
०४० सालतिर नुन लिन स्याङ्जाको नौडाँडा गएँ । त्यसवेला १२–१३ वर्षको थिएँ । सहर कस्तो हुन्छ होला भन्ने मनमा कुतूहल लाग्थ्यो । नुन बोक्न जाने भनेपछि राति नै सातुसामल तयार गर्नुपर्थ्यो । ढाकरमा राति ओड्ने ओछ्याउने लुगा पनि बोक्नुपर्थ्यो ।
मराङबाट तलतिर झरेपछि म्याग्दी खोलाको तिरैतिर हिँड्नुपर्थ्यो । बेनी बजार कटेपछि कालिगण्डकीको किनारैकिनार हिँड्नुपर्थ्यो । बेनी बजारमा कालिगण्डकी र म्याग्दी खोला मिसिन्छ । बेनी बजार कटेपछि कालिगण्डकीको तिरैतिर कुस्मा हुँदै जानुपर्थ्यो । बाटोमा नुन–चामल बोक्ने ढार्केहरू भेटिन्थे ।
पर्वतको ग्यादी हुँदै कार्कीनेटाबाट तल झरेपछि स्याङ्जाको आँधी खोला सुरु हुन्थ्यो । त्यतिवेला आँधी खोलालाई १०–१२ पटक तर्नुपर्थ्यो । दरबाङको बजार देख्दा पनि ठुलो सहर लाग्थ्यो । बेनी बजार आउँदा झन् ठुलो सहर जस्तो लाग्यो । गाउँमा बसेको मान्छेलाई सिमेन्टको घर देख्यो कि सहर आइपुगियो जस्तो लाग्ने । गाडी कस्तो हुन्छ होला ? भन्ने लाग्थ्यो ।
ढाकरभरि भारी बोकेर खाली खुट्टै हिँड्नुपर्थ्यो । पैतालामा ठेला बसिसकेको हुन्थ्यो । पैतालामा काँडा पनि बिज्दैनथ्यो, बरु काँडै भाँचिन्थ्यो । खोलामा झुलुंगे पुलहरू हुन्थेन । फड्के तर्नुपर्थ्यो । कतिपय ठाउँमा जंगार नै तर्नुपर्थ्यो ।
सेतीदोभानमा नुनका पसल थिए । गाडी देखिएन । सहर यस्तो होला जस्तो लाग्थ्यो । तीनपटक नुन बोक्न गएँ । तर, गाडी देख्न पाइनँ । गाडी हेर्ने सपना अपूरै रह्यो ।
०४२ सालतिरको कुरा हो । किशोरावस्था भएकाले मेरो ज्यान खाइलाग्दै थियो । गाउँमा १५–१६ वर्षका केटाहरू भर्ती हुन जान्थे । मेरो पनि बुबाआमाको सोच मलाई लाउरे बनाउने थियो । पढाइतिर ध्यान थिएन । लाउरे हुने उत्कट चाहना बढ्यो । मेरो मितबुबा भारतीय सेनामा हुनुहुन्थ्यो । मेरो बुबाले मितबुबालाई भनिसक्नुभएको रहेछ । बुबाले मलाई भन्नुभयो, ‘भारत गएर मितबुबासँग भेट्न अनि भर्ती हुन ।’
भारतमा मितबुबालाई भेट्न जाने सोच बनाएँ । तर, पैसा थिएन । म्याग्दीको बालुवा बोक्ने काम गरेँ । बाटो खर्च बनाउन झन्डै एक महिना बालुवा बोकेँ । दुई–तीन सय रुपैयाँ खर्च बनाएँ । त्यही पैसाले बेनी बजार गएर एकजोर जुत्ता किनेँ । गाउँकै एकजना दाइ भारतीय सेनामा हुनुहुन्थ्यो । उहाँकै साथ लागेर बाटो लागियो । लाउरे बनेर गाउँ फर्किन्छु भन्ने सपना बुनिसकेको थिएँ ।
हामी पहिलो दिन तातोपानी भन्ने ठाउँमा बास बस्यौँ । अर्काे दिन कार्कीनेटामा बास बसियो । पहिलोपटक जुत्ता लगाएर हिँडेको, हिँडेजस्तो पनि लागेन । थकाइको कुनै महसुस थिएन ।
तीन दिनमा नौडाँडा पुग्यौँ । नौडाँडा पुगेपछि बस चढ्नुपर्थ्यो । नौडाँडाबाट खस्यौली (अहिलेको बुटवल) लागि बसको टिकट काटियो । बस चढ्ने भनेपछि कस्तो होला भन्ने लाग्यो । सबैले रिङ्गटा लाग्छ भन्थे । तर, मलाई बस चढ्दा केही भएन । मैले जीवनमा गाडी देखेको थिइनँ ।
