• वि.सं २०८१ चैत ३ आइतबार
  • Sunday, 16 March, 2025
पवन बराइली
२०८१ फाल्गुण ३ शनिबार ०९:३०:००
रिपाेर्ट

एक सय वर्ष पुरानो साइकल पसल 

२०८१ फाल्गुण ३ शनिबार ०९:३०:००
पवन बराइली

 

आजभन्दा एक सय वर्षअघिसम्म नेपालमा यातायातका साधन एकाधबाहेक थिएनन् । नदीको तीरैतीर, पहाडका काखमा भरियाले भारी बोक्थे । राणाहरूले भीमफेदीबाट सयौँ भरियालाई गाडी बोकाएर काठमाडौंमा हुइँकिने समय थियो त्यो । नेपालमा सर्वसाधारणको पहुँचमा अन्य सवारीसाधन त के साइकलसमेत पुगिसकेको थिएन । यद्यपि, त्यही समय संसारमा हवाईजहाजदेखि सयौँ माइल छोटो समयमै छिचोल्ने रेल गुडिसकेका थिए ।

 

राणाहरू, दरबारियाहरू भरियाले बोकेर ल्याएको गाडीमा हुइँकिरहेकै वेला असन बजारमा एउटा साइकल पसल देखा पर्‍यो । त्यहाँ साइकल आइपुग्नुअघि नै राणाहरूले सौखका रूपमा साइकल ल्याइसकेको थिए, तर सर्वसाधारणले प्रयोग गर्न पाएका थिएनन् । त्यो एक सय वर्ष पुरानो साइकल पसल आज पनि साइकलप्रेमीबिच परिचित छ ।

 

त्यो ऐतिहासिक साइकल पसल सन् १९२५ मा खोलेका थिए असननिवासी अष्टनारायण मानन्धरले । एक सय वर्षपछि पनि विरासत धानिरहेका छन् अष्टनारायणका पनाति तिरेक मानन्धरले । तिरेक चौथो पुस्ताका हुन् । त्यतिवेलाको ‘पञ्चनारायण–अष्टनारायण साइकल पसल’ अहिले नयाँ स्वरूपमा ‘प्यांन्क बाइक’ बनेको छ । पञ्चनारायण–अष्टनारायण साइकल पसल आज आधुनिक साइकल हबको रूपमा चिनिन्छ । साइकल पसल अहिले पनि विभिन्न ब्रान्ड, मोडेल र रिपेरिङका लागि लोकप्रिय छ ।

 

यसरी सुरु भयो साइकल पसल 

 

जतिवेला भारत ब्रिटिसको अधीनमा थियो । ब्रिटिसले बेलायतबाट भारत ल्याएका साइकल राणाले आफ्नो सोख पूरा गर्न नेपाल भित्र्याएका थिए । असन कमलाक्षीका पञ्चनारायण मानन्धरले आफ्नै घरमा तरकारी पसल चलाएका थिए । पञ्चनारायणका छोरा थिए अष्टनारायण । तिनै अष्टनारायणले एक दिन दरबारका राणा र तिनका छोराछोरीले मात्र साइकल चलाएको देखे ।

 

तिरेकका अनुसार अष्टनारायणले साइकल मागेर चलाउन खोजे, तर लडे । साइकल चलाउने धित मरेन, फेरि मागे । त्यसपछि उनलाई दिइएन । साइकल चढ्न नपाएपछि जसरी पनि साइकल चढ्ने सपना सजाउन थाले । त्यसवेला साइकल किन्न भारतको कलकत्ता पुग्नुपथ्र्यो । अष्टनारायण केही नसोची साइकल किन्न कलकत्ता गए ।

 

त्यतिवेला भारतमा पनि साइकल बन्दैनथ्यो । बेलायती कम्पनीले बनाउँथ्यो । तिरेक भन्छन्,‘जिजुबाजेले कलकत्तामा ६ वटा बेलायती साइकल किनेर वीरगन्ज, हेटौँडा, भीमफेदी हुँदै काठमाडौं ल्याउनुभयो ।’

 

त्यसपछि अष्टनारायणले घरको तरकारी पसल हटाएर त्यहाँ साइकल पसल राखे । साइकल व्यवसाय त्यतिवेला सामान्य मान्छेका लागि निकै अनौठो थियो । राणा परिवारले सोखको रूपमा प्रयोग गर्ने साइकल सामान्य नागरिकको पहुँचमा पुग्नु आफैँमा अनौठो थियो । बुबा पञ्चनारायणसँग उनको झगडै भयो । रितेक भन्छन्, ‘उहाँलाई आफ्नो बुबाले खानेकुरा बेच्न छाडेर यो फलामको ढिक्का किन राखेको भन्दै हप्काउनुभयो रे ।’

 

तिरेकका अनुसार ती ६ साइकल प्रतिगोटा २० रुपैयाँका दरले बिक्री गर्न ६ महिना लाग्यो । उनी भन्छन् ‘साइकल एकदमै महँगो थियो रे । एउटा साइकलको मूल्यले ५–६ रोपनी जग्गा नै आउथ्यो रे । बेलायतमा बनेको साइकल भारत हुँदै नेपाल ल्याउँदा महँगो परेको बाजेले सुनाउनुहुन्थ्यो ।’

 

एउटा घटनाबाट खोलिएको साइकल पसल अष्टनारायणपछि उनका छोरा तीर्थनारायण हुँदै नाति त्रिरत्नको पालासम्म आइपुग्दा साइकल आममानिसको जीवनशैलीमा अपरिहार्य बनिसकेको थियो । साइकल काठमाडौं मात्रै नभएर अन्य सहरमा पनि फैलिसकेको थियो । 

