
अध्ययन र अवसरका लागि बिदेसिने युवाहरूको संख्यामा कमी आएकै छैन । होटेल म्यानेजमेन्ट पढेर विदेश जाने युवाहरूको संख्या पनि धेरै छ । नेपालभन्दा विदेशका होटेलहरूमा सजिलै काम, राम्रो तलब र सेवासुविधा पाइने लोभमा उनीहरू बिदेसिइरहेका छन् । तर, कतिपय विदेशका सात तारे, पाँचतारे होटेलमा काम गरेका सेफहरू स्वदेश फर्किएर राम्रो नाम–दाम कमाइरहेका छन् । ती सिनियर सेफहरूलाई हस्पिटालिटीको दुनियाँमा सेलेब्रिटी नै मानिन्छ । नेपालका प्रधानमन्त्री मात्रै होइन भारतका प्रधानमन्त्री, चीनका राष्ट्रपति, खाडीको राजपरिवार र जर्मन चान्सलरसमेतलाई आफूले बनाएको पकवान खुवाएका यी पाँच सेलेब्रिटी सेफका संघर्ष र सफलता उदाहरणीय छन् ।
एलबी कौशल– भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहलाई रोटी खुवाएँ
सिद्धार्थ हस्पिटालिटी प्रालिमा सेफ एलबी कौसल ६ वर्षदेखि एसोसिएट डाइरेक्टरका रूपमा कार्यरत छन् । उनी इन्टरनेसनल सेफ सोसाइटी नेपालका अध्यक्षसमेत हुन् । विश्वभर छरिएर रहेका नेपाली सेफहरूको सीपलाई नेपालमै प्रयोग गराउने जमर्काे छ, उनको । नेपालका होटेल म्यानेजमेन्ट कलेजहरूले पनि कौसललाई खोजिरहेका हुन्छन् ।
गुल्मीको सामान्य परिवारमा जन्मिए कौसल । उनको बुबा नयाँदिल्लीमा नोकरी गर्थे । उनको ५ कक्षादेखि कलेज जीवन भारतमै बित्यो । उनलाई सानैदेखि किचनमा खाना बनाउन मनपर्थ्यो । सन् २००० मा कक्षा १२ सकेपछि दिल्लीकै होटेलमा काम गर्न थाले । होटेलमा काम गर्न जाँदा उनी नेपाली भएकोमा हेपिन्थे । तर, उनले होटेललाइन छाडेनन् । पाँच वर्ष होटेलमा काम गर्दा उनी स्वादिलो परिकार पकाउन अब्बल भइसकेका थिए । होटेलको किचनमा काम गर्दागर्दै उनी दिल्लीमै ब्याचलर आर्ट एन्ड होटेल म्यानेजमेन्ट पढ्न भर्ना भए । पछि बिएचएम पढाइ सके ।
पढाइसकेलगत्तै उनलाई दिल्लीको तारे होटेल अशोकबाट सेफका लागि प्रस्ताव आयो । होटेलले उनको काम मन परायो । त्यहाँ एक वर्ष बिताएर सेफको रूपमा होटेल दिल्ली कन्टिनेन्टल गए । राम्रो सेवा–सुविधा पाए । त्यहाँ चार वर्ष काम गरेपछि माथिल्लो तहको एक्जुकेटिभ सेफको रूपमा काम गर्न एसआरएस ग्रुप होटेलबाट प्रस्ताव आयो । भारतको विभिन्न तारे होटेलमा १७ वर्ष सेफको रूपमा काम गरे । भारतमै उनको भनेजस्तो कमाइ थियो । तर, मन भने भारतमा अडिएन । आफूले सिकेको सीप र अनुभव नेपालमा बाँड्ने सोच बनाए ।
नौ वर्षअघि नेपालगन्जमा ‘सन्राइज एकेडेमी एन्ड हस्पिटालिटी म्यानेजमेन्ट कलेज’ खोल्ने तयारी भइरहेको थियो । कलेजले उनलाई विशेषज्ञको रूपमा बोलायो । त्यसपछि नेपालका होटेल म्यानेजमेन्ट कलेजहरूमा विशेषज्ञको रूपमा व्यस्त हुन थाले । आफूसँग भएको सीप अरूलाई बाँड्दै हिँडे । उनी भन्छन्,‘मैले विदेशमा आफ्नो प्रतिभा र क्षमता देखाइसकेको थिएँ । आफ्नो क्षमतालाई नेपाली माटोमै देखाउन मन लाग्यो ।’
