• वि.सं २०८१ चैत ३ आइतबार
  • Sunday, 16 March, 2025
तस्बिर : ज्ञानेन्द्र कार्की
शिवहरि घिमिरे
२०८१ फाल्गुण १० शनिबार ०७:४३:००
समाज

शैलुङका सय थुम्का र मिनी ग्रेटवाल

शैलुङ जानेहरूको बसोवास र खानपान गर्ने ठाउँ हो कालापानी । यहाँ पुग्दा हामीलाई पारिबाट गणेश हिमाल, लाङटाङ, गौरीशंकर, धौलागिरि र नुम्बुर हिमालले हेरिरहेका थिए । हामीले पनि हिमालहरू मुस्कुराइरहेको हेर्‍याैं ।

२०८१ फाल्गुण १० शनिबार ०७:४३:००
शिवहरि घिमिरे

 

शैलुङ जाने धेरै अघिदेखिको रहर । त्यही रहरबिच २४ माघको बिहान १० बजे काठमाडौंबाट शैलुङसम्मको हाम्रो यात्रा तय भयो । साढे दुई घण्टामा हामी सिन्धुपाल्चोकको मुडे बजार आइपुग्यौँ । मुडेबाट हामी चढेको बस जब हर्न बजाउँदै अघि बढ्दै थियो, तब अग्ला–अग्ला हिमाल र डाडाँपाखा देखिन थाले । यस्तो लाग्थ्यो, ती सेताम्मे हिमालले हामीलाई नै स्वागत गरिरहेका छन् । शैलुङसँग दूरी जति घटाउँदै गयौँ, सौन्दर्य उति नै थपिँदै थियो । पाँच घण्टाको बसयात्रापछि ३५ जनाको हाम्रो समूह करिब ४ बजे शैलुङको फेदीमा रहेको कालापानी बजार पुग्यो ।


शैलुङ जानेहरूको बसोवास र खानपान गर्ने ठाउँ हो कालापानी । यहाँ पुग्दा हामीलाई पारिबाट गणेश हिमाल, लाङटाङ, गौरीशंकर, धौलागिरि र नुम्बुर हिमालले हेरिरहेका थिए । हामीले पनि हिमाल मुस्कुराइरहेको हे¥यौँ । भिडभाड र अस्तव्यस्त सहरबाट त्यहाँ पुग्दा मन फुरुंग थियो । हिमालका दृश्यले यात्राका दुःख क्षणभरमै हराए । मन शान्त र हल्का भयो ।


साँझ पर्न केही समय बाँकी रहेकाले हामी त्यस दिन उज्यालैमा बजारको केहीमाथि रहेको ग्रेटवाल गयौँ । कालापानी बजारबाट करिब पाँच सय मिटरको उचाइमा निर्माण भएको रहेछ मिनी ग्रेटवाल । झट्ट हेर्दा चीनकै ग्रेटवालको झल्को आउने गरी निर्माण गरिएको रहेछ । त्यो पेटीसहितको पर्खालले हामीलाई मोहित पार्‍यो । पर्खाल र त्यहाँ नजिक रहेको डाँडाबाट हिमाल प्रस्ट देखिने रहेछ । हिमालले पठाइरहेको शीतल हावा खाँदै हामीले फोटो र भिडियो खिच्यौँ । त्यहाँ थुप्रै मानिसको भिड थियो । चिसो हावा चलेकाले कोही जाडो मान्दै थिए भने कोही जाडोको पर्वाह नगरी हिमाललाई पृष्ठभूमिमा राखेर फोटो खिच्न मस्त देखिन्थे । त्यस दिन हिमाल हेर्दाहेर्दै अँध्यारो भइहाल्यो । घामका किरणले शैलुङका डाँडालाई बिदाइ गरे । त्यस दिन हिमाललाई हेरेर नथाकेका आँखालाई भोलिपल्ट पुनः हिमाल देखाउने वाचा गर्दै कालापानी बजार ओर्लियाैँ । 


भोलिपल्ट २५ माघ बिहान ५ः५६ बजे हामी बसेको स्थान कालापानीबाटै सूर्योदय देखियो । गौरीशंकर हिमाललाई चुम्दै गरेको घामको पहिलो झुल्को देखियो । अझ हिमालमा ठोक्किएर आउने घामको किरणले त्यहाँ बिछट्टै सौन्दर्य थपिरहेको थियो । खुला आँखाले हिमाल र घामलाई नियाल्दाको आनन्द शब्दमा वर्णन गर्न कहाँ सकिएला र ? 


