• वि.सं २०८१ चैत ३ आइतबार
  • Sunday, 16 March, 2025
डा. राधिका बुढ्थापा
२०८१ फाल्गुण ३ शनिबार ०७:५८:००
सम्झना

नेपाली आँखामा अमेरिकाको यातायात 

२०८१ फाल्गुण ३ शनिबार ०७:५८:००
डा. राधिका बुढ्थापा

 

अनुभूति

 

  • अमेरिकाको सडक व्यवस्थापन देख्दा सुर्खेतबाट जुम्लासम्मको कर्णाली राजमार्ग आँखाअगाडि झलझली आइरह्यो । वि.सं. २०४८ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उद्घाटन गरेको यो बाटो आजका दिनसम्म पनि मृत्युमार्गका नामले चिनिन्छ।

 

यातायात, अहिलेको मानव सभ्यताले गरेको विकासको एउटा महत्वपूर्ण सूचक हो । संसारका सबैजसो देशहरूले आफ्नो क्षमताले भ्याएसम्म यस क्षेत्रमा लगानी गरेका छन् । धनी देश अमेरिकाको यातायात क्षेत्र कस्तो छ ? यातायात प्रणाली के कस्तो छ सो को प्रत्यक्ष अनुभव गर्ने अवसर मिल्यो ।

 

यहाँ मोटरमा चालक बस्ने हाम्रोभन्दा ठिक उल्टो तरिका रहेछ । यहाँ आएको कति दिनसम्म त सडकको उल्टोतर्फबाट गाडी चल्ने भएकाले यात्रा असजिलो महसुस हुने गर्दथ्यो । तर अचम्म, घर–घरमा चिठीपत्र खसाल्दै हिँड्ने हुलाक कार्यालयका सरकारी गाडी मात्र सडकको देब्रे अर्थात् हाम्रोतिरको जस्तो गुड्दारहेछन् । सडकमा चल्ने अधिकांश सवारीसाधन अटोमेटिक (स्वचालित) गिएर प्रणालीका हुँदा रहेछन् । जत्ति नै अपरिचित बाटोमा जानुपर्ने भए पनि गाडी अथवा मोबाइलमा जडान गरेको जिपिएस यन्त्रले सजिलैसँग गन्तव्यमा पुर्‍याइहाल्दो रहेछ । यो सुविधा हाल नेपालमा पनि छ, तर ढिलो इन्टरनेटका कारण ठिक सूचना प्राप्त हुँदैनन् । यसमा भरपर्ने चालकलाई कतिपय अवस्थामा सास्ती खेप्नुपर्ने हुन्छ ।

 

अमेरिकाका बाटाहरू जता जाँदा पनि चारकुने रुमालजस्तै लाग्यो । सबै ठुला बाटाहरू उत्तर–दक्षिण वा पूर्व–पश्चिम भएर बग्दा रहेछन् । बाटो बांगोटिंगो प्रकारका करिब–करिब छैनन् भन्दा पनि हुन्छ । अझ रमाइलो त के लाग्यो भने सरकारले दिएको सवारीसाधनको नम्बरको सट्टा आफ्नो मोटरको नम्बर आफैँ छानेर हरेक अक्षरको फरक पैसा तिरेर राख्न मिल्दो रहेछ ।

 

तर, त्यो अरू कसैले लिएर राखिसकेको हुनुभएन । प्रायः, आफ्नो सवारीसाधनको नम्बर आफैँ राख्न चाहने नेपालीहरूले आफ्ना गाडीमा नेपालका हिमालका नाम, तालतलैयाको नाम, ठाउँको नाम अर्थात् आफूले चाहेको नाम राखेको देखियो । जस्तै कसैले पहिले नै रोजिसकेको नभएको अवस्थामा यदि मैले मेरो सवारीसाधनको नम्बर जुम्ला राख्न चाहेँ भने जुम्ला राख्न सक्छु ।

 

