• वि.सं २०८१ माघ ३० बुधबार
  • Wednesday, 12 February, 2025
शान्ति तामाङ
२०८१ माघ १९ शनिबार १०:२७:००
साहित्य

किताब बेच्दै हिँड्दा...

२०८१ माघ १९ शनिबार १०:२७:००
शान्ति तामाङ

 

 

केही दिनयता मधेशका धेरै ठाउँमा बिहानपख हुस्सु र कुहिरोसँगै शीतलहर चलिरहेको छ । हुस्सु र कुहिरोका कारण केही मिटर दूरीकै दृश्य ठम्याउन मुस्किल छ । देहात आफ्नै सुरमा हुन्छ । मधेशका सहर आफ्नै धुनमा हुन्छन् । चोक, गल्ली, चौतारा आफ्नै लयमा हुन्छन् । व्यस्तताबिच एकजना पाको मानिस चोकमा देखा पर्छन् । टाउकोमा क्याप, खुट्टामा चप्पल, छातीसम्म झुन्डिन आइपुगेको चस्मा अनि हातमा माइक । माइक बोकेर भन्न थाल्छन्– म महावीर पुन । आफ्नो आत्मकथाको किताब बेच्न आएको छु । महावीर पुनलाई चिन्नुहुन्छ भने, महावीर पुनको नाम सुन्नुभएको छ भने ल आउनुहोस्, इच्छा हुनेले किताब किन्नुहोस् । यो किताब किनेर वीरगन्जको कृषि औजार कारखाना सञ्चालन गर्न मद्दत गर्नुहोस् ।’

 

माइकको आवाज सुन्नेबित्तिकै कतिपय स्थानीय उनको नजिक पुग्छन् । उनलाई चिन्नेहरूले उनको सपनालाई सघाउन पुस्तक किन्छन्, अटोग्राफ लेख्न लगाउँछन् । कतिपयले उनलाई सम्मान गर्दै खादा माला नै लगाइदिन्छन् । कतिपयचाहिँ महावीरलाई कर्के नजरले हेर्दै छेउ पनि नपरी हिँड्छन् । सायद ती भन्दा हुन्– क्या ‘अल्टर’ मान्छे ।

 

पुस्तक बेच्दै हिँड्दा महावीर वेलावेला रमाइलो पनि गर्छन् । उनले मान्छेलाई त पुस्तक बेचे–बेचे, रमाइलो गर्दै पशुपक्षी, जनावरसमेतलाई पुस्तक किन्न आउनुस् भने । ६ महिनाअघि सौराहा पुगेका वेला अपलोड गरिएको एक भिडियोमा उनले भनेका थिए, ‘ल राप्ती नदीमा भएका माछाहरू, गोहीहरू, चित्तलहरू, बाघहरू, हात्तीहरू ! महावीर पुनको किताब किन्न आउनुहोस् । वीरगन्जमा कृषि औजार कारखाना सञ्चालन गर्न महावीर पुनको आत्मकथाको किताब किन्नुहोस् ।’ उनी वेलावेला बाटोमै नाचिरहेका पनि देखिन्छन् । गत आइतबार सप्तरी पुगेका उनले सामाजिक सञ्जालमा एउटा फोटो पोस्ट गर्दै लेखेका छन्, ‘गाउँघरमा यसरी गोबरबाट गुइँठा बनाएर घरमा बाल्ने चलन व्यापक रहेछ । यो काम खासगरी महिलाले मात्र गरेको देखियो । यस्तो कामलाई कसरी सहज बनाएर सहयोग गर्न सकिन्छ भनेर सोच्दै छु । वीरगन्ज कृषि औजार कारखानामा यस्तैयस्तै साधारण औजार पनि बनाउन प्रयास गरिनेछ ।’

 

खोज, अनुसन्धान, नवप्रवर्तन र आविष्कारमा तल्लीन हुनुपर्ने वैज्ञानिक किन यसरी चोक–चोकमा कराउँदै हिँडिरहेका छन् ? किन किताब बेच्दै डुलिरहेका छन् ? यो जिज्ञासा धेरैलाई हुन सक्छ । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष पुनको एउटै उद्देश्य छ, ३० वर्षदेखि बन्द रहेको वीरगन्जको कृषि औजार कारखानालाई गति दिने, कृषि औजार उत्पादन गर्ने र यसका लागि आवश्यक रकम जुटाउने । ‘कृषि कारखाना चलाउन पैसा तुरुन्तै चाहियो । पैसा आउने उपाय कतैबाट छैन । कसैले दिँदैन,’ पुन भन्छन्, ‘सरकारले पनि पैसा दिँदैन । कसैले पैसा नदिएपछि आफैँले पैसा जुटाएर कारखाना चलाउने भनेर किताब बेच्न हिँडेको हो ।’ वीरगन्जको कृषि औजार कारखाना चलाउन सरकारले बजेट विनियोजन नगरेपछि उनले आफ्नै जीवनमा आधारित ‘महावीर पुन– सम्झना, सपना र अविरल यात्रा’ नामक आत्मकथा बेचिरहेका छन् । ७५० रुपैयाँ मूल्य तोकिएको पुस्तक पुनको हस्ताक्षरसहित किन्न पाइन्छ । 

