
प्रायः किताबभन्दा पनि धेरै जर्नलका लेखहरू पढ्ने गर्छु । आफ्नो अध्ययन–अनुसन्धान अनि लेखाइका लागि खुराक जुराउन चाहिने सामग्री खोजीटिपी पढ्ने गर्छु । कति किताबहरूको छेउ र टुप्पो मात्र त कतिको बिचको अंश मात्रै पढेर किताब बन्द पनि गर्ने गरेको छु । किताबसंग्रहमा, पढेर भ्याएको भन्दा पनि भ्याउन बाँकी किताब बढी छन् । पढ्दै जाँदा सामग्री भेटेँ भन्ने लागेपछि पछि पढ्छु भन्दै किताब थन्क्याउने गर्छु । तर, पछिल्लो एक हप्तामा चार–चारवटा किताब पढेर सकाएँ । त्यो पनि बाँकटे नहाँनी, समय लगाएर पढेँ । यसको कारण थियो– उत्तर अमेरिकामा हुने समाज विज्ञानको धेरैमध्ये कुनै एक वार्षिक सम्मेलनमा सबैभन्दा राम्रो किताब भनेर कुनै एक किताबले पुरस्कार पाउने गर्छ । त्यो पुरस्कार समितिको सदस्य आफू पनि भएको हुनाले पढ्ने कर लाग्यो, रहरभन्दा पनि । त्यही पढ्ने क्रममा अरूभन्दा धेरै मन छोएका पाँच किताबका बारेमा दुई–चार शब्द कोर्ने चेष्टा गरेँ ।
१. फ्रिडम इन क्याप्टिभिटी : राधिका गुप्ता
मानवशास्त्री राधिका गुप्ताद्वारा लिखित ‘फ्रिडम इन क्याप्टिभिटी’, किताबको शीर्षकजस्तै भारतीय राष्ट्रवादभित्र कैद कारगिल, लद्दाखका सिया मुस्लिमहरूको स्वतन्त्रता खोज्ने र जिउने अभ्यासको एउटा गहकिलो वृत्तान्त हो । एकात्मक राज्यशक्तिले निर्माण गरेको बाध्यता र विवशताको परिधिभित्र रहेर पनि, युद्ध वा आन्दोलनको सहारा नलीकन, मानिस रणनीतिक सार्वभौमिकताको अभ्यास आफ्नो जीवन दैनिकीमा कसरी गर्ने गर्छन् भन्ने सत्यलाई सैद्धान्तिक गहिराइ र व्यक्तिगत कथाको समिश्रणमार्फत गहकिलो ढंगले प्रस्तुत गरिएको छ । गुप्ताको किताब करले पढ्न सुरु गरेको भए पनि पढ्दै जाँदा रहर पनि गहिरिँदै गयो । तर, प्रायः किताब रहर या करभन्दा पनि पढ्नुपर्छ भन्ने कर्तव्यबोधले पढ्ने गर्छु । नत्र अध्ययन–अनुसन्धान अनि लेखन कहाँबाट हुनु । त्यसैले ‘लाइफ’ नै ‘चेन्ज’ गर्ने किताबभन्दा पनि आफूले तयार पारिरहेको लिखित सामग्रीको तर्क सोझ्याउन–बंग्याउन कुनै एक किताब अरू कुनै किताबभन्दा बढी सहयोगी अथवा प्रभावशाली भएको अनुभव बढी हुने गर्छ मेरो ।
२. फर द सिटी एट टु कम : अब्दुमलिक सिमोन
पिएचडी भन्ने ठुलै घाँडो पार लाउनमा सबैभन्दा सहयोगी किताब भनेको अफ्रिकी–अमेरिकी मूलका लेखक अब्दुमलिक सिमोनको ‘फर द सिटी एट टु कम’, अथवा, ‘आउन बाँकी सहरको नाममा’ नामक किताबको रह्यो । तर्क सोझ्याउन–बंग्याउनभन्दा पनि यो किताबको अलि ठुलै देन थियो मेरो विद्यार्थी जीवनमा । भूमिहीन सुकुम्वासी बस्तीको अध्ययन–अनुसन्धानको सिलसिलामा मनमा धेरै तर्क–बितर्क आउँथे अनि जान्थे । कतिलाई शब्दमा उतारेर कथा र तर्कका लामो गहकिलो लर्को तयार पार्ने योजना मनमा आउँथ्यो । तर, बिचैमा