
उमेरले ६५ काटे पनि कस्ट्युम डिजाइनर कमलप्रसाद मिश्रको फिल्मप्रतिको भोक जागै छ । ३६ वर्षदेखि फिल्मको कस्ट्युम डिजाइनमा उनको सक्रियता उस्तै छ । नेपालका अधिकांश पुराना फिल्ममा उनैले डिजाइन गरेको पहिरन कलाकारले लगाए । उनले काम गरेका प्रायः फिल्म दर्शकले रुचाएका छन् पनि । उनी द्वन्द्व निर्देशक गोपाल भुटानीका प्रिय डिजाइनर थिए । उनले अहिलेसम्म दुई सय ३४ वटा फिल्ममा कस्ट्युम डिजाइनरका रूपमा काम गरिसकेका छन् ।
कमलको फिल्मसँगको संगत निकै रोचक छ । विसं २०१८ मा ताप्लेजुङको डाँडागाउँमा जन्मिएका कमलका बुबा भारतीय लाहुरे थिए । बुबाले परिवारलाई भारतको मणिपुर लगे । उनको बाल्यकाल मणिपुरमै बित्यो । भारतमा बुबा–आमाको निधन भएपछि उनी दाइसँग नेपाल फर्किए ।
२०४० सालतिरको कुरा हो । कमलले स्वयम्भूनजिकै टहरामा पान र चिया पसल खोलेका थिए । पान पसलबाट उनले राम्रो कमाउँथे । पान पसलबाट कमाएको पैसाले कोठाभाडा र खर्च मनग्ये पुग्थ्यो । त्यसवेलाका द्वन्द्व निर्देशक गोपाल भुटानी पान पसलमा आइरहन्थे । गोपालले कमलले बनाएको पान खुब मन पराउँथे । फुर्सद मिल्नासाथ गोपाल थापाथलीबाट हिँडेरै स्वयम्भू घुम्न पुग्थे र घुमिसकेपछि उनको पान पसलमा पस्थे । गोपालसँग उनी हिन्दी भाषामा बात मार्थे । गोपाल भुटानी त्यसवेलासम्म नेपाली भाषा त्यति बोल्दैनथे । दुईजना हिन्दीमै घन्टौँ गफिन्थे । ती दिन सम्झिँदै कमल भन्छन्,‘गुरु(गोपाल भुटानी)सँग खुब राम्रो दोस्ती जम्न थाल्यो ।’
२०४४ सालतिरको कुरा हो । एक दिन कमल आफ्नो पसलमा बसिरहेका थिए । गोपालले उनलाई एक दिन सोधेछन्, ‘फिल्ममा काम गर्छाै ?’ फिल्मको काम भन्नासाथ कमल हौसिए । ‘मैले एकैपटकमा हुन्छ भनेर जवाफ फर्काएँ । म पनि भारतीय फिल्म हेर्दै आएको मान्छे । फिल्ममा काम गर्न पाउँदा हुँदैन भन्ने कुरा भएन,’ कमल भन्छन्, ‘पान पसलमा बस्नुभन्दा फिल्मतिर काम गर्छु भन्ने सोच आयो । त्यसपछि गुरुको पछि लागेँ ।’
मैले आफ्नो कामलाई बढी प्राथमिकता दिएँ । स्वास्थ्यलाई ख्यालै गरिनँ । फिल्मको काम गर्ने दौरानमा टाइफाइड भयो । टाइफाइड बिग्रिएपछि मेरो आँखामा असर गर्यो । समयमै आफ्नो स्वास्थ्यको ख्याल गरेको भए एउटा आँखा गुमाउनुपर्ने थिएन । फिल्म–फिल्म भनेर लागियो ।
