गोतामकोटस्थित ‘कोत’छेउछाउका बारीमा झुलेका गहुँ÷जौ कति घरको आँगनमा पुगेका थिए भने कति पुग्नलाई बारीमा हतार देखिन्थे । कोत उत्तरपूर्व भित्तामा भित्ते सुर्के बारीको ठीक माथि एक्लै उभिएको थियो, बार्दलीविनाको एउटा सानो खरछाने घर । त्यसको छेवैमा मुस्किलले उभिएको थियो, त्योभन्दा पनि सानो घर । त्यहाँबाट जंगलैजंगल उकालिएको बाटो उकालिए चित्रेपाटन पुगिन्थ्यो ।
बाली हलल हल्कने गतिला बारी कि राजा खलक ठकुरीका थिए, कि त चौतरिया खलक विष्टका । खरछाने दुब्लो घरबाट सवा सय पाइला ओर्लिए मालिका मन्दिर पुगिन्थ्यो भने सवा दुई सय मिटर उक्लिए सिद्ध मन्दिर । गाउँमा (तुलनात्मक रूपले) ठूला र लामा आकार घर एकठाउँमा लहरै थिए । त्यो थियो, ठकुरीटोल (१० घर शाही र पाँच घर मल्ल) । जसको मास्तिर बाहुन टोल (दुई घर शर्मा र पाँच घर खत्री) थियो । त्यहीँका बाहुन अन्यत्र गएपछि गौतम भएका थिए ।
ठकुरी टोलबाट उत्तरतिर फर्केर बोलाउँदा सुनिने गरी विश्वकर्मा (१५० घरजति) टोल बसेको थियो भने दक्षिणतिर दमाई (६० घरजति) । दमाई टोलको पूर्वतिर थियो, विष्ट (१५० घरजति) ।रुकुम (पश्चिम)को कुना गाउँ हो, गोतामकोट । गोतामकोटको रुकुमसित प्रशासनिकबाहेक बाँकी सम्बन्ध जाजरकोट र डोल्पासँग थियो । झन् सानो घरको आडैमा लिपपोत गरिएको खलिहान जस्तोमा एउटी बुढीआमा गहुँ दानासँग लडीबडी खेल्दै थिइन् । उनको हातेगतिअनुसार सुपामा गहुँ गेडा घरी बुरुक्क उफ्रन्थे त घरी थचक्क बस्थे । उफ्रँदाउफ्रँदै फुक्लेर तिनका लुगा फिस्टी चराजसरी सुपाबाट बाहिरिन फुर्रफुर्र उड्थे ।
जेठ पहिलो हप्ते गर्मीमा किशोरवयका वडाध्यक्ष बाबुराम विष्टपुत्रसँग त्यहाँ पुग्दा उनी गहुँसँग सुख–दुःख साट्दै थिइन् । ‘बाली यसपालि कस्तो भयो आमा ?’‘मकै कीराले खालो । गहुँजौ हिउँले ।’‘खै त परिवारका अरू ?’‘कोही नाईं । म त बलै क्यान बाँच्या’छु । क्याले झुरायाउँछ,’ सुपामा गहुँ निफन्दै भनिन्, ‘काँती हाँस्छु । काँती रुन्छु । ...एक्लै घोप्टो पर्छु ।’
दुई घरका बीचमा भकारा थियो । भकारामा एउटा गाई र बाच्छो बाँधिएका थिए । सन्चो–बिसन्चो र चिनजानसँगै सुख–दुःख पनि बिसाइयो । त्यसपछि भनिन्, ‘अइजेलका के कुरा । गीत त के, कुरै बुझ्दैन ।’‘उसो भए, आफ्नो पालामा खुबै गीत गाउनुभयो ?’‘क्यान गाइनाउँ ! गीत गाएर त घरबार जोरिम् । मलाई ल्याउने विष्ट पनि गीतै गाउने । गीत गाई–गाई त यस्तो भयो । (एकछिन थामिएर) गीतले गतिलो गर्छ त ? कि गार हाल्छ कि भीर फाल्छ । गीताँ भर पर्न नपर्ने रै’छ । गीताँ भर पर्ने र अर्काका भर पर्नेले दुःख पाउने रै’छ । गाउनेको कर्म निको हुने रैन’छ । के गर्नु ? ह्रोटै (रोटी) पाइनँ । दुःख छन् । ...आफ्नो बैपार, कसलाई क्या भनम् ।’