बिहानको कलिलो घाम ताप्दै हामीले अब त्यही ग्रेटवाल हुँदै शैलुङतर्फको यात्रा तय गर्‍यौँ । क्यामेरा, झोला, खानेकुरा र पानी बोकेर हाम्रा पाइला सुन्दर शैलुङ डाँडातर्फ लागे । कालापानीबाट शैलुङ पुग्ने बाटो पूरै उकालो छ, तर त्यहाँको सौन्दर्यले उकालो चढ्दाको थकान त्यहीँ बिर्साइदिन्छ । बाटैभरि देखिने वरिपरिका सय थुम्का र प्रकृतिको अनुपम सौन्दर्य हेर्दै एक घण्टाको यात्रापछि शैलुङको सबैभन्दा अग्लो स्थानमा पुग्यौँ । त्यहाँ पुग्दा बिहानको ९:३० बजेको थियो ।जब हामी शैलुङका डाँडामध्ये सबैभन्दा अग्लो डाँडा पुग्यौँ, त्यहाँबाट वरिपरि सबै छर्लङ्ग देखिन्थ्यो । अझ डाँडामा भएको भ्युटावरबाट पारिपट्टि रहेका हिमाल नै होचा देखिन्थे । 

शैलुङ जानेहरूको बसोवास र खानपान गर्ने ठाउँ हो कालापानी । यहाँ पुग्दा हामीलाई पारिबाट गणेश हिमाल, लाङटाङ, गौरीशंकर, धौलागिरि र नुम्बुर हिमालले हेरिरहेका थिए । हामीले पनि हिमालहरू मुस्कुराइरहेको हेर्‍याैँ ।


शैलुङको माथिल्लो भागमा पुग्दा तीनवटा ठुला ढुंगाा देखिन्छन् । ती ढुंगाको आकृति बाघ, गाई र गँगटोसँग मिल्दो छ । यहाँ पुग्ने पर्यटकले ढुंगालाई पुजेर फर्किन्छन् । कालापानीदेखि शैलुङको शिरमा पुग्दासम्म ठाउँठाउँमा बौद्ध मन्त्र लेखिएका धज्र्यू र लुङदार टाँगिएका छन् । जसले शैलुङलाई सुन्दर बनाएका छन् । त्यस्तै शैलुङमा हिन्दुहरूका आस्थाका देवता शैलुङेश्वर महादेव र बौद्ध धर्मावलम्बीका लागि बुद्धका पाइला र चैत्य पनि छन् । त्यहाँ बत्ती बाल्दा काठमाडौंको बौद्धनाथ र स्वयम्भूनाथमा जत्तिकै पुण्य मिल्ने विश्वास छ । त्यस्तै शैलुङ डाँडामा उक्लिने बाटोमै एउटा मूर्तिसहितको महादेव मन्दिर र गुफा पनि छ । बाटोमा भएका यस्ता ऐतिहासिक र धार्मिक ठाउँले शैलुङ यात्रामा थकान महसुस हुँदैन ।


यात्राका क्रममा भेटिएका स्थानीय पाका तथा जानकारहरूसँग शैलुङबारे सोधेका थियौँ । कालापानीका ७६ वर्षीय दोर्जे शेर्पाका अनुसार अहिले यहाँको मुख्य आकर्षण नवनिर्मित ‘मिनी ग्रेटवाल’ बनेको छ । ‘यकिन तथ्यांक नभए पनि शैलुङ घुम्न आउने धेरै हुन्छन्, प्राकृतिक रूपमै यो ठाउँ सजिएका कारण अब कृत्रिम संरचना बन्नुहुँदैन । पहिले–पहिले त शैलुङ क्षेत्रमा मान्छेसमेत बस्न हुँदैन भन्ने मान्यता थियो । अहिले डाँडामा लामा बस्छन् र राम्रो पनि भएको छ ।’ यहाँ शेर्पा र लामाको बढी बसोवास छ । उनका अनुसार २०–३० वर्षअघिसम्म शैलुङ आउने बाटो थिएन । सबैतिर जंगलैजंगल र चौँरीगोठ थिए । अहिले सडक सञ्जालले छोएको छ भने चाँैरीगोठ त देख्नसमेत मुस्किल छ । 


