
मेरी नीलिमा : नेपाली साहित्य जगत्का उच्चस्तरका स्रष्टा मदनमणि दीक्षितले यो पुस्तक लेखेका हुन् । दीक्षित कथा, उपन्यास, निबन्ध विधाका अतिरिक्त चिन्तन प्रधान एवं समसामयिक लेखनका अब्बल प्रतिभा हुन् । उनलाई हामी ‘माडसाप’ पनि भन्ने गथ्र्याैं । नारीप्रधान यो पुस्तकमा नीलिमा अशिक्षित गाउँले तर अति सुन्दर केटी हुन् । उनको सर्वाङ्ग सुन्दरतासँगको आफ्नो एकालाप नै पुस्तकको विषयवस्तु हुन् । यो एकालापमा हिस्सी, माधुर्य र चञ्चलता छ । नीलिमा कतै माडसापका माताको रूपमा कतै पत्नीको रूपमा, कतै प्रियसीका रूपमा एकालाप गरिरहन्छन् । त्यसैले ठाउँ–ठाउँमा माडसापको मैया बनेर मुस्कुराइरहन्छिन् । प्रणय, प्रिती, प्रेमदेखि जीवन जगत्का अनुभव र अनुभूतिलाई सुन्दर तरिकाले प्रस्तुत गरिएको यो पुस्तक पढ्न थालेपछि छोड्न मन लाग्दैन ।
सधैँ तन्नेरी : विशेष गरेर वृद्धावस्थालाई लक्षित गरेर डा. जीवनकुमार प्रसाईंले यो पुस्तक लेखेका हुन् । यो निकै अध्ययन, अनुसन्धानबाट सिर्जिएको पुस्तक हो । ८४ वर्षको बुढ्यौलीमा लम्किरहेको मलाई एउटा भनाइ निकै गहकिलो लाग्छ, ‘सम्झनुहोस्, तपार्इं बुढो हुँदै जानु भनेको भाग्यमानी हुनु हो । धेरैले यस्तो उमेर पाएको हुँदैन । त्यसैले जीवनलाई शान्त तरिकाले रमाउने गर्नुस् ।’ झन्डै यस्तै किसिमको सन्देश पुस्तकमार्फत लेखकले दिन खोजेका छन् । आफ्नो जीवनशैलीलाई सुन्दर बनाउन प्रेरणा दिने यो पुस्तक सबैलाई उत्तिकै उपयोगी हुने कुरामा दुईमत छैन ।
क्या भुलूं क्या याद करूँ : यो आत्मकथा हिन्दी साहित्यका प्रख्यात कवि हरिवंशराय बच्चनले लेखेका हुन् । पुस्तक सन् १९६९ देखि १९९५ सम्म तेह्रौँ संस्करण प्रकाशित भएको तथ्यले यसको लोकप्रियता छर्लङ्ग हुन्छ । पुस्तकलाई चार खण्डमा विभाजन गरिएको छ । जीवनको उकाली–ओराली बिताउँदै जाँदा अतीतका कुरा संस्मरणको रूपमा हाम्रो मनमा छाउनु स्वाभाविकै हो, ती संस्मरणलाई मूर्त रूप दिन लेख्नु सर्वोत्तम उपाय हो । म आफैँ पनि नियात्रा लेखनको साथै संस्मरण विधामा पनि लागिपरेको हुनाले यो पुस्तक मलाई मन परेको पुस्तक हो । आत्मकथा लेखकका क्रममा लेखकले जुन इमानदारिता देखाएका छन्, जुन साहस गरेका छन्, त्यसले पुस्तकलाई कालजयी बनाएको छ । संस्मरण एंव आत्मवृत्तान्त पढ्न रुचाउनेका लागि यो पुस्तक उपयुक्त हुने कुरामा ढुक्क छु ।
विपश्यना मेडिटेसन–द आर्ट अफ लिभिङ : यो पुस्तक विलियम हर्टले लेखेका हुन् । यो पुस्तकमा भगवान् बुद्धले प्रतिपादन गर्नुभएको विपश्यना ध्यानबारे विस्तृत व्याख्या गरिएको छ । पुस्तकमा ध्यान शिविरमा विपश्यना गुरु श्री सत्यनारायण गोयन्काको प्रवचनलाई मुख्य आधार बनाइएको छ । पुस्तकले मानिसको मन मस्तिष्कलाई आन्तरिक बल प्रदान गर्ने विपश्यना ध्यान अपरम्पार भएको उल्लेख छ । म आफैँ पनि तीनपटकसम्म विपश्यना ध्यानमा बसेकाले अमूल्य रत्न विपश्यना ध्यानमा लागिरहँदा हामी स्वयं भगवान् बुद्धको चरणकालमा समाहित भइरहने अनुभूति हुनु स्वाभाविकै हो । अतः विपश्यनामा चाख राख्ने जोकोहीलाई यो पुस्तक उति उपयोगी सिद्ध हुनेछ ।
एन एरिया अफ डार्कनेस : अंग्रेजी साहित्यमा नोबेल पुरस्कार विजेता भारतीय मूलका लेखक भिएस नायपालले यो पुस्तक लेखेका हुन् । पुस्तक ६० को दशकमा भारत भ्रमणका क्रममा विभिन्न ठाउँ पुग्दाको यात्रा वृत्तान्त हो । पुस्तकमा भारतमा देखे भोगेको आफ्ना अनुभव र अनुभूतिलाई सशक्त रूपमा लेखकले प्रस्तुत गरेका छन् । लेखकले पुस्तकमा आफ्ना पुर्खा भारतीय भन्ने उल्लेख गरे पनि पछि आएर आफ्ना बुबाको पुर्खा नेपाली भएको कारण आफ्नो नामको पछाडि राखेको नायपालको अर्थ नेपाल बताएका थिए । जसले भारतीय साहित्य क्षेत्रमा तहल्का मच्चाएको थियो । तर, उनी आफ्नो निर्णयमा अडिग नै रहे । नेपालप्रतिको उनको माया, सम्मानका लागि हामीले उनलाई सत्कार र सम्मान गर्नुपर्ने थियो । तर, हामीले यसो गर्न सकेनौँ, हामी चुक्यौँ ।
एटोमिक ह्याबिट : यो पुस्तक जेम्स क्लियरले लेखेका हुन् । हामीसँग भएको नराम्रो बानी तथा लतलाई कसरी सहज तरिकाले हटाई राम्रो लत अपनाउने भन्ने कुरालाई बडो चाखलाग्दो तरिकाले पुुस्तकमा उल्लेख छ । हाल मैले पढिरहेको यो पुस्तक क्यानडामा अध्ययनरत आश्रय ताम्राकारले उपहारस्वरूप पठाएका हुन् । नातिको उपहारलाई स्वीकार गरी यो पुस्तक अध्ययन गर्दै छु । आशा छ, केही दिनमा यो पुस्तकले नयाँ आशा, नयाँ जोस र जाँगर भर्नेछ । यो पुस्तकलाई मेरो नयाँ मित्रको रूपमा लिएको छु ।