• वि.सं २०८१ चैत १८ सोमबार
  • Monday, 31 March, 2025
अम्बिका पौडेल
२०८१ फाल्गुण २४ शनिबार १०:४८:००
समाज

लावारिस ८ मार्च : बजारको कब्जामा महिला मुद्दा 

सन्दर्भ : अन्तर्राष्ट्रिय महिला दिवस

२०८१ फाल्गुण २४ शनिबार १०:४८:००
अम्बिका पौडेल

 

 सामन्तवादले रोपेको र पुँजीवादमा मोटाएको वर्गभेदबिच च्यापिएर यसको ऐतिहासिक सन्दर्भ र महत्व बेवारिसे बनेको छ 

 

सन्दर्भ भिन्न र अर्थ गहन भए पनि ८ मार्च र यसको करिब ६ महिनापछि नेपालमा मनाइने तिज पर्व उस्तैउस्तै लाग्छ मलाई । नेपालको सन्दर्भमा पछिल्लो समय मनाउने तरिका र औपचारिकताले ८ मार्चलाई तिजकै सहायक पर्वका रूपमा चित्रण गर्दै गएको अनुभूति हुन्छ । 

 

त्यसो त नेपालमा महिलाविरुद्ध हिंसाको १५ दिने अभियान पनि धुमधामका साथ मनाइन्छ । गैरसरकारी संस्थाहरूको ब्यानरमा राजनीतिक दलका महिलासमेत उल्लेख्य रूपमा हिंसाविरुद्ध सैद्धान्तिक गफ दिने गर्छन् । महिला अधिकार, आफ्नो शरीरमाथि स्वामित्व, अधिकार प्राप्तिजस्ता कैयन् जार्गन उनीहरूले व्यक्त गर्छन् । तर, बिडम्बना ! यी आवाज वर्षका बाँकी दिनमा कतै सुनिँदैन । संसद्मा, सडकमा रिंकु सदायको असामयिक आत्महत्या या हत्यामा यी आवाज सुनिँदैनन् । न त श्रीमान्ले सामान्य विवादमा हत्या गरेर घरभित्रै गाडिएकी महिलाका बारेमा समाचार सार्वजनिक हुँदा यी आवाज सुनिन्छन् । न बाख्रा चराउन जाँदा हत्या गरिएकी किशोरीविरुद्ध नै यी आवाज सुनिन्छन् । ८ मार्च होस् या महिला हिंसाविरुद्धका यी अभियान एउटा ‘सेलेब्रेसन’मात्र बन्न पुगेका छन् । महिला स्वतन्त्रता र महिलाको स्वाभिमान अनि अस्तित्वका पक्षमा मानव इतिहासमै महत्व राख्ने ८ मार्चको सन्दर्भमा नेपालका परिवर्तनकामीको व्यवहार देख्दा लाग्छ, महिलाको मुद्दासमेत बजारले किनिसकेछ ।

 

पहिला–पहिला बाटोघाटो, यातायात, सम्पर्कका माध्यमको अभाव थियो । माइतीघरबाट टाढा रहेका चेलीबेटीले भोगेका तितामिठा अनुभूति पोख्ने माध्यम थियो तिज । पछिल्लो समय गाउँगाउँ पुगेको बाटो, यातायातको सुविधा र हातहातमा उपलब्ध मोबाइलले भौतिक दूरी छोट्याएको छ । अझ पछिल्लो समय इन्टरनेटको पहुँच र सोसल मिडियाको विस्तारले चेलीबेटीका बह पोख्ने विकल्प पनि छन् । अहिले माइत गएर आमाले पकाएको खान नपाइने गुनासोबाहेक हुँदा खाने महिलाका लागि तिज त्यति ‘चिज’ रहेन । किनभने, हुनेखानेले जसरी बजारले निर्धारण गरेका थरीथरीका फेसन र महिना दिनअघिबाटै पार्टी प्यालेसमा ‘दर’ खाने कर्ममा भाग लिन उनीहरूलाई फुर्सद हुँदैन ।

 

महिलामाथि आर्थिक बोझ थपेर आत्मनिर्भरको नाममा शोषणको अर्को भारी बोकाइएको छ । यतिवेला आफ्नो अस्तित्व निर्माण गर्न ‘आर्थिक रूपमा आत्मनिर्भर’ हुनुपर्ने बजार शास्त्रको भारीले थिचिएर सास फेर्न गाह्रो भएको पीडा हरेक घरमा महिलाको भोगाइ हो । ‘राम्री’ नहुँदा लोग्नेबाट पाएको शारीरिक, मानसिक यातना खेपिरहेका महिलाको मनोदशामाथि रातारात ‘गोरी’ भइने भुलभुलैयामा बजारले उनीहरूको भावनामाथि खेलेको छ ।