सडकका प्रत्येक गाडी रोक्नुपर्ने स्टपहरूमा कतैबाट मोटर नआएको भए तापनि कम्तीमा चार सेकेन्ड रोक्नैपर्दाे रहेछ । बाटोमा सडकबत्ती नभएको ठाउँमा पनि मानिसहरूलाई देख्नेबित्तिकै गाडी रोकेर पैदल हिँड्ने मानिसलाई पहिलो प्राथमिकता दिइँदोरहेछ । पहिला पैदलयात्री त्यसपछि साइकल त्यसपछि मोटरसाइकल अन्तमा चारपांग्रे गाडी प्राथमिकतामा पर्दारहेछन् । पैदलयात्रीले पनि जेब्राक्रसिङबाहेक अन्त जताततैबाट बाटो काटेको देखिँदैन । यदि जथाभावी बाटो काट्दा दुर्घटना पर्दा पैदलयात्रीकै दोष मानिदोरहेछ । एम्बुलेन्स, दमकललगायतका साधनलाई आफूछेउ लागेर अन्य सबै सवारीसाधनले बाटो छोड्ने गरेको देखियो र अति नै विशिष्ठ पाहुनाबाहेक अन्य ठुलाबडाहरूका लागि बाटो नरोकिने रहेछ ।

 

यहाँ एचओभी अर्थात् ‘हाई अक्कुपेन्सी भेइकल’ प्रणाली लागु गरिएको रहेछ । प्रायः व्यक्तिगत सवारीसाधन धेरैजसोमा एकजना र केहीमा दुईजनाभन्दा बढी यात्रीहरू हामीले देखेनाैँ । इन्धन बचाउन, वायुप्रदूषण घटाउन, सडकमा यातायातका साधन कम गराउने लगायत आदि कारणले सरकारले गरेको यस्तो प्रयास हामीलाई निक्कै रोचक लाग्यो ।

 

प्रहरी चेकिड, ट्राफिक लाइट वा बाहिर निस्कने बाटोहरू अगाडि छन् भन्ने संकेत पहिल्यै थाहा हुँदोरहेछ । राजमार्गमा गति धेरै हुने भएकाले सुरक्षित तरिकाले गति घटाउनका लागि सम्भवतः यो यन्त्र राखिएको होला । आफूले चलाएको गाडीको गति बढाउनु छ भने सडकको देब्रेतिरको लेनमा साइड लाइट दिँदै जाने र गति घटाउनुपर्ने भयोभने बिस्तारै दायाँतिरको लेनमा साइड लाइट दिँदै आउनुपर्दाेरहेछ । प्रायजसो दायाँतिरको छेउमा भएको लेनबाट राजमार्गबाट बाहिर निस्कन सकिँदोरहेछ । ठाउँ–ठाउँमा पुल र बोर्ड बनाएर कुन बाटो कता जान्छ स्पष्ट लेखिएको रहेछ । अगाडि बाटोमा दुर्घटना वा कुनै कारणवश बाटोमा अवरोध छ भन्ने कुरा एफएम रेडियो र जिपिएसले बाटो बदलेर हिँड्न लगाउँदोरहेछ । ठुल्ठुला राजमार्गमा खाना खाने ठाउँ, शौचालय आदिको सूचनासहितका बोर्ड प्रशस्त देखिँदारहेछन् । 

 

हिउँपर्ने ठाउँमा सडकको हिउँ ट्रकले अगाडि जडान गरेको यन्त्रले हिउँ फाल्दै जाने र पछाडिको यन्त्रले नुन हाल्दै जाँदोरहेछ । यसरी नुन छरेमा त्यहाँ गुड्ने सवारीसाधन कम चिप्लिन्छन् र दुर्घटनाबाट बचाउन सकिन्छ भनेर स्थानीय सरकारले यस्तो काम गर्दाेरहेछ । 

 

यहाँको सडक व्यवस्थापनको पाटो देख्दा मेरो जन्मथलो जुम्ला पुग्न सुर्खेतबाट जुम्लासम्मको कर्णाली राजमार्गको सम्झना आयो । विसं ०४८ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उद्घाटन गरेको यो बाटो आजका दिनसम्म पनि मृत्युमार्गका नामले चिनिन्छ । यो बाटोले हजारौँको संख्यामा घाइते र अपांग बनाएको मात्र होइन, सयौँको ज्यान लिइसक्यो । 

