
धुवाँ, आगो र मानिस
यो उपन्यास मसीले लेखेको नभएर एउटा भुक्तभोगी मजदुरको रगत, पसिना र आँसुले लेखिएकजस्तो लाग्छ । कक्षा ४ सम्म स्कुलको औपचारिक शिक्षा हासिल गरेका लेखक शिवनारायण श्रीवास्तव आफँैमा एक मजदुर थिए । सात दशकपहिले भारतीय ग्रामीण समाजमा गरिब किसान मजदुरमाथि भएको उत्पीडन र त्यसबाट मुक्त हुन मजदुरले गरेको संघर्षको जीवन्त दस्ताबेज हो– धुवाँ, आगो र मानिस ।
गर्मीले धपक्क बलेका वेला सुखरामपुर गाउँको वरको रुखमुनिबाट सुरु भएको छ कथा । सेन्ट्रल जेलको अगाडि मजदुरको भिडमा पुगेर कथा टुंगिन्छ । भाषा, कला, सौन्दर्यको ढक–तराजुमा जोखेर हेर्ने विद्वान्हरूको नजरमा यो उपन्यास एक पाउबराबरको पनि नदेखिन सक्ला । तर, मेरो नजरमा यो उपन्यास ठन्डी महिनाको मन्डीजसरी गम्लङ्ग छातीमा न्यानो गरी बसेको छ । यो उपन्यासको नायक सफरी वरिपरि थुप्रै पात्र र थुप्रै घतलाग्दा कुरा छन् । उसकी श्रीमतीले हजार ठक्कर खाँदै आफ्नो बच्चा हुर्काउँछे भने उता उसको श्रीमान् पनि हजार ठक्करसँग जुध्दै मजदुर संगठनमा क्रियाशील रहन्छ । यो उपन्यास पढ्दा त्यतिखेर हर्षका आँसु बर्सन खोज्छन्, जतिखेर सफरी जेलबाट मुक्त हुन्छ । अनि हजारौँको भिडले उसलाई स्वागत गर्छ । भिडले एकफेर चर्को स्वरले सफरीको नाम लिन्छ, अर्को फेर मुक्तकण्ठले चर्को स्वर निस्कन्छ, ‘जिन्दावाद’ धन्यवाद अनुवादक आहुती र प्रकाशक सहस्राब्दी प्रकाशनलाई ।
मेरा विश्वविद्यालयहरू
सर्वहारा वर्गको साहित्य सिर्जनामा उच्च स्थान ओगट्न सफल व्यक्ति म्याक्सिम गोर्कीको जीवनीमा आधारित यो कृति मेरो हृदयमा बसिरहेको छ । विश्वविद्यालय पढ्न नपाएको लेखक र म पाठकबिच गज्जबको वर्गीय हैसियत मिलेको छ । विश्वविद्यालय पढ्ने सपना बोकेर घर छाड्न लागेका गोर्कीलाई हजुरआमाले अर्ती दिन्छिन्– तँ एक कुरा सम्झी राख्, मान्छेको परीक्षा भगवान्ले गर्दैनन् ।
हो, हजुरआमाले भनेजस्तै उनको परीक्षा मान्छेकै माझमा भयो, विश्वविद्यालय पढ्ने कुरा त कता हो कता त्यसको सट्टामा उनले आफूलाई धप्प बलिरहेको कोइलाको भुंग्रोमा घुसारिएको फलामको टुक्राझैँ ठान्दै जीवन जिएको समय र परिस्थितिलाई नै एउटा विश्वविद्यालयको रूपमा लिएको कुरालाई पुस्तकमा पढ्न पाइन्छ । यो पुस्तकलाई म एउटा पुस्तकको रूपमा मात्र हेर्दिनँ, यो त मेरो घनिष्ठ मित्र हो । अभाव र तनावको आँधीहुरीले कोही वेला मलाई उडाउन खोज्छ, त्यसवेला म यही साथीलाई च्याप्प समातेर पाना पल्टाउन थाल्छु अनि साथीले मलाई ‘हेर् केटा, मानिस भनेको आफ्नो अगाडि तयार भएको खराब परिस्थितिविरुद्ध खडा हुन सक्ने संघर्षको उपज हो ।’ भनेर ढाडस दिएझैँ लाग्छ । त्यसैले यो पुस्तक मेरो प्यारो पुस्तक हो, म यसलाई धेरै माया गर्छु ।
ओझेलमा परेकाहरू
शरदचन्द्र शर्मा भट्टराईले यो पुस्तकलाई निकै मिहिनेत गरेर तयार पारेका छन् । हुन त नेपाली साहित्य लेखनमा ओझेलमा परेकाहरू यस पुस्तकमा उल्लेख गरेभन्दा अझै अरू व्यक्ति पनि इतिहासको पानामा लुकेर बसेका होलान् । उनको कसरतले यस पुस्तकमा जतिलाई खोजेर देखाए, यो निकै कल्याणकारी काम हो ।
यस पुस्तकमा ओझेलमा परेका थुप्रै सष्टा छन् । त्यसमध्ये एक गंगाप्रसाद प्रधान र अर्को छविलाल सुरीको योगदान ठुलो भएर पनि ओझेलमा परेको विषयले मन छोयो । गंगाप्रसाद प्रधान, जसले १९५८ देखि ३१ वर्षसम्म गोर्खे खबर कागज नामको समाचारपत्र प्रकाशित गरेर नेपाली भाषाको ज्योति जगाएको बिर्सिहाल्नु हुँदैन भन्ने लेखकको सन्देश छ । अर्का छविलाल सुरी पनि चानचुने मान्छे होइन रहेछन् भन्ने पढ्न पाएँ ।
राणा शासनको समयमा उनले निकै लामो समय जागिरे जीवन बिताएछन्, साथै साहित्य सिर्जनामा उनको निकै ठुलो योगदान रहेछ । कतिसम्म भने त्यसवेला राणा प्रभुबाहेक प्रसिद्ध मानिसको जीवनी बिरलै छाप्ने गोरखापत्रले चैत १९६३ मा उनको मृत्युपछि ‘महाशोक’ शीर्षक दिएर उनको जीवनीलाई प्रकाश पारेको रहेछ । उनले लेखेका पुस्तकमध्ये विरक्ति तरङ्गिणीलाई खोजेर पुनः प्रकाशित गरिदिने कोही निस्किदिए मजस्ता थुप्रै पुस्तकप्रेमी आभारी हुने थियौँ । ओझेलमा परेकाहरूलाई सम्झनका लागि यो पुस्तक निकै राम्रो छ ।
खट्टरकाकाका तरंग
यो पुस्तकको जति चर्चा हुनुपर्ने हाे, त्यति भएर पनि मैले चाल नपाएको रहेछु भने म नै गोबर ग्वाँच हो । मैले थुप्रै पुस्तक पढ्ने मानिसलाई यो पुस्तकबारे सोधेँ, कसैले पनि पढेँ भनेनन् । अब चर्चा कति भयो वा भएन त्यो छुट्टै कुरा भयो । यो पुस्तकमा अचम्म त यो छ कि हरिमोहन झाले के सारो शास्त्र घोटेर टाउकोमा राख्न सकेका ? यो पुस्तकमा हाम्रो यस लोकका कतिपय गण्यमान्य पढन्तेहरूले शास्त्रका बात, सब सही बात भन्दै आएका शास्त्रलाई व्यंग्यको घुँएत्रो घुमाएर गाला फुट्ने गरी चड्कन हानेजस्तै छन् । उनको चड्कनमा बेप्रमाणको चड्कन छैन, सप्रमाण छ । ३० ओटा शीर्षकमा अनेक प्रसंग समातेर ल्याएका छन् अनि दनक दिएका छन् । पुस्तकमा प्रश्नकर्ता भतिज छन्, उत्तरकर्ता खट्टर काका छन् । खट्टर काका बडो गज्जबका रसिक छन् । यिनले मेरो मनलाई साह्रै मिठो आनन्द दिएका छन् ।
काँडेघारीको यात्रा
मैले पहिलोचोटि मोदनाथ प्रश्रितको नाम सुन्दा ५० रुपैयाँको तमसुक लेख्ने मान्छे भनेर सुनेको थिएँ । यो पुस्तक उहाँकै जीवनसाथी कविता पौडेलले लेखेकी हुन् । मोदनाथ प्रश्रित कम्युनिस्ट क्रान्तिकारी भएर बाँचेको समयमा कविता पौडेल भने एउटा दर्दनाक पुस्तक भएर बाँचेकी रहिछन् भन्ने कुरा मैले यो पुस्तकमा पढ्न पाएँ । मानिसहरू सोध्छन् जीवन के हो ? भन्नेहरूले गीत गाएजसरी भन्छन् ‘जीवन संघर्ष’ हो । हो, ‘जीवन संघर्ष’ हो भने संघर्ष के हो ? यो पुस्तकमा छ, जीवन संघर्षको कुरा ।
एउटा क्रान्तिकारी यौद्धाकी श्रीमतीले रुढीवादीग्रस्त समाजमा एक्लै भएर जीवन जिउनुपरेको घटनाक्रमलाई उनले १०८ शीर्षकमा लेखेकी छिन् । यो पुस्तक उनको जीवनको व्यक्तिगत दुःख मात्र नभएर सम्पूर्ण क्रान्तिकारीका परिवारको साझा दुःख हो । साथै, त्यतिखेरको समाज, संस्कृति, राजनीतिक चेतना, वर्गीय दृष्टिकोण सारा कुराको एकमुष्ट ऐनाझैँ लाग्छ यो पुस्तक ।