• वि.सं २०८१ माघ ३० बुधबार
  • Wednesday, 12 February, 2025
गगन अयडी
२०८१ माघ १२ शनिबार ०९:४३:००
रिपाेर्ट

हिउँमाथि देउडा नाच

२०८१ माघ १२ शनिबार ०९:४३:००
गगन अयडी

 

मंसिरको दोेस्रो हप्तादेखि चैत महिनासम्म हिउँको घुम्टोमा सजिन्छ, पोरखेगढी । बाजुरा जिल्लाको प्रख्यात पर्यटकीयस्थलको रूपमा चिनिने पोरखेगढी अहिले पर्यटकीय गन्तव्य बन्दै गएको छ । सेताम्य हिउँले पोरखेगढीको वातावरण निकै रमाइलो भएको छ । वरपरको रमाइलो दृश्य, सेताम्य भएका हँसिला डाँडापाखा, सेताम्य हिँउसँगै नाँचिरहेको प्रकृति निकै सुन्दर अनि रमणीय देखिएको छ । बाक्लो हिँउको घुम्टोमा पोरखेगढी निकै सुन्दर देखिने गरेको बडीमालिका नगरपालिका–७ का अध्यक्ष धर्मराज उपाध्याय बताउँछन् । 

 

सिरसिर हावा, चिसो हावापानीले हिउँदको समय पोरखेगढीमा अत्यधिक जाडो हुने गर्छ । अत्यधिक चिसोका बाबजुद आन्तरिक तथा बाह्य पर्यटक पोरखेगढी पुग्ने गरेका छन् । मंसिर दोस्रो हप्तादेखि मौसममा बदली भएसँगै देशभर हिमपात हुन थालेपछि पोरखेगढीसँगै रहेको कालाजग्रा क्षेत्र बाक्लो हिउँले भरिन्छ । त्यसपछि प्राकृतिक रूपमा सुन्दर रहेको यो ठाउँको दृश्य निकै मनमोहक देखिन्छ । हिउँको घर बनाउन, हिउँमा चिप्लेटी खेल्न र रमाइलो गर्नका लागि आन्तरिक र बाह्य पर्यटक आउने गरेको वडा अध्यक्ष उपाध्यायले बताए ।

 

पोरखेगढी समुद्री सतहबाट करिब ३२ सय मिटरमा रहेको छ । प्राकृतिक रूपले भरिपूर्ण पोरखेगढी, धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचुर सम्भावना बोकेको ठाउँ हो । रारा, बडीमालिका, बुढीनन्दा मन्दिर जाने पर्यटक पोरखेगढीको दृश्यावलोकन गर्न आउने गरेका छन् । छिमेकी जिल्ला अछाम, दार्चुला, बझाङ, हुम्ला, मुगु, कालिकोट, जुम्ला, कैलाली, कञ्चनपुर, राजधानी काठमाडौंलगायत केही विदेशी पर्यटकसमेत यस ठाउँको अवलोकन गर्न आउने गरेको पाइन्छ ।

 

पोरखेगढी र पोरखेगढीसँगै जोडिएको कालाजग्रा मन्दिरमा यस वर्ष मात्र आन्तरिक र बाह्य गरी पाँच हजारभन्दा धेरै पर्यटकले अवलोकन गरेका छन् । पर्यटकलाई आकर्षित गर्न बडिमालिका नगरपालि–७ ले पोरखेगढी आउने बाह्य पर्यटकका लागि उपहारस्वरूप २० देखि ५० हजारको खसी दिने गरेको वडाअध्यक्ष उपाध्यायले बताए । पोरखेगढीलाई सुदूरपश्चिम प्रदेशको खप्तड, बडिमालिका पर्यटकीय क्षेत्रपछिको दोस्रो पर्यटकीय क्षेत्रको रूपमा लिने गरिन्छ । प्राकृतिक सौन्दर्य र प्रचुर सम्भावना बोकेको यो क्षेत्र अहिले संरक्षण तथा प्रवर्द्धनको पर्खाइमा छ । शान्त डाँडाकाँडा, सिरसिर हावा, हिउँले भरिएको पोरखेगढी र पोरखेगढीसँगै जोडिएको कालाजग्राबाट सहजै चारै ठाउँको दृश्यावलोकन गर्न सकिन्छ । यहाँबाट पूर्वमा बझाङको साइपाल हिमाल, पश्चिममा सिन्तवा हिमाल, उत्तरमा बुढीनन्दा नगरपालिकाका कहालीलाग्दा भिरपाखा र दक्षिणमा बडिमालिका देख्न सकिन्छ ।

 

खुला जमिन होस् वा डाँडामा सेतो कार्पेट बिछ्याएजस्तो देखिन्छ । हिउँ खेल्न पुग्नेहरूलाई हिउँको बिछ्याउना बिछ्याएझैँ लाग्ने यो क्षेत्र छोडेर फर्किन मन नलाग्ने पत्रकार महासंघ अछामका अध्यक्ष रमेश रावत बताउँछन् । बिहानीपखको बसाइमा कालाजग्रा, पोरखेगढी झनै रमणीय देखिन्छ । पर्यटकहरू अहिले पनि हिउँ छिचोल्दै त्यहाँ जाने गरेका छन् । हिउँमाथि आन्तरिक पर्यटक देउडा नै नाच्छन् । चिसोले गर्दा अहिले त्यहाँ जान केही अप्ठ्यारो नै पर्छ । तर, त्यहाँको प्राकृतिक सौन्दर्यले सबै अप्ठ्यारा भुलाइदिन्छन् ।

 

सेताम्य वरपरका डाँडापाखा, हाँसिरहेका हँसिला हिमालले कालाजग्रा, पोरखेगढीको सौन्दर्यलाई निकै बढवा दिएको छ । हिउँको पहाडमा रमाइरहेको कालाजग्रा, पोरखेगढीमा अहिले मानिस हिउँ खेल्न, त्यहाँवरपरको वातावरण नियाल्न, कालिका देवीको दर्शन गर्न मानिस त्यहाँ गइरहेका छन् । पोरखेगढीमा आउने पर्यटकले स्थानीयस्तरमा उत्पादन हुने अग्र्यानिक खाना खानसमेत पाउँछन् । 

 

मंसिर, पुस र माघमा हिँउको घुम्टोमा सुसज्जित हुने र वैशाख, जेठमा नौरंगी साडीमा सजिएजस्तै देखिने यो क्षेत्र पछिल्लो समय पर्यटन प्रवर्द्धनको पर्खाइमा छ । यहाँ जानका पदमार्ग निर्माण गरिएको छ । तैपनि, कालाजग्रा, पोरखे लेकमा आवतजावतमा निकै असहजता छ । सडकयात्रा कठिन छ । भौगोलिक रूपमा विकट रहेको बाजुरामा सरकारले ध्यान नदिँदा पोरखेगढीजस्ता पर्यटकीय स्थल ओझेलमा परेका छन् । यी क्षेत्रको पर्यटन प्रवर्द्धन हुने हो भने बाजुरा आर्थिक रूपमा समेत आत्मनिर्भर हुँदै जान सक्थ्यो ।