
‘जसका हातमा अभिलेख छन्, उनीहरूसँग पढ्ने क्षमता छैन । जोसँग पढ्ने क्षमता छ, उनीहरूको पहुँचमा ती अभिलेख छैनन्,’ गत पुस २७ गते एक कार्यक्रममा इतिहासकार महेशराज पन्तले भनेका वाक्य हुन् यी । उनले पृथ्वीनारायण शाहका पालामा लेखिएका थुप्रै चिठीपत्र र दस्ताबेज राष्ट्रिय अभिलेखालयमा सुरक्षित त छन्, तर पढिएका छैनन् भने ।
के इतिहासकार पन्तले भनेजस्तै अभिलेखालयमा भएका पुराना दस्ताबेजका अध्ययन, अनुसन्धान हुन बाँकी नै हुन् ? शाहको पालाका तीन सय वर्ष पुराना दस्ताबेजसमेत किन अध्ययन भएन होला ? अभिलेखालयको हालचाल कस्तो छ ? कुतूहल जाग्यो । एउटै भवनको माथिल्लो तलामा रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयअन्तर्गत पुरातत्व विभागमा दसौँपटक पुग्दा अभिलेखालयलाई किन फर्केर पनि हेरिनँ भन्ने लाग्यो । त्यसैले इतिहासकारको चिन्ता सुनेको केही दिनपछि राष्ट्रिय अभिलेखालय पुगेँ ।
बुधबार तीन बजेतिर पुग्दा कार्यालयमा अभिलेखहरू हेर्न आउने अभिलेखाशास्त्री, अभिलेख अनुसन्धानकर्ता वा इतिहासका अध्येता कोही पनि थिएनन् । अभिलेखालय सुनसानजस्तै थियो । जिज्ञासासहित अभिलेखालय पुगेकी मलाई अनुसन्धान अधिकृत मनिता न्यौपानेले सबैभन्दा पहिले अभिलेख प्रदर्शनी कक्षको अवलोकन गराइन् । अवलोकन कक्षको प्रवेशद्वारसँगै पुराना क्यामेरा राखिएका छन् । ती क्यामेरा, जसले अभिलेख संरक्षणमा सहयोग पुर्याएका छन् । त्यसपछि उनले त्यहाँ रहेका अरू लिपि, ग्रन्थ, शिलापत्र, ताम्रपत्रबारे एक–एक गर्दैै बेलिविस्तार लगाइन् ।
अभिलेखालयमा भएको दुर्लभ हस्तलिखित ग्रन्थमध्ये ताडपत्रमा लेखिएका पाण्डुलिपि हुन् । जसमध्ये दशभूमिश्वरसूत्र हो । यो पाँचौँ शताब्दीको भएको उनले बताइन् । त्यसैगरी, आठौँ शताब्दीका लिच्छवि लिपि ताडपत्रमा लेखिएको संस्कृत बौद्धग्रन्थ सद्धर्मपुण्डरिकसूत्र, आठौँ शताब्दीकै बौद्धधर्मको पाली भाषामा लिखित विनय–पिटक छन् । सन् ८१० मा लेखिएको स्कन्दपुराणको अम्बिका खण्ड पनि अभिलेखालयमा देख्न सकिन्छ । उनका अनुसार यसले हाम्रो संस्कृति संस्कारबारे बोल्छ । ‘हामी यहाँ कहिलेदेखि थियौँ ? हाम्रो देश कहिलेदेखि थियो भन्नेजस्ता कुरा जोडिन्छ । यो १२ सय वर्ष पुरानो लिखित संहिता हो,’ उनले भनिन् ।
त्यहीँ थियो, राजेन्द्रवीर विक्रम शाहको पञ्जा छाप । शाहले वि.सं.१९०३ वैशाख ३ गते चौतारीय भीमविक्रम शाहलाई पञ्जा छाप दिएका थिए, पञ्जा छाप त्यतिवेला प्रमाणित गर्ने तरिका माध्यम थियो । ‘यसले कानुनहरू कानुनी ढाँचामा कसरी विस्तार भए भन्ने देखिँदै आउँछ,’ उनले भनिन् । २००७ सालको दिल्ली सम्झौतापछि गठित मोहनशमशेर राणा नेतृत्वको राणा–कांग्रेस संयुक्त सरकारमा भएका मन्त्रीहरूको सूची पनि संकलित छन् । १० सदस्यीय मन्त्रिमण्डलमा कसले कुन मन्त्रालय पाए, यसबारे उल्लेख छ ।
