
हिउँदे खडेरी लम्बिँदै जाँदा फागुनको दोस्रो सातासम्म पनि काठमाडौंको वातावरण धुम्म छ । वायु प्रदूषणले असहजता बढेको छ । यो उकुसमुकुसबाट केही दिनका लागि भए पनि मुक्त हुन र खुला विचरणका लागि ट्रेकिङमा निस्किने विचारबारे घोत्लिरहेको थिएँ ।
यात्राका लागि मेरो रोजाइमा उच्च पहाडी र हिमाली क्षेत्र नै पर्छ । तर, यस्तो यात्रामा निस्किँदा म प्रायः विगतमा गएभन्दा अग्लो उचाइ रुचाउँछु । यसैअनुसार अघिल्ला यात्रामा पाँच हजारआसपास चुमिसकेकाले अब यसभन्दा अलि अग्लो गन्तव्य जानेबारे केही समययता सोच आइरहेको थियो । यसैमा थोरङला पास जानुपर्छ कि भन्ने विचार गाढा बन्दै गयो । अन्ततः थोरङला नै जाने निष्कर्षमा पुगेँ ।
काठमाडौं–चामे यात्रा
यात्राको टुंगो लागेपछि ६ फागुनमा म काठमाडौंबाट थोरङला पास गर्ने संकल्प बोकेर अघि बढेँ । सोही दिन यात्राका लागि आवश्यक तयारी गरेर बिहान ६ बजे नै नयाँ बसपार्क पुगेँ, लमजुङ सदरमुकाम बेसीसहर जाने गाडी खोज्दै । हिँड्नै लागेको माइक्रोबस चालक केही यात्रु पाइन्छ कि भनेर खोजीमा रहिरहेका वेला म एक यात्रु थपिनेबित्तिकै हुइँकिहाल्यो ।
ढिला नगरी हिँडेको माइक्रोबस सोचेभन्दा चाँडो बेसीसहर पुग्यो । अर्थात्, मध्याह्न १२ बजे नै माइक्रोले गन्तव्य पुर्यायो । माइक्रोबसबाट ओर्लिएपछि दिन बाँकी नै रहेकाले त्यसै दिन मनाङ सदरमुकाम चामे पुग्न सकिन्छ भन्ने लाग्यो । चामे जान खोजेको मेरो भाव चालकहरूले बुझिहाले । र, आधा घण्टाभित्रै बोलेरो चामेतर्फ हुइँकियो । दुईजना अमेरिकन जोडी र मसहित केही स्थानीय यात्रु राखेर बोलेरो अघि बढ्यो । निर्माणाधीन सडकका कारण केही अवरोध निम्तिए पनि अपेक्षित समयमै सम्साँझै बोलेरो चामे पुग्यो ।
यात्रामा जोडिएका अमेरिकन जोडी पहिलोपटक नेपाल आएका रहेछन् । तीन दिनअघि मात्र नेपाल उत्रेका उनीहरूलाई धेरै मेसो रहेनछ । सामान्य वार्तालापपछि उनीहरू मसँग नजिकिए । यात्रा गन्तव्य समान भएपछि सँगै अघि बढ्ने भइयो । फलस्वरूप, एकै होटेलमा वास व्यवस्थापन गरियो । संयोग पनि कस्तो थियो भने होटेल खोज्दै जाँदा म त्यहीँ पुगेछु, जहाँ दुई वर्षअघि तिलिचो यात्रामा जाँदा वास बसेको थिएँ ।
एक्लै निस्किएको मलाई पनि यात्राको जोखिमको कल्पना त थिएन । तर, चामेबाट मनाङ गाउँसम्मको सवारीयात्राका लागि म एक्लैलाई बोकेर जाने बोलेरो भेटिने सम्भावना न्यून हुन्थ्यो । यसैका लागि मलाई पनि ती अमेरिकन जोडी सँगै हुँदा सहज हुन्थ्यो । होटेल सञ्चालकलाई हामी तीनजनाका लागि बोलेरो व्यवस्थापन गरिदिन आग्रह गरेँ । बल्लबल्ल उनले व्यवस्थापन गरे । र, बिहान ७ बजे नै दुई पर्यटकसहित मनाङ जान तयार भए ।
चामेको तातोपानी र सुन्दर ताल
