• वि.सं २०८१ चैत ३ आइतबार
  • Sunday, 16 March, 2025
शान्ति तामाङ
२०८१ माघ २६ शनिबार १०:०७:००
सम्झना

रंगशाला सफाइमा तीन पुस्ता

२०८१ माघ २६ शनिबार १०:०७:००
शान्ति तामाङ

 

रंगशाला सफाइ गर्ने उनीहरूको यो अन्तिम पुस्ता हो, आउँदो पुस्तालाई यो काममा नजोड्ने उनीहरू बताउँछन्

 

रंगशाला भन्नेबित्तिकै मानिसको दिमागमा खेल, खेलाडी र हार–जितको चित्र सबैभन्दा अगाडि आउँछ । त्यसपछि अखबार र टेलिभिजनका पर्दामा वेलावेला आउने खेलकुद पदाधिकारी र प्रशिक्षकका तस्बिर आँखाअघि आइपुग्छन् । तर, वर्षौंसम्म जीवनका महत्वपूर्ण समय खर्चिएर रंगशालाका मैदान, चौकुना चिटिक्क पार्ने सफाइकर्मीको चित्र हाम्रो दिमागमा कहिल्यै आउँदैन । नेपथ्यमा पसिना बगाउने यी मानिसका मिहिनेत पनि खेल संसारमा उत्तिकै छ । तर, यी पात्र सधैँ गौण मानिन्छन् । तिनै गौण मानिएका पात्रमध्येका हुन्, त्रिपुरेश्वरस्थित दशरथ रंगशाला सफाइ गर्ने मञ्जु, निता र सुमन देउला ।

 

मञ्जु, निता र सुमन रंगशाला सफाइ गर्ने तेस्रो पुस्ता हुन् । उनीहरूका हजुरआमा सन्तमाया चार वर्षअघि र फुपू सुशीला एक वर्षअघिसम्म रंगशाला सफाइकै काम गर्थे । सन्तमाया र सुशीलापछि मञ्जु, निता र सुमनले रंगशाला सफा गर्ने कामको जिम्मा लिएका छन् ।

 

रंगशालामा सन्तमायाका ४० वर्ष

 

सन्तमाया ४० वर्षअघि दशरथ रंगशाला सफाइ गर्न पुगेकी थिइन् । रंगशाला सफाइ गर्ने मानिसको आवश्यकता भएपछि उनलाई घरमै बोलाउन गएका थिए । उनी त्यहाँको स्थायी कर्मचारीमा नियुक्त भइन् । जात व्यवस्थाले जर्जर नेवार समुदायमा सफाइको काम गर्ने जिम्मा उनलाई नै दिइयो । टोल, चोक र गल्ली सफा गर्ने सन्तमायाहरूकै जिम्मामा थियो । सरकारी अफिसमा काम मिलेपछि सन्तमाया नियमित जान थालिन् । श्रीमान्ले संसार छाडिसकेका थिए । त्यसपछि सन्तमायाले त्यही काम गरेर छोराछोरी हुर्काइन् । रंगशालाबाहिर अनेकौँ आन्दोलन भए, सन्तमाया भने झाडुले रंगशाला बढारिरहिन् । हिउँद, वर्षा नभनी काम गर्दागर्दै उमेरले नेटो काट्यो । मेरुदण्ड कुप्रिँदै गए पनि, आँखाको ज्योति कम हुँदै गए पनि काम गरिरहिन् । ५८ वर्षे उमेर हद लागू भएपछि उनी बिदा भइन् । बिदा हुने दिन उनका लागि विशेष दिन थियो । किनकि, ४० वर्ष बढारकुँडार गरिरहँदा रंगशाला उनलाई आफ्नै दोस्रो घरजस्तो लाग्थ्यो । त्यहाँका हरेक कुनाकाप्चा, बिम, प्यासेज, शौचालयले उनलाई हेरिरहेझैँ लागेको थियो । सन्तमायाका लागि बिदाइको त्यो करुण क्षण अरूका लागि भने सामान्य थियो । बिदा हुँदै गरेका अरू कर्मचारीको लाइनमा उनलाई पनि उभ्याइयो र बस् एउटा खादा लगाएर भनियो, ‘अब भोलिदेखि नआउनू ।’

