• वि.सं २०८१ चैत १८ सोमबार
  • Monday, 31 March, 2025
विजयराज पन्त
२०८१ माघ २६ शनिबार ०८:०२:००
इतिहास

बहुमूल्य श्रीखण्ड 

२०८१ माघ २६ शनिबार ०८:०२:००
विजयराज पन्त

 

पृथ्वीनारायण शाहले नुवाकोट विजय गरेपश्चात् चीनका बादशाहलाई श्रीखण्डको रुख उपहार पठाई सम्बन्ध विस्तार गरेको बुझिन्छ

 

नेपाली भाषामा श्रीखण्ड वा चन्दन भनेर बुझिने वनस्पतिलाई अंग्रेजी भाषामा ‘स्यान्डलउड’ भनिन्छ । ‘स्यान्टलेसियाई’ वानस्पतिक परिवारभित्र पर्ने यो प्रजातिको वैज्ञानिक नाम ‘स्यान्टलुम एल्बम लिन्ना’ हो । श्रीखण्डलाई संस्कृतमा चन्दन, श्रीखण्ड, भद्रश्री, तेलपर्निक, गन्धसार, मलयज, चन्द्रध्युती आदि विभिन्न नाम दिइएको छ भने हिन्दीमा चन्दन, श्वेत चन्दन, सफेद चन्दन आदि भनिन्छ । 

 

श्रीखण्ड १२ देखि १५ मिटर अग्लो हुने एक सदावहार वनस्पति हो । २०० देखि १६०० एमएमसम्म वर्षा हुने क्षेत्रहरू, पाँचदेखि ४८ डिग्रीसम्म तापक्रम हुने सबै ठाउँमा श्रीखण्ड हुन्छ । यो समुद्र सतहबाट २००० मिटर उचाइसम्मका क्षेत्रमा अर्थात् तराई, पहाड जता पनि हुन सक्ने वनस्पति हो । यसको खेतीका लागि ६.५ देखि ८.५ पिएच मानसम्म भएको पानी नजम्ने बलौटे माटो उपयुक्त मानिन्छ । व्यावसायिक रूपमा रुख तयार हुन कम्तीमा पनि १५ वर्ष लाग्छ र जति बढी वर्षको रुख भयो, त्यति बढी बास्नादार, चुरो काठ बन्नुका साथै तेलसमेत झनै गुणस्तरीय हुन्छ । यसको बास्नादार काठको प्रयोग धार्मिक कर्म, औषधि निर्माण, सौन्दर्य सामग्री तथा बहुमूल्य तेल, सेन्ट, धुप, अगरबत्ती, साबुन आदि  निर्माण गर्न र हस्तकलाका सामग्री बनाउनमा गरिन्छ ।

 

विश्वभरिमा श्रीखण्डको जम्मा १८ वटा उपप्रजाति रहेकोमा दुईवटा पूर्ण रूपमा लोप भइसकेको र अब १६ उपप्रजाति मात्र अस्तित्वमा छन् । यी १६ उपप्रजातिमध्ये पनि जम्मा पाँचवटामा मात्र व्यावसायिक रूपमा तेल उत्पादन गर्न मिल्ने हुन्छ । ती पाँचवटामा पनि सबैभन्दा बढी तेल र बास्ना हुने उपप्रजाति केवल श्रीखण्ड हो, जुन नेपाल, भारत, इन्डोनेसियामा मात्र पाइन्छ ।

 

श्रीखण्ड अति बहुमूल्य वनस्पति भएकाले यसको काठ र तेल पनि प्रतिकिलो र लिटरका दरले बिक्री–वितरण हुने गर्छ । हाल अन्तर्राष्ट्रिय बजारमा श्रीखण्डको चुरो काठ प्रतिकिलो ८–१० हजारबाट सुरु भई गुणस्तरीयताको आधारमा २०–२२ हजारसम्ममा खरिदबिक्री भइरहेको छ । नेपालमा भने प्रतिकिलो कम्तीमा चार हजार रुपैयाँदेखि खरिद–बिक्री सुरु भइरहेको भए पनि अधिकतम कुनै निश्चित मूल्यदर छैन । खरिद–बिक्रीकर्ताको सहमतिमा निकै फरक–फरक दररेट रहेको पाइन्छ । जेहोस् नेपालको सन्दर्भमा अहिले नै पनि १५ वर्षभन्दा माथिको रुखको चुरो काठ र जराको तौल २०–२५ किलो उत्पादन भइरहेको र चार हजारका दरले बिक्री–वितरण भइरहेको अवस्थामा पनि एकै श्रीखण्ड रुखबाट लगभग एक लाखसम्म आम्दानी भइरहेको छ । सामान्य कृषकले पनि यस्तो बहुमूल्य वनस्पतिको सयवटा मात्र गुणस्तरीय बिरुवा आफ्नै घरवरिपरि, कान्ला बारी, खेतको आलीमा वा बाँझो पाखो जमिनमा मात्रै रोपण गरी उत्पादन गरे पनि १५ वर्षमा उसले करोड रुपैयाँ आम्दानी गर्न सक्छ । सरकारी र निजी क्षेत्रबाट चन्दन उत्पादक कृषक समूह निर्माण, प्राविधिक सहयोग र तालिम, गुणस्तरीय निःशुल्क बिरुवा प्रदान र उत्पादित चन्दन खरिद, प्रशोधन र राष्ट्रिय–अन्तर्राष्ट्रिय बजारमा बिक्री–वितरणको सुनिश्चितता मात्र गर्न सक्ने हो भने नेपालमा चन्दनमा आधारित जलवायु परिवर्तन मैत्री हरियाली प्रवर्द्धन, उद्योगधन्दाको स्थापना र सञ्चालन र रोजगारी सिर्जना हुनुका साथै राष्ट्रिय आम्दानीको एउटा गतिलो नयाँ बाटो र आधार स्थापना हुन सक्ने देखिन्छ ।    

 

‘जान्नेलाई श्रीखण्ड, नजान्नेलाई खुर्पाको बिँड’ भनेजस्तै हामीलाई यस्तो बहुमूल्य वनस्पति चन्दनको महत्व बुझ्न नै साहै्र ढिलो भइसक्यो । यति मात्र होइन, हाम्रा वनस्पतिका विद्वान्ले त श्रीखण्ड नेपाली प्रजाति नै होइनसम्म भन्न भ्याएका छन् र यस्तो बहुमूल्य वनस्पतिलाई आधिकारिक रूपमा जडीबुटी खेतीअन्तर्गत पनि राखेका छैनन् । पशुपतिनाथको मन्दिरमा समेत सधैँ भारतसित मागेर चन्दन घोट्ने बानी परेकाले होलान् नेपालको श्रीखण्डको इतिहास, अवस्था र व्यावसायिक उत्पादनको सम्भावनाबारे सोच्ने कसैलाई चासो र फुर्सद नै देखिँदैन । नेपालकै विभिन्न ठाउँमा अहिले पनि श्रीखण्डको रुखहरू रहेको र कानुनी रूपमै कटान र बिक्री–वितरण भइरहेको जानकारी पनि धेरै व्यक्तिलाई छैन । समयमै सरकार र निजी क्षेत्रले नेपाली श्रीखण्डको संरक्षण, संवर्द्धन र व्यावसायिक खेती प्रवर्द्धनमा लाग्नसमेत जरुरी देखिन्छ ।

 

 

श्रीखण्डको प्राकृतिक क्षेत्र र अवस्था
प्राकृतिक रूपमा श्रीखण्ड ३० डिग्री उत्तरदेखि ४० डिग्री दक्षिण, अर्थात् पूर्वमा इन्डोनेसियादेखि पश्चिममा जानफर्नान्डेज टापु (चिले) सम्म र उत्तरमा हावाइन आर्किपेलागोदेखि दक्षिणमा न्युजिल्यान्डसम्मको क्षेत्रमा पाइन्छ । विभिन्न उपप्रजातिका श्रीखण्ड भारत, श्रीलंका, इन्डोनेसिया, चीन, अस्ट्रेलिया, जापान, बेल्जियम, हल्यान्ड, नर्बे, रसिया, स्विट्जरल्यान्ड र अमेरिका आदि विभिन्न देशमा पाइए पनि मुख्यतः प्राकृतिक रूपमा पाइने देशहरू भारत, इन्डोनेसिया र अस्ट्रेलिया नै हुन् । 

 

भारतमा सन् १९७७/७८ मा गरिएको पहिलो चन्दन सर्वेअनुसार भारतभरि नै छिटफुट रूपमा सबै क्षेत्रमा चन्दन पाइए पनि प्राकृतिक रूपमा कर्नाटक राज्यको दक्षिण क्षेत्र र तमिलनाडु राज्यको उत्तरी क्षेत्रमा प्राकृतिक जंगलका रूपमा सबैभन्दा बढी चन्दन रहेको पुष्टि भएको छ । उक्त क्षेत्रमा मात्रै आठ हजार ३०० स्क्वायर वर्गकिलोमिटरमा चन्दनको प्राकृतिक जंगल रहेको छ, जुन भारतभरिको चन्दनको ९० प्रतिशतभन्दा पनि बढी हुन आउँछ ।

 

चन्दन भारतमै उत्पत्ति भएको भारतको स्वदेशी प्रजाति हो र यसको प्रयोग रामायण र महाभारतकालदेखि निरन्तर हुँदै आइएरहेको छ भन्ने भारतीय अनुसन्धानकर्ता र वनस्पतिविज्ञहरूले बताउने गरेका छन् । केही अन्य विज्ञ भने चन्दनको मूल उत्पत्तिस्थल भारत नभई इन्डोनेसिया रहेको र पछि त्यहीँबाट भारत भित्रिएको भन्ने विचार राख्छन् । जे होस्, चन्दन प्राकृतिक जंगलको रूपमा विश्वभरिमा भारत नै अग्रस्थानमा छ ।

 

नेपालको सन्दर्भमा श्रीखण्ड 
नेपालको सन्दर्भमा श्रीखण्ड चन्दनको विस्तृत अध्ययन अनुसन्धान अझै हुन सकेको छैन । तर पनि भौतिक रूपमा चन्दनको उपलब्धताको आधारमा हेर्दा प्युठान, गोर्खा, रोल्पा, रुकुम, बझाङ आदि विभिन्न जिल्लामा श्रीखण्डका रुख भेटिएका छन् । छिटफुट रूपमा दुई–चारवटा रुख सुदूरपूर्वदेखि सुदूरपश्चिमका तराई र पहाडी जिल्लामा पनि भेटिएका छन् । प्युठान र बझाङमा ससानो सामुदायिक वनमा पनि श्रीखण्ड वनस्पति छ । तर, यी श्रीखण्ड बिरुवा नेपालकै रैथाने हुन् कि भारतबाट बिरुवा ल्याएर लगाइएका हुन् भन्नेमा अधिकांश व्यक्तिको मत बझिएको छ । धेरैको भनाइअनुसार केही दशकअघि विभिन्न व्यक्तिले धार्मिक दृष्टिकोणले भारतबाटै बिरुवा ल्याएर आ–आफ्नो घरबारी, मठ–मन्दिरमा लगाएको र ती बिरुवामा फलहरू फल्न थालेपछि चराचुरुंगीले ती फल खाई विभिन्न स्थानमा दिसा गरी पुनः त्यो बिउ नयाँ–नयाँ ठाउँमा उम्रँदै नयाँ–नयाँ रुख बन्दै र हुर्कंदै गएका हुन् । 

 

तर, यो लेखका लेखकले दक्षिण भारतको ब्याङ्लोरमा अवस्थित वनविभागको एकजना चन्दन विशेषज्ञसँगको गरेको अन्तत्र्रिmया अनुसार नेपालमा परापूर्वकालदेखि नै प्राकृतिक रूपमा श्रीखण्ड रहेको र पछि कुनै कारणवश लोप हुन गएको हो । अर्को ऐतिहासिक घटना विवरण र तथ्यअनुसार चीनको राजधानी बेइजिङमा रहेको प्रख्यात लामा मन्दिरमा विश्वकै सबैभन्दा अग्लो मैत्रेय बुद्धको मूर्ति छ, जुन एउटै श्रीखण्ड रुखबाट कुँदेर बनाइएको छ । यो मूर्ति जमिनमाथि १८ मिटर अग्लो र जमिनमुनि आठ मिटर गरी जम्मा २६ मिटर अग्लो र मोटाइ व्यास आठ मिटर रहेको छ । उक्त चन्दनको विशाल मूर्ति बनाउन नेपालबाट एउटा चन्दनको विशाल रुख १२०० भरियाले बोकेर लगेको र यसरी बोकेर तीन वर्षमा बेइजिङ पुर्‍याइएको भन्ने इतिहास छ । यो चन्दनको रुख तत्कालीन नेपालका राजा र तिब्बतका सातौँ दलाई लामा केल्साङ ग्यात्सोले संयुक्त रूपमा चीनका बादशाह छिङलोङलाई उपहार दिएको भनिन्छ भने केहीले तिब्बतका सातौँ दलाई लामाले नेपालबाट धेरै धनराशीमा खरिद गरी उपहार दिएको भनेर लेखेका छन् । चिनियाँ अनलाइनको जानकारीअनुसार यो चन्दनको रुख नेपालको कपिलवस्तुबाट लगिएको थियो । केही व्यक्तिका अनुसार त नेपालदेखि बेइजिङसम्म उक्त विशाल चन्दनको रुख पुर्‍याउन पृथ्वीनारायण शाहको तत्कालीन गोर्खा सेनाको भूमिका थियो । 

 

एकजना भारतीय चन्दन विशेषज्ञले आफ्नो पुस्तकमा लेखेअनुसार चीनका बादशाहलाई उपहारस्वरूप उक्त विशाल चन्दन रुख दिइएको समयमा नेपालमा पृथ्वीनारायण शाहले भर्खर नयाँ नेपालको सिमाना बढाइरहेको र नयाँ परिवेशमा उनले एकातिर तत्कालीन भोट तिब्बतसित पनि कूटनीतिक र व्यापारिक समझदारी गर्नुपर्ने र चीनसित पनि सम्बन्ध राम्रो बनाउने आवश्यकता थियो । अर्कोतिर जितेका राज्य बचाइराख्ने र बाँकी राज्यमा पनि आक्रमण गरी सिमाना बढाउनुपर्ने भएकाले हतियारको आवश्यकता पनि थियो । यसै क्रममा उनी भारतको वनारसमा आएर हतियार लिएर गए । यसै सिलसिलामा चीनको बादशाह खुसी पार्न चन्दनको रुख पनि खोजे र तिब्बती दलाई लामासित मिलेर रुख उपहार पठाए । उक्त चन्दनको रुख उत्तर भारतबाट लगेको हुन पनि सक्छ, नेपालकै तराई क्षेत्र को पनि हुन सक्छ भनी भारतीय विशेषज्ञले लेखेका छन् ।

 

यसै सन्दर्भमा ‘गिनिज बुक’को सर्टिफिकेटमा ‘बेइजिङ चाइनामा रहेको लामा मन्दिरमा १८ मिटर अग्लो मैत्रेयको मूर्ति एउटा चन्दनको सिंगो रुखलाई कुँदेर बनाइएको छ, जुन चन्दन रुख नेपालबाट ल्याइएको थियो र १७५० मा निर्माण सम्पन्न गरिएको थियो भनिएको छ ।

 

यी तथ्य र प्रमाण हेर्दा पृथ्वीनारायण शाहले नुवाकोट विजय गरेपश्चात् र काठमाडौं उपत्यका आक्रमण गर्नुपूर्व तिब्बती दलाई लामाको सहयोग र साझेदारीमा चीनका बादशाहलाई विशाल चन्दनको रुख उपहार पठाई चन्दन कूटनीतिको माध्यमबाट एकैसाथ दलाई लामा र चिनियाँ बादशाहसित सम्बन्ध विस्तार गरेको बुझिन्छ । तर, नेपालको राजनीतिक इतिहासमा पृथ्वीनारायण शाहको यो चन्दन कूटनीति कहीँ कतै उल्लेख भएको देखिँदैन । यो विषयबारे अनुसन्धान गरी पत्ता लगाउने र यसको आधिकारिकता पुष्टि गर्ने जिम्मा हामी सबैको हो ।

 

जे होस्, चीनको बेइजिङमा अवस्थित लामा मन्दिर र त्यहाँ रहेको मैत्रेय बुद्धको विशाल चन्दन–निर्मित मूर्ति, गिनिज बुकमा उल्लेख भएको विवरण र नेपाली १२०० भरियाले नेपालबाट श्रीखण्डको रुख बोकेर तीन वर्षमा चीनको बेइजिङ पुर्‍याएको कथन, चिनियाँ अनलाइनमा चन्दन रुख कपिलवस्तुबाट ल्याइएको भन्ने रेकर्ड आदिका आधारमा नेपालबाटै उक्त रुख लगिएको प्रमाणित हुन्छ । साथै यी प्रमाणका आधारमा श्रीखण्ड चन्दन परापूर्वकालदेखि नै नेपालमा रहेको तथ्य पनि प्रस्ट हुन आउँछ ।

 

नेपालमा विभिन्न ठाउँका नाम पनि चन्दनको नामले राखिएको भेटिन्छ । जस्तै– चन्दनबारी, श्रीखण्ड, चन्दननाथ आदि नाम भएका ठाउँमा पहिले यो चन्दन वनस्पति प्रशस्त पाइने भएकाले ती नाम दिइएका पो हुन् कि ? यो एउटा अध्ययनको विषय हो । पूर्ण अध्ययन र खोजविना नै चन्दन नेपाली प्रजाति होइन भनेर ठोकुवा गरिहाल्न मिल्दैन । त्यसो गर्दा आफ्नै देशको बहुमूल्य वनस्पति श्रीखण्डप्रति अन्याय गरेको ठहरिनेछ ।

 

(चन्दन विशेषज्ञ पन्त नेपाल चन्दन प्रालिका संस्थापक हुन् ।)