 

यस्तै, कागलाई बेल पाक्दा कुनै फरक नपरेजस्तै यतिवेला ८ मार्च हुँदाखाने वर्गलाई वर्ष दिनमा घुम्दै आउने ३६५ मध्ये एक सामान्य दिन होे । कमाएर ल्याउँदा चुलोमा आगो बल्छ । नहुँदा भोकै रात काटाउनुपर्छ । एकसरो च्यादरमा हिउँदका लामा रात गुजार्नुपर्छ । ८ मार्चमा आयोजना गरिने कार्यक्रमलाई जसरी हुनेखाने वर्गले फेसन सप्ताहका रूपमा ‘सेलेब्रेसन’ गरेका हुन्छन्, त्यसरी नै हुँदा खानेले यो दिन ‘आफ्ना लागि नभएको’ भन्दै बाटो तर्कने गरेका छन् । घरको गाह्रो टाल्दै गरेकी दिदी वा बाटो बढार्दै गरेकी बहिनीका लागि ८ मार्च ‘नजान्ने गाउँको बाटो’ बनेको छ । 

 

त्यसो त पुँजीवादका लागि हरेक कुरा सामान हुन्् । मानिसका भावना, आँसु, संवेदना, दुःख, हाँसो, रोदन, पीडा, विवशता हरेक कुरा व्यापार हुन् । त्यसमा नाफाको मोलमोलाइ हुन्छ । हरेक कुरामा नाफा र घाटाको हिसाब हुन्छ । कहिलेकाहीँ आँसु पनि भाइरल बन्छ । एकजनाले आँसु बगाउँछ र हजारौँले त्यसबाट लाभ लिइरहेका हुन्छन् । एकजना महिला बलात्कृत हुन्छिन् निर्मलाजस्तै र हजारौँका लागि त्यो जीविकोपार्जनको साधन बन्छ । अहिले पनि मानिसहरूले निर्मला बिर्सेका छैनन् । तर, निर्मलापछि भागरथीदेखि रिंकु सदाय र त्यसबिचका दर्जनौँ बलात्कृत या हत्या भएका या हिंसा सहेका महिलाले त्यो टिआरपी पाउँदैनन् । किनभने, त्यसले बजार तताएको हुँदैन । र, यो बजारको छेलोखेलोमा नेपालको महिला आन्दोलन अलमलिएको छ । मिडियामा समाचार बन्ने, फेसबुक, टिकटक युट्युबमा चर्चा बटुलेका घटनामा महिलाहरू तात्छन् । त्यहाँ उनीहरूको सेलेब्रेसन बिक्छ । उनीहरूका लागि अरू घटना सामान्य हुन्छन् । यही सेरोफेरोमा अहिले फेरि ८ मार्च आएको छ । 

 

८ मार्च र ऐतिहासिक सन्दर्भ  

 

प्राकृतिक रूपमा जन्मिँदै पाएको ‘मानव’ हुनुको आधारभूत अधिकार माग्दै सडक संघर्ष गरेको आज ११४ वर्ष पूरा भएको छ । काम, माम, नामका लागि गरिएको आन्दोलनको सम्झनास्वरूप ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा मनाउन थालिएको हो ।

 

तत्कालीन आन्दोलनको मर्म स्मरण, उपलब्धिको रक्षा र समयानुकूलका वर्गीय सवालमाथि गहन बहस हुनुपर्ने यो ऐतिहासिक सन्दर्भलाई पछिल्लो समय बजारले कब्जा गरेको छ । यो विशेष दिन सप्ताव्यापी ‘सेलिब्रेसन’को औपचारिकतामा सीमित भएको छ । हुँदा खानेहरूको समय, श्रम र सम्मानको माग गर्दै सुरु भएको यो आन्दोलन अहिले ‘शासक’ रिझाउने र ‘डोनर’ भजाउने हतियार बनाइएको छ । सामन्तवादले रोपेको र पुँजीवादमा मोटाएको वर्गभेदबिच च्यापिएर यसको ऐतिहासिक सन्दर्भ र महत्व लावारिस बनेको छ ।

 

