• वि.सं २०८१ चैत ३ आइतबार
  • Sunday, 16 March, 2025
नयाँ पत्रिका
२०८१ फाल्गुण १० शनिबार ०७:२०:००
समाज

आत्मसन्तुष्टिका लागि चित्र बनाउँछु

२०८१ फाल्गुण १० शनिबार ०७:२०:००
नयाँ पत्रिका

रङ र कुचीसँग क्यानभासमा खेल्दै दुई दशक बितेको पत्तै भएन् । कुनै पनि वातावरण र परिवेशबाट प्रभावित हुनासाथ चित्र बनाउँछु । मेरा चित्र झट्ट हेर्दा बुझिँदैनन् । यी चित्रले सिम्बोलिक सन्देश बोकेका हुन्छन् । हरेक चित्र (पेन्टिङ)को विषयवस्तु फरक हुन्छन् । विशेष गरी, मानवीय भावनालाई बाहिर ल्याउने कोसिस हुन्छ । कलामार्फत मानव जीवनको अस्तित्वको प्रश्न गर्छु । मेरा सबैजसो कलाले मानवीय भावना र संवेदनालाई बाहिर ल्याउँछ ।


मलाई सामाजिक र राजनीतिक घटनाक्रमले पनि चित्र बनाउन प्रेरित गर्छ । त्यसैले राजनीतिक परिवेश र समाजमा व्याप्त असमानतामाथि थुप्रै चित्र बनाएको छु । मेरा लागि चित्र केवल सौन्दर्य होइन, सन्देश बोकेका हुन्छन् । यहीकारण, मनमा लागेका विषयलाई चित्रमा ‘मेटाफोरिकल्ली’ देखाउँछु । प्रकृतिका विभिन्न पाटालाई समेट्न खोज्छु । चित्रले प्राकृतिक संसार र मानव अस्तित्वको संघर्षलाई उजागर गरेको हुन्छु ।


मानिसले जीवनमा तमाम समस्या झेल्दै अघि बढ्नुपर्छ । वनविनाश, वन्यजन्तु विनाशजस्ता घटना दिनानुदिन बढ्दै गइरहेका छन् । मानिसकै कारण मानिस जिउने एउटा भरपर्दो आधार भत्किने खतरा बढ्दै गएको छ । विकासले विनाश निम्त्याउँछ भनेझैँ प्रकृतिको अस्तित्व पनि नरहने संकेत देखिँदै छ । त्यसकारण म प्रकृति र मानव अस्तित्व चित्रमार्फत खोज्छु । 


मेरा चित्रमा मानव जीवनका विभिन्न आयामसमेत हुने गरेका छन् । यिनै चित्रले भावना र विचार अभिव्यक्त गर्न सहयोग गरेका छन् । रङको आफ्नै अर्थ र भाव हुन्छ । त्यसले मनलाई ऊर्जाशील र रचनात्मक बनाउँछ । चित्र बनाउँदा मलाई स्वतन्त्रताको प्रत्याभूति दिलाउँछ । चित्र व्यावसायिकताका लागि भन्दा पनि आत्मसन्तुष्टिका लागि बनाउँछु ।