कौशललाई सिद्धार्थ होटेलले एक्जुकेटिभ सेफको रूपमा अफर गर्यो । आफूले खाना खुवाएका नेता, कलाकार, धनाढ्य, व्यापारी, सेलेब्रिटी, पत्रकारजस्ता हाई प्रोफाइलको लामो सूची छ, उनीसँग । भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहलाई उनले आफूले बनाएको परिकार खुवाएका छन् । मनमोहन सिंहले रोटी, मटन रोबनजस्ता परिकार खुब मन पराएको उनको भनाइ छ । उनले पकाएका परिकार प्रधानमन्त्री केपी ओली, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, बाबुराम भट्टराई, विनोद चौधरी, राजेश हमाल, भुवन केसीजस्ता नेता तथा सेलेब्रिटीले स्वाद मानीमानी खाएका छन् । ओलीलाई उनले बोनलेस माछा र लोकल कुखुराको बोनलेस परिकार पखाएर खुवाएका छन् । खाना मीठो लागेपछि ओलीले भनेका थिए,‘तपाईंको हातले बनाएको खाना एकदमै मीठो रहेछ ।’
पूर्व राजा ज्ञानेन्द्रलाई भैरहवामा १७ दिन उनलै पखाएर खुवाए । ज्ञानेन्द्रबाट पनि उनले स्वाबासी पाए । नेपाली खानालाई अन्तर्राष्ट्रियस्तरसम्म पुर्याउने योजना रहेको कौशल सुनाउँछन् । ‘नेपाली खाना र संस्कृतिलाई प्रवर्द्धन गर्ने सोच छ । हाम्रो देशका कुनाकन्दरामा मौलिक खानेकुरा छायामा परेका छन् । त्यस्ता खानेकुरालाई बाहिर ल्याएर अन्तर्राष्ट्रियकरण गर्नुपर्छ ।’
विष्णु मगर– जर्मन चान्सलर एन्जेला मर्केललाई युरोपियन खाना खुवाएँ
नेपालको कहलिएका होटलको सेफको सूचीमा विष्णु मगरको नाम पहिलो लहरमै आउँछ । सामान्य भान्से हुँदै प्रतिष्ठित ‘सेफ’को परिचय बनाएका उनले झन्डै दुई दशक चीनको पाँचतारे होटलको ‘किचेन’मा बिताए । चीनका आठवटा प्रान्तको पाँचतारे होटेलमा एक्जुकेटिभ सेफको रूपमा काम गरे । नेपालको म्यारिएट र हिल्टनजस्ता तारे होटेलको किचेन सम्हाले । अहिले उनले लाजिम्पाटमा आफ्नै रेस्टुरेन्ट खोलेका छन्, नामन्ता किचेन ।
विष्णुको सेफ यात्रा ठमेलको एक रस्टुरेन्टको ‘किचेन हेल्पर’बाट सुरु भएको थियो । १५ वर्षको हुँदा उनी अवसर खोज्दै काठमाडौं आए । टंगालको एक स्कुलमा कक्षा ९ मा भर्ना भए । ठमेलको एउटा रेस्टुरेन्टमा किचन हेल्परको रूपमा काम सुरु गरे ।
दुई वर्ष उनले त्यही होटेलमा काम गरे । त्यहाँ बस्दा विभिन्न परिकार बनाउन पोख्त भइसकेका थिए । सन् २००२ तिरको कुरा हो । चीनको सांघाईस्थित निजाङ गार्डेन रेस्टुरेन्ट एन्ड बारबाट काम गर्ने प्रस्ताव आयो । त्यहाँ उनले चार वर्ष काम गरे । दुई वर्ष काम गरेपछि सेफ म्यानेजरको जिम्मेवारी पाए ।