‘गीतले ?’‘हो त, गीतले । बाले पनि गीत गाएरै ठाकुराँ छोरी बिहे गरे ।’ एकछिन वरपर हेरिन् । उनका आँखा पारि गोतामकोट विष्टगाउँ पुगे । लगत्तै फरक्क आफ्नो घरमा फर्काइन् । ‘पच्चीसाउ (पच्चीस) आएँ कि ?’बिहे हुँदा अर्थात् खरछाने घर बनाएको उमेर सम्झन कोसिस गरिन् ।
नागरिकतामा उल्लेख उमेर, नाउँ र थरको भर थिएन । किनकि, गाउँका ‘जान्ने भान्ने’ले आफ्नो मर्जीअनुसार जन्ममिति, नाउँ र थर हाल्दिएका थिए । तिनै जान्नेसुन्नेलाई टक्कर दिने विष्टगाउँका दत्ते विष्ट थिए । गाउन माहिर । गाएरै ठकुरी, बाहुन र खत्रीपुत्री बिहे गरेथे । तर, तिनका तीनै घरबार बिग्रे । तैपनि गाएर माया लाउनचाहिँ छाडेनन् । उनै दत्ते विष्ट विष्टगाउँबाट सल्लाको दियालो बाल्दै मादल तालमा मिग्री पुग्थे । चुलोवरपर बस्थे । गाउँथे । ‘झल पर्नेवेला’ थालेको गीत उज्यालो नहुँदासम्म चल्थ्यो । मिग्रीमा गएर गाउँदागाउँदै फेरि दिल बस्यो ।
‘गाउँदागाउँदै मन परापर भयो । घरबार पनि भयो,’ एकछिन सुपामा गहुँ निफन्न छाडेर भनिन् । निफन्दानिफन्दै फेरि उनका आँखा पारि विष्टगाउँ पुगे । त्यसपछि उनको माइती गाउँ मिग्री । ‘आमा–बाले भन्याउ मान्नुपर्ने रहेछ । कोही गतिलाका जानू भन्थे । के भयो के भयो । गीतै रङ भइकन आएँ, यो कान्लामा ।’बिहेपछि दत्ते विष्टलाई विष्टगाउँमा बस्न दिइएन । घरभित्र पस्न दिइएन । प्रेम र जीवन जिउन पाखामा लागे । घाम नलाग्ने स्याँलामा । भित्ता खोस्रेर बारी बनाए । मलजल गरे । अन्न उबाजे । ओत लाग्ने सानो खरछाने घर उभ्याए । ‘बान्नो यै हो,’ पतिले बनाएको घरको गारो देखाउँदै भनिन् । ‘तैपनि राम्रै थियो । छोराछोरी भइगिथे । के भयो के भयो, ठावै यइथो हो कि, ‘मान्छ’ यइथै हौँ कि ? कोही छाडेर गए कोही मरेर । म बड्डी मात्रै बाँचेँ ।’
घाँस काट्न गएकी २० वर्षीया छोरी लडेर मरिन् । १६ वर्षकी अर्की छोरी बिरामी भएर । अर्की छोरीको पति मरे । ‘डाँरागाउँ खत्रीको गएकी छ, डेढ वर्षको छोरो छोडेर,’ ज्वाइँ मरेपछि पोइल गएकी छोरीको समाचार सुनाइन् । छोरो मने आठ वर्ष पुग्दा दत्ते पनि उठे । उनै मने १४ वर्ष पुगेपछि भागेर कालापारिए (भारत जानु) । ‘पोर ११ बर्सां झ्वाइय गर्न आयो । ५० काट्यो, बिहे भएको छैन । भुर्रिएर दाँत पनि झरेका छन् । घर फर्कने हो कि होइन ?...नाङो रहेनि, भोको रहेनि म त एक्लै छु । ...बालखैमा राँरी (विधवा) भइगिथेँ, स्यानउ,’ उनले भनिन् ।
‘गाएका गीत सम्झना हुन्छ होला नि, वेलावेलामा ?’आँखा चिमचिम पारिन् । फिस्स हाँसिन् । हाँस्दा दाँतले माया मारेर हिँडेका गिजा देखिए । ‘गीत त किन हुन्नान् र । छोट्टे (तन्नेरी)ले यिनीयिनी भन्थे भन्ने सोच त नमरन्जी हुन्छ नि । ...अइजेल सासै पुग्दो हो ! गीत पनि सुन्नु हुँदो हो ! ’
‘त्यसवेला ठाडीभाका, सिङारु ...त हुँदा हुन् ।’
‘लाऽऽऽमो स्वर गरी गाउने ।’
‘एउटा सुनाइदिनुस् न !’
‘गाउन सासै पुग्दैन ।’
‘बिहेअघि श्रीमान्सँग गाएको गीत सम्झेर
गाइदिनुस् न !’
