रकालमा त प्रतिनायक अर्थात् खलनायकको रूपमा चित्रण गरिएकोमा लेखकको गुनासो छ, जुन जोकोही राष्ट्रभक्ति र देशप्रेमीलाई दुख्ने कुरा नै हो । उनको जन्मदिनमा कहिले बिदा दिने कहिले कटौती गर्ने कति हल्का भएका छौँ हामी ! इतिहासलाई कति खेलबाड गरेका छौँ ? पुर्खाको योगदानमाथिको ठुलो अवमूल्यन होइन र यो ? त्यसैगरी, एकता दिवस कहिले मनाउने भन्ने कुरामा पनि लेखकले तथ्यसहितको विकल्प दिएका छन् जुन बढी सान्दर्भिक र उपयुक्त पनि छ । नेपाल एकीकरणको इतिहासमा नुवाकोट विजय ठुलो घटना भएको र नेपाल एकीकरणको जग यहीबाट बसेकाले असोज १५ गतेलाई एकता दिवसका रूपमा मनाउनुपर्ने तर्क लेखक प्रस्तुत गरेका छन् । यसमा दम छ । उनको विचारमा काठमाडाैं विजय न त राष्ट्रिय एकीकरण उठान थियो न त बैठान नै ।
‘पृथ्वीनारायण शाहको उपदेशको औचित्य’ शीर्षकमा लेखकले साह्रै गम्भीर व्याख्या गरेका छन् । पृथ्वीनारायण शाहको उपदेश उनको राजनीतिक दर्शन हो । पृथ्वीनारायण शाहको नीति जनतालाई धनी पार्ने तर जंगी र निजामती कर्मचारीलाई धनी बन्न नदिने थियो । यदि जंगी र निजामती धनी भएको खण्डमा उनीहरूमा मर्न मार्न सक्ने जोश जाँगर आउँदैन र यसले गर्दा शत्रुको चमक बढ्छ । तर, आज यही नीति अनुसरण नहुँदा प्रजा दुब्ला र जंगी र निजामती कर्मचारी मोटा भएका छन् भनी बढो गम्भीर र मननीय कुरा आजलाई नभई युगयुगलाई समेत उपयोगी हुने वाणी दिएका थिए । नेपाल राज्यलाई थाम्ने उपायका बारेमा उनले उपदेश दिएका हुन् र जसको औचित्य अझसम्म पनि छ।
पृथ्वीनारायण शाहले कीर्तिपुरेहरूका नाक काटेको प्रसंगबारे पुस्तकमा एउटा पूरै शीर्षकमा लेखकले बढो मिहीन व्याख्या गरेका छन् । उक्त समयमा जेनेभा महासन्धिको प्रावधान पनि थिएन र मानव अधिकारका कुनै स्थापित मूल्यमान्यता पनि थिएन । सो समयको परिस्थितिलाई गलत तरिकाले व्याख्या गर्ने, बढाइचढाइ गर्ने धर्मप्रचारक र विभिन्न बहानामा नेपाल छिरेका विदेशी तत्व थिए र अझै पनि सकेसम्म विदेशी र कुनै रूपमा परिचालित सोही रूपमा प्रयोग भएका छन् । युद्धमा विपक्षीहरूलाई नदबाएसम्म जित सम्भव छैन । वास्तविकता यही हो र सो समयमा दुईपटकसम्म हार व्यहोरेको पीडा, काजी/सेनापति गुमाएको, आफ्नै भाइको आँखा विपक्षीबाट फुटाएको घटना पनि त थिए । नाक काटेर सजाय दिएको अर्को प्रसंग पनि लेखकले उल्लेख गरेका छन् ।
पृथ्वीनारायण शाहको योगदानको अवमूल्यन भइरहेको सन्दर्भमा उनलाई बुझ्न यो पुस्तक एकदमै सान्दर्भिक छ । लेखकले विभिन्न समयमा सोध अनुसन्धानसहित लेखेका लेखहरूलाई समयसापेक्ष अपडेट गरेर पस्किएका छन् । नेपालको इतिहास बुझ्न, अहिले विश्वमा चलिरहेको भूराजनीतिक तथा भूआर्थिक टकरावको परिदृश्य बुझ्न यो पुस्तक उपयोगी छ । इतिहासका यी महत्वपूर्ण घटना, परिवेश तथा सो समयमा अख्तियार गरेका नीतिहरू अझै भविष्यमार्गी हुन सक्नेछन् । विशेषगरी नेतृत्वमा रहेका राजनीतिज्ञ र जंगी तथा निजामतीहरूले पढ्नैपर्ने सन्दर्भसामग्रीको रूपमा यस पुस्तकलाई लिन सकिन्छ ।