सन् २००६ देखि सांग्रिलामा काम गरे । त्यसपछि उनको पाँचतारे होटेलको यात्रा सुरु भयो । विष्णुले होटेलमा हेड सेफको रूपमा काम गर्न थाले । त्यहाँ एक वर्ष काम गरे । त्यही होटेलमा विश्वका हाइफ्रोइल मान्छेहरू मात्रै आउँथे । त्यसवेला जर्मन चान्सलर एन्जेला मर्केललाई पनि उनले खाना बनाएर खुवाए । उनी भन्छन्, ‘चाइनामा काम गरेको आठ वर्ष भइसकेको थियो । नेपाल फर्किन्छु भन्थेँ, तर फर्किन दिएनन् ।’
विष्णुले एक्जुकेटिभ सेफको रूपमा सेराटनको होटेल बेइजिङमा २०१७ सम्म काम गरे । भारतीय प्रधानमन्त्री मोदी चीनमा आउँदा विष्णुले रोटी, साग तयार पारेका थिए । खाना खाएपछि मोदीले उनलाई भनेको शब्द अझै कण्ठस्थ छ । मोदीको भनाइ सम्झिँदै विष्णु भन्छन्, ‘भारतको भन्दा हेल्दी खाना खुवाउनुभयो ।’
विष्णु कोरोना महामारी सुरु भएपछि देश फर्किए र १८ वर्ष चीनमा आर्जनका गरेको ज्ञान नेपालमै फैलाउने सोच बनाए । उनले लाजिम्पाटमा पुरानो रेस्टुरेन्ट किने र त्यसलाई आफ्नै तरिकाले डिजाइन गरे । अचेल विष्णु आफ्नै नामन्ता किचनमै व्यस्त छन् ।
शेरबहादुर कार्की– कतारी राजपरिवारलाई कोदोको सलाद चखाएँ
कुवेत र कतारको तारे होटेलमा काम गरेर फर्केका अर्का सेफ हुन् शेरबहादुर कार्की । झन्डै तीन वर्षदेखि नेपालको टिबेट होटेलको भान्सा उनले सम्हालिरहेका छन् ।
सन् २००३ तिरको कुरा हो । बिदेसिने लहर उस्तै थियो । शेरबहादुरलाई पनि देशको अवस्थाप्रति सन्तोष लागेन । देशमा भनेजस्तो काम नपाउँदा उनलाई निद्रा पर्न छोड्यो । उनी रोजगारीका लागि चारतिर भौँतारिए । तर, भनेजस्तो काम पाएनन् । उनलाई कुवेतको पाँचतारे क्राउन प्लाजा होटेलबाट काम गर्ने प्रस्ताव आयो । राम्रो पैसा कमाउने सोचले कुवेत उडे । होटेलले एक महिना ट्रायलमा राख्यो । त्यसपछि उनको काम मन परायो । उनलाई स्थायी रूपमै राख्यो । त्यसपछि उनले फस्ट कमीको रुपमा काम गरे । उनी भन्छन्,‘त्यसवेला विदेशमा काम पाउँनै गाह्रो । एक महिना ट्रायल गरेपछि मात्रै होटेलले राख्यो ।’
शेरबहादुरले आफूलाई खाना बनाउने सीपमा निखार्दै लगे । उनले बनाएको खाना खाएपछि गेस्टहरूले तारिफ गर्न थाले । मीठो खाना पकाउने कौशलको कारण होटेलमा उत्कृष्ट ‘सुसेफ’ दर्जा पाए ।
होटेलले हरेक वर्ष सेफहरूको कम्पिटिसनमा पठाउँथ्यो । त्यसवेला क्राउन प्लाजा होटेलले दुबईको मदिना जुमेरा होटेलमा ‘वल्र्ड सेफ एसोसिएसन’को प्रतियोगितामा भाग लिने भयो । प्रतियोगितका लागि त्यो होटेलको हेड सेफमा उनी छानिए । प्रतियोगितामा ३५ जनालाई खाना बनाएर खुवाउनुपर्थ्यो । ‘प्रतियोगितामा १९ देशका सात तारे होटेलका सेफहरू सहभागी थिए । प्रतियोगितमा ३२ सय जना सेफको बिचमा प्रतिस्पर्धा हुन्थ्यो, उनी भन्छन्,‘त्यहाँ हरेकलाई फुड टेस्टिङ गराउनुपर्थ्यो । हरेक देशका खानेकुरा थिए । त्यो प्रतियोगितामा हाम्रो टिमले सिल्भर अवार्ड जित्न सफल भयो ।’