साँच्ची ! सम्झेजसरी वारिपारि हेरिन् । आफ्नो माइती गाउँ मिग्री हेरिन् । त्यसपछि पतिको गाउँ विष्टगाउँ ।
‘भुर्रिया मान्छले के भन्दाम् । ...के आउँदो र, सय वर्षको स्वर ।’ फेरि नजर यताउति डुलाइन् । सायद गीत बोलाइन्–ठीक माथि उभिएको चित्रेपाटन र भेरीपारि उभिएको डाङ्चालेकबाट । लय नहाली, गीत गेडा सुनाइन् ।
‘गाउन सास पुग्दैन ।’
‘तपाईंले सवाल गरेपछि कत्ति छोट्टे त जवाफ दिन नसकी भागे होलान् नि । सम्झनुस् त, आमा ।’
‘ह्याँकई गायाऊँ त ! डोल्पाका तराली, सल्यानी, जाजरकोटेसित पनि गाएँ । जमानामा त मैले नगाएको को बाँकी हुनान् र ।’
त्यसैवेला तित्रा बासेको ‘तित्तितिरित् तित्’ आवाज आयो । छिनमै तित्रालाई न्याउलीले पछ्यायो । वडाध्यक्षपुत्रलाई सोधिन्, ‘काफल सकिए कि छन्
हँ, स्यानउ ?’
‘अघि सुनाएको गीत गेडालाई गुनगुनाइदिनुस् न ।’
उनको मुखबाट मधुर स्वर झ-यो–
तिल्कु भन्ने गाईको बाछी जुमला बेच्चेलेउ
कर्म लेख्ने भाविनीले के अर्कै सोच्चेलेउ
लयमा लहरिँदा उनलाई स्याऽऽऽस्याऽऽऽभयो । गाउन सास पुगेन । मीठो स्वर सुनाउन आवश्यक सास त उनलाई छाडेर बाटो लागिसकेछ ।
‘हुन्न स्वर,’ यति भनेर रोकिइन् ।
‘पालामा कति मीठो थियो होला है, आमा ?’
‘के हुँदो हो, बलै ।’
‘कति वर्ष पुग्नुभयो ?’
‘सय त पुगिग्याऊ ।’
त्यसपछि फेरि लय हालिन्–
कटाउँदैछु पलाउँदैछ जाइफली बटुनी
मनको जस्तो नभई गयो, त्यसै जुनी
‘आमाले गाएको गीतमा किन विरह मात्र छ ?’
‘जोगी त भैगेँ । नाम्रो भए नाम्रा गीत गाउँदा हौँ ।’
त्यसपछि पुलुक्क वडाअध्यक्ष पुत्रलाई हेरिन् । सोधिन्, ‘भेरीले मह लायो कि स्यानउ ?’
तन घरमा भए पनि उनको मन त वनपाखामा थियो । कतिखेर काफल त कतिखेर भीरमौरीको महमा ।
उनीसँग गाएका सबै बाटो लागेपछि शून्य लाग्न थालेको थियो । गाउँमा बचेका दुईजनामध्ये एक त उनकै देवर थिए– कमारा विष्ट
(८०) । भनिन्, ‘त्यखो सास केई भया नइ ।
गाउन भन्नू ।’
त्यसपछि उनले गाउँदा टक्कर दिने बाक्सीखोलेलाई सम्झिइन् । जिज्ञासा राखिन्, ‘अहिले उसका छोरानाति हुनन् कि ?’ अर्काे एकजनालाई पनि सम्झिइन् । भनिन्, ‘कति सुन्नु हुन्थ्यो ब, त्यो (गाने बोहोरो) भए ।’
कुरो उहिलेकै हो । बनगार जिउलाका टोपबहादुर अत्तर (चरेस) किन्न गोतामकोट पुगे । गाउन भने । दुइटीले गाए ।
‘सुन्यौ गरे भन्दै एकुन्टा फरिया दिएर गए,’ उपहार सम्झिँदै आफूलाई छाडेर हिँडेको स्वर र सासको यादमा ‘नोस्टाल्जिक’ भइन् ।
गीतले लाएका माया त कति कति ! लेखाजोखा नै थिएन ।
‘भूलवश’ गैरदलितले दलितले छोएको खाए वा माया लाए वा बिहे गरे ‘भुल’ हुन्थे । त्यही कुरा ‘जानाजान’ गरे ‘बितालु’ । नागरिकतामा तुलसीको नाम ‘तुली बितालु’ छ । पश्चिम नेपालमा सार्कीभित्रको एउटा थर हो, भुल ।
