
माघ ०६७ सालको कुरा हो । बैतडीको उत्तरवर्ती रुद्रेश्वर पङ्सेरा (हाल : डिलासैनी गाउँपालिका–३)का नरेश दमाईं र भागरथी ओडले प्रेम विवाह गर्दा गाउँबाट लखेटिनुपर्यो । तल्लो जातको केटासँग विवाह गरेको भन्दै केटी पक्षको दबाबका कारण उनीहरू गाउँ छोड्न बाध्य भएका थिए ।
राष्ट्रिय दलित आयोगको ‘दलित जातीय अनुसूची विवरण’अनुसार ओड र दमाईं थर पहाडी मूलका दलितको एकै श्रेणीका थर हुन् । जसअनुसार गन्धर्व (गाइने), परियार (दमाईं, दर्जी, सुचीकार, नगर्ची, ढोली, हुड्के), बादी विश्वकर्मा (कामी, लोहार, सुनार, ओड, चुनारा, पार्की, टमटा), मिजार (सार्की, चर्मकार, भूल), पोडे (देउला, पूजारी, जलारी) च्यामे (कुचीकार, च्याम्खल) एकै श्रेणीमा पर्छन् । तर, दमाईं (परियार)को छोराले ओड (विश्वकर्मा) की छोरीसँग विवाह गर्दा गाउँनिकाला हुनुपर्यो ।
दलित समुदायभित्रकै ओड थरका (केटी पक्ष)ले आफूहरू ठुलो भन्दै दमाईं थरका (केटा पक्ष)लाई कुटपिट गरेपछि पूरै परिवार गाउँ छोड्न बाध्य भएको थियो । यो घटनापछि दलित समुदायबिच पनि विभेद हुँदो रहेछ भन्ने पहिलोपटक थाहा पाएको थिएँ । न्यायका लागि त्यसवेला नरेश दमाईं, भागरथी र उनकी आमा महिनौँसम्म जिल्ला सदरमुकाम बस्नुपरेको थियो ।
१५ वर्षअघिको र अहिलेको समाचारको प्रकृति उस्तै थियो । उतिवेला सूचना प्रविधिको वर्चस्व कम थियो । त्यो समाचारको धेरै चर्चा पाएन ।
सुरुमा प्रहरीले उजुरी दर्ता गर्न मानेको थिएन । दलित अधिकारकर्मी र सञ्चार माध्यमको दबाबपछि तत्कालीन प्रहरी प्रमुख शुकदेव न्यौपानेले उजुरी दर्ता गर्दै छानबिन अघि बढाएका थिए । प्रमुख जिल्ला अधिकारी मुरारीप्रसाद शर्माले विस्थापितका लागि आर्थिक संकलन गरेर सदरमुकाममै खाने–बस्ने व्यवस्था मिलाएका थिए । विस्थापित दम्पतीले त्यहीबिचमा शिशुलाई जन्म दिए । न्यायका लागि उनीहरूको सदरमुकाम बसाइ महिनौँ लम्बियो ।
लामो समयपछि उनीहरूको झगडा मिलापत्रमा टुंगियो । अंग्रेजी विषयबाट स्नातक नरेश अहिले गाउँमै कपडा सिलाउने काम गर्छन् । नरेशकी श्रीमती भागरथी घरको व्यवस्थापन मिलाउँछिन् । उनले १५ वर्षअघि सत्यप्रकाश माविमा पढ्दै गर्दा प्रेम विवाह गरेकी थिइन् । विस्थापित भएकै वेला जन्मिएकी छोरी अस्मिता अहिले कक्षा ९ मा अध्ययनरत छिन् ।
यसबिचमा चमेलिया नदी उस्तै गरी सलल बगिरहेको छ । तर, यो परिवार भने चमेलियाजस्तो बग्न सकको छैन । दुःखका अनेक पहाडले थिचिरहेकै छ । यस अवधिमा जातीय विभेदसम्बन्धी कैयौँ कार्यक्रम आयोजना भए । दलित अधिकारवादी संघसंस्था, दलित आयोग, राजनीतिक दलहरूले निरन्तर आवाज उठाइरहे । नयाँ संविधान बन्ने क्रममा संसदीय समितिले जिल्लामै आएर सुझाव संकलनसमेत गर्यो । कहिले जातीय विभेद अन्त्यका लागि सहभोज गरिए, कहिले आन्दोलन उर्लिए, गोष्ठी, अन्तत्र्रिmया, छलफल, ज्ञापनपत्र आदि, इत्यादि गतिविधि त कति भए कति । यस्ता सबै गतिविधिका खबर सञ्चार माध्यमा आउन छाडेका पनि छैनन् ।