क्राउन प्लाजाको भान्सामा उनले १४ वर्ष बिताए । त्यहाँको बसाइले उनलाई स्थापित नै गर्यो । उनलाई कतारको सिद्रा मेडिसिन हस्पिटल (सेभेन स्टार हस्पिटल)मा काम गर्ने प्रस्ताव आयो । उनी कुवेतबाटै सोझै कतार गए । हस्पिटलले दिएको हाईजेनिक सम्बन्धी तालिम उत्तिर्ण गरेपछि सेफको रूपमा काम गरे । हस्पिटलको किचन उनले नै सम्हाले ।
क्राउन प्लाजा होटेलको अनुभवले उनलाई कतार पुरायो । त्यहाँ एक सय नौजनाको सेफको नेतृत्व उनले नै गर्थे । ‘बिरामीको रोगअनुसारको खान तयार गर्नुपर्थ्यो । त्यहाँ धनाढ्य, राजपरिवारका मान्छे मात्रै उपचारका लागि आउँथे । हस्पिटलको किचनमा सेफको रूपमा काम गर्नु ठुलो चुनौती लिनु हो । बिरामीको मात्रै खाना बनाउनुपर्थ्यो । राजपरिवारका सदस्य, धनाढ्य, सेलिबे्रटी, व्यवसायी बिरामीहरू मात्रै उपचारका लागि आउँथे । उनीहरूका लागि उच्च निगरानीमा खानेकुरा पकाउनुपर्थ्यो’, उनले भने ।
त्यहाँ शेरबहादुरको तलब र सेवा सुविधा राम्रो थियो । मासिक तीन लाखभन्दा धेरै कमाउँथे । उनले कतारमा तीन वर्ष काम गरे । सन् २०१९ मा कोभिड महामारी सुरु भएपछि उनी बिरामी परे । निको भएर नेपाल फर्किए । परिवारले कतारमा फर्किन दिएनन् । विदेशमा आफूले जानेको कला र सीपलाई नेपालमै प्रयोग गर्ने सोचे । उनी भन्छन्, ‘सुरुमा नेपालमा मार्केट बुझ्नलाई गाह्रो भयो । विदेश र यहाँको सिस्टम नै फरक छ । नेपालको होटेल क्षेत्र बुझ्नलाई एक वर्ष लाग्यो । नेपालको रेडमाड कफी कर्पोरेट सेफको रुपमा काम गर्ने अवसर पाएँ । त्यसपछि नेपालको हस्पिटालिटी बजार राम्रोसँग बुझेँ ।’
एक वर्षपछि उनलाई होटेल टिबेटबाट अफर आयो । होटेलले उनलाई सेफको रूपमा नियुक्ति गर्यो । १४ वर्ष विदेशको तारे होटेलमा सिकेको सीपलाई नेपालमा पस्किरहेका छन् अहिले । मेन्युमा नयाँ परिकार थपेर ग्राहकहरूको मन जितिरहेका छन् । नेपाली परिकारलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने योजना उनको पनि रहेको छ । उनले परम्परागत रैथाने नेपाली परिकारलाई आधुनिकता र सिर्जनात्मकता थपेर अन्तर्राष्ट्रियस्तरमा प्रदर्शन गर्न सकिने बताए । भन्छन्,‘नेपालमा धान, कोदो, मकै, गहुँ, फापर उत्पादन हुन्छ । तर, यी अन्नलाई हामीले प्रयोग गरेर परिकार बनाउन सकेका छैनौँ । कोदोको सलाद बनाएर कतारका राजपरिवारलाई चखाएँ । नेपालमा पनि कोदोको सलाद होटेलको मेनुमा थप्न सकिन्छ ।’
भोजकुमारी शाह– बलिउडका हस्तीहरूलाई कन्टिनेन्टल फुड खुवाएँ
