• वि.सं २०८१ चैत १८ सोमबार
  • Monday, 31 March, 2025
नरेश कौशिक
२०८१ फाल्गुण १७ शनिबार ०७:१३:००
अनुवाद

पुटिनसँग नजिकिए ट्रम्प, जेलेन्स्की जिल्ल

वासिंटनका परम्परागत सहयोगीभन्दा मस्कोसँग नजिक

२०८१ फाल्गुण १७ शनिबार ०७:१३:००
नरेश कौशिक

 

डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिको दोस्रो कार्यकाल एक महिना मात्रै पूरा गरेका छन् । तर, यो एक महिनामा नै उनले अन्तर्राष्ट्रिय व्यवस्थालाई धक्का दिइसकेका छन् । उनले पश्चिमी गठबन्धनलाई कमजोर बनाएका मात्रै छैनन्, गठबन्धनका सदस्यमा असुरक्षा र अनिश्चितताको भावना सिर्जना गरिदिएका छन् । उनका कदमले केही समर्थकलाई समेत आश्चर्यमा पारेको छ ।

 

ट्रम्पको नेतृत्वमा अमेरिकाको विदेश नीतिमा परिवर्तन आएको छ । उनी अहिले वासिंटनका परम्परागत सहयोगीभन्दा मस्कोसँग नजिकिएका छन् । युक्रेन मामिलामा उनले क्रेमलिनलाई अँगालेका छन् र अमेरिकी सहयोगीलाई किनारा लगाएका छन् । ट्रम्प प्रशासनका वरिष्ठ सदस्यले अमेरिकाले किभलाई त्यागेको र युरोपेली सहयोगीलाई बेवास्ता गरेको कुरा अस्वीकार गरे पनि ट्रम्प आफैँले युक्रेनी र युरोपेलीलाई शान्त पार्न कुनै गम्भीर प्रयास गरेका छैनन् ।

 

युक्रेनलाई बेवास्ता गर्दै छन् ट्रम्प

 

ट्रम्पले रुसी नेता भ्लादिमिर पुटिनसँग फोनमा ९० मिनेट कुरा गरेपछि रुससँगको उनको निकटता सार्वजनिक भएको छ, जसमा उनीहरू २४ फेब्रुअरीमा (गत सोमबार) तेस्रो वर्षगाँठ मनाउने युक्रेन युद्ध अन्त्यका लागि वार्ता गर्न सहमत भए । ट्रम्पले पुटिनसँगको त्यो फोनकललगत्तै युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग कुरा गरे । तर, भयभीत युक्रेनी राष्ट्रपतिले आफ्नो देशलाई वार्ताबाट बहिष्कार गर्नु ‘धेरै खतरनाक’ हुने चेतावनी दिए ।

 

उपराष्ट्रपति जेडी भान्सले ट्रम्प–पुटिन वार्ताको दुई दिनपछि म्युनिखमा युरोपेली नेतासँग भेट गरे । तर, शान्तिवार्तामा युरोप सामेल नहुने उनको भनाइले युरोपेली नेतालाई आफ्नो घरनजिक रहेको युक्रेनलाई भविष्यबाट वञ्चित हुने अनुमानलाई मात्रै सघाएको छ । युरोपले रुसी आक्रमणपछि धेरै पैसा र अन्य धेरै सहयोग गरेको छ । जेलेन्स्कीसँग भान्सको भेट पनि फलदायी भएन, किनभने युक्रेनी नेताले सुरक्षा ग्यारेन्टी नदिएसम्म देशको महत्वपूर्ण खनिजको विशाल भण्डारमा पहुँच दिन अस्वीकार गरे । यसले वासिंटनलाई क्रुद्ध बनायो ।

 

