• वि.सं २०८१ माघ ३० बुधबार
  • Wednesday, 12 February, 2025
सञ्जीव गुरुङ
२०८१ माघ १९ शनिबार ०७:५३:००
यात्रा

नेपालका चर्चित ट्रेकिङ रुट

२०८१ माघ १९ शनिबार ०७:५३:००
सञ्जीव गुरुङ

 

१. गन्जला पास : हेलम्बुको सेर्माथाङबाट सुरु हुने यो यात्रा साहसिक यात्राका पारखीमाझ चर्चित छ । झन्डै ११ दिनमा पाँच हजार ३० मिटरको गन्जलापाससम्म पुगेर काठमाडौं फर्कन सकिन्छ । यस क्रममा हिमाली रेन्ज, हिउँले ढाकिएका डाँडा, धार्मिकस्थल, ह्योल्मु संस्कृति, गुम्बा, स्तूपालगायत दृश्यावलोकन गर्न सकिन्छ । ह्योल्मु समुदाय आफ्नो समृद्ध संस्कृतिका लागि प्रख्यात छ । यहाँका कलात्मक गुम्बाको सांस्कृतिक र ऐतिहासिक महत्व छ । आमा यांग्री पिक, मिलारेपा र गुरु रिम्पोचे गुफा, हिमाली जनजीवन, जुगल, लाङटाङ, टोर्जे लाक्पा, गौरी शंकरलगायत हिमालको दृश्यावलोकन यस ट्रेकका विशेषता हुन् । 

 

२. लाङटाङ ट्रेक : नेपालमा सहज रूपमा पुग्न सकिने चर्चित ट्रेकिङ रुटमध्ये यो एक हो । रसुवा जिल्लाको लाङटाङ हिमाली जनजीवन र प्राकृतिक सम्पन्नताका लागि चर्चित छ । यहाँ ठुलो संख्यामा ट्रेकिङका पारखी जाने गर्छन् । मौसम सफा हुँदा लाङटाङ उपत्यकाबाट हिमालको राम्रो दृश्यावलोकन गर्न सकिन्छ । लिरुङ, दोर्जे लाक्पा, ग्यांगचेन्पोलगायत धेरै पिकको दृश्यावलोकन यहाँबाट गर्न सकिन्छ । तामाङ र शेर्पा समुदायको संस्कृति नजिकबाट नियाल्न पाइन्छ । परम्परागत गाउँ, प्राचीन गुम्बा र बौद्ध स्तूपा यस क्षेत्रका सम्पदा हुन् । घना जंगल, याक खर्कहरू हेर्दै ट्रेकिङ गर्नुको बेग्लै मज्जा छ । रेड पान्डा, हिमाली कालो भालु र असंख्य चरा यस क्षेत्रका आकर्षण हुन् । काठमाडौंबाट स्याफ्रुबेसीसम्म गाडीमा गएपछि त्यहाँबाट ट्रेकिङ सुरु हुन्छ । स्थानीय र तीर्थयात्रीका लागि पनि यो टे«किङ विशेष छ । बौद्धगुरु रिम्पोचे पद्मसम्भव यहाँ आएर ध्यान गरेको जनविश्वास छ । 

 

३. मकालु बेस क्याम्प : संखुवासभाको तुम्लिङटारबाट यो यात्रा सुरु हुन्छ । यो नेपालकै चुनौतीपूर्ण टे«किङ रुटमध्ये एक मानिन्छ । यात्रा सकेर तुम्लिङटार फर्कन १६ दिन लाग्छ । यस पदमार्गका दौरान संसारको पाँचौँ अग्लो शिखर मकालु हिमालको आधार शिविरसम्म पुगिन्छ । मकालु बेस क्याम्प पूर्वी नेपालमा अवस्थित छ । मकालु–वरुण राष्ट्रिय निकुञ्जमा अवस्थित यो क्षेत्र यसको घना जंगल र जैविक विविधताका लागि प्रसिद्ध छ । मकालु बेस क्याम्प ट्रेकका मुख्य आकर्षणमा मकालु बेस क्याम्प, वरुण उपत्यकालगायत पर्छन् । शेर्पा, राई र भोटे समुदायको बस्ती पार गर्दै यहाँ पुगिन्छ । ट्रेकका दौरान मकालु, कञ्चनजंघा, सगरमाथा, ल्होत्से र चाम्लाङजस्ता अग्ला हिमालको मनमोहक दृश्य नजिकबाट नियाल्न पाइन्छ । रेड पान्डा यस क्षेत्रको आकर्षण हो । 

 

४. तल्लो डोल्पा : यो यात्रा पनि चुनौतीपूर्ण नै छ । जुफलबाट सुरु हुने यात्रा अविस्मरणीय रहन्छ । यो नेपालका दुर्गम ट्रेकिङ गन्तव्यमध्ये एक हो । सांस्कृतिक विविधता, प्राकृतिक सुन्दरता र दुर्गम साहसिक यात्राको अनौठो अनुभव यसले दिलाउँछ । यस ट्रेकका दौरान हरियाली जंगलदेखि सुक्खा, ढुंगे भूभाग हुँदै अघि बढ्नुपर्छ । से फोक्सुन्डो ताल यात्राको मुख्य आकर्षण हो । यसको गहिरो निलो कञ्चन पानी नियाल्न पाउँदा मानिस भाग्यमानी महसुस गर्छन् । कान्जिरोवा हिमाल, नोरबुङ काङ र धौलागिरि शृंखलाको दृश्यावलोकनले यात्रालाई थप सुन्दर बनाउँछ । फोक्सुन्डो ताल क्षेत्र सांस्कृतिक रूपमा महत्वपूर्ण छ, जहाँ तिब्बती धर्मको अभ्यास देख्न सकिन्छ । यस क्षेत्रका परम्परागत ढुंगाका घर छन् ।