 

हिमाल, पहाड हुँदै अचेल मधेश पुगेका वैज्ञानिक पुन हरेक दिन झिसमिसेमै किताब बेच्न निस्कन्छन् र राति सात–आठ बजेसम्म किताबै बेच्छन् । पुनले कारखाना चलाउने पैसा विभिन्न दातृ निकाय, संघसंस्था, व्यक्तिसँग आफ्नो अभियानबारे प्रचारप्रसार गरेर पनि संकलन गर्न सक्थे । तर, स्वेच्छाले दिनेबाहेक अरूलाई आफ्नो अभियानबारे सुनाएर पैसा देऊ भन्न नसक्ने स्वभावका कारण आफैँ किताब बेच्न लागिपरेका छन् । यसरी किताब बेचेरै आफूलाई सहज भइरहेको पनि उनी बताउँछन् । ‘फन्ड कलेक्सन गर्न माग्नुपर्छ । जिन्दगीमा माग्न जानिएको छैन । मनले मान्दा पनि मान्दैन,’ उनी भन्छन् ।

 

किताब बेच्दै स्कुलदेखि वनभोजसम्म

 

किताब बेच्ने क्रममा उनी सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी प्रदेशका केही जिल्ला हुँदै अहिले मधेश प्रदेशमा पुगेका छन् । हालसम्म ४० जिल्ला पुगिसकेका उनी चोक–चोकमै किताब बेच्छन् । किताब बेच्नकै लागि विभिन्न संघसंस्थाको कार्यालय, स्थानीय सरकारका कार्यालय, विद्यालय, क्याम्पस, मन्दिर, हाट बजार, कृषि बजार, मेला, महोत्सव, खेलकुद प्रतियोगिता, वनभोज खाने ठाउँ, योग साधना केन्द्र सबैतिर पुग्छन् । आफ्नो कामबारे बताउँछन् । ती सबै ठाउँमा पुगेर युवालाई अभिप्रेरित पनि गर्छन् । जीवनको सात दशकमा हिँडिरहेका उनीसँग किताब बेच्नको लागि ठुलै टिम छ कि झैँ लाग्छ । तर, उनी आफूबाहेक एकजना मात्र सहयोगी लिएर किताब बेच्दै हिँडिरहेका छन् । ती सहयोगी लिएर उनी किताब बेच्न योग साधना केन्द्रमा बिहान ६ बजे नै पुग्छन् । क्याम्पसले बोलाएको दिन साढे ६ बजे नै क्याम्पस हाताभित्र पुगिसक्छन् । मन्दिरमा भक्तजनको भिड हुने समयलाई मध्यनजर गरेर पुग्छन् । हाट बजारमा बेलुका सा–आठ बजेसम्मै किताब किन्न आग्रह गर्दै माइकिङ गर्छन् । माइकिङसँगै किताबमा हस्ताक्षर गरेर किताब बेच्छन् । उनी प्रत्येक ठाउँमा कम्तीमा पनि ४०–५० वटादेखि दुई–तीन सयसम्मै किताब बेच्छन् । 

 

किताब बेच्न विभिन्न ठाउँमा पुग्दा पाएको सम्मान, सत्कार र आथित्यले उनको सबै दुःख, अप्ठ्यारा भुलाइदिएका छन् । उनी जुन ठाउँमा पुग्छन्, ती ठाउँ सम्झनलायक बनेका छन् । ‘जहाँ गए पनि सम्झनलायककै क्षण छन् । किनभने, जहाँ–जहाँ हामी पुग्छौँ, त्यहाँ–त्यहाँ पुग्नेबित्तिकै स्वयंसेवकको रूपमा कोही न कोही मानिस जम्मा भएका हुन्छन् । ती मानिसले त्यो ठाउँमा कहाँ–कहाँ र कसरी किताब लैजाने, किताब बेचिदिने भन्ने योजना बनाएका हुन्छन् । त्यही योजनाअनुसार हामी चल्छौँ र किताब बेच्छौँ,’ उनी भन्छन् । किताब बेच्ने व्यवस्था त स्थानीयले गरिदिन्छन् नै, महावीर र उनका सहयोगीका लागि खाने, बस्ने व्यवस्थासमेत मिलाइदिन्छन् । जनकपुरवरिपरि किताब बेच्दै जाँदा एउटा गाउँमा एकजना स्थानीयले भनेको कुरा उनले यसरी सम्झिए, ‘नेपालमा अर्केस्ट्रा अथवा नाचगान लिएर आउनेलाई दुई–चार हजार सजिलैसँग फाल्छन् सर । तर, तपाईंको किताब किन्न मानिसलाई धेरै गाह्रो हुन्छ । यसो भनेर उहाँले किताब किन्नुभयो ।’ यस्ता अनेक घटना छन्, जसले उनलाई किताब बेच्न ऊर्जा भरिदिन्छ । चोक–चोक, सहरबजार, गाउँ सबैतिर पुगेर किताब किन्न आउनुस् भनेर चिच्याउन जाँगर दिन्छ । गलत बुझाइका कारण केही ठाउँमा वादविवादका घटनासमेत भएका छन् ।