रुस–युक्रेन युद्ध अन्त्य गर्नु ट्रम्पको प्रमुख चुनावी वाचा थियो । तर, उनले रुसको पक्ष लिने र युक्रेनलाई द्वन्द्वका लागि दोषारोपण गर्ने अपेक्षा गरेका थिएनन् । गत मंगलबार अमेरिकी विदेशमन्त्री मार्को रुबियोको नेतृत्वमा रहेको अमेरिकी प्रतिनिधिमण्डलले साउदी अरबमा विदेशमन्त्री सर्गेई लाभरोभको नेतृत्वमा रहेको रुसी प्रतिनिधिमण्डलसँग शान्तिबारे छलफल गरेको थियो । युक्रेनलाई आमन्त्रित गरिएको थिएन । युक्रेनमा आक्रमण गरेपछि अमेरिका र उसका सहयोगीबाट टाढिएका पुटिनलाई यस कदमले खुसी बनाएको थियो ।

 

ट्रम्प–जेलेन्स्की विवाद

 

निराश जेलेन्स्कीले रियाद वार्तालाई अर्थहीन भन्दै खारेज गरे । ट्रम्पलाई ती टिप्पणी मन परेनन् । उनले युक्रेनका राष्ट्रपतिलाई तानाशाह भने । जेलेन्स्कीले युद्ध सुरु गरेको आरोपसमेत लगाए । जेलेन्स्कीले भने कि अमेरिकी राष्ट्रपति रुसको ‘गलत सूचनाको तारो’ बन्दै छन् । यसले ट्रम्पलाई क्रुद्ध बनाउने नै भयो, किनकि उनी कुनै पनि आलोचना सहन सक्दैनन् । उनले जेलेन्स्कीलाई ‘एक सामान्य सफल हास्य कलाकार’ को रूपमा वर्णन गर्दै ‘जित्न नसकिने युद्धमा जानका लागि संयुक्त राज्य अमेरिकालाई ३५० अर्ब डलर खर्च गराएको’ आरोप लगाए ।

 

ट्रम्पले युद्ध कहिल्यै सुरु नहुनुपर्ने भन्दै जारी युद्ध अमेरिका र ‘ट्रम्प’विना कहिल्यै समाधान नहुने बताए । जेलेन्स्कीप्रति ट्रम्पको व्यवहार बाइडेनको भन्दा एकदमै विपरीत छ । बाइडेनले युक्रेनलाई सबै सम्भावित सैन्य र आर्थिक सहायताका साथ रुसविरुद्ध लाग्न समर्थन गरेका थिए । राष्ट्रपति बाइडेनले आफ्नो प्रशासनको पूर्ण समर्थन देखाउन रुसी आक्रमणपछि धेरैपटक युक्रेन भ्रमण गरे । उनले भविष्यमा युक्रेनलाई नेटो सदस्यता दिने वाचा पनि गरेका थिए ।

 

बाइडेनको कार्यकालमा युक्रेनमाथि आक्रमण गरेको भन्दै रुसलाई कडा सजाय दिइएको थियो । अमेरिकाले मस्कोलाई एक्लो पार्न आफ्ना सहयोगीसँग हात मिलायो । रुसले कडा प्रतिबन्धको सामना गर्‍यो र पश्चिममा रुसी नेताहरूको सम्पत्ति जफत गरियो । अन्तर्राष्ट्रिय फौजदारी अदालतले युक्रेनमा युद्धअपराध गरेको आरोपमा पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गर्‍यो । त्यहाँ पुटिन र उनका नजिकका सहयोगीलाई निगरानीमा राख्ने योजना पनि थिए ।

 

युक्रेनको टाढाको सपना

 

एक वर्षअघिसम्म युक्रेनी नेताले पश्चिमी सैन्य उपकरणको सहयोगमा ०१४ मा रुसले कब्जा गरेको क्रिमियालगायतका सबै क्षेत्र पनि स्वतन्त्र गर्ने कुरा गरिरहेका थिए । युक्रेन कुस्र्कको रुसी क्षेत्र कब्जा गर्न पनि सफल भयो । जुन उसले मस्कोसँग वार्ताको क्रममा ‘बार्गेनिङ चिप’को रूपमा प्रयोग गर्ने सोचेको थियो । तर, अब ती सबै टाढाको सपनाजस्तै देखिन्छन् । ट्रम्प ह्वाइट हाउसमा फिर्ता भएपछि युक्रेनलाई डर छ कि युद्ध अन्त्य गर्न सम्झौताको एक अंशको रूपमा रुसले कब्जा गरेको सबै क्षेत्र उसैलाई राख्ने अनुमति दिइनेछ । किभले अब नाटोको सदस्यता अस्वीकार गर्ने सम्भावना छ । त्यो युद्ध अन्त्य गर्ने रुसको प्रतिज्ञा हुन सक्छ । जी७ राष्ट्रका नेताहरूले तयार पारेको एउटा ड्राफ्टमा रुसलाई आक्रमणकारी भन्ने शब्द प्रयोग गरेकोमा ट्रम्पले त्यसको विरोधसमेत गरे । अमेरिकी टोलीले मस्यौदाबाट सो वाक्यांश हटायो, जसलाई समूहको अध्यक्षको हैसियतमा क्यानडाले तयार पारेको थियो ।

