
यो वर्ष फाल्गुण कृष्ण चतुर्दशी तिथिमा परेको महाशिवरात्रि पर्व हिन्दु धर्मावलम्बीले अवलम्बन गर्ने एक प्रमुख पर्व हो । आराध्यदेव भगवान् शिवको उत्पत्ति भएको रातका नामबाट नामकरण भएको भनिएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा पुराणमा वर्णित छ । धार्मिक मान्यताअनुसार महाशिवरात्रिलाई महान् पर्वका रूपमा लिइन्छ । त्यसैले शिवरात्रिको अघिल्तिर ‘महा’ भन्ने शब्द थपेर सबभन्दा महŒवपूर्ण पर्व भन्ने गरिएको हो । यस वर्ष महाशिवरात्रि पर्व यही फागुन १४ गते परेको छ ।
महाशिवरात्रि अक्सर हिन्दुजनले प्रत्येक वर्ष मनाउने उल्लासमय पर्व हो । नेपालमा बौद्ध समुदायले पनि शिवरात्रि मनाउने चलन छ । महाशिवरात्रि भगवान् शिव सबैभन्दा खुसी हुने दिन हो भन्ने विश्वास गरिन्छ । महाशिवरात्रिलाई पर्वको राजा पनि भनिन्छ । महाशिवरात्रिमा गरिने व्रतपूजाको पालनाले भोग र मोक्ष दुवैको प्राप्ति हुन्छ भनिन्छ । महाशिवरात्रिमा ठुला–साना शिव मन्दिरमा भिडभाड लाग्छ । त्यहाँ धुमधामसँग शिवप्रति श्रद्धा व्यक्त गर्ने परम्परा छ । महाशिवरात्रि पर्वका दिन भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको नाममा मुख्यतया बेलको पात, धतुरो, दुध र पानी चढाएर, दिनभरि उपवास बसेर धुनी बाल्दै रातभरि जागरण गरी मनाइन्छ । यस दिन उपवास गरी ॐ नमः शिवाय मन्त्र जपेमा सर्वसिद्धि लाभ भई नर्कलोक जानु नपर्ने धार्मिक विश्वाससमेत रहेको छ । शिवजीको यसै दिन उत्पत्ति भएको र शिव–पार्वतीको विवाह पनि त्यसै दिन भएको विश्वास छ ।
महाशिवरात्रि अक्सर हिन्दुजनले प्रत्येक वर्ष मनाउने उल्लासमय पर्व हो । नेपालमा बौद्ध समुदायले पनि शिवरात्रि मनाउने चलन छ । महाशिवरात्रि भगवान् शिव सबैभन्दा खुसी हुने दिन हो भन्ने विश्वास गरिन्छ ।
महाशिवरात्रि भगवान् शिवको प्यारो दिन भएकाले यस दिनलाई (शिवको महान् रात) का रूपमा पनि लिइन्छ । यस दिनलाई भगवान् शिवद्वारा ताण्डव नृत्य गरिएको दिनका रूपमा पनि लिने गरिन्छ । पौराणिक कथाअनुसार समुद्र मन्थन गर्दा निस्केको कालकुट विषलाई भगवान् शिवले आफ्नो कण्ठमा राखी संसारलाई विनाश हुनबाट बचाएको कथा पनि जोडिएको छ । विष निलेर घाँटीमा राखेको हुनाले भगवान् शिवलाई निलकण्ठ पनि भनिन्छ ।
निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिंगमा दुग्धाभिषेक र शिव महिमा कीर्तन महाशिवरात्रि पूजाअर्चनाका मुख्य अंग मानिन्छन् ।देश तथा विदेशका हिन्दूले यस वर्षको १४ फागुनमा महाशिवरात्रि पर्वलाई ठुलो उत्साह, धार्मिक जोस र भक्तिसाथ मनाउँदै छन् । महाशिवरात्रिको अवसरमा केही भक्तजनले नदी र पोखरीमा पवित्र डुबल्की लगाएर (पानी सफा नभए पनि) उपवास बसेर, आगो÷धुनी जगाएर, प्रसाद लिँदै शिव भजन गाउने गर्छन् । तपस्वी र तीर्थयात्रीले शिव मन्दिरको भ्रमण गर्दा, लाखौँले, विशेषगरी काठमाडौँको पशुपतिनाथ मन्दिरमा श्रद्धा अर्पण गर्छन् । यस दिन वा चाडपर्वका दौरान आत्म–अपमान गर्ने मानिसले आत्माको शुद्धिका लागि योग र ध्यानको अभ्यास गरेर वरदान प्राप्त गर्छन् भन्ने विश्वास छ । यसले उनीहरूलाई माया (पुनर्जन्मको चक्र) बाट मुक्तिको एक कदम नजिक ल्याउँछ भन्ने विश्वास पनि गरिन्छ ।
शिवलाई हिन्दू धर्ममा पहिलो गुरु मानिन्छ, जसबाट योग परम्पराको उत्पत्ति भएको ठानिन्छ । परम्पराअनुसार महाशिवरात्रिको रातमा ग्रहहरूको विशेष स्थितिले मानवलगायत प्राणीमा ऊर्जा वृद्धि हुन्छ । भौतिक दृष्टिकोणले वर्षको कुनै रातभरि जागिरहनु अर्थात् सचेत रहनु फाइदाजनक पनि मानिन्छ । यसअनुसार शिवका उपासकहरू (शैव–मार्गी) दिनभर व्रत बस्छन् र रातभरि जाग्राम रही भगवान् शिवका विभिन्न रूपको पूजा गर्छन् ।