यसै क्रममा बैतडीमा दलित आन्दोलनको अगुवाइ गर्ने पुरनसिंह दयालले भारतको प्रतिष्ठित ‘डा. भीमराव अम्बेडकर सेवाश्री अवार्ड’समेत पाए । भारतका संविधान निर्माता डा. अम्बेडकरको नामबाट स्थापित सेवाश्री अवार्ड दयालले ११ डिसेम्बर २०१० मा प्राप्त गरेका हुन् । जातीय विभेदको क्षेत्रमा विशिष्ट योगदान गर्ने व्यक्तिलाई भारत सरकारले यो अवार्डबाट सम्मान गर्ने गर्छ । अर्की अभियन्ता सरस्वती नेपालीले पाँच लाख राशीको पुरस्कार ‘दर्नाल अवार्ड’ र अमेरिकी डिपार्टमेन्ट अफ स्टेटको ‘ग्लोबल एन्टी रेसिजम च्याम्पियन्स अवार्ड, २०२३’ समेत प्राप्त गरेकी छिन् ।
बितेको १५ वर्षमा जातीय विभेदको क्षेत्रमा थुप्रै परिवर्तन भए । देशले नयाँ संविधान पायो । संविधानमै दलित समुदायका थुप्रै अधिकारको ग्यारेन्टी गरियो । नेपालको संविधान ०७२ को धारा २४ ले जातकै आधारमा भेदभाव गर्नु दण्डनीय हुने व्यवस्था गरेको छ । यस्तै धारा ४४ ले दलित समुदायलाई विशेष अधिकार प्रदान गर्ने ग्यारेन्टी गरेको छ । दलित समुदायका लागि नयाँ कानुन बनेका छन् । तीन तहका सरकारमा दलित समुदायका व्यक्तिहरूको प्रतिनिधित्व भएको छ । जातीय विभेद र दलित अधिकारको क्षेत्रमा अगुवाइ गर्नेहरूका जीवन परिवर्तन भए । यो क्षेत्रमा काम गर्ने संघसंस्थाले विभेदको ‘स्केल डाउन’ भएको दाबी गर्दै खुसियाली मनाए ।
जातीय विभेदसम्बन्धी पहिलो समाचार लेखेको १५ वर्षपछि त्यस्तै प्रकृतिको अर्को खबर सुन्नमा आयो । बझाङ र डोटीसँग सिमाना जोडिएको जिल्लाको पूर्वी क्षेत्रमा पर्ने सिगास गाउँपालिका–१ अङ्डेगाडाका शिक्षक प्रकाश दमाईंले आमाको शव बोक्ने मलामी पाएनन् । गत शनिबार साँझ अबेर प्राप्त उक्त खबर प्राविधिक कारणवश आफैँले सम्प्रेषण गर्न सकिनँ । सहकर्मी मिलन विश्वकर्माले राति अबेरसम्म मिहिनेत गरेर समाचार तयार पारे, ‘मलामी नपाउँदा दिनभर आमाको शव कुरेर बसे बैतडी सिगासका प्रकाश दमाईं ।’ गाउँका गैरदलित मात्र होइन, दलित समुदायकै अरू जातका मानिसले पनि शव उठाउन सहयोग गरेनन् ।
१५ वर्षअघिको समाचार र यो समाचारको प्रकृति उस्तै थियो । उतिवेला सूचना प्रविधिको वर्चस्व कम थियो । त्यो समाचारको धेरै चर्चा पाएन । अहिले समाजिक सञ्जालको बलियो उपस्थिति छ । सिगासको यो पीडायुक्त समाचारले सामाजिक सञ्जालमा सनसनी मच्चायो । अहिलेको सूचना प्रविधि र एआईको युगमा पनि जातीय अन्धविश्वासमा जकडिएको समाजले मानवीय संवेदना भुलिरहेको कुरूप दृश्य छताछुल्ल भएको छ । देश–विदेशमा रहेका नेपाली समुदायमध्ये कतिपयले प्रकाशको परिवारप्रति सहानुभूति दर्साए, कतिले स्थानीय समुदायमाथि गाली बर्साए । यो खबरले जातीय विभेदको मुद्दामा हलचल मात्रै ल्याएन, नयाँ बहससमेत सुरु गरेको छ ।