 

८० वर्ष पुग्न लागेको बुढो शरीर लिएर सन्तमाया घर फर्किन् । ४० वर्षसम्म लगातार काम गर्दा उनको आदत नै बनिसकेको थियो । घर फर्किएको धेरै दिनसम्म उनको दैनिकी खजमजियो । के छुटे के छुटे जस्तो लाग्यो ।

 

४० वर्षमा समयले निकै रंग फेर्‍यो । समयको रंगसँगै सन्तमायाको दुःखको पनि पुस्तान्तरण हुँदै थियो । उनी त्यहाँबाट निस्कनुअघि नै उनकी छोरी सुशीला आमाको कुचो समाउन पुगिसकेकी थिइन् । 

 

सुशीलाका ३० वर्ष

 

सुशीलालाई आमा सन्तमायाले नै रंगशाला पुर्‍याएकी थिइन् । सुशीला पनि त्यहाँको स्थायी कर्मचारीमा नियुक्त भइन् । उनका श्रीमान् चालक हुन् । सुशीलाले घरपरिवार चलाइन् । आमाछोरी सँगै रंगशालामा सफाइको काम गर्दा आपसमा सघाइन् । खाजा बाँडेर खाइन्, काम पनि बाँडेर गरिन् । ३० वर्ष काम गरेपछि उमेर हदका कारण उनले पनि गत वर्षको पुसमा रंगशाला छाडिन् । उनलाई उनी काम गर्ने शाखाले खादा, माला र प्रमाणपत्र दिएर बिदा गरेको थियो ।

 

सुशीला अचेल मेरुदण्डको रोगसँग जुधिरहेकी छिन् । मञ्जु भन्छिन्, ‘खेल भएका वेला काम झनै गाह्रो हुन्छ । फुपूलाई त्यसैको असर देखिएको हुन सक्छ ।’ पुस्तान्तरणको सिलसिला रोकिएन । सुशीलापछि उनको दाइकी छोरी (मञ्जु), दिदीकी छोरी (निता) र मञ्जुको भाइ सुमन रंगशालामा कुचो समाउन पुगिसकेका छन् । उनीहरू पनि त्यहाँ काम गर्न थालेको १५ वर्ष बितिसकेको छ । मञ्जुका बुबा पनि त्यहीँ काम गरिरहेका छन् । 

 

तेस्रो पुस्ताको १५ वर्ष

 

राजधानीको मुख्य सहर टेकुका स्थानीय हुन्, उनीहरू । स्थानीय भए पनि जग्गा–जमिनमा पर्याप्त पहुँच भएन । त्यसपछि उनीहरू एकपछि अर्को गर्दै रंगशाला सफाइमा जोडिए । ‘हामी सानो हुँदा हजुरआमासँग रंगशालामा आउँथ्यौँ । हजुरआमाले काम थाल्दै गर्दा रंगशाला ठुलो हुँदै गयो । त्यसपछि हजुरआमासँगै फुपू, बौ (बुबा), म, बहिनी अनि भाइले पनि रंगशालामा काम गर्न थालेको हो,’ तेस्रो पुस्ताकी मञ्जुले सुनाइन् । त्यहाँ काम गरेको मञ्जुले १५ वर्ष, निताले १६ वर्ष र सुमनले ११ वर्ष भइसकेको छ ।

 