संकलित हस्तलिखित ग्रन्थमध्ये नारदसंहिता पनि प्रदर्शनी कक्षमा देख्न सकिन्छ । नारदसंहिता अर्थात् एसियाकै पुरानो वैधानिक कानुन, जसलाई (मानवधर्म न्यायशास्त्र)न्यायविकासिनी पनि भनिन्छ । यसलाई जयस्थिति मल्लले जारी गरेको सबैभन्दा पुरानो लिखित कानुनी संहिता मानिएको छ । यो ताडपत्रमा लेखिएको छ । मल्लद्वारा जारी यो ग्रन्थ सबैभन्दा पुरानो लिखित कानुनी संहिता मानिएको छ ।
त्यही लहरमाा लालमोहर, स्यामोहर (सरकारी डकुमेन्ट), ताम्रपत्र, खड्गनिसान (एकछापे, दुईछापे) ऐतिहासिक कागजात, सरकारद्वारा विभिन्न समयमा जारी गरिएका आदेश, सन्धि–सम्झौता, ऐतिहासिक पत्र छन् । विभिन्न समयमा सम्पन्न भएका निर्वाचनका मतदाता नामावली, शिलालेखका नक्कल प्रति, गोरखापत्र र द राइजिङ नेपाल पत्रिकाको स्थापना कालदेखिका अंकहरू पनि यहाँ देख्न सकिन्छ । दुई वर्षअघि मात्र बनाइएको प्रर्दशनी स्थलसम्म सबै अनुसन्धानकर्मीको पहुँच हुन्छ ।
प्रदर्शनी कक्षको अवलोकन गर्दा नै अभिलेखालय के हो ? बुझ्नका लागि धेरै आधार भेटिन्छन् । पत्रकार तथा लेखक मोहन मैनाली ‘मुकाम रणमैदान : नेपाल अंग्रेज युद्धको बखान’ पुस्तक लेखनका क्रममा धेरैपटक अभिलेखालय पुगेको बताउँछन् । अभिलेखालयमा भएका धेरै मूल ग्रन्थले उनको पुस्तकलाई थप बलियो बनाउन सघाएको थियो । पुस्तक लेखनको क्रममा उनले अभिलेखालयले तोकेको राजस्व रकम बुझाएर केही इलेक्ट्रोनिक र प्रिन्टेट कपी घरमै लगेर समेत अध्ययन गरेका थिए ।
अनुसन्धाता भगीराज इङनामलाई पनि लिम्बुवानको ऐतिहासिक दस्ताबेज संग्रह संवत् १७१९–२०२० पुस्तक लेखन क्रममा अभिलेखालयको मूल ग्रन्थबाट धेरै सहयोग प्राप्त भएको थियो । उनको यो पुस्तकले २०७७ को मदन पुरस्कारसमेत पाएको थियो । अभिलेखालयमा जर्मन, अमेरिका, बेलायत, चीन, फिनल्यान्ड, जापान, कोरिया, अस्ट्रिया, भारतबाट समेत अनुसन्धानकर्ता आउँछन् ।
पोकाहरूमा अलपत्र ऐतिहासिक अभिलेख
अभिलेखालयबारे थप जान्न फेरि बिहीबार मध्य दिनमा पुगेँ । मध्य दिनमै पुग्दा पनि अभिलेखालयमा भएको पुस्तकालय खाली थियो । जहाँ इतिहास, संस्कृति, नेपाली, अंग्रेजी, हिन्दी र संस्कृत विषयका करिब २० हजार पुस्तक उपलब्ध छन् । ती पुस्तकलाई करिब एक महिनादेखि कसैले हात लगाएका थिएनन् । पुस्तकालय अवलोकन गर्नेले भर्नुपर्ने रेकर्ड फाइलले त्यो प्रस्ट देखाएको थियो । प्रदर्शनी कक्षको अवलोकनले हौसिएको म पुस्तकालयमा अनुसन्धानकर्ताको शून्य उपस्थिति देखेर खिन्न महसुस भयो । भण्डारण कक्ष देखाउँदै अनुसन्धान अधिकृत न्यौपानेले भण्डारण कक्षका रातो, सेतो पोका देखाइन्, जहाँ ऐतिहासिक अभिलेख थिए ।