भोजकुमारी शाहका बुबाआमा छोरीलाई नर्स बनाउन चाहन्थे । तर, भोजकुमारी भने सानैदेखि भान्सामा काम गर्न चाहन्थे । त्यसैले नर्सको सट्टा उनले होटेल म्यानेजमेन्ट रोजिन् ।
भोजकुमारीको दाजु सुनसरीबाट काठमाडौं आएर अध्ययन गरिरहेका थिए । उनले भारतमा होटेल म्यानेजमेन्ट पढ्न बहिनीलाई सुझाए । दाजुले आफ्ना साथीहरू पनि यही विषय पढ्न भारत जान लागेको सुनाए । आमाबुबालाई भने होटेल क्षेत्र खासै राम्रो लागेन । टोलछिमेकीमा पनि होटेल क्षेत्रमा छोरीमान्छेले काम गर्नुहुँदैन भन्दै नकारात्मक टिप्पणी भयो । ‘समाजले महिलालाई घरायसी काम मात्रै तोकिदिन्थ्यो,’ उनी भन्छिन् ‘छोरी मान्छेले होटेलमा काम गर्दा नराम्रो नजरले हेथ्र्यो । गाउँलेहरूले कुरा काट्थे । बुबाआमालाई छोरी होटेलमा नपठाउनु भन्थे । सबै चुनौती मोलेर भारतमा पढ्न गएँ ।’
सन् २००६ मा भोजकुमारीले भारतको जयपुरबाट होटेल व्यवस्थापनमा स्नातक (बिएचएम) सकाइन् । बिएचएम सकेपछि उनले द ललित होटेलमा ६ महिनाको व्यावसायिक तालिम लिइन् । तालिम सकेर एक होटेलमा सेफको रूपमा काम थालिन् ।
त्यसवेलामा होटेलको किचनमा महिलाहरू भेटिँदैनथे । होटेलको भान्सामा सुरुवाती महिला हुनुका कारण उनले धेरै चुनौती सामना गर्नुपर्यो । तारे होटेलको भान्साको नेतृत्वमा पुरुष मात्रै हुन्थे । भोजकुमारीले आफ्नो सीप, मिहिनेत र समर्पणले यो परम्परालाई तोडिन् ।
‘मलाई सुरुवाती दिनमा किचनमा काम गर्न निकै अप्ठ्यारो लाग्थ्यो । त्यसवेला भान्सामा सबै केटाहरू मात्रै हुन्थे । भान्सामा केटाहरूको भिडमा काम गर्न आफूलाई सजिलो लाग्दैनथ्यो । बिस्तारै सहज बनाउँदै लगेँ । छोरी मान्छे भएर गर्न सकिँदैन भन्ने सोच राख्नु नहुनेरहेछ,’ उनी भन्छन्, ‘त्यो मनोविज्ञान राखेर बसेको भए सेफ बन्न सक्दिनँ थिएँ ।’
भारतको नोभोटेल होटेल हैदराबाद, अमनबाग होटेल जयपुर, द लोधी होटेल नयाँदिल्ली, जानुमा प्यालेस भोपालजस्ता तारे होटेलको भान्सा उनले सम्हालिन् । सन् २०१६ मा उनी ओमानको एउटा तारे होटेलमा सेफका रूपमा काम गर्न पुगिन् । त्यहाँ पनि तलब र सेवा सुविधा राम्रो थियो । त्यहाँ झन्डै चार वर्ष काम गरेर उनी नेपाल फर्किइन् ।
‘सानै उमेरदेखि परिवारबाट टाढा बसेँ । झन्डै १३ वर्ष परिवारबाट टाढा भएर बसेछु । सबैजनाले नेपालमा पनि गर्न सकिन्छ भन्नुभयो । मलाई पनि नेपालमा आउन मन लाग्यो । तर, फर्केको केही महिनामै कोरोना महामारी सुरु भयो’,उनले भनिन् । कोरोना महामारीपछि उनी भारत गइन् । भारतको एक होटेलमा सेफको रूपमा काम गरिन् । त्यहाँ उनले बलिउड कलाकार अनुपम खेर लगायत धेरै कलाकारलाई खाना खुवाइन् । तर, त्यहाँ काम गर्दागर्दै नेपालबाट रम्दा होटेलले एक्जुकेटिभ सेफका लागि प्रस्ताव गर्यो । ‘विदेशको ज्ञान र सीपलाई नेपालमै प्रयोग गर्ने सोच बनाएँ र नेपाल फर्किंएँ,’ उनी भन्छिन् ।