 

ट्रम्पसँग युरोप पनि त्रसित 

 

युक्रेन मात्र होइन, अमेरिकाका युरोपेली सहयोगी पनि ट्रम्पको नियत देखेर चिन्तित छन् । दोस्रो विश्वयुद्धदेखि नै उनीहरूले नाटोअन्तर्गत अमेरिकी सुरक्षा गठबन्धनको आनन्द उठाए । तर, अब उनीहरू अनिश्चित छन् कि ट्रम्पको नेतृत्वमा अमेरिकाले नाटोको धारा ५ लाई उठान गर्नेछ, जुन सदस्य राष्ट्र आक्रमणमा पर्दा क्रियाशील हुन्छ । यसले एउटा सदस्यमाथि आक्रमण गर्नु सबैमाथि आक्रमण हो भन्ने बुझाउँछ ।

 

युरोपमा पनि ट्रम्पले रुसी नेता भ्लादिमिर पुटिनसँग बाल्टिक राज्यबाट अमेरिकी सेना फिर्ता गर्ने र नाटो गठबन्धनलाई प्रभावकारी रूपमा निष्क्रिय पार्ने सम्झौतामा हस्ताक्षर गर्न सक्छन् भन्ने डर युरोपमा छ । यो सन् १९३९ को अगस्ट २३ मा सोभियत संघ र नाजी जर्मनीले हस्ताक्षर गरेको गैरआक्रमण सन्धिजस्तै हुन सक्छ । जसले अन्य युरोपेली छिमेकी राष्ट्रलाई झट्का दिनेछ । युक्रेन द्वन्द्वमा एक लाखभन्दा बढी मानिस र धेरै सैन्य उपकरण गुमाए पनि मस्को आणविक हतियारको कारणले बलियो शक्ति बनेको छ ।

 

किन फेरे ट्रम्पले आफ्नै भनाइ ?

 

ट्रम्प जहिले पनि पुटिनजस्ता शक्तिशाली नेताको प्रशंसक थिए । पहिलो कार्यकालमा पनि उनीसँग राम्रो हिमचिम थियो । ट्रम्प जेलेन्स्कीलाई मन पनि पराउँदैनन् । बरु उनलाई युक्रेन द्वन्द्व अन्त्य गर्ने मार्गमा अवरोधका रूपमा हेर्छन् । एक पूर्वव्यापारीको रूपमा ट्रम्पले हरेक चिजलाई लाभदायक सम्झौताको दृष्टिकोणबाट हेर्छन् । पश्चिमी प्रतिबन्धले रुसलाई असर गरेको छ, तर अमेरिकी कम्पनीले पनि अर्बौैं डलरमा व्यापार घाटा व्यहोरेका छन् । उनी यसलाई उल्ट्याउन चाहन्छन् । र, युक्रेनको प्रतिरोधका बाबजुद ट्रम्पले विश्वास गर्छन् कि जेलेन्स्कीले भविष्यमा कुनै पनि अमेरिकी समर्थनको बदलामा महत्वपूर्ण खनिजमा पहुँच दिनुपर्नेछ । ट्रम्प प्रशासनका केहीले युक्रेनले पहिले नै प्राप्त गरेको अमेरिकी सैन्य र आर्थिक सहायताको बदलामा किभले अमेरिकीलाई ती खनिज उपलब्ध गराउनुपर्ने सुझाव दिन्छन् ।

 

(एनडिटिभीका लागि कौशिकको आलेख, सुभाष शर्माको अनुवाद)