कुराकानीकै बीचमा (झन्डै एक महिना डुलेर) नाति पुगे । १५/१६ वर्षका थिए । ‘यो दले घरंगा जोगीको जार हो । आमाले छाडेपछि हीँ बस्ला भनी पालेँ,’ उनले भनिन्, ‘यले स्कुलो मुख देख्न पाएन ।’ कुराकानी बिथोल्दै विष्टगाउँमा कुकुर भुक्यो । सुपामा गहुँ केलाउँदै वडाध्यक्ष पुत्रलाई भनिन्, ‘भाउव, सरलाई चित्रेपाटन लैजा । च्याउनु (हेर्नु) होला ।’
केटालाई केटी मन परेकाँधमा बोकेर रुवाउँदै लान्थे । नाइँ भन्न पाइँदैनथ्यो । बिहे भए पनि नभए पनि फरक पर्दैनथ्यो । यसरी जबर्जस्त लगेर स्वास्नी बनाउनुलाई ‘रह्क्सिने’ भन्थे ।
चलन यस्तो थियो । ‘जात’ उस्तै ‘जब्बर’ थियो । हुनेखानेले ‘जात फिर्ता’ गर्न अड्डामा तारिख धाउँथे । पावर र पैसावालका जात त फिर्ता पनि हुन्थ्यो । त्यसवेला ठेट्वा लगाउँथे । धनीमानीले गाबन । गरिबले कोदोको ह्रोटा खान्थे भने चामलको भात खान पर्व कुर्थे । हुनेखानेले महिना ।राजा बसेको गोतामकोट । टीका, गाजल, रंगिन लुगा लगाउन र दुई चुल्ठी बात्न ‘मैसाप’ भएर जन्मन पथ्र्यो । अरूले लगाए कि, मैसापहरूले लुछ्थे । लुट्थे ।
शक्तिहीनका दिन अहिले नि उस्तै भन्थ्यो, बझाङ साइपाल धलौनकी प्रमा बोहरा (२४) को डेउडाले । धामीले कुटेकाले दुवै कान नसुन्ने प्रमा डेउडामा डराइन्– उइ दिन आउँदा उइ दिन झाँदा मु कसरी काटूँ दुई बाट्याकी खिस्याउँदा (गिज्याउँदा) छन् एकै चुल्ठो बाटूँ बझाङी सञ्चारकर्मी वसन्तप्रताप सिंहका अनुसार, बझाङ सदरमुकाम चैनपुरबाट पाँच दिन पैदल दूरीमा साइपाल छ । साइपालमा स्वास्थ्यचौकी छ, तर औषधि र डाक्टर छैनन् । कार्यालय सहयोगीको भरमा स्वास्थ्यचौकी चल्छ भने धामीको भरमा साइपाल समाज ।
गोतामकोट र साइपालमा फरक यत्ति थियो– साइपाल गाउँपालिकामा पर्छ भने गोतामकोटचाहिँ आठबीसकोट नगरपालिकामा । नगरपालिका केन्द्र रारीजिउला पुग्न गोतामकोट आधा घन्टा पैदल ओर्लेर छरेबग्र पुग्छन् । ठूलीभेरीको पुल तर्छन् । जाजरकोटको तल्लुबग्र (बग्रको बदला बगर लेख्न थालिएको छ) पुगेर गाडी चढ्छन् । झन्डै तीन घन्टा जाजरकोट मोटर बाटोमा गुड्छन् । पुल तरेर बल्ल रारीजिउला पुग्छन् ।
‘तुलसी हो नाउँ । ठाकुराँ भान्जी हुँ । गोसाईंकी छोरी, विष्टकी आएकी । तर, गाउँलेले के भन्छन् के भन्छन् ।’ ‘के भन्छन् ?’‘कोही भुल भन्छन् । कोही बितालु ।’‘किन ?’ ‘रिसले, खिसले त्यसै भुल हाल्दिया । बितालु हाल्दिया । गाउँका जान्नेले हेलाँ गरे । हेलाँ गरे, आफ्नाले पनि । खिसले मेरो त कागत बिगार्दिया’छन् । जति सर (गाविस÷वडा सचिव) आउँछन् ‘बनाइदेऊ’ भन्छु । कसैले बनाइदिएनन् ।’
उनका देवर कमारा, बिरु नाथ (७०), नन्ने विष्ट (७३), जसन्त परियार (६०), मनबहादुर विष्ट (७३) र जयलाल विष्ट (६३)का अनुसार तुलसीले दत्ते विष्टलाई ‘भुल’ बनाइन् । ‘भुल भएर त विष्टगाउँ नबसी पारि पाखामा पाखा लागे,’ तिनका तर्क थियो, ‘उनी नरभाने भुलकी नातिनी र परिमले भुलकी छोरी हुन् । नरभाने ठाकुरबाट भुल भया’ हुन् ।’