त्यो कर्म परित्याग गर्थेँ । यो सिलसिला चलिरहन्थ्यो । पढ्नेले मेरो कुरा पढे भने मलाई कति मूर्ख भन्ठान्ला भन्ने डर सधैँ रहन्थ्यो । त्यही सिलसिलामा खोइ कसरी हो, सायद किताबको गज्जबको शीर्षकले हुन सक्छ, सिमोनको किताब हात पर्यो । नागरिकका लागि ‘राम्रो’ सहर बनाउने उपक्रमको सुरुवात भनेको नागरिकले सहर कसरी बनाउँछन् भनेर पहिला बुझेर, त्यसमा लगानी गर्न जरुरी छ भन्ने सैद्धान्तिक चिन्तन र तर्क बोकेको छ किताबले । चार विभिन्न अफ्रिकन सहरमा नागरिकहरू, विशेष गरी शक्ति र सम्पत्तिको पहुँचबाहिरका नागरिक र तिनले बनाइरहेको सहरभित्रको सहरका लेखाजोखा हो किताब । यसरी सिमोनको किताब जति पढ्यो, आफैँले सुनेगुनेको कुरा आएजस्तो लाग्ने । अनि छातीभित्र आत्मविश्वास नामक जीवले आङ तन्काउँदै आफ्नो आकार फैलाउन थाल्यो । छाती फुल्यो । ‘ए गाँठे, किताब नै लेख्ने यस्तो ठुलो मान्छेले पनि त मैलैजस्तै सोच्दो रहेछ । दिमाग लाटै त होइन रहेछ मेरो’, भन्दै आफैँलाई ढाडस दिएँ ।
३. द लिबरेसन अफ सीता : भोल्गा
पछिलो दुइ वर्षयता नयाँ अनुसन्धान सुरु गरेको छु, खास गरीकन सहरी योजना, धर्म र सम्पदाको गठजोड कस्तो हुन्छ भनेर । जनकपुर र अयोध्या, उत्तर प्रदेश, इन्डिया, परे अध्ययन क्षेत्र । सहरी ‘योजना’को नाममा हिन्दुत्व नामक धार्मिक अतिवादले क्रमिक रूपमा राज्य संरचनामा कस्तो किसिमको औपचारिक र अनौपचारिक प्रवेश पाउन थाल्छ भन्ने प्रश्नको अन्तर्य बुझ्न, सामग्री संकलन गर्ने क्रममा, आर्टिस्ट साथी सपना सञ्जीवनीले पढ्ने सुझाव दिएको किताब हो ‘द लिबरेसन अफ सीता’, अथवा ‘सीताको मुक्ति’। प्रायः उपन्यास अथवा आख्यान पढ्ने मान्छे होइन म । तर, दक्षिण भारतका प्रचलित लेखिका–साहित्यकार भोल्गाले तयार पारेको सो आख्यान गज्जब लाग्यो । पढ्दै जाँदा पत्रकार साथी वसन्त बस्नेतले कुनै जमघटमा भनेको कुरा याद आयो, ‘प्रश्नको उत्तर खोज्ने क्रममा, कुनै वाद या विधामा उत्तर नभेटिए, साहित्यको सहारा लिँदा निराश हुन नपर्ला ।’ आजभन्दा करिब २५ देखि २७ सय वर्षअघि वाल्मीकिले लेखेको ‘रामायण’ एक आख्यान थियो, मात्र मिथक । झेली पुरातत्वको अवैध सहारा लिँदै अहिले आएर ‘इतिहास’को दर्जा पाएको त्यही ‘रामायण’ अहिले एक किसिमको सहर र नागरिक निर्माण गर्ने लडाकु पुरुषत्वको वैचारिकी बोकेको ‘सत्य’ बनेको छ । ‘द लिबरेसन अफ सीता’ पढ्दा यस्तै वैचारिकीको परिधिभित्र कैद मानसपटल एकछिनकै लागि भए पनि राहत र मुक्ति पाएको महसुस गर्दोरहेछ । किन कि सीताले आफ्नो पूर्णता रामको अर्धांगिनी हुनबाट कम, र सुर्पणखाको सखी हुनबाट बढी प्राप्त गरेको हुन्छ । सुन्दरता, पवित्रता, मान र मर्यादालाई ‘जिम्मेवार’ स्वास्नी, आमा, बुहारी अथवा छोरीसँग नाभी मै जोड्ने पितृसत्तात्मक पुरुषात्विक सोचलाई ठाडै चुनौती दिएको छ यो पुस्तकले । भोल्गाको साहित्य सिर्जनाले ‘रामायण’को यो नयाँ अतिवादी हिन्दुवाद रूप र वैचारिकीसँग लड्ने केही कडी पस्किएर दिएको छ।