गोपालले कमललाई सुरुमा ‘अन्याय’ फिल्ममा काम दिए । फिल्ममा गोपाल भुटानी द्वन्द्व निर्देशक थिए । फिल्मका निर्देशक तुलसी घिमिरे थिए । कलाकारहरू विश्व बस्नेत र मीरा माधुरी थिए । गोपालले कमललाई सेट डिजाइन गर्न अह्राउँथे । गोपालकै निर्देशनमा कमलले सेट डिजाइन गर्थे । ‘मलाई फिल्ममा सेट डिजाइन के हो थाहा थिएन । तर, गुरुले जहाँ–जहाँ किला ठोक भन्नुहुन्थ्यो, त्यहाँ किला ठोक्थेँ । कहिलेकाहीँ सेटमा रङ लगाएर पोत्नुपथ्र्याे ।’ उनले विगत सम्झिए ।
‘अन्याय’ फिल्ममा काम गरेबापत कमलले दिनको ३० रुपैयाँ पारिश्रमिक पाए । त्यसपछि उनलाई फिल्मतिर नै मोह बढ्न थाल्यो । दैनिक कलाकारसँग भेट्न पाउने, पैसा पनि आउने, कमललाई फिल्म क्षेत्र रमाइलो लाग्न थाल्यो । कमल उता फिल्म लाइनमा लागेपछि पान पसल बन्द भयो ।
‘त्यो वेला साह्रै रमाइलो थियो । खानका लागि पैसा पनि नलाग्ने, घुम्न पनि पाइने । संसार त फिल्ममा पो रहेछ भन्ने लाग्यो । सुटिङ सकेपछि गुरुसँग बसिन्थ्यो । दारु तानिन्थ्यो पनि । नपिएको रातै हुँदैनथ्यो,’ कमल सम्झिन्छन्, ‘त्यसपछि म गुरुसँगै थापाथलीमा बस्न थालेँ ।’
सुरुवातको समयमा कमल आर्ट डिजाइनको रूपमा फिल्ममा प्रवेश गरे । तर, पछि उनलाई यसमा भन्दा वेशभूषामा काम गर्न मन लाग्यो । ‘मुक्तिदाता’ फिल्मबाट उनले वेशभूषा डिजाइनरको रूपमा काम थाले । एउटा घटनाका कारण उनको बढुवा भयो । गोपालको खास वेशभूषा डिजाइनर जुँगे भट्टराई थिए । भट्टराई पिउन माहिर । पिएपछि सम्हालिन नसक्ने बानीका कारण उनको काम खोसियो । त्यो काम पाए कमलले । ‘मुक्तिदाता’ फिल्ममा राजेश हमाल प्रमुख पात्रका रूपमा थिए । राजेशको पहिरन कमलले नै डिजाइन गरे । त्यसपछि एकपछि अर्काे फिल्ममा वेशभूषा डिजाइनरको रूपमा उनले अवसर पाइरहे ।
कमलले राजेश हमालसहित अघिल्लो पुस्ताका प्रायः सबै कलाकारका पहिरन डिजाइन गरेका छन् । पहिरन डिजाइनका लागि उनले औपचारिक शिक्षा र तालिम भने लिएका छैनन् । तर, उनी कुनै औपचारिक शिक्षाविना नै काम गर्न पोख्त भए । कमल भन्छन्, ‘फेसन डिजाइनर पढेकाहरू पनि मसँग सिक्न आउँछन् ।
कमलले ‘अविरल बग्छ इन्द्रवाती’, ‘देवी’, ‘करुणा’, ‘कसलाई आफ्नो भनुँ’जस्ता टेलिसिरियलमा पहिरन डिजाइन गरेँ । ‘काममै रमाउन थालेँ । फिल्म नै जीवनको सबथोक हो भन्ने लाग्न लाग्यो,’ उनी भन्छन् । २०५८ सालतिरकै कुरा हो । त्यतिवेला ‘मुक्तिदाता’ फिल्मको सुटिङ बालाजुको कर्मतारा गलैँचा फ्याक्ट्रीमा भइरहेको थियो । फिल्ममा गोपाल भुटानीको निर्देशनमा कमलले सेट