पोका हेर्दै गर्दा फुङ्ग भएँ, किनभने ५५ वर्षदेखि हाम्रा इतिहास पोकामा ‘कैद’ थिए । तर, न्यौपानेले भने बजेट, जनशक्ति, ठाउँ अभावको कारण यसरी राखिएको बताइन् । ‘एउटा पोकामा दशवटा किताब छ । दशवटा किताबलाई छुट्टाछुट्टै राख्दा धेरै ठाउँ खान्छ । त्यसैले कोच्याएर राख्दा ठिकै भएको छ । यो फैलाएर राख्ने हो भने यहाँबाट पुरातत्व विभाग हट्न पर्यो,’ उनले भनिन्, ‘अहिलेलाई यी पोकालाई बाकसमा राख्ने कामचाहिँ सुरु भइरहेको छ ।’ उनले अभिलेखालय चुपचाप भने नबसेको बताइन् ‘कहिले ठोकठाक पार्छौं । कहीले सिसी क्यामेरा बनाउँछाैँ । कहिले एसी मिलाउँछौँ । यस्तै काम भइरहेकै छ,’ उनले थप प्रस्ट पारिन् ।
तापक्रम र आद्र्रता मिलाएर दस्ताबेज राखिएको लामो कोठामा कपुरको सुगन्ध नाकले चाल पाइसकेको थियो । उनका अनुसार कपुरले हाम्रो इतिहासलाई किराबाट बचाउने काम गर्छ । त्यहीँ सोेकेसमा ताडपत्र, ताम्रपत्रमा लेखिएका हाम्रा इतिहासको सक्कल प्रति थियो । तीबाहेक धेरै महत्वपूर्ण दस्ताबेज भण्डारण कक्षमा थिए । त्यसमध्ये केही दस्ताबेज सानो–सानो टुक्रामा मक्किएर झरिरहेको थियो । ‘अहिले केहीमा टुक्रिने समस्याबाहेक अरू जटिल समस्या छैन । मान्छेले छोइदिने, चलाइदिने, बत्तीले पनि असर गर्ने भएकाले धेरै बत्ती पनि बाल्दैनौँ,’ उनले भनिन् ।
अभिलेखालयमा पाँचौँ शताब्दीदेखिका करिब ५० हजार अभिलेखका मूल प्रतिहरू सुरक्षित छन् । तीमध्ये करिब ३५ हजार पाण्डुलिपि परम्परागत कागज, ताडपत्र, भोजपत्र, सुनचाँदीका मसीले लेखिएका दस्ताबेज छन् । संग्रहित ग्रन्थहरू संस्कृत, नेपाल भाषा, तिब्बती, मैथिली, हिन्दी, अवधि र नेपाली भाषामा लेखिएका छन् । त्यहाँ उपलब्ध ग्रन्थहरूले किंवदन्ती, मिथक, नैतिक कथा, नाटक, वेद, ज्योतिष शास्त्र, चिकित्सा, योग, दर्शन, कला, वास्तुकला, कानुन, साहित्यजस्ता विधाका विषयलाई समेटेको छ । अभिलेखालयको संकलनमा बेरिएका र सिलाइएका पुस्तकसमेत छन् ।
इतिहास, संस्कृति, धार्मिक अनुष्ठान, वास्तु, ज्योतिष, दर्शन शास्त्र, चिकित्सालगायत ११औँ शताब्दीदेखिका करिब २० हजार तिब्बती पाण्डुलिपि र काठेछापासमेत अभिलेखालयमा छन् । यी ग्रन्थबाहेक नेपाल र भोटबिच आदानप्रदान गरिएका चिठीपत्र, सन्धिलगायत दस्ताबेज छन् । १५औँ शताब्दीमा तिब्बतबाट थ्रिमखाङ लोत्सावाले नेपालमा बसेका पण्डित वनरत्नलाई संस्कृत भाषा भुजिमोल र भोट लिपिमा एकसाथ लेखिएका काथाङ साङ्लिङ्मा डिङ्पो नामक ग्रन्थसहित दुई सयभन्दा धेरै तिब्बती ग्रन्थ पनि अभिलेखालयमा छन् ।
अभाव र उपेक्षा
महत्वपूर्ण अभिलेखको संकलन, संरक्षण र व्यवस्थापन गर्ने निकाय अभिलेखालय भने उपेक्षामा छ । इतिहासकार पन्तको भनाइ यहाँ भएका गतिविधिले पनि पुष्टि गर्छ । बजेट र जनशक्ति अभाव व्यहोरिरहेको अभिलेखालयमा ३० जनाको दरबन्दी भए पनि हाल २४ जना मात्र छन् । अभिलेखालयकै अनुसार अभिलेखालयलाई बजेट पनि अत्यन्तै न्यून छ । यही स्रोतसाधनले अभिलेखालय सुधार्न सानातिना केही प्रयास भएको छ । तर, प्रविधिको यो युगमा डिजिटल रेकर्ड राख्नेलगायत ठुला काम हुन सकेका छैनन् ।
लेखक मैनालीका अनुसार पहिला अभिलेखालयका कर्मचारीले काम गर्ने ठाउँ र पोकामा खाँदिएका अभिलेख राख्ने ठाउँमै पढ्नुपथ्र्याे । अहिले बाहिर उज्यालो र ठुलो ठाउँको व्यवस्था छ । ‘अभिलेखालयले पनि अनलाइन क्याटलग त राखेको छ । तर, त्यसमा पुराना कागजपत्र, चिठीपत्र छैनन् । किताबको क्याटलग मात्र राखेको छ । सबैको दस्ताबेजको अनलाइन भएको भए घरमै बसेर छान्न हुन्थ्यो । त्योचाहिँ हुन सकेको छैन,’ उनले भने ।
सात वर्षअघिदेखि अभिलेखालय धाउन थालेका अनुसन्धाता इङनाम पनि पहिलेकोभन्दा अभिलेखालयको सेवा राम्रो हुँदै गए पनि केही समस्या भने रहेको बताउँछन् । उनका अनुसार परराष्ट्र मन्त्रलायले अभिलेखालयलाई हस्तान्तरण गरेका केही कागजपत्र हेर्नका लागि धेरै झन्झटिलो प्रक्रिया छ । ‘अभिलेखालयले विषयसूची बनाएको छ । तर, कागजपत्र अभिलेखालयलाई औपचारिक हस्तान्तरण गरेको छैन । त्यसैले ती कागजपत्र अध्ययनका लागि अभिलेखालयलाई निवेदन लेख्ने, सिफारिस लिने, फेरि परराष्ट्रमा निवेदन दिने, टिप्पणी उठाउने गरेर त्यो कागजपत्र हेर्न नै करिब २० दिन लाग्छ । झन्झटिलो छ,’ उनले भने ।
अभिलेखालयकी पूर्वमहानिर्देशक सौभाग्य प्रधानांग अभिलेखालय देशको सम्पूर्ण इतिहासलाई जोगाउने, संरक्षण, संवद्र्धन गर्ने र महत्वपूर्ण अभिलेखलाई जनतासम्म पुर्याउने महत्वपूर्ण संस्था भन्दै यसको गरिमा बढाउन जनचेतनाको थप आवश्यक भएको बताउँछिन् । ‘पाँचाैँ शताब्दीदेखि पछिल्लो संविधान, संसद्का विभिन्न समयमा हुने निर्णयका अभिलेख अभिलेखालयमा छन् । मूर्त र अमूर्त संस्कृतिलाई प्रमाणित गर्ने महत्वपूर्ण आधार अभिलेखालयमा छन्,’ प्रधानांगले भनिन्, ‘अभिलेखालयले मूल कपी राखेको छ । मूल कपी नभएकाहरूका प्रतिलिपि पनि छन् । हस्तलिखित अभिलेखका माइक्रोफिल्म बनाएर राखिएको छ । डिजिटाइजेसनका काम पनि सुरु भएको छ । अब प्रदेशसँग पनि समन्वय गरेर काम गर्ने हो भने थप दस्ताबेज प्राप्त हुन सक्छन् ।’
उनले अभिलेखालय निमित्तको भरमा चलेको छ । निमित्त प्रमुखलाई महत्वपूर्ण निर्णय गर्ने अधिकार हुँदैन । हाल अभिलेखालयका निमित्त महानिर्देशक कुमार श्रेष्ठ छन् । उनी अभिलेखालयका प्रमुख फोटोग्राफर पनि हुन् । उनका अनुसार अहिले अभिलेखालयमा भएका दस्ताबेजको विद्युतीय रेकर्ड राख्ने काम भइरहेको छ । बजेट, जनशक्ति र ठाउँअभाव मुख्य समस्या भएका छन् । ‘अहिले हामीले विद्युतीय रेकर्ड व्यवस्थापन गरिरहेका छौँ । प्रयोगशाला विकसित गरिरहेका छौँ,’ श्रेष्ठले भने, ‘तर जनशक्तिको कमी त छ नै । दक्ष जनशक्तिको अभाव छ । विभागस्तरको कार्यालय भए पनि मुख्य कुरा बजेट हो । बजेट थोरै छ । बजेट पर्याप्त नहुँदा खण्ड–खण्डमा काम गर्नुपरेको छ । राज्यको इतिहास राख्ने काम गर्ने अभिलेखालयलाई समृद्ध बनाउन यी कुरामा ध्यान पुगे हुन्थ्यो ।’ उनका अनुसार दक्ष जनशक्ति र वार्षिक करिब १० करोड बजेटको व्यवस्था हुने हो भने अभिलेखालयले अझै धेरै काम गर्न सक्छ ।