महिला अधिकार, मानव अधिकारको चर्को वकालत गर्ने पश्चिमा देशले महिलालाई मताधिकार प्रदान गरेको ऐतिहासिक सन्दर्भलाई सय वर्ष पूरा भएको अवसरमा ‘सेलिब्रेसन’ गरेको धेरै भएको छैन । पश्चिमा देशको तुलनामा कान्छो प्रजातन्त्रको अभ्यास गरेको नेपालमा पहिलोपटक २००४ मा काठमाडौं नगरपालिकामा भएको निर्वाचनमा महिलालाई मताधिकार दिइएन । २००७ सालको ऐतिहासिक आन्दोलन र प्राप्त परिवर्तनपछि महिलाले पनि आफ्नो मत जाहेर गर्ने अधिकार पाए ।

 

विश्वव्यापी रूपमै त्यसपछिका हरेक निर्णायक आन्दोलन र अभियानमा उत्तिकै योगदान दिएका महिलाका लागि पुरुषले जसरी आधारभूत अधिकारको उपभोग गर्न भने धेरै कठोर कसरत गर्नुपरेको इतिहास छ । यो सय वर्षभन्दा बढीको लडाइँमा अझै पनि महिलाले श्रमको समान मूल्य पाउन सकेका छैनन् । आफैँले जन्माएर हुर्काएका सन्तानलाई पहिचान दिन सकेका छैनन् । बजारमा बिकाउन राष्ट्राध्यक्षदेखि प्रधानन्यायाधीशसम्मका केही थान महिलाका अनुहार देखाइए पनि न ती अनुहारले आममहिलाको जीवनमा उत्प्रेरणा भर्न सकेका छन्, न आफ्नो वर्गको न्याय गर्न नै । कुनै एकाध स्थानमा पारिवारिक विरासत र आफ्नै बलबुतामा इतिहास रचेका ती वीरंगनाहरूले पितृसत्तासँग निर्मम सम्झौता गर्दै जीवनभर अपमान र अविश्वास सहनुपर्‍यो ।  

 

तेरो शरीर, मेरो रोजाइ 

 

हामीकहाँ त आर्थिक र सामाजिक रूपमा ‘पछि परेका’ भनेर धेरै र गम्भीर विषयमा ‘एस्क्युज’ दिने र पाउने गरिएको छ । तर, सबैभन्दा लामो र उन्नत लोकतन्त्रको अभ्यास गरेको भनेर मानिएको संयुक्त राज्य अमेरिकामा केही समयअघि सम्पन्न निर्वाचन, निर्वाचनको नतिजा र त्यसपछि निर्वाचनमा हार व्यहोरेकी उपराष्ट्रपति कमला ह्यारिसलाई लक्षित गर्दै दिइएका अभिव्यक्ति निकै घटिया र आपत्तिजनक थिए ।

 

महिला र मध्यम वर्गको एजेन्डासहित राष्ट्रपति पदको चुनावी मैदानमा होमिएकी कमलाको हारसँगै उनका प्रतिद्वन्द्वीले दिएका ‘तेरो शरीर, मेरो रोजाइ’ (योर बडी, माइ च्वइस), ‘भान्छामै फर्क’ (गो ब्याक टु दि किचन) जस्ता आपत्तिजनक अभिव्यक्ति निकै दिन सामाजिक सञ्जालमा ‘ट्रेन्डिङ’ रहे । अमेरिकी इतिहासमा पहिलोपटक निर्वाचित उपराष्ट्रपति बनेर उच्च कार्यकुशलताका साथ देश र नागरिकको सेवा गरेकी कमला चुनावपछि गरिएको अपमानले लामो समय सार्वजनिक कार्यक्रममा आउन सकिनन् । कमला र महिलामाथि गरिएका ती आपत्तिजनक अभिव्यक्तिको विरोध भए पनि निर्वाचनको नतिजा आएलगत्तै डोनाल्ड ट्रम्पको नियुक्ति, निर्देशन र योजनाले बजार तताएपछि यो विषय ओझेलमा पर्‍यो ।

 

युग फेरियो, फेरिएनन् शोषण र प्रवृत्ति । महिलाको शरीरलाई निजी सम्पत्ति ठान्ने पितृसत्ताको आधारभूत चरित्र झन् कठोर र बहुविकल्पसहित अघि बढ्यो । लडेर, भिडेर प्राप्त गरेको आंशिक अधिकारमाथि पुँजीवादका नङ्ग्राले चिथोरेको छ । बजारले किनेको छ । हिजो घरले मात्रै अर्घेलो मान्थ्यो । आज शासकले, बजारले, हाकिमले अर्घेलो ठान्छ ।