देवर कमाराका अनुसार, उनका दाजुभाउजू गाउन ‘निकै पास’ थिए । गाएरै घरजम गरे । उनले भने, ‘म बच्चै थिएँ, उनी (तुलसी) धम्मा तरुनी । अहिले म ८० भएँ, उनले ९० त काटिन् कि ?’ ती वृद्धहरूका अनुसार, ‘भुलवश’ गैरदलितले दलितले छोएको खाए वा माया लाए वा बिहे गरे ‘भुल’ हुन्थे । त्यही कुरा ‘जानाजान’ गरे ‘बितालु’ । तर, तुलसीलाई गाउँमा कसैले भुल भन्थे त कसैले बितालु । वडा सचिव धनबहादुर खड्काका अनुसार नागरिकतामा तुलसीको नाम ‘तुली बितालु’ छ ।
‘त्यसवेलाका पञ्चभर्लामीले यइथै गरे । ...भुलसित बिहे गरे त कसरी विष्ट हुँनान् र,’ स्थानीय वृद्ध बगाले तर्क थियो । उनीहरूका अनुसार मिग्री र तुलसीबाहेक जाजरकोटस्थित घरंगा, कुदुजहारी र जक्तिपुरमा पनि भुल छन् ।हीरा बिक र यामबहादुर किसानका अनुसार आफ्नो थर, गोत्र र बाटो भुलेकाले ‘भुल’ भनिएको थियो । यसैगरी, गैरदलितसँगको अन्तरजातीय बिहेबाट जन्मेका वा गैरदलितले थर नदिएका सन्तानलाई ‘बितालु’भनियो।पश्चिम नेपालमा सार्कीभित्रको एउटा थर हो, भुल । सञ्चारकर्मी केशव भुलका अनुसार, सार्कीले गर्ने परम्परागत छालाको काम भने भुलले गर्दैनन् ।
छोटे राजा बसेका रुकुमका बाफीकोट र गोतामकोटमा दलित संख्या अधिक छ । स्थानीय यज्ञबहादुर बिकका अनुसार ‘जनयुद्ध’कालमा मोटे दमाई गोतामकोट जनसरकार प्रमुख थिए । जनयुद्धकालभर गंगे सुनार, हरिबहादुर परियार र वीरे कामीले माओवादी नेतृत्व गरे । स्थानीय चुनावमा भने वडाध्यक्ष उम्मेदवारमा माओवादी रोजाइमा कुनै दलित परेनन् । कांग्रेस, एमालेले जसरी विष्ट रोज्यो ।
ठिंग उभिएका थिए, चित्रेपाटन र डाङ्चा लेक । ती लेकका बीचमा डोल्पाबाट छाल हान्दै आइपुगेको ठूलीभेरी तल्लुबग्र र छरीबग्र सुसाउँदै बगिरहेको थियो । माथि गोतामकोटमा पसिना भेरी सुसाउँदै तुलसी आमाले सुपामा गहुँ निफनिरहेकी थिइन् ।
स्थानीय भन्दै थिए, ‘अहिले नि, अरू जान नसक्ने एकछाँङ्गे भीरमा गएर घाँस काट्छिन् ।’
‘कि हाथै (सँगै) घोप्टी प-या भए हुन्थ्यो, उनी (पति) पहिल्यै गइगे । मलाई लिन अझै काल आउँदैन । ...कइबेल खान्छु, कइबेल भोकै सुत्छु । म मरे कोले फाल्ला ? सुर्ता मात्र छ,’ त्यसैमा नाति–सुर्ता पनि मिसाएर घित्करो सुनाइन्, ‘यो (नाति) डुलेको डुल्यै गर्छ । आमाले नि सानैमा छारीफाल्जाई । लेखापरी पनि छैन । म मरे यखो के होला ?’गाउँमा युवा थिएनन् । पाकाहरू भन्दै थिए, ‘डुमिया भनेर बलबिन्ते विष्ट मर्दा मलामी नै गएनन् ।’ (यसैले तुलसी सुर्ताएकी थिइन्, मरे कसले फाल्ला भनेर ।) तपाईंले नि भन्नुस् त, तुलसी दम्पती भूल कि जातिवादी पुरुषप्रधान समाज? भूल वा बितालु ‘बाहुनवादी’ समाजकी दत्ते विष्ट र तुलसी गोसाईं ?