 

फ्री वे अर्थात् अमेरिकाका राज्यहरू जोड्ने राजमार्गमा सडकबत्ती हुँदारहेनछन् । यस्तोे बाटो लामो दूरीका लागि उचित हुँदोरहेछ । यस बाटोले एउटा सहरबाट अर्काे सहर र एउटा राज्यबाट अर्काे राज्यलाई जोड्ने काम गर्दोरहेछ । यही बाटोबाट पूरै अमेरिका यात्रा गर्न पनि सकिँदोरहेछ । बाटोको नाम जोर नम्बरको छ भने पूर्व–पश्चिम र बिजोर नम्बरको छ भने उत्तर–दक्षिण जाने रहेछ । प्रायः प्रत्येक एक माइलजसोमा राजमार्गबाट बाहिर निस्कने र पुनः भित्र पस्ने र्‍याम्प हुँदोरहेछ । आफूले चलाइरहेको सवारीसाधनको गति बाटोमा गुडिरहेका अरूको गाडीको गति र सडकछेउमा टाँगिएको सीमामा रहेर बढाउने वा घटाउने गर्नुपर्दाेरहेछ ।

 

यहाँको बाटोमा सोल्डर लेन पनि हुँदोरहेछ । त्यहाँ विशेष काम परेमा वा अरू कुनै कारणले रोक्नुपरेमा रोक्न मिल्ने रहेछ । ठाउँ–ठाउँमा कति गतिमा हिँड्ने लेखेको हुँदोरहेछ, त्योभन्दा बढी चलाएमा जरिवानाको चिठी केही दिनमा घरमै आइपुग्दोरहेछ वा प्रहरीको छड्के रोकमा परिन्छ । बाटो–बाटोमा विभिन्न कोणमा राखिएका क्यामेराले चौबिसै घण्टा यसको रेकर्ड गरिराखेको हुँदारहेछन् । 

 

सवारीसाधनको छड्के अनुगमनका लागि कतै–कतै बाटोमा ट्राफिक प्रहरीका मोटर छेउमा सजिलै नदेखिने पाराले रोकेर राखेको देखिन्छन् । तिनीहरूले त्यो बाटोमा हिँडिरहेका सवारीसाधनको गति र अवस्था क्यामेराले जाँच गर्दाेरहेछ । सवारीसाधनको नवीकरण गर्दा मापदण्ड पूरा नभएकालाई जरिमाना तिर्नुपर्ने, आवश्यक मरम्मत गर्नुपर्ने वा नवीकरण नहुँने हुँदोरहेछ ।

 

बच्चालाई आफ्नो सवारीसाधनमा राखेर कतै लैजाँदा आफूले समातेर हिँड्न नपाइनेरहेछ । अस्पतालमा भर्खरै जन्मिएको बच्चा भए पनि काखमा हालेर घरमा ल्याउन नपाउने नियम छ । बच्चाको उमेर, उचाइ र तौलअनुसारको कारसिट बजारबाट किनेर अस्पतालका कर्मचारीलाई देखाएर यो बच्चालाई ठिक छ भनेर प्रमाणित गरेपछि मात्र आफ्नो सवारीसाधनको एउटा सिटमा राखेर बच्चालाई घरमा ल्याउन पाइनेरहेछ । सवारीसाधनको सिट क्षमताभन्दा बढी व्यक्ति नेपालमा जस्तै कोचेर राख्न पाउने त कुरै भएन । 

 

विद्यालय र आवासीय क्षेत्रमा गाडी चलाउँदा तोकिएको गति सीमामा पूरा ध्यान दिन अति जरुरी मानिदोरहेछ । स्कुल बसमा बच्चाहरूलाई बस चढाउँदा होस् वा उतार्दा त्यो बसको अगाडि र पछाडिका सबै सवारीसाधन रोकिनुपर्ने रहेछ ।

 