संसारमा पहिलोपटक अभिलेखालयको संस्थागत विकास इसापूर्व पाँचाैँ तथा चौथो शताब्दीतिर ग्रिसबाट र आधुनिक कालमा इसापूर्व १३०२ बाट इटलीको बोलंग भन्ने सहरबाट भएको मानिन्छ । ‘प्राचीन मठमन्दिर, बौद्ध मठ, विहारले नै आधुनिक शिक्षण संस्थाको काम गर्दै आएकाले यस्ता मठमन्दिर विहारमा प्रशस्त मात्रामा हस्तलिखित ग्रन्थ संकलन हुने चलन थियो । विद्यानुरागी मल्ल र शाह राजाहरूले संकलनको भण्डारमा वृद्धि गरे भने नेपालको भौगोलिक बनावटले यो ग्रन्थलाई सुरक्षा गरी दीर्घजीवी बनाए,’ ‘राष्ट्रिय अभिलेखालय एउटा छोटो चिनारी’ लेखमा तत्कालीन अभिलेखालय प्रमुख बलराम दास डंगोलले उल्लेख गरेका छन् ।
संकलन भएका पुस्तकहरूको विशेष व्यवस्थाका लागि गीर्वाणयुद्ध वीरविक्रम शाहले १८६९ सालमा पण्डित केदारनाथको नाममा लालमोहर जारी गरेका थिए । उनको काम पुस्तकको संरक्षण गर्ने, किराबाट बचाउने, पुस्तकको पूजा गर्ने, पूजाकोठामा बत्ती बाल्ने थियो । यसबापत उनले वार्षिक १२५ रुपैयाँ पाउँथे । यसपछि १९०४ मा जंगबहादुर राणाले पुस्तकहरू वसन्तपुर दरबारबाट थापाथली दरबारमा सार्न लगाएका थिए । १९१० सालमा दरबार हाइस्कुल बनेपछि थापाथलीको किताब त्यहाँ राख्न थालियो । १९५७ मा पुस्तकहरू घण्टाघर वा वीर पुस्तकालयमा सारियो । २००९ सालमा पुरातत्व विभागको स्थापनापछि पुस्तकालयलाई यसै विभागअन्तर्गत राखियो । यसकै विस्तारित रूप हालको अभिलेखालय भएको डंगोलले आफ्नो लेखमा उल्लेख गरेका छन् । अभिलेखालयको विधिवत् स्थापना भने वि.सं. २०२४ मा मात्र भयो । २०७५ जेठ २२ गतेअघिसम्म अभिलेखालय पुरातत्व विभागमातहत राखिएको थियो । ‘धेरै सरकारी कार्यालयले कागजपत्र पठाउँदैनन् । अभिलेखालय स्थापनाताका मात्र धेरै कागजपत्र आएको हो । हामीले वर्षको दुईपटक मन्त्रालयलाई पत्र पठाउँछौँ । तैपनि दस्ताबेज आउन गाह्रो छ,’ महानिर्देशक श्रेष्ठले भने ।
डिजिटल अभिलेखहरूको गुणस्तर, आधिकारिकता, सुरक्षित भण्डारण तथा व्यवस्थापन गर्ने गरी डिजिटल अभिलेख सेन्टर तथा तालिम केन्द्रको विकास गर्ने लक्ष्य राखेको उनले बताए । उनले यसो भनिरहँदा लेखक मैनाली पनि प्रविधिको यो युगमा घरै बसेर अभिलेखालयमा भएका दस्ताबेज हेर्न सक्ने बनाउनुपर्ने बताउँछन् । लेखक मैनाली भन्छन्, ‘जर्मन अभिलेखालयको क्याटलग हामीले घरमै बसेर हेर्न सक्छौँ । त्यस्तैगरी हाम्रो अभिलेखालयको क्याटलग पनि घरमै बसेर अनलाइनबाट हेर्न सकियोस् । अभिलेखको संकेत नम्बर हेरेर आफ्नो विषयका अध्ययन सामग्री सजिलै भेट्न सकियोस् ।’