मञ्जु बाल्यकालमै हजुरआमा सन्तमायालाई पछ्याउँदै रंगशाला पुग्थिन् । सन्तमायालाई आफूले सकेको काम पनि सघाउँथिन् । मञ्जुले भनिन्, ‘घरमा गाह्रो थियो । स्कुल पढ्दाताका नै हजुरआमाको साथमा आएर त्यहाँ काम गर्थें ।’ दुईजना दिदीले ११ वर्षअघि सुमनलाई जोडेका थिए । ‘अफिसलाई मान्छे चाहिएको थियो । घरमा भाइको जागिर थिएन । भाइले हजुरआमा, आमालाई सघाएर खर्च जुटाउँथ्यो । त्यसैले भाइलाई पनि यहाँ जोडेको हो,’ उनले भनिन् । प्राथमिक तहको शिक्षा मात्र उनीहरूले पूरा गरेका छन् ।

 

अहिले निजी कम्पनीबाट ठेक्कामा आएका चारसहित उनीहरू सातजनाको जिम्मामा रंगशाला सफाइको काम हुने गरेको छ । पहिले उनीहरूले सबैतिरको सफाइको काम मिलेर गर्थे । तर, अहिले निजी कम्पनीले पठाएका मानिस पनि भएपछि गोलाप्रथाबाट काम गर्न थालेका छन् । गोलाप्रथामा मैदान, राष्ट्रिय खेलकुद परिषद्को कार्यालय र कभर्डहल गरेर तीनवटा चिट्ठा बनाइन्छ । चिट्ठामा तान्दा जुन आउँछ, त्यो टोलीले महिना दिनसम्म सो ठाउँमा काम गर्नुपर्छ । रंगशालामा काम गरेबापत उनीहरूले कार्यालय सहयोगीबराबर मासिक २४ हजार रुपैयाँ पाउँछन् । निताले सात हजारदेखि काम थालेकी थिइन् । ‘सुरुमा दैनिक ज्यालादारीबाट काम सुरु गरेँ । सुरुवाती दिनमा मासिक २५ सयदेखि पाँच हजारसम्म पैसा पाउँथेँ । अहिले करारमा काम गर्छु,’ मञ्जुले भनिन् । 

 

मनपर्ने खेल भलिबल

 

मञ्जु विद्यालय पढ्दा भलिबल खेल्थिन् । कक्षा सातसम्म मात्र पढेकी उनको विद्यालय छुटेसँगै भलिबल पनि छुट्यो । रंगशालामा काम थालेपछि त्यहाँ हुने भलिबल प्रतियोगिताले भने उनको त्यो रहर पुनर्ताजगी गराउँथ्यो । तर, उनले आफ्नो रहर कहिल्यै कसैलाई व्यक्त गर्न सकिनन् । आफ्नो रुचिबारे कसैलाई भन्न सकिनन् ।

 

निताले पनि स्कुल पढ्दा कहिलेकाहीँ भलिबल खेल्थिन् । भलिबलसँग सानैदेखि नजिक भएकाले उनीहरू दुवैजना भलिबलका धेरैजसो प्रतियोगिता हेर्छन् । ‘पहिला अरूले खेलेको देख्दा मलाई पनि खेलूँ–खेलूँ लाग्थ्यो । तर, काममा मात्र दिमाग गयो । भलिबल खेल्छु भनेर कसैलाई भन्नै पाइनँ । त्यसैले भलिबल प्रतियोगिता हुँदा खेल हेर्न जान्छु । खेलाडी, गुरुहरू सबै चिन्छु,’ मञ्जुले भनिन् । कहिलेकाहीँ खेलाडीहरू उनीहरूसँग गफिन आउँछन् । 

 

उनीहरू फुटबल खेल पनि कहिलेकाहीँ हेर्छन् । राष्ट्रियस्तरका धेरै खेलाडी उनीहरू चिन्छन् । त्यसमध्ये राष्ट्रिय टोलीका खेलाडी सावित्रा भण्डारी साम्बा र रेखा पौडेलको खेल उनीहरूलाई खुब मन पर्छ । मार्सल आर्ट विधाका उसु, तेक्वान्दो खेलका खेलाडी र प्रशिक्षकहरू पनि उनीहरू चिन्छन् । खेल हेर्नका लागि टिकटको आवश्यकता नहुने हुनाले उनीहरूलाई फुर्सद मिलेमा धेरै प्रतियोगिता हेर्छन् । उनीहरूलाई कसैले नचिने पनि, कसैले उनीहरूबारे नलेखे पनि खेलाडीहरूको बारेमा लेखेको समाचार सामाजिक सञ्जालतिर हेर्छन् । त्यहाँबाटै खेलाडीले जितेको वा हारेको समाचारको समेत जानकारी पाउँछन् । ‘खेलाडीहरूले जित्यो भने लड्डु पनि दिन आउँछन्,’ निताले भनिन् ।

 

कुनै पनि काम आफैँमा सानो–ठुलो हुँदैन । तर, सामाजिक मान्यता यस्तो बन्यो कि जसले सबैभन्दा धेरै शारीरिक काम गर्छ, उसैलाई ‘तल्लो स्तर’को कामदार मानिन्छ । अझै पनि सरसफाइ गर्ने कामलाई समाजमा हेयको दृष्टिले हेरे पनि उनीहरूले रंगशालामा त्यस्तो भोग्नुपरेको छैन । उनीहरूले कामकै आधारमा विभेद खेप्नुपरेको छैन । रंगशाला भित्र होस् वा बाहिर उनीहरूलाई हेर्ने नजरमा फरक पाउँदैनन् । आफ्नो कर्मप्रति उनीहरूलाई सधैँ गर्व लाग्छ । त्यसैले सफाइको काम गर्छौं भनेर गर्वका साथ भन्न सक्ने उनीहरू बताउँछन् । ‘अहिलेसम्म कसैले पनि सफाइको काम गर्ने भनेर हेला गरेको थाहा छैन,’ सुमनले भने । तर, अब यो सिलसिला तोडिएको छ । रंगशाला सफाइ गर्ने उनीहरूको यो अन्तिम पुस्ता हो । आउँदो पुस्तालाई यो काममा नजोड्ने उनीहरू बताउँछन् । ‘पहिले सरसफाइको काम भन्नेबित्तिकै देउलाले नै गर्ने भन्ने पनि थियो,’ मञ्जुले भनिन्, ‘अहिलेका नानीबाबुहरू पढ्न थाले । देश–विदेश घुम्न थाले । त्यसैले अबको पुस्ताले योभन्दा राम्रो काम गर्छन् ।’

 

अधुरै रह्यो रंगशालामा छोराको फुटबल खेल्ने रहर

 

मञ्जुले आफ्नो भलिबल खेल्ने सपना त पूरा गर्न सकिनन् नै । छोराको फुटबल खेल्ने रहर पनि पूरा गराउन सकिनन् । भर्खर–भर्खर रंगशालामा काम गर्न थालेपछि मञ्जुले आफ्नो भलिबल खेल्ने रहर पूरा गर्ने माध्यम छोराबाट पूरा गर्न खोजेकी थिइन् । तर, छोराले भलिबल होइन, फुटबल खेल्छु भनेर जिद्दी गर्‍यो । तर, छोरालाई फुटबल खेलाउन कहाँ भन्ने, कसलाई भन्ने ? मेसो पाइनन् । जसले आज पनि उनलाई कता–कता दुख्छ । ‘छोरालाई ९–१० पढ्दाताका भलिबल खेल भनेको रुचि देखाएन,’ मञ्जुले भनिन्, ‘फुटबल खेल्छु, भनिदिनू भनेको थियो । तर, कसलाई भन्ने, के भन्ने आँटै आएन ।’ उच्च माध्यमिक तह पास गरेर साढे दुई वर्षअघि नै उनको छोरा बहराइन गइसकेको छ । तर, अहिले पनि मञ्जुको मनमा भने छोराले फुटबल खेल्न पाएको भए राम्रो खेल्थ्यो कि भन्ने चाहिँ लागिरहन्छ । 

 