सडक नियमअनुसार सवारीसाधन चलाउँदा कसैले पनि अनावश्यक रूपमा समस्या झेल्नुपर्दैन । सवारी नियम हाम्रो देशमा पनि नभएका होइनन, तर कार्यान्वयन पक्ष अत्यन्त फितलो छ । नियम बनाउनु ठुलो कुरा होइन त्यसलाई प्रभावकारी रूपमा लागू गर्नु महत्वपूर्ण कुरा हो । हाम्रो देशमा समस्या यहीँनेर छ । अमेरिकामा यदि सवारीसाधन दुर्घटना भयो र मानवीय क्षति भएको छैन भने सवारीसाधन छेउमा ल्याउने फोटो खिचेर बिमा गरेको कम्पनीलाई फोन गरेर तुरुन्त खबर गर्ने र सवारीचालकले आफ्नो बाटो लागे हुँदोरहेछ । दुवै पक्षको बिमा कम्पनीले आपसमा छलफल गरेर कसको गल्ती हो छुट्याउने र मर्मत गर्ने गर्दा रहेछन् । 

 

यहाँका वासिन्दाहरू धेरै सँग बन्दुक हुने भएकाले कुनै कारणवश दुर्घटना हुन गयो र प्रहरी आयो भने दुवै हात या त स्टेरिङमा राख्ने या उठाउने ताकि प्रहरीलाई यसको साथमा बन्दुक छैन र अहिले बन्दुक हान्न सक्दैन भन्ने पक्का हुनुपर्दछ । होइन भने, आफूलाई खतरा महसुस भएमा यहाँका प्रहरीहरूलाई आफ्नो सुरक्षाका लागि सीधै गोली हान्ने अधिकारसमेत रहेछ । यातायातका लागि यहाँ रेल र बसको पनि व्यवस्था छ, तर मुख्य सहरमा मात्र । आवासीय क्षेत्रमा बसोवास गर्ने व्यक्तिलाई सार्वजनिक यातायातका कुनै साधन प्रायः उपलब्ध छैनन् भन्दा पनि हुन्छ, । बालबच्चा भेटघाट गर्न आउने हामीहरूले पनि सवारीसाधन चलाउन जानेका छौँ भने आफूखुसी कतै मन लागेका ठाउँ जान सक्छौँ । होइन भने अरू कसैले कतै लगे भने गयोे होइन भने घरमै रहनुपर्‍यो । यातायात र भाषामा हुने यस्तै असुविधाका कारणले लामो समयसम्मका लागि अमेरिका आउनेहरूका लागि यो ठाउँ एक किसिमले खुला जेल नै बन्न जाँदोरहेछ । यसै भएर होला नेपालबाट आफ्नो परिवार भेट्न आएका बूढाबूढी यहाँबाट फर्केर फेरि आउन नचाहने गरेको सुनिने गर्दछ । यातायातकै असुविधाका कारण अमेरिकाको बसाइमा सवारीसाधन चलाउन नसक्नेलाई ‘कैदी’जस्तै बन्नुपर्ने वाध्यता हुँदोरहेछ ।

 

कसैले पनि जीवनमा सक्षम र सफल बन्नका लागि राम्रो कुरा अरूबाट सिकेर, अरूको देखेर सफलताको सूत्र आफूले पनि अपनाउँदा राम्रो हुन्छ । यो त अमेरिका हो, यसको विकासको कुरा गरेर नेपालीलाई कहाँ साध्य हुन्छ र भन्ने प्रश्न उठ्न सक्छ । यस्ता लाभकारी कुरा अरू देशबाट सिकेर आफ्नो देशका लागि राज्यले सही नियम कानुन बनाउने, लागू गर्ने र त्यसको कडा नियमन गरे सबैको भलाइ हुन्थ्यो होला । हजार माइलको यात्रा एक पाइलाबाट सुरु हुन्छ भन्ने कथनलाई मनन गर्दै अमेरिकाको अति सुरक्षित यातायात प्रणालीबाट हामीले पनि केही सिके दुर्घटना न्यूनीकरण हुन्थ्यो कि ?