पर्यटक तान्दै मिनी ग्रेटवाल
शैलुङ पुग्नेहरू ‘मिनी ग्रेटवाल’मा नपुग्ने कमै हुन्छन् । शैलुङ गाउँपालिकाका अनुसार ग्रेटवालमा दैनिक पाँच सयभन्दा बढी पर्यटक पुग्छन् । यहाँ पुगेको कुनै शुल्क तिर्नुपर्दैन । मिनी ग्रेटवालको निर्माण तीन वर्षअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र शैलुङ गाउँपालिकाको लगानीमा सुरु भएको थियो । यो पर्खाल कालापानीदेखि डाँफेढुंगासम्म निर्माण गर्ने योजना भए पनि केही स्थानमा अझै काम बाँकी रहेको गाउँपालिकाले जनाएको छ ।

 

ग्रेटवाल निर्माणमा केन्द्र सरकारले ७० प्रतिशत र शैलुङ गाउँपालिकाको ३० प्रतिशत बजेट विनियोजन गरेका थिए । हालसम्म चार करोड ९४ लाख १५ रुपैयाँ खर्च भइसकेको छ । ‘ग्रेटवाल हेर्न अब चाइना जानुपर्दैन, अब शैलुङ आए पुग्छ, अहिले यही पर्खाल तथा ग्रेटवाल हेर्न आउने पर्यटकको भिडभाड छ,’ गाउँपालिका–८ का वडाध्यक्ष घनबहादुर तामाङ बताउँछन् । उनका अनुसार शैलुङ क्षेत्रमा परापूर्व कालदेखि नै तामाङ समुदाय बसोवास गर्दै आइरहेका छन् । त्यसकारण यो ठाउँको नाम पनि तामाङ भाषाको ‘शै’ बाट सय र ‘लुङ’को अर्थ थुम्का हुन्छ । यसबाट नै शैलुङ बनेको वडाध्यक्ष तामाङ बताउँछन् । उनका अनुसार यहाँ छोर्तेन स्तूपा, महादेवस्थान, गाईढुंगा, १२ वर्षमा गोदावरी फुल्ने ठाउँ, विभिन्न महत्वका शिला र ग्रन्थ भेटिन्छन् । शैलुङको अर्को सौन्दर्य भनेको गुराँस हो । यहाँका पाखामा हिउँदयाममा सेता र राता गुराँस फुल्ने गर्छन् ।


पर्यटकबाट के चाहन्छ शैलुङ ?
शैलुङलाई मानिसले कुनै लगानी गर्नुपर्दैन । बस् ! फोहोर नगरिदिए पुग्छ । शैलुङका पाखापखेरा नउधिनिदिए पुग्छ । अनेकौँ हिमाल हाँसेको हेर्दै माथि–माथिसम्म डाँडामा पुगेर हेरिदिए पुग्छ । मनै लोभ्याउने अनेकन् डाँडा घुमेर फोटो खिचिदिए पुग्छ । चौरी चरन र थरीथरीका लालीगुराँस हेरिदिए पुग्छ । पारिपट्टि देखिएका सेता अन्नपूर्ण, मनास्लु, लमजुङदेखि गणेश हिमाल, लाङटाङ, गौरीशंकर, धौलागिरि र नुम्बुर हिमाल हेरिदिए पुग्छ । हामीले यति गर्‍यौँ भने शैलुङले सधैँभरि सौन्दर्य दिनेछ । सहरीकरणले जर्जर भएको हाम्रो मनलाई भुलाउनेछ । साँच्चै शैलुङले हामीलाई जीवनभर नभुल्ने शीतलता, स्नेह दिइरहनेछ । 


डाँडामै किन चाहियो भ्युटावर ? 
शैलुङको प्राकृतिक बनावट र सौन्दर्यलाई कुनै पनि कृत्रिमताले जित्न सक्दैन । शैलुङ आफैँ अग्लो स्थानमा छ । यो प्राकृतिक रूपमै सिर्जित भ्यु–टावर हो । कृत्रिम रूपमा यहाँ जति अग्ला र अनेकाैँ शैलीले सिँगारपटार गरे पनि फिक्का हुनेछ । तर, पछिल्लो समय व्यापार व्यवसाय र संरक्षणको नाममा केही कंक्रिटका संरचना बनेका छन् । शैलुङ शिर उधिनेर चार वर्षअघि यहाँ भ्युटावर बनाइएको थियो, जसले शैलुङलाई कुरूप बनाएको पर्यटक र स्थानीयवासी बताउँछन् । शैलुङको माथिल्लो भागमै अन्य कंक्रिटका संरचनासमेत बनेका छन् । शिव मन्दिर, गुम्बासमेत बन्दै छन् । प्राकृतिक सौन्दर्य र सम्भावनाले भरिएको यो ठाउँमा यसैगरी संरचना थप्दै जाने हो भने भोलिका दिनमा शैलुङको अस्तित्व नै हराउने हो कि भनेर स्थानीयवासी चिन्तित बनेका छन् । ‘यो आफैँमा प्राकृतिक भ्युटावर हो, यहाँ अन्य संरचना बनाउनु भनेको यसको महत्व कम गर्नु हो,’ शैलुङ कालापानीका रमेश तामाङले सुनाए । 