अघिल्लो यात्रामा चामेमा तातोपानी रहेको सुनेको थिएँ । तर, कहाँ छ भन्ने मेसो थिएन । यसपटक तातोपानीमा स्नान गरेर यात्रा सुरु गर्ने धोको थियो । सवारीमा सँगै बस्ने अरू तीन यात्रुको ढिलाइले केही समय रोकिनुपरेपछि म तातोपानीमा स्नान गर्न कुण्डको खोजीमा लागेँ । तातोपानीमा १५ मिनेटजति हातगोडा चोबलेर मुख धोएँ, दुई गिलासजति पानी पनि खाएपछि शरीर तातेर आयो । शरीर चंगा भयो, स्फूर्ति पनि बढ्यो ।
यसपछि बोलेरो मनाङ गाउँतिर अघि बढ्यो । बिचमा चालकले सुन्दर तालमा पुर्याए । र, खाना खाइओरी साढे १२ बजेतिर मनाङ गाउँ पुग्यौँ । तर, गाडीमै रहँदा अमेरिकन जोडीमा धेरै उचाइमा जान सकिन्न कि भन्ने भावमा अन्यमनस्क सोचिरहेको पाइसकेको थिएँ । उनीहरूलाई मेरो पनि सल्लाह थियो, एकैपटक धेरै उचाइमा जानु जोखिमयुक्त हुन सक्छ । यही सुझावसमेतलाई विचार गरेर उनीहरू मनाङमै बस्ने निष्कर्षमा पुगे । म भने अघि बढेँ ।
बेसक्याम्प यात्रा
थोरङला यात्रामा गाडीको अधिकतम यात्रा बिन्दु मनाङ गाउँ हो । यहाँबाट दुइटा गन्तव्यका बाटो छुट्टिन्छ, एउटा तिलिचो ताल जाने, अर्को थोरङला पास । चालकले बाटोको मेसो दिएपछि मैले आफ्नो ट्रेकिङ सुरु गरेँ । यो तीन हजार ५४० मिटर उचाइबाट सुरु भयो ।
खुला आकाश, स्वच्छ वायु र शान्त वातावरणमा मैले सुस्तरी यात्रा अघि बढाएँ । प्रकृतिसँगै वार्ता गर्दै एकालापमा यात्रा गर्न मलाई रुचि लाग्छ । टंकी मनाङ, गुन्साङ, याकखर्क, लेड्डर हुँदै करिब ६ बजेतिर थोरङफेदी पुगेँ । थोरङला पास गर्न आएकाहरू प्रायः यहीँ बस्ने रहेछन् । जुन चार हजार ४५० मिटर उचाइमा पर्छ । अघिल्लो दिन नै फेदीसम्म पुग्न सकिन्छ कि भन्ने त थियो, तर निश्चित थिएन । आफ्नो सुरले हिँड्दा जहाँ पुगिन्छ, त्यहीँ बस्ने भन्नेमा म थिएँ । अन्ततः सोचिएकै कुरा मूर्त भइदियो । फेदीमा म बसेकै होटेलमा चारजना विदेशी पर्यटकसहितको ६ जनाको टोली थियो ।
थोरङलाको यात्रा नयाँ भएकाले विहान पर्यटक टोलीसँगै अघि बढ्ने निधो गरेँ । र, बिहान ५ बजे अँध्यारोमा नै सामान्य नास्ता खाएर मोबाइल टर्चमा यात्रा अघि बढ्यो । फुरुफुरु हिउँ परिरहेकै थियो ।
श्वाससँगै पाइला
संस्कृतमा एउटा श्लोक छ– शनैः पन्था शनैः कन्था शनैः पर्वतलंघनम्, शनैर्विद्या शनैर्वित्तं पञ्चैतानि शनैःशनैः । अर्थात् यात्रा, कपडा बुन्ने काम, पर्वत चढ्ने, विद्या आर्जन र धन कमाउने कुरा क्रमशः गर्नुपर्छ । खासगरी हिमाली यात्राका सुस्तरी हिँड्ने कुरामा म विशेष ख्याल गर्छु नै ।
यसअघि नै म यसभन्दा तलका उचाइहरू क्रमशः नै पार गर्दै आएको छु । सुरुमा काठमाडौंका उचाइबाट क्रमशः पाँचपोखरी, गोसाइँकुण्ड, च्छो रोल्पा, तिलिचो हुँदै गत वर्ष लार्के पासको पाँच हजार १०६ मिटर उचाइमा पुगिसकेको हो ।