महाशिवरात्रिको अवसरमा काठमाडौंको पशुपतिनाथ, झापाको अर्जुनधारा, सुनसरीको रामधुनी र पिण्डेश्वर, खोटाङको हलेसी, मोरङको किराँतेश्वर, गुल्मीको गलेश्वर आदि विविध शिवालयमा भक्तजनको भिड लाग्छ । यस अवसरमा भारतलगायत विश्वका विभिन्न स्थानबाट जोगी, योगी एवं भक्तजन पशुपतिनाथ मन्दिरमा आउँछन् ।
पशुरूपी मानवका पति र सबै जीवका मालिक भएकाले शिवलाई ‘पशुपतिनाथ’ भनिएको हो भन्ने मान्यता छ । शिव भगवान् ‘पशुपतिनाथ’ को नामले पनि चिनिन्छन् । ‘शिव’ सबैका आत्मा हुन् र ब्रह्म, सद्गुरु पनि हुन् । शून्य नै शिव हुन् । हरेक अंक शून्यबाट सुरु हुन्छ र शून्यमै समाहित हुन्छ । शून्यमा अर्काे शून्य थपिँदा दश दोब्बरको संख्यामा परिणत हुन्छ । शिवको अर्थ मंगल, कल्याण र आनन्द हो । शिवको शक्तिलाई रूपविहीन अमूर्त शक्ति मानिन्छ, जसको कुनै आकार नभएर पनि सबथोक त्यही शक्तिमा केन्द्रित रहेको मानिन्छ । दीनदुःखीमाथि करुणाको वर्षा गराउने भगवान् शिव हुन् । शिव शक्तिको पूजाअर्चनाबाट शक्ति, शौर्य र सामथ्र्य जगाउँछ भन्ने जनमान्यता छ । शिवलाई ‘शम्भु’ पनि भनिन्छ । ॐ (अ उ म) कार अर्थात् ॐ नमः शिवाय पञ्चाक्षरी शक्ति मन्त्र हो । यो सबैको रक्षा गर्ने र सबैको कल्याण गर्ने मन्त्र हो । यो मन्त्रलाई उच्चारण गरे कार्यसिद्धि हुन्छ भन्ने विश्वास गरिन्छ ।
पशुपतिनाथलाई शिव, रुद्र, निलकण्ठ पनि भनिन्छ । पशुपतिनाथका तीन आँखा छन् । तेस्रो आँखालाई ‘ज्ञानचक्षु’ भनिन्छ । पशुपतिनाथका पाँच मुहार छन्, चार दिशामा चार मुहार र चारैको बिचमा माथितिर पाँचौँ मुहार छ । यी मुहारले के बुझाउँछ भन्ने तलको तालिकाबाट जान्न सकिन्छ :
देवताहरूमध्ये सबैभन्दा ठुला अर्थात् ‘देवादिदेव महादेव पशुपतिनाथ’ लाई भनिन्छ । यसै कारणले काठमाडौंमा महाशिवरात्रिका दिन बिहान सबेरैदेखि रातिसम्ममा लाखौँ भक्तजनले पशुपतिनाथको दर्शन गर्छन् । पशुपति विकास कोषका अनुसार गत वर्षको महाशिवरात्रिका दिन पाँच लाखभन्दा बढी भक्तजनले पशुपतिनाथको दर्शन गरेका थिए । यस वर्ष त्योभन्दा बढीले दर्शन गर्ने सम्भावना रहेको छ ।
पशुपतिनाथको मन्दिर दुईतले प्यागोडा शैलीको छ । छानामा सुनको लेप लगाइएको छ । मन्दिरको माथिल्लो छानाको बिच भागमा चारतिर चार होचा गजुर छन् । यी गजुरको बिचमा अर्काे ठुलो अग्लो गजुर छ । यसको पूर्व–पश्चिमतिरबाट तामाको पट्टाको सहाराले मुख्य गजुरलाई नछुने गरी माथितिर, भित्र खाली भएको अर्काे गजुर राखिएको छ । यो नै सबैभन्दा अग्लो गजुर हो । मुख्य गजुरको उत्तरतर्फ पित्तलको डन्डामा डमरु–बन्चरोसहितको त्रिशूल ठड्याइएको छ ।
मन्दिरभित्र करिब तीन फिट अग्लो पशुपतिनाथ शिवलिंग विराजमान छन् । शिवलिंगलाई सुनको जलहरीमाथि राखिएको छ । मन्दिरका चार दिशातिर चाँदीले मोडिएका चार ढोका छन् । शिवलिंगको चार मुहार यी चार ढोकातिर फर्किएका छन् । पशुपतिनाथ शिवलिंगलाई नित्यपूजा तथा साँझपखसमेत आरती गरिन्छ । प्रत्येक पूर्णिमामा विशेष पूजा गरी भोग चढाइन्छ । मन्दिरको मूलढोकाअगाडि करिब १५ फिट लामो र आठ फिट अग्लो शिवको वाहन नन्दी (साँढेको प्रतिरूप) राखिएको छ ।
महाशिवरात्रि पर्वका दिन विभिन्न ठाउँका भक्तजनले आफूलाई पायक पर्ने स्थानको शिव मन्दिर तथा काठमाडौंवासीले पशुपतिनाथको दर्शन गरी पूजा आराधना गरेमा आध्यात्मिक रूपले आफूलाई मनमा शान्ति तथा सन्तोष मिल्छ भन्ने विश्वास गरिन्छ । पशुपतिनाथको दर्शन गर्न भौतिक रूपले पनि घण्टौँ लामबद्ध भई अन्तिममा दर्शन पाउन शारीरिक परिश्रम गर्नुपर्दा स्वास्थ्यका लागि फाइदाजनक नै हुनेछ ।