
कानुनी भाषामा सबै करार सम्झौता हुन्, सबै सम्झौता करार हुन सक्दैनन् भनिन्छ । त्यसैगरी, अध्यात्म धर्म हो, सबै धर्म अध्यात्म नहुन सक्छ । अध्यात्म र धर्म राजनीतिको स्रोत हो, राजनीति अध्यात्म र धर्मअनुसार नगरिएको हुन सक्छ । अध्यात्म र धर्मलाई एउटै वा बिलकुल अलग सम्झिने र राजनीति गर्नेले अध्यात्म र धर्मको उच्चारण पनि गर्न हुँदैन भन्ने भ्रम र अतिवादी सोच देखिन्छ, समाज र राजनीति गर्नेहरूमा । अध्यात्म, धर्म र राजनीति अलग–अलग शब्द हुन्, अर्थ पनि फरक छ, तर सम्बन्ध अन्योन्याश्रित छ । किनभने, मानिसको कल्याणका लागि मानिसले विकसित गरेका अवधारणा हुन् । पुस्ताँैपुस्ताका ऋषिमुनि र दार्शनिकको लामो आत्मानुसन्धानबाट यी अवधारणा जन्मिएका हुन् ।
हाम्रै ऋषि वेदव्यासले वेद रचना गरी अध्यात्म र प्राचीन सनातन हिन्दु धर्मको जग बसालेको देश नेपालको राजनीति अध्यात्म र धर्मबाट विमुख हुँदा भयावह अवस्थामा पुगेको छ । नेपालको आत्मा अध्यात्म हो । पश्चिमा सभ्यता र संस्कृतिको अन्धानुकरणले थला पर्यो यो ऋषिभूमि । वेदबाट ज्ञान लिएर पश्चिमा मुलुकले भौतिक उन्नतिको शिखर चुमे । वेद र भागवत गीताको अवज्ञा गर्दा अस्वाभाविक रूपमा पछि पर्यौँ हामी । त्यसैले, अध्यात्म, धर्म र राजनीतिको सम्बन्धमा यो लेख केन्द्रित गरिएको छ ।
छोटकरीमा भन्नुपर्दा अध्यात्म भनेको आफूलाई चिन्नु हो । आफू भनेको जीवन हो । जीवन प्राणवायुदेखि ऊर्जा, चेतना, सत्य, शरीर, मन, चित्त, अहंकार, वुद्धि , विवेक, आत्मा, ज्ञान, सजगता, रिस, राग, द्वेष, अनुभव र अनुभूतिजस्ता अदृश्य कुराले चलाएको हुन्छ । यिनै अदृश्य कुरा नै बलवान् छन् । अध्यात्मले यी अदृश्य कुराबिच समन्वय, सहकार्य र सहअस्तित्व कायम गर्ने ज्ञान र विधि दिन्छ ।
मानिसको जीवन शरीर, मन र आत्माको त्रिवेणी हो । शरीर पूर्वजहरूबाट, मन पूर्वजन्मको कमाइबाट र आत्मा परमात्माबाट आएर बनेको हुन्छ, त्रिवेणीरूपी जीवन । शरीरबाट सुख, मनबाट खुसी र आत्माबाट आनन्द प्राप्त हुन्छ । शरीर, मन र आत्मा सुख, शान्ति र समृद्धिका तीन सिँढी हुन् । योगले जीवन ऊर्जा प्रकट र सञ्चार गरी शरीर स्वस्थ राख्छ । प्राणायामले हरेक कर्म गर्ने गराउने सर्वेसर्वा मनलाई संयमित बनाउँछ । ध्यानले ज्ञानको दायरा फराकिलो र गहिरो पार्छ ।
अध्यात्म कुनैपनि बन्धन होइन, परम स्वतन्त्रता हो । अध्यात्म र धर्म अन्तरसम्बन्धित छन् । तर, फरक कुरा हुन् । अध्यात्म र भौतिक विज्ञानबिच समानता र फरक दुवै छ तर द्वन्द्व छैन । अध्यात्म, धर्म र भौतिक विज्ञान सबै मानिसको हितका लागि मानिसले सिर्जना गरेका हुन् । यिनको संयोजनबाट मानिसको जीवन सफल र सार्थक हुन्छ । सुख, शान्ति, समृद्धि मानिसभित्रै छ । हरेक मानिसमा रहने नवगुण विकसित गरे सुख, शान्ति, समृद्धि प्राप्त हुन्छ । ती नवगुण हुन्– सत्यता, स्वाध्याय, निरहंकारिता, क्षमाशीलता, सर्वकल्याण भाव, सेवा भाव, मधुर वाणी, लक्ष्यसँग एकाकार र मुमुक्षा । मानिसका यिनै गुण नै भगवान् हुन् । यी नवगुणबाटै मानिसको क्षमता र प्रतिभा प्रस्फुटन हुन्छ । हरेक मानिसमा कुनै न कुनै प्रतिभा र क्षमता हुन्छ । आफ्नो क्षमता र प्रतिभा चिनेर आफ्नो स्टोरी लेखे जीवन सफल बन्छ । किनभने, जीवन फिल्मजस्तै हो । अध्यात्मले स्टोरी लेख्ने ज्ञान र अभिनय गर्ने कला सिकाउँछ ।
धर्म भनेको कुनैपनि वस्तुले धारणा गर्ने मूल स्वभाव हो । तातो अग्निको धर्म हो । अमिलो कागतीको धर्म हो । सनातन हिन्दु धर्मले वेदलाई आचरणमा ल्याउनु मानवको धर्म हो भन्छ । वेदको अर्थ हो ज्ञान । चार वेद अठार पुराणका रचयिता महर्षि व्यासले सबै वेद–पुराणको सार ‘परोपकार पुण्याय पापाय परपीडनम्’ अर्थात् अरूको सेवा गर्नु दुःख नदिनु धर्म हो भन्छन् । भागवत् गीतामा श्रीकृष्णले अर्जुनलाई तिमी जुन कर्म गर्छौ, त्यही धर्म हो भनेका छन् । दया र करुणा नै धर्म हो भन्छन्, भगवान् बुद्ध । इसाई धर्मका प्रवर्तक यशुले प्रेम नै ईश्वर हो भन्दै सबै प्राणीप्रति प्रेम गर्नुलाई धर्म मानेका छन् । इस्लाम धर्मले जुवातास, मदिरा सेवन, घुसलगायतलाई हराम हो भन्दै ईश्वर र ईश्वरको सृष्टिलाई प्रेम गर्नु धर्म हो भन्छ । हिन्दु धर्मले सर्वधर्म समभाव, उदारता, परोपकार, सहअस्तित्व, सहिष्णुता र स्वीकार्यतामा जोड दिँदै प्रकृति र ब्रह्मा, स्त्री र पुरुषमा भिन्नता नगरी सबै एकै आत्मरूप मान्दछ । धैर्य, क्षमा, वासनामाथि नियन्त्रण, चोरी नगर्नु, आन्तरिक र बाहिरी पवित्रता इन्द्रियलाई वशमा राख्नु, बुद्धिमत्ताको प्रयोग, बढीभन्दा बढी ज्ञानको चाहना, मन, वचन र कर्मबाट सत्यको पालना र क्रोध नगर्नुलाई गीताले धर्मका दश लक्षण बताएको छ । सारा धर्मका ग्रन्थमा धर्मको मर्म एउटै छ । जीवनको अर्थ, उद्देश्य र मूल्यहरूको खोजीमा सघाउँदै मानवीय गुणहरूको विकास र परिपूर्णताले मानिसमा मानवता भरिदिन मार्गदर्शन गर्नु धर्मको उद्देश्य हो ।
सनातन हिन्दु धर्म सृष्टिदेखि नै सुरु भएको सबैभन्दा जेठो हो । हिन्दु धर्मबाट फाटेर २५०० वर्षअघि बुद्ध धर्म, २००० वर्षअघि इसाई धर्म हुँदै कान्छो धर्मको रूपमा मुस्लिम धर्म जन्मिएको हो । यी धर्म पनि अनेक सम्प्रदायमा विभाजित भई धर्मको धेरै अर्थ लगाएका छन् । मानिसलाई खुसी राख्न हरेक धर्म सम्प्रदायका आ–आफ्ना चाडपर्व छन् । यसबाट खुसीसाथ जीवन जिउन मानिसले धर्मको रचना गरेको प्रस्ट बुझ्न सकिन्छ ।
राज र नीति दुई शब्द मिलेर बनेको शब्द हो राजनीति । राजको अर्थ शासन हुन्छ । जनतालाई सर्वसुलभ र सहज तरिकाले सेवा प्रदान गर्दै आर्थिक, सामाजिकलगायत क्षेत्रमा समृद्धि हासिल गर्न राज्यद्वारा गरिने समग्र क्रियाकलाप र पद्धतिलाई शासन भनिन्छ । नीति भनेको सही समय र स्थानमा उचित कार्य गर्ने कला हो । समुन्नत समाज निर्माणका लागि के गर्ने, के नगर्ने भन्ने खाका वा निर्देशिका हो नीति । समग्रतामा भन्नुपर्दा राज्यको शासन सञ्चालन गर्ने नीति र प्रणाली निर्धारण गरी जनताको मौलिक हक–अधिकारको उपभोग र रक्षाको सुनिश्चितता गर्दै जनताको कल्याण गर्नु राजनीति हो । राज्यलाई वैधता दिने मुख्य तत्व पनि हो राजनीति ।
उपरोक्त कुराबाट अध्यात्म, धर्म र राजनीतिको एउटै उद्देश्य मानव कल्याण र यिनीबिच नङमासुको सम्बन्ध रहेको प्रस्ट छ । अध्यात्मको साधनाले शारीरिक, मानसिक नैतिक, भावनात्मक, बौद्धिक, आत्मिक र सामाजिक स्वास्थ्य तन्दुरुस्त राख्दै म, मेरो र मैले भन्ने अहंकार हटाई ज्ञानधारण गर्ने मानव धर्म र जनता, समाज र राष्ट्रको सेवामा समर्पित रहने राजनीतिक निष्ठाको रक्षा एवं प्रवद्र्धन गर्छ । धर्मले आध्यात्मिक बन्न र निष्ठाको राजनीतितर्फ डोर्याउँछ । राजनीतिले आध्यात्मिक र धार्मिक बन्ने बनाउने वातावरण सिर्जना गर्छ । अध्यात्म धर्म र राजनीतिको अन्तरसम्बन्ध प्रगाढ भएमा व्यक्ति, परिवार, समाज र राष्ट्रमा सुख, शान्ति र समृद्धि आउँछ ।