 

महावीर प्रत्येक जिल्लाका सबैजसो पालिकामा पुगेका छन्, बाँकी रहेका पालिकामा पुग्ने योजनामा छन् । एउटा जिल्लाको पालिका सकिएपछि बल्ल अर्को जिल्ला जाने निधो गर्छन् । उनी किताब बेचेर बितेको वर्ष दिनलाई जिन्दगीको सबैभन्दा रमाइलो समय ठान्छन् । जिन्दगीको नयाँ भोगाइ मान्छन् । ‘किताब बेच्दै हिँड्दा जिन्दगीमा जिन्दगीमा सबसे रमाइलो अनुभूति भइरहेको छ’ उनी खुसी हुँदै सुनाउँछन् ।

 

बाँकी रहेका जिल्लामा पनि यसरी नै सहर, बजार, चोक, गाउँ, हाटबजार पुगेर माइकिङ गरेरै किताब बेच्ने लक्ष्य राखेका छन् । उनले नेपालको एक प्रतिशत जनसंख्या अर्थात् तीन लाख मानिसलाई किताब बेच्ने लक्ष्य लिएका छन् । ‘सबैतिर यही शैली अपनाउने हो । केही पनि नयाँ छैन । नेपालको एक प्रतिशत जनताले किताब किन्छन् होला भन्ने अनुमान हो,’ उनी लक्ष्यअनुसारको किताब बेच्न सकिनेमा ढुक्क देखिन्छन् । उनले हालसम्म ४० जिल्लामा एक लाख ५५ हजारवटा किताब बेचिसकेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत पनि किताब बेच्दै गर्दाका घटना लेख्ने, सुनाउने गर्छन् । सामाजिक सञ्जालमा राखिने गतिविधिले गर्दा पनि उनीसँग धेरैजना जोडिने गरेका छन् । किताब बेचेरै उनले करिब नौ करोड जम्मा गरिसकेका छन् । 

 

सरकारको छैन भर

 

किताब बेच्दै हिँड्दा उनी स्थानीय सरकारका प्रतिनिधिसँग पनि भेट्छन् । धेरै स्थानीय सरकारले उनको किताब किनिदिएका पनि छन् । प्रदेश सरकारले कृषि कारखानाका लागि लाखदेखि करोडसम्म दिने प्रतिबद्धता पनि जनाएका छन् । तर, उनले हालसम्म रकम भने पाएका छैनन् । तीन महिनाअघि नै बागमती प्रदेशका कृषि तथा पशुपक्षी विकासमन्त्री प्रकाश श्रेष्ठ र बागमती प्रदेशकै वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालले वीरगन्ज कृषि औजार कारखानामा अध्ययन भ्रमण गरे । कृषिमन्त्री श्रेष्ठले चालू आर्थिक वर्षमै करिब एक करोड ५० लाखका औजार किनिदिने प्रतिबद्धता पनि गरेका थिए । तर, त्यस्ता रकम भने अहिलेसम्म कारखानाका लागि आइनपुगेको उनी बताउँछन् । प्रतिबद्धता जनाएको महिनौँ बित्दा पनि पैसा नआएपछि प्रदेश सरकारप्रति उनको भरोसा टुटेको छ । ‘सरकारको कुरामा ५० प्रतिशत पनि विश्वास गर्न सकिँदैन,’ उनी भन्छन् । सरकारबाट सहयोगको अपेक्षा नभए पनि आग्रह गर्न नछाड्ने उनी बताउँछन् । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा पुगेर उनले भने, ‘अब एक डेढ वर्षमा कस्ता–कस्ता औजार उत्पादन गर्न सकिन्छ, त्यसको क्याटलक बनाएर पठाउँछौँ र त्यो क्याटकल हेरेर तपाईंहरूलाई फाइदा हुने औजार छ, कृषकलाई अनुदानमा किनेर दिन चाहानुहुन्छ भने त्यतिवेला किनिदिनुस् ।’ 