नयाँ पत्रिकाको समाचार पढेर सामाजिक सञ्जालमा विभिन्न खालका प्रतिक्रिया आएका छन् । त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गर्ने बैतडीका भुवन बोहराले ‘सभ्य समाजलाई विचलित पार्ने समाचार’ भन्दै टिप्पणी गरेका छन् । अढाइ दशकदेखि जातीय विभेदको क्षेत्रमा कार्यरत सरस्वती नेपालीले दलित समुदायले मृत्युपछि पनि विभेद भोग्नुपरेको र समाजमा मानवीय संवेदना हराएको बताएकी छिन् । दलित–दलित समुदायभित्र पनि विभेद रहेको कुरामा धेरैले आश्चर्य व्यक्त गर्दै खेदजनक घटना भनेका छन् । स्थानीयमा मानवीयता नभएको भन्दै कटाक्ष र अमार्यादित टिप्पणी गर्ने पनि अत्यधिक छन् ।
जुन बस्तीमा प्रकाशले आमाको शव बोक्ने मलामी पाएनन्, त्यहीँ दुई वर्षअघिको एउटा दृश्य यतिखेर उल्लेख गर्न मन लाग्यो । दमाईं थरका स्थानीय एक व्यक्तिले घर निर्माण गरिरहेका थिए । विश्वकर्मा थरका व्यक्ति दक्ष कामदारका रूपमा घर निर्माणमा लागेका थिए । तर, उनी जसको घरमा ‘कामदार’को रूपमा खटिएका थिए, आफूलाई ‘उच्च’ जात भन्दै उनकै घरमा पकाएको खान खान तयार हुँदैनथे । उनी सधैँ खाना पकाउन थोरै चामल, अलिकति दाल, दुई ढिँडी खुर्सानी र केही मरमसाला ल्याएर गैरदलितको घरमा दिएर पकाइमाग्थे । पाकेको खाना टाढैबाट थाप्थे र रुखको छायामा बसेर खान्थे । आफूले खाएको थाल आफैँ धोएर घाममा सुकाउँथे । उनी त्यहाँ आफँै ‘विभेद’ गरिरहेका थिए भने ‘विभेद’ सहर्ष स्वीकार गरिरहेका पनि थिए । कुनै दन्त्य कथाजस्तो लाग्ने यो दृश्य उनै प्रकाशको छिमेकमा भएको थियो । त्यसको ठ्याक्कै दुई वर्षमा प्रकाशकी आमा परलोक भइन् । उनले करिब ७० परिवारको बसोवास भएको यस वस्तीमा कोही मलामी पाइनन् ।
प्रकाश पेसाले शिक्षक हुन् । उनले सबै जातजातिका बालबालिकालाई समान तरिकाले ज्ञान बाँड्छन् । त्यही समाजका बालबालिकाको भविष्य सुनौलो बनाउन लागिपरेका प्रकाशकी आमाले संसार त्यग्दा भने घाटसम्म गइदिने मान्छे भेट्न मुस्किल पर्यो । उनका सबैजसो आफन्त कन्चनपुर बस्थे । कोही पाटन नगरपालिका–४ मा बस्छन् । दोस्रो दिन दुवै ठाउँबाट आफन्त आएपछि प्रकाशकी आमाको शव उठ्यो ।
ट्र्याक्टरमा राखेर पाटन–६, सुर्नयागाडमा रहेको तिपडा घाट पुर्याउँदा केबल दुईजना मात्र गैरदलित समुदायका युवा थिए । बाँकी १६ जना उनकै आफन्त थिए । घरमा आएर सहानुभूति दिने, आर्थिक सहायता गर्ने, रातभरि शव कुरेर बस्नेमा गैरदलित समुदायबाट पनि थिए । तर, समस्या कहाँ देखियो भने शवलाई छुनचाहिँ कोही तयार भएनन् । दलित समुदायमाथि गैरदलितबाट हुने विभेद एकातिर छ । तर, दलित–दलितभित्रैको विभेद आधुनिक समाजलाई झन् लज्जित बनाउने खालको छ ।
१५ वर्षको फरकमा राष्ट्रिय सञ्चार माध्यममा सम्प्रेषण भएका दुई समाचारले दलित–दलितभित्रै विभेदको गहिरो खाडल रहेको प्रस्ट देखाउँछ । एउटै समुदायमा एकले अर्कालाई ‘सानो’ वा ‘ठुलो’ देख्ने परिपाटी जबसम्म अन्त्य हुँदैन, तबसम्म जतिसुकै विभेदमुक्त समाज परिकल्पना गरे पनि साकार हुन सम्भव छैन । रुढीवादी चिन्तनलाई राजनीतिक परिवर्तन र ऐनकानुनले मात्र नछेक्दो रहेछ, यसका लागि मानिसको मनभित्रैबाट ‘ठुलो–सानो’ जात देख्ने दृष्टिभ्रम हट्नु जरुरी छ ।