४. एक बागी : उज्ज्वल प्रसाईं
साहित्यको कुरा गर्दा, दुई साल अगाडि प्रकाशन भएको किताब ‘एक बागी’ पढ्दा गाथमा निकै रस जमेको थियो । उज्ज्वल प्रसाईंकृत् तक्रिबन ५०० पन्ना लामो किताब साहित्यकार खगेन्द्र संग्रौलाको जीवनको सामाजिक र राजनीतिक उकाली–ओरालीको पेचिलो संग्रह हो । क्रान्तिकारी वामपन्थी सिद्धान्तप्रतिको प्रतिबद्धता, परिवार, अनि विशेष गरी जीवनसंगीप्रतिको माया र प्रेमभावको बिचमा सधैँ पिल्सिरहने संग्रौलाको जीवनी बोकेको किताब एकजनाको जीवन कथा मात्र नभएर नेपाली वामपन्थी इतिहासको एउटा सशक्त दस्तावेज हो भन्दा फरक नपर्ला भन्छु । तर, किताब सम्झिँदा कहिलेकाहीँ खल्लो लाग्ने गर्छ । केही समयका लागि ‘लिम्बूले सिनो खान्छ, खाँदैन’ भन्ने विवादमा किताब अल्झियो, अल्मलियो । अनि सँगसँगै पहिचानको मुद्दामा संवेदनशील र समभावी उज्ज्वलको चित्रण कसरी–कसरी ‘पहिचानविरोधी भनेर कहलिन पुगे, जो गलत थियो । खैर, जो बित गयी, सो बात गयी ।
५. टकिङ टु माई डटर अबाउट द इकोनोमी : यानिस भारुफाकिस
अब अन्तिम किताब, अर्कै किसिमको मुक्तिको बारेमा –‘टकिङ टु माई डटर अबाउट द इकोनोमी’, अथवा ‘छोरीसँग अर्थको कुरा’ । यो किताब रोज्नुको पछाडि दुई विशेष कारण थिए । एउटाचाहिँ लेखक, यानिस भारुफाकिस । माक्र्सवादी खेमाका अर्थविद् भारुफाकिसको धेरै परिचय र पहिचान छन् । विभिन्न पश्चिमेली विश्वविद्यालयमा अर्थशास्त्र पढाएका उनी धेरै चिनिएको भनेको २०१५ को चुनावमार्फत ग्रिस राज्यको अर्थमन्त्री बन्दै, वित्तीय संकटबाट गुज्रिरहेको ग्रिसको अर्थतन्त्र सम्हाल्ने बागडोर पाएपछि हो । राज्यकोषबाट आउने वित्तीय राहतमार्फत निजी बैंकलाई आर्थिक संकटबाट निकाल्ने राज्यको निर्णयविरुद्ध भोट गरेसँगै, सरकारबाट निस्किएपछि वामपन्थी धारमा अझ छाएका भारुफाकिसको यो किताबको शीर्षक र आशयले पनि मन तानेको हो । शीर्षक, छोरीसँगको संवाद । कस्तो राम्रो । आशय, अर्थशास्त्र र अर्थतन्त्रलाई अर्थविद्हरूको चंगुलबाट मुक्ति दिने, अर्थविद्हरूले अर्थतन्त्रलाई कुइरोको काग जो बनाएका छन् । पैसाको बजारमा पैसाको सट्टा भर्ना किन र कसरी हुन्छदेखि लिएर पैसाको लोकतान्त्रीकरणको आवश्यकताजस्ता विषयमा आफ्नो १२ वर्षीया छोरीसँग संवाद गरेझैँ गरेर लेखिएको किताबले मजस्तो अर्थको अर्थ सजिलोसँग बुझ्न खोज्नेका लागि एउटा राम्रो खुराक भएको पाएको छु । भारुफाकिसले अर्थशास्त्रका लाीग गरेजस्तै, सबैले आ–आफ्नो कित्ताबारे यसरी नै बोल्न–बोलाउन थाले, संसार बुझ्न–बुझाउन अझ सजिलो हुँदो हो ।