 

किताब बेच्न अझै ३७ जिल्ला बाँकी भए पनि सन् २०२५ मा थप एक लाख ५० हजार किताब बेच्ने लक्ष्यका साथ उनी लागेका छन् । लक्ष्य भेट्टाउनेमा पनि उनी ढुक्क छन् । सन् २०२४ मा बेचिएको एक लाख ५० हजार किताबको पैसाले हाल कारखाना मर्मत भएर सञ्चालनमा आइसकेको छ । १५ किसिमका औजार बनाएर त्यसको नमुना परीक्षणसमेत भइरहेको छ । कारखानामा गोबर पेल्ने मेसिन, घाँस काट्ने मेसिन, आलु रोप्ने मेसिन, आलु गोड्ने मेसिन, धान काट्ने मेसिन, केराको फाइबर बनाउने मेसिन, घाँस खुर्कने मेसिन तथा हाते औजार, दाना बनाउने मेसिन, धान रोप्ने मेसिन खाल्डो तथा दुलो पार्ने हाते औजारजस्ता मेसिनको परीक्षण तथा निर्माण कार्य भइरहेको छ । उनका अनुसार औजार उत्पादन सुरु गर्नका लागि तयारीसमेत भइरहेको छ । हाल कारखानामा ३५ जनाले कामसमेत गरिरहेका छन् । किताब बेचेरै आएको रकमबाट उनीहरूले नियमित पारिश्रमिकसमेत पाइरहेका छन् । किताब बेचेर जम्मा भएको नौ करोडमध्येकै रकम ती कामका लागि खर्च भइरहेको हो ।

 

साना किसानलाई आवश्यक पर्ने औजार निर्माणका लागि काम गर्न उत्साह भरेको उनी बताउँछन् । ‘सबै नेपाली मूर्ख छैनन् । अलि गतिला नेपाली पनि छन् नि ! कोही मन भएका, धन नभएका । तर कोही अलि–अलि धन भएका र मन पनि भएका छन् । यसैले ०२५ मा पनि एक लाख ५० हजार किताब बिक्री हुन्छ । जसरी भए पनि बिक्री हुन्छ,’ उनी दृढता व्यक्त गर्छन् । उनी यदि समयमा मल पाउने, सिँचाइको राम्रो बन्दोबस्त गर्ने, खेती गर्न उचित औजार किसानलाई उपलब्ध गराउने र त्यसमा सहुलियतको व्यवस्था गर्ने हो भने नेपालका लागि चाहिने खाद्यान्न नेपालमा नै उत्पादन हुने बताउँछन् ।

 

०७९ असोज १० गतेदेखि राष्ट्रिय आविष्कार केन्द्रले बन्द रहेको वीरगन्ज कृषि औजार कारखाना सञ्चालन गर्न सरकारसँग सम्झौता गरेको थियो । उनको टोलीले कात्तिक १२ देखि कारखाना मर्मतको काम थालेको थियो । ६० वर्ष पुराना मेसिन मर्मत गरेर काम थालेको कारखानाले नाफा हुन थालेपछि नाफाको ५० प्रतिशत सरकारलाई बुझाउनुपर्नेछ । १० वर्षको लागि सरकारले आविष्कार केन्द्रलाई कारखाना सञ्चालनको जिम्मा दिएको हो । कारखाना सञ्चालनका लागि आर्थिक, प्राविधिक व्यवस्थापन, सञ्चालन, बिक्री, वितरणको व्यवस्था केन्द्रले नै गर्ने सम्झौतामा उल्लेख छ । आधुनिक औजार निर्माण गर्न २० देखि २५ करोड आवश्यक भएको तर सरकारले बजेटको व्यवस्था नगर्ने भएपछि पुन आफैँ किताब बेचेर कारखाना सञ्चालन गर्न देश दौडाहामा निस्किएका थिए । 

 

०२४ फागुन २८ गते रुसको सहयोगमा कारखाना स्थापना भएको थियो । उत्पादकत्व बढाउन र कारखानालाई नाफामा सञ्चालन गर्न सरकारी उद्योगलाई निजीकरण गर्ने योजनाअनुसार २०५४ मा कारखाना निजीकरण भएको थियो । पछि ०५८ कात्तिक २९ गतको मन्त्रिपरिषद्को निर्णयबाट सरकारले आफ्नै स्वामित्वमा कारखाना सञ्चालन गर्ने निर्णय गर्‍यो । उपर्युक्त ढंगबाट कारखाना सञ्चालन हुन नसकेपछि ०५९ चैत ४ गतेको मन्त्रिपरिषद् बैठकले कारखाना खारेज गर्ने निर्णय गरेको थियो ।