कक्षा नौ पढ्ने छोरीले अहिले तेक्वान्दो खेल्न चासो देखाएकी छिन् । केही समयअघि मात्र खुट्टाको शल्यक्रिया गरेका कारण अहिले नै खेल्न पठाउन सकेकी छैनन् । तर, केही समयपछि भने उनलाई पठाउने सोच बनाएकी छिन् । उनको जस्तो निताको छोरीहरूले खेलप्रति इच्छा देखाएनन् । 

 

त्यो बिर्सन नसकिने क्षण 

 

रंगशालासँग जोडिएको डेढ दशक हुँदा यी दुईले २०७२ सालको भूकम्प र सन् २०१९ मा भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा भलिबलमा महिला टोलीले व्यहोरेको हार बिर्सन सकेका छैनन् । ‘अन्तर्राष्ट्रिय खेलमा नेपालले हार्दा चित्त दुख्छ नै । साग गेममा महिला टोलीले भलिबलमा भारतसँग हार्दा पनि चित्त दुखेको थियो,’ निताले भनिन् । ०७२ को भूकम्पलाई त झन् कसैगरी बिर्सन सक्दैनन् । ‘भूकम्पका वेला शनिबार भए पनि कभर्ड हलमा कराँते प्रतियोगिता भइरहेको थियो । बाहिर फुटबल प्रतियोगिता भइरहेको थियो । हामी सफाइकै काम गरिरहेका थियौँ । तर, एकाएक हल्लिएकोजस्तो भयो । पहिले त के भएको होला भनेर मेसो पाउनै सकिएन । मेसो नपाउँदै सबै भागाभाग गर्न थाले । बच्चाहरू रुन थाले । ग्राउन्डमा निस्किँदा पोल हल्लिरहेको थियो । बिल्डिङ चर्किन थालेको थियो । त्यसपछि हामी ठुलो ग्राउन्डमा सेफ हुन्छ भनेर गएका थियौँ,’ मञ्जुले भूकम्पको समयलाई बेलिविस्तार लगाइन् । साना गल्लीभित्र घर भएकाले उनीहरू साँझ मात्र गएर आफ्ना केही सामान र परिवारसहित रंगशाला फर्किएका थिए । 

 

भूकम्पपछि केही समय खेल प्रतियोगिता बन्द भए । कभर्ड हल त दुई वर्षै बन्द भयो । फुटबल खेल्ने मैदान करिब पाँच वर्षै बन्द भयो । तर, उनीहरूको काम भने जारी नै रह्यो । भूकम्पपछि तीन महिना उनीहरू फुटबल मैदानमै पाल टाँगेर बसे । त्यहीँ पकाए । त्यहीँ खाए । त्यहीँ बसे । र त्यहीँ काम पनि गरे । ‘परकम्म आइरहे पनि हामी यहीँ बस्यौँ । परकम्प नआएका वेला काम पनि गर्‍यौँ,’ मञ्जुले भनिन् । भूकम्पका वेला रंगशालाले उनीहरूलाई वास दियो । अरू वेला उनीहरूले रंगशाला चिटिक्क पारे । त्यसैले उनीहरूलाई रंगशालाप्रति अगाध माया छ । जीवनको डेढ दशक रंगशालाकै सफाइ गरेर बिताएका उनीहरू उमेरले दिउन्जेल यहाँ काम गर्ने र रंगशालालाई चम्काउने अठोट गर्छन् । तर, घर जाने वेला आफूले पनि यहाँबाट केही पाउन सके जीवनको ठुलो उपलब्धि हुने बताउँछन् । ‘हामीले रंगशालामा धेरै समय काम गरिसकेका छौँ । दुःख पनि गरेका छौँ । मान्छे नपुगेका वेला तीन–चारजनाले सबै भ्याउने गरी काम पनि गरेका छौँ,’ मञ्जुले भनिन्, ‘निस्कने वेला केही सेवा–सुविधा होस् जस्तो लाग्छ । खाली हात जान नपरे हुन्थ्यो ।’