डिजाइन गरे । त्यही दौरान उनको दुवै आँखा पाकेर सुन्निए । तर, उनलाई फिल्मको सुटिङ सक्ने ध्याउन्न मात्रै भयो । चिसोपानीले छ्याप्दै दिउँसो सुटिङमा काम गरिरहे । धेरै दिनको सुटिङ सकिएपछि मात्रै कमल आँखा उपचार गर्न गए । एउटा अस्पतालले मात्रै उनको आँखाको विमार पत्ता लगाउन सकेन । काठमाडौंका धेरै आँखा हस्पिटलमा उपचारका लागि दौडिए । तर, उनको आँखा ठिक भएन । अन्तिममा बिपी कोइराला नेत्र अस्पतालले उनको एउटा आँखाको ज्योति गुमेको भनिदियो ।
‘मलाई त्यसवेला ज्वरो पनि आइरहेको रहेछ । सुटिङमा आँखा सुन्निरहेको थियो । तर, आँखाको सामान्य रोग होला भन्ने सोचेँ । पछि त्यसले ठुलो रूपमा लियो । मेरो दाहिने आँखै गुम्यो,’ उनी विगत स्मरण गर्दै भन्छन्, ‘मैले आफ्नो कामलाई बढी प्राथमिकता दिएँ । स्वास्थ्यलाई ख्यालै गरिनँ । फिल्मको काम गर्ने दौरानमा टाइफाइड भयो । टाइफाइड बिग्रिएपछि मेरो आँखामा असर गर्यो । समयमै आफ्नो स्वास्थ्यको ख्याल गरेको भए एउटा आँखा गुमाउनुपर्ने थिएन । फिल्म फिल्म भनेर लागियो ।’
कमलले जीवनमा आँखा मात्रै गुमाएनन्, क्यान्सरजस्तो भयानक रोगको पनि सामना गर्नुपर्यो । २०७५ सालमा उनलाई घाँटीको क्यान्सर भयो । बल्लबल्ल क्यान्सरलाई जिते । अहिले उनी कस्सिएर बोल्न सक्दैनन् । कस्सिएर बोल्दा आवाज आउँदैन । उनी लामो समय बोलिरहन पनि सक्दैनन् । ‘क्यान्सर जितेर बाँच्न सफल भएँ । तर, वेलावेलामा स्वर रोकिन्छ । धेरै बोलिरहनु पनि हुँदैन । ब्याट्री सकिएको रेडियोजस्तो भएको छु । ब्याट्री सकिएपछि रेडियो बज्दैन, फेरि चार्ज गरेपछि बज्छ, हो त्यस्तै हुन्छ मेरो बोली पनि । पहिलेभन्दा अहिले अलिक सुधार भएको छ, उनी भन्छ्न, ‘उपचार गर्दागर्दै सम्पत्ति सकियो ।’
अहिले कमलसँग अस्पतालमा स्वास्थ्य जाँच गर्ने पैसासमेत हुँदैन । भन्छन्, ‘मेरा लागि फिल्ममा काम गर्नु फलामको चिउरा चपाएसरह भयो । फिल्ममा काम गर्दैै पूरै जीवन बिताएँ । बदलामा सम्पत्ति र स्वास्थ्य गुमाएँ । अहिले त फिल्ममा काम पनि पाउन छाडेँ । अस्पताल जान पनि साथीभाइसँग सहयोग माग्नुपर्छ ।’
कमल अहिले पुतलीसडकस्थित डेरामा बस्छन् । फिल्ममा काम गरेर पाउनुभन्दा धेरै गुमाएपछि कमल अहिले आफूलाई बत्तीमा झुम्मिएको पुतलीसँग तुलना गर्छन् । भन्छन्, ‘उज्यालो देखेर पुतलीहरू बत्तीमा झुमिन्छन् र पखेटा चुँडिएर भुइँमा खस्छन् । मेरो जिन्दगी पनि त्यस्तै भयो ।’