 

नेपालकी निर्मला र अमेरिकाकी कमलाबिच आंगिकबाहेक कुनै समानता छैन । निर्मलामाथि भएको शोषण र अन्यायको चरित्र र डिग्री फरक छ । तर, क्षमताले इतिहास रच्ने बिन्दुमा पुग्दा अपमान, अविश्वास र आशंकाको सिकार भएकी कमलालाई ‘तेरो हैसियत किचन नै हो’, ‘तेरो शरीरमाथि मेरो अधिकार छ’ भनेर उनीमाथि प्रहार गर्ने पात्र र प्रवृत्ति भने उनै र उस्तै हुन् ।

 

युग फेरियो, फेरिएनन् शोषक र प्रवृत्ति । महिलाको शरीरलाई निजी सम्पत्ति ठान्ने पितृसत्ताको आधारभूत चरित्र झन् कठोर र बहुविकल्पसहित अघि बढ्यो । लडेर, भिडेर प्राप्त गरेको आंशिक अधिकारमाथि पुँजीवादका नङ्ग्राले चिथोरेको छ । बजारले किनेको छ । हिजो घरले मात्रै अर्घेलो मान्थ्यो । आज शासकले, बजारले, हाकिमले अर्घेलो ठान्छ । हिजो वंश चलाउन छोरो नजन्माउँदा हजुरआमाले पाएको यातनाको भर्पाई आमाले जिउँदै जलेर गर्नुपर्‍यो । आज आमाले दाइजो कम ल्याउँदा ‘गरेको गल्ती’ छोरीले सामूहिक बलात्कार सहेर पूरा गर्नुपरेको छ ।

 

हिजो सन्तानको लालनपालन र घर व्यवस्थापनको जिम्मेवारीमा रहेका महिलामाथि आर्थिक बोझ थपेर आत्मनिर्भरको नाममा शोषणको अर्को भारी बोकाएको छ । यतिवेला आफ्नो अस्तित्व निर्माण गर्न ‘आर्थिक रूपमा आत्मनिर्भर’ हुनुपर्ने बजार शास्त्रको भारीले थिचिएर सास फेर्न गाह्रो भएको पीडा हरेक घरमा महिलाको भोगाइ हो । ‘राम्री’ नहुँदा लोग्नेबाट पाएको शारीरिक, मानसिक यातना खेपिरहेका महिलाको मनोदशामाथि रातारात ‘गोरी’ भइने भुलभुलैयामा बजारले उनीहरूको भावनामाथि खेलेको छ । आफ्नो अस्तित्व निर्माण गर्न आत्मनिर्भर हुनुपर्ने, आर्थिक रूपमा आत्मनिर्भर हुन बजारलाई चाहिले ‘स्मार्टनेस’ अर्को बोझ । जसले, पुँजीबजारको मानकका रूपमा आफूलाई प्रमाणित गर्न सकोस् ।

 

यहाँनेर बिडम्बना के भने पुँजीवादले आक्रामक रूपमा महिलालाई, महिलाका संवेदनालाई, यतिसम्म कि महिलामाथिका जघन्य अपराध र हिंसालाई समेत बजारीकरण गरिरहँदा, भौतिक र मानसिक हरेक पक्षलाई बजारमा लाभ–हानिको विषय बनाइरहँदा हामी परिवर्तनको गफ गर्नेहरू भने मौन छौँ । र, सक्रिय हुन्छौँ भने पनि त्यही बजारको अघोषित पासोअन्तर्गत मात्रै । हाम्रो तरंग, या हाम्रो सक्रियता वा हामीले उठाउने आवाज पनि त्यही बजारले नै लाभ लिने गरी हुन्छ । किनभने, हामी पनि त्यही चर्चा या टिआरपीकै पछि लागेर आवाज उठाइरहेका छौँ । पछिल्लो समयमा कुम्भमेलामा रुद्राक्ष बेच्ने मोनालिसा नाम गरेकी किशोरीका पछाडि यही बजार कुद्यो । उसको आँखा सुन्दरताको मानक बन्यो । अनि रातारात कुनै निर्देशकले उसको आँखाको या रूपको व्यापार सुरु गर्‍यो ।

 

सकिएकै हो मार्च ८ को सान्दर्भिकता ?

 

यतिवेला सामन्तवादको साङ्लो, पुँजीवादको चंगुलमा फस्दै गएका एजेन्डा र व्यवस्थाप्रति विश्वभर प्रश्न गर्ने वर्गको असन्तुष्टि चुