• वि.सं २०८२ असार १० सोमबार
  • Monday, 23 June, 2025
उत्तम घोष
२०८१ फाल्गुण ३ शनिबार ०७:१४:००
संगीत

स्वास्थ्यका लागि सितारको धुन 

२०८१ फाल्गुण ३ शनिबार ०७:१४:००
उत्तम घोष

 

मलाई सानैदेखि संगीत मन पथ्र्याे । कार्यक्रममा सितारको धुन सुन्दा आनन्द महसुस हुन्थ्यो । त्यसैले सन् २०१७ मा सितारवादनमा स्नातकोत्तर गर्न काठमाडौं विश्वविद्यालयको संगीत विभागमा भर्ना भएँ । पढाइसँगै संगीतलाई गम्भीरतापूर्वक लिन थालेँ । सितार बजाउन थालेपछि मनमा एकप्रकारको आनन्द महसुस हुन थाल्यो । सितारका रागले आध्यात्मिक बनायो । त्यसपछि सितारको धुनमै रमाएँ । सितारमै भविष्य बनाउने सोच बनाएँ । अहिले विभिन्न कार्यक्रममा सितार लिएर पुग्छु । मिहिनेत गर्दै डटेर लागिपर्‍यो भने वाद्यवादक भएर पनि जीविका चलाउन सकिँदो रहेछ ।

 

संगीतलाई हरेकले फरक–फरक दृष्टिकोणबाट व्याख्या गर्छन् । मेरो बुझाइमा संगीत भावना व्यक्त गर्ने माध्यम हो । म संगीतमार्फत भावना प्रकट गर्छु । हामी दुखेको मनलाई शान्त बनाउन संगीत सुन्छौँ । खुसी साट्दा पनि संगीतमै रमाउँछौँ । संगीत मानिसको जीवनका लागि महत्वपूर्ण छ । एउटा चित्रकारले आफ्नो भावना चित्रमार्फत व्यक्त गर्छ । म पनि सितारमार्फत भावना व्यक्त गर्छु । सितारको राग बजाउँदा आफ्ना भावना परिवर्तन हुन्छन् । मलाई पनि सितार बजाउँदा मनको भारी बिसाएजस्तो महसुस हुन्छ । 

 

सितारको संगीत बुझ्नका लागि यसका राग सही रूपमा बुझ्नुपर्छ । सितारको प्रत्येक रागले भावना व्यक्त गर्छ । शास्त्रीय संगीतमा रागको विशेष महत्व छ । सितारको धुनले विभिन्न भावनात्मक अवस्थालाई व्यक्त गर्न सक्छ । कति रागले खुसी सन्तुलन ल्याउँछन् भने केही रागले उत्साह र प्रेरणा प्रदान गर्दछन् ।

 

सितार बजाउनका लागि गहिरो ध्यान र अभ्यास आवश्यक पर्छ । सितार बजाउने क्रममा कलाकारसँग धैर्य, अनुशासन र समर्पण चाहिन्छ । एकाग्र भएर हृदय र मस्तिष्कको गहिराइमा सितारको धुन प्रवेश गराएपछि मात्रै सितार बजाउन सकिन्छ । यसबाट निस्किएको संगीतको धुनले जीवनमा ऊर्जा थप्ने काम गर्छ ।

 

सितारको धुनले मान्छेको मनलाई शान्त बनाउँछ । यसले मानसिक तनाव कम गर्छ । सितारको धुनमा सकारात्मक ऊर्जा दिने शक्ति हुन्छ । त्यसैले मानिसहरू दिनभरिको थकान मेटाउन सितारको धुन मिसिएको गजल, भजन आदि सुन्ने गर्छन् । विज्ञानले संगीतलाई थेरापीका रूपमा प्रयोग गर्न सकिने पुष्टि गरिसकेको छ । म्युजिक थेरापीको बेग्लै विषय छ । संसारमा म्युजिकलाई मेडिकल टुल्सको रूपमा पनि लिइन्छ । यसको मानसिक स्वास्थ्यका लागि निकै ठुलो महत्व बोकेको हुन्छ । रोगअनुसार पनि यसको थेरापी गराइन्छ । सितारको धुनले मानिसको मस्तिष्कमा सन्तुलन ल्याउन सहयोग गर्छ । सितारको धुन विशेषगरी ध्यान, योग र मानसिक शान्तिको अभ्यासमा प्रयोग हुन्छ । यसको मधुर र सुरिलो ध्वनिले मानिसलाई आन्तरिक शान्ति प्राप्त गर्न प्रेरित गर्छ । मानसिक तनाव कम गर्छ । यसले मानिसलाई मानसिक शान्ति, तनावमुक्ति र आध्यात्मिक बनाउन ठुलो भूमिका खेल्न सक्छ । नेपालमा सितारको धुन मानिसको थकान र तनाव कम गर्न प्रयोग गरिन्छ । गजल, भजन, र अन्य प्रकारका संगीत सितारसँगै सुन्छन् । म सितार दैनिक बजाउँछु । विभिन्न कार्यक्रममा पनि बजाउँछु । दैनिक अभ्यास गर्छु । जसले गर्दा मेरो मनलाई आनन्द बनाउँछ ।

 

सितार नबजाउँदा केही बिर्सिएजस्तो लाग्छ । आफ्नो भावनालाई व्यक्त गर्न सहयोग गर्छ । मलाई पनि मानसिक तनाव कम गर्न सहयोग गर्छ ।