आरबी बुढाथोकी– सी जिनपिङलाई सिस्नो र मोदीलाई खिचडी खुवाएँ
विदेशमा सिकेको सीप र अनुभव स्वदेशमै बाँड्न पाउँदा सुसेफ आरबी बुढाथोकीलाई आनन्द आउँछ । उनी कुवेतको पाँचतारे होटलमा नौ वर्ष काम गरेर आएका हुन् । अहिले उनी सोल्टी क्राउनप्लाजाको सुसेफको रूपमा कार्यरत छन् । उनले नेपालका होटेल म्यानेजमेन्ट कलेजमा पाककलासम्बन्धी प्रशिक्षणसमेत दिँदै आएका छन् ।
आरबी रामेछापको खाँडादेवी– ६ मा जन्मिए । उनका दाजुहरू पनि होटेलमा काम गर्थे । उनलाई दाजुहरूले होटेलतिर नै लाग्न सुझाए । सन् २००६ मा उनले होटेल म्यानेजमेन्टसम्बन्धी डिप्लोमा गरे । नेपालमै होटेलतिर काम खोज्न थाले । तर, भनेजस्तो काम पाएनन् । त्यसपछि उनी कुवेत हान्निए । सुरुमा उनले कबाब जी लेबनिस रेस्टुरेन्टमा किचनमा काम गरे । त्यसपछि ६ महिना बुर्ज अल हमाम रेस्टुरेन्टमा काम गरे । त्यहाँ काम गर्दागर्दै कुवेतको पाँचतारे होटेल क्राउन प्लाजाले कामदार मागेको रहेछ । उनले क्राउन प्लाजामा आवेदन दिए । चार सय जनामध्येबाट उनी छानिए । उनको कार्यक्षमताकै कारण ११ महिनामा सेफमा बढावा भए । उनको सेवा–सुविधा पनि तेब्बरले बढ्यो । त्यसपछि होटेलको इटालियन, फ्रेन्च, भारतीय, जापानिज खाना बनाए । त्यहाँ नौ वर्ष काम गर्दा उनले होटेलको सुसेफको जिम्मेवारी पाएका थिए । ‘काम सिक्ने हुटहुटीले गर्दा जिम्मेवारी पाएँ । होटेलले आयोजना गर्ने सेफको प्रतिस्पर्धामा पनि तीनपटक मेडल जितेँ,’ उनले भने ।
कुवेतको क्राउन प्लाजामा राजपरिवारको पार्टी हुन्थ्यो । त्यहाँ आरबीले मेनु तयार गर्थे । भन्छन्, ‘कुवेतको राजपरिवारको पार्टी त्यही होटेलमा हुन्थ्यो । त्यो पार्टीमा किचेनको जिम्मेवारी मेरो हुन्थ्यो । उनीहरूका लागि मेनु मैले तयार गर्नुपर्थ्यो ।’
होटेलले दिएको जिम्मेवारी पूरा गरेपछि उनी स्वदेश फर्किए । उनलाई विदेश जान मन लागेन । विदेशमा सिकेका सीप र अनुभवलाई नेपालमा प्रयोग गर्न लाग्यो उनलाई । त्यसपछि उनले नेपालमै रेस्टुरेन्ट खोल्ने योजना बनाए । रेस्टुरेन्ट खोले पनि । तर, सञ्चालन गर्न सकेनन् । दुई वर्ष चलाएर बेचिदिए । आरबीले नेपालका हाइप्रोफाइलका सेलेब्रिटीलाई खाना खुवाएका छन् । नरेन्द्र मोदी, सी जिनपिङ, पुष्पकमल दाहाल प्रचण्ड, विद्यादेवी भण्डारी, मनीषा कोइरालालगायतलाई खाना खुवाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा उनका लागि भान्सा आरबीले हेरे । त्यस्तै, सिजिङपिङ आउँदा पनि उनले नेपाली झल्किने खाना बनाएका थिए । आरबी भन्छन्, सी जिनपिङलाई मैले सिस्नो र मोदीलाई खिचडी खुवाएँ ।’