स्थानीय परिकार नपाउँदा पर्यटक खिन्न
शैलुङ पुग्ने अधिकांश पर्यटकले खानपान र बसोवास गर्ने ठाउँ हो कालापानी । यहाँबाट शैलुङ डाँडा करिब तीन किमि माथि पर्छ । कालापानीभन्दा माथिपट्टि होटेल र वासको व्यवस्था छैन । त्यसैले धेरै मानिस नजिक र सहज हुने भएपछि कालापानीमै बस्न रुचाउँछन् । तर, यहाँ पनि बसोवास र खानपान सहज छैन । पर्याप्त होटेल रेस्टुरेन्ट छैनन् भने भएका होटेल रेस्टुरेन्टमा पनि आतिथ्य र सम्मानपूर्वक वास पाउन मुस्किल पर्छ ।


स्थानीयले नै होटेल खोलेकाले पर्यटकलाई कस्तो व्यवहार गर्ने भनेर थाहा नभएको हुन सक्छ । तर, राजधानी तथा अन्य स्थानबाट शैलुङको सौन्दर्य नियाल्न पुगेका पर्यटकलाई होटेलले आतिथ्य दिन नसक्नु उनीहरूको कमजोरी हो । अर्को कुरा यसले उनीहरूको व्यवसायमा समेत धक्का पर्न सक्छ । त्यहाँ पुग्नेमध्ये अधिकांशले प्राकृतिक विषयमाथि प्रश्न उठाउँदैनन् । तर, बसोवास र खानपानमा भने प्रश्न उठाउने गर्छन् । होटेलहरूले राम्रो व्यवहार नगर्ने भएपछि कतिपय पर्यटक बिहान गएर बेलुकी नै फर्किने गरेका छन् । कतिपय पर्यटक बाध्य भएर यहाँ बस्छन् पनि । 


बाटोभरि जंकफुड  : खोइ स्थानीय परिकार ? 
कालापानीदेखि शैलुङ उक्लिँदै गर्दा अलि चिसो हुन्छ । तर, छिटो–छिटो पाइला सार्ने हो भने खलखल पसिना आउँछ । यो मौसममा शैलुङ घुम्न जाँदा पानी र आवश्यक केही खानेकुरा बोकेर जाँदा उचित हुन्छ । कालापानीदेखि माथि स्थानीय परिकार भेट्न मुस्किल हुन्छ । भोक मेटाउने विकल्प जंकफुड मात्रै बन्छ । शैलुङ चढ्ने क्रममा ठाउँ–ठाउँमा जंकफुट पाइने दोकान भेटिए पनि पर्यटकले स्थानीय परिकार खोजिरहेको महसुस स्थानीयवासीलाई छैन । यो दृश्य देख्दा शैलुङ एक हिसाबले नरमाइलो पनि लाग्छ । स्थानीय परिकार चाख्दै उकाली चढ्न पाए कति मज्जा हुन्थ्यो होला भन्ने खुलदुली पर्यटकको मनमा खड्किरहन्छ ।


भीमसेनको तरबार प्रतिस्थापन 
शैलुङ क्षेत्रमै कुनै समय भीमसेन महाराजले तरबार छाडेर गएको किंवदन्ती छ । दोलखा भीमसेन मन्दिरका भीमसेन महाराजले प्राचीन समयमा तरबार छाडेर गएको किंवदन्तीलाई ध्यानमा राख्दै शैलुङमा भीमसेनको तरबार प्रतिस्थापन गरिएको छ । प्राचीन समयमा देवीदेवताको लडाइँ हुँदा उक्त तरबार भीमसेनले प्रयोग गरेको किंवदन्ती छ । अब शैलुङ पुगेका पर्यटकले भीमसेनको तरबारसमेत हेर्न पाउनेछन् ।