थोरङला उच्च हिमाली बिन्दु भएकाले यात्रामा विशेष ध्यान पुर्याउनुपर्ने थियो । त्यसमाथि म एक्लो थिएँ, जसका कारण पनि विशेष सजगता स्वाभाविक चाहिन्छ । थोरङला पास गर्ने निकटतम आवास क्षेत्र ‘हाइक्याम्प’, चार हजार ६५० मिटरमा पर्यटक टोली आराममा बसेपछि म एक्लै अघि बढेँ ।
हाइक्याम्प पुगिसक्दा हल्का उज्यालो भएर आँखाकै भरमा हिँड्न सकिने भयो । यसमाथि हिउँ पनि बाक्लिँदै गयो । अग्ला पहाड, फुरफुर हिउँ र प्रभातकालीन कोमल उज्यालोमा यात्राको आनन्द अवर्णनीय छ । उचाइको यात्रामा असहजता स्वाभाविक हुन्छ । तर, मैले यसलाई चुनौती खासै ठानिनँ । बरु, हिँडाइलाई सुस्त बनाएँ ।
उचाइ बढ्दै जाँदा पाइलैपिच्छे श्वासको गति बढ्थ्यो । तर, यसलाई सन्तुलित गर्ने उपायविहीन भने म थिइनँ । श्वासप्रश्वासको नियमन महŒवपूर्ण कुरा हो भन्ने कुराको बोधले मलाई हिमाली क्षेत्रको यात्रालाई सहज बनाउने गरेको छ । प्रत्येक पाइलामा श्वासको ख्याल गरेँ । श्वासप्रश्वास गडबड नहुने गरी त्यसप्रति विशेष सजगता अपनाउँदै सुस्तरी पाइला अघि बढाएँ । यो एक हिसाबमा प्राणायामको अभ्यासजस्तो हो ।
उचाइ बढ्दै जाँदाको अनुभव के हुन्छ भने दूरी नजिकै देखिन्छ, तर त्यहाँ पुग्न नचिताएको समय लाग्छ । तर, पनि नआत्तीकन यात्रा अघि बढाएँ । बाटोको साइनपोस्ट हेर्दै अघि बढेँ । पदमार्गमा छोटाछोटा दूरीमै राखिएका साइनपोस्टले गन्तव्यलाई सहज दिशानिर्देश गरेको थियो ।
थोरङला उचाइ चुम्दाको सन्तुष्टि
करिब पौने ९ बजे थोरङलाको अन्तिम उचाइ पुगेँ । समुद्र सतहबाट पाँच हजार ४१६ मिटर । थोरङला चुम्ने सपना पूरा भएकामा मन फुरुंग भयो । चारैतिर अवलोकन गरेँ । यत्तिको उचाइ र सुन्दर स्थानमा पुग्न सफल भएकामा आफैँलाई भाग्यमानी ठानेँ । उक्त दिन थोरङला पुग्ने म पहिलो नै भएँ । केही समयभित्रै पछाडि परेको पर्यटक टोली पनि नजिकै आइपुग्यो । र, आफ्नो केही फोटो भिडियो उनीहरूलाई खिच्न लगाएँ । उनीहरूको पनि उसैगरी आफूले खिचिदिएँ । तर, चर्को हावा, बाक्लो हिउँ र अत्यन्त ठन्डी भएकाले उचाइमा लामो समय बस्न नसकिने हुन्छ । त्यहाँ पनि १५ मिनेटजति बसेर ओरालो लागेँ । पर्यटक टोलीलाई उछिनेर ।
थोरङला पास गरेपछि यो बाटो मुस्ताङको मुक्तिनाथ निस्किन्छ । करिब ९ बजे थोरङलाबाट ओरालो लागेको म १२ बजे नै तीन हजार आठ सय मिटर उचाइको मुक्तिनाथ मन्दिर झरेँ । मन्दिरपरिसरको १०८ धारामा स्नान गरेँ । तातोपानीमा स्नान गरेर सुरु गरेको यात्रा मैले चिसो पानीमा स्नान गरेर टुंग्याएँ । यसको भोलिपल्ट मुक्तिनाथबाट काठमाडौंको बस तय गरेर थोरङलाको यात्रा बिट मारेँ ।