बसले खस्यौलीमा घाम डुब्नुअघि नै पुर्यायो । घाम डाँडामा पुगिसकेको थियो । सबैतिर हाम्रो गाउँकै जस्तो डाँडाकाँडा हुन्छ होला भन्ने लाग्थ्यो । डाँडाहरू हराउँदै गए । सबैतिर समथर देखियो । सबैतिर तुवाँलो लागेको थियो । डाँडा हराउँदै जाँदा मलाई नरमाइलो लाग्दै गयो । झिलिमिल बत्ती देख्दा अचम्म लाग्यो । आँसु आयो ।
भोलिपल्ट गोरखपुर जाने बसमा चढ्यौँ । भारतको गोरखपुरमा मलाई छाडेर दाइ वनारस जानु भयो । म एक्लै होटलमा बसेँ । एक हप्तासम्म एक्लै होटलमा बसेँ । बाहिर निस्कन मन लाग्दैनथ्यो । बाहिर डर लाग्थ्यो । रेल स्टेसनमा जाँदै रुन्थेँ । गाउँ सम्झिन्थेँ । बुबाआमालाई सम्झिन्थेँ । बेकारमा आएछु भन्ने लाग्यो । मितबुबा एक हप्तापछि मात्रै आउनुभयो । त्यसपछि मात्रै आनन्दले सास फेरेँ । सहरमा गएपछि धेरै खुसी हुन्छु भन्ने सोच्थेँ, उल्टै दुःखी भएँ । मितबुबाले घरमा लानुभयो । मितबुबाले होटेलमा भाँडा माझ्ने काम लगाइदिनुभयो ।
बिहान ६ बजेदेखि राति १२ बजेसम्म भाँडा माझ्नुपर्थ्यो । हात बर्खामा हिलोले खाएकोजस्तै भयो । हातभरि घाउ भयो । निकै सास्ती पाएँ । एक महिनापछि गोरखपुरमा भर्ती खुल्यो । गोरखपुरको क्याम्पमा पुग्दा चार–पाँच सय युवाको हुल देख्दा छक्क परेँ । सबै नेपाली केटाहरू थिए । सबैजना छाती फुलाएर शरीर तन्काएर बसेका थिए । म पनि त्यसैगरी बसेँ । मेरो पनि छाती नापियो । छातीमा छाप लगाइदियो । तर, फाइनलमा मेरो नाम निस्किएन । त्यसपछि मितबुबाको घरमा फर्किएँ । फेरि होटेलमा भाँडा माझ्न थालेँ । तर, भाँडा माझेर बस्न मन लागेन । एकजना चिनेको नेपाली साथीलाई अर्काे ठाउँमा काम खोज्न लगाएँ । भाँडा माझ्ने, लुगा धुने र भैँसी नुहाउने, मालिकलाई तेल लगाउनुपर्ने काम खोजिदियो । मालिकको ज्यानमा मालिस गर्दागर्दै आफ्नो ज्यान दुख्थ्यो । साहै्र दुःख पाएँ । भर्ती पनि हुन सकिनँ । घर जान पनि बाटो खर्च भएन । आँपको रुखमुनि बसेर रुन्थेँ ।
लाउरे हुने आशा मरेको थिएन । एसएलसी पास मात्रै भर्ती हुन पाइने नियम बनिसकेको रहेछ । त्यसपछि मन मर्यो । घर फर्किन रेलको टिकट काटेँ । रेलमा पाकेट मारिदियो । टिकट मात्रै रहेछ गोजीमा । बाटोमा बेखर्ची भएँ । गोरखपुरमा एकजना नेपाली रिक्सा चलाउँदा रहेछन् । उनलाई एक महिनाका लागि रिक्सा चलाउन दिन आग्रह गरेँ । एक महिना रिक्सा चलाएर बाटो खर्चको जुगाड गरेँ । त्यसपछि सुनौलीको बसको टिकट काटेर रित्तै घर फर्किएँ ।
घर फर्किएलगत्तै भिरमा खर काट्न जाँदा लडेँ । त्यसपछि मेरो जिन्दगीले अर्कै मोड लियो । मेरो दुवै खुट्टा चलेन । लाउरे हुने रहर सधैँका लागि पूर्णविराम लाग्यो ।