 

बुबाको साइकल व्यवसायमा होमिएका त्रिरत्न मेकानिकल इन्जिनियरिङ अध्ययनका लागि पोल्यान्ड गए । पोल्यान्डमा उनले थप ज्ञान आर्जन गरे । त्यसपछि उनी स्वदेश फर्किए । उनले ‘पञ्च–अष्टनारायण साइकल पसल’ सञ्चालन गर्न थाले । त्यतिवेला भित्र्याएको हिरो साइकल खरिद गर्न मान्छेको लाइन नै लाग्थ्यो । त्रिरत्न साइकलको फ्याक्ट्री नै खोल्ने सोचमा थिए । तर, ०४० सालमा मोटरसाइकल दुर्घटनामा परी त्रिरत्नको सपना टुंगियो । त्यसपछि पञ्च–अष्टनारायण साइकलको व्यवसाय ओरालो लाग्न थाल्यो । व्यापार नभएकै कारण साइकल व्यवसाय बन्द हुने अवस्था बन्यो । उनले छोरालाई साइकलको व्यापार होइन साइकलको संसार पनि बुझाएका थिए । तर, छोराहरू सानै थिए । परिवारले पनि साइकल पसल बन्द गरेर अरू व्यवसाय सुरु गर्ने सोच बनाउँदै थिए । 

 

०५७ मा कान्छा छोरा यिनै तिरेक मानन्धरले मेकानिकल इन्जिनियरिङको अध्ययन पूरा गर्दा काठमाडौंमा साइकल हराइसकेको थियो । व्यापार ठप्प भइसकेको थियो । सहरमा गाडी र बाइकले कब्जा जमाइसकेको थियो । तिरेकसँगै पढेका साथीहरू अध्ययन लागि बिदेसिए । तर, उनलाई भने आफ्नो पुर्खाैली पेसा सम्हाल्न मन लाग्यो । तिरेकले पुरानो पसललाई नयाँ स्वरूपमा चलाउन थाले । उनले कान्तिपथमा शाखा विस्तार गरे । २०६४ सालतिरको कुरा हो । तिरेकले ‘पञ्च–अष्टनारायण साइकल’ नाम परिवर्तन गरी ‘प्यांक बाइक’ नाम दिई सञ्चालन गर्न थाले ।

 

बिस्तारै प्यान्क बाइकप्रति मान्छेको आकर्षण बढ्न थाल्यो । उनले त्यसपछि आल्मुनियमका साइकलहरू भित्र्याए । साइकलप्रति मान्छेको आकर्षण बिस्तारै बढ्दै गयो । 

 

तिरेकले साइकल बेच्ने मात्रै होइन, साइकल भाडामा दिने, टुरको आयोजना गर्ने, बिग्रेको बनाउनेजस्ता उपाय अपनाए । युवा पुस्तालाई आकर्षित गर्न उनले इलेक्ट्रिक साइकल र माउन्टेन बाइक्सजस्ता आधुनिक साइकलको आपूर्ति गरे । 

 

‘सबै प्रकारका साइकल उपलब्ध गराउन सकियो भने व्यापारले गति लिन्छ भन्ने लाग्यो । पुर्खाैली विरासतलाई विस्तार गर्ने आत्मविश्वास जाग्यो । सहरभित्र गुड्ने मात्रै नभएर डाँडाकाँडा उक्लिने साइकल पनि उत्पादन गर्न थालेँ’, उनी भन्छन्, ‘पर्यटन प्रवर्द्धननका लागि साइकल यात्राका कार्यक्रम आयोजना गरेँ । उनी साइकलले सहरको सम्पदा जोगिने बताउँछन् ।

 

अचेल तिरेकले साइकल व्यापार मात्रै गरिरहेका छैनन्, साइकलबारे शिक्षा फैलाइरहेका छन् । उनी अहिले साइकलसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्छन् । भन्छन्,‘साइकललाई आवश्यकीय साधनको रूपमा लिनुपर्छ । अनि मात्रै साइकलको संस्कृति विकास गर्न सकिन्छ ।’ वायु प्रदूषण रोक्न साइकल प्रयोगकर्ता युवाहरूको सक्रियता बढिरहेको उनी सुनाउँछन् । स्वास्थ्यप्रति सचेत हुँदै कम्तीमा साताको एक दिन साइकल चढ्नेको जमात पनि बढ्दै गएको उनको अनुभव छ । त्यसैले साइकल मनोरञ्जन मात्रै नभएर सामाजिक गतिविधिको रूपमा प्रयोग भइरहेको बताउँछन् ।

 

‘अझै पनि साइकललाई गरिबले चलाउने साधनको रूपमा हेरिन्छ, उनी भन्छन्, ‘तर यो सत्य होइन । साइकल सबैको सारथि हो । साइकल अहिले धेरैको दुःख–सुखको साथी बन्न थालेको छ । मानिसहरू मोटरसाइकल बेचेर साइकल चढ्न थालेका छन् ।’

 

तिरेक साइकका पार्टपुर्जा ताइवान, इन्डोनेसिया र चीनबाट आयात गर्ने गरेको बताउँछन् । ग्राहकको मागअनुसार ती देशबाट साइकल पनि आयात गर्ने गरेको उनी सुनाउँछन् । भन्छन्, ‘हाम्रो साइकल पसलले एक सय वर्षको इतिहास बनायो । यो व्यवसायको सफलता मात्रै होइन, समाजमा हाम्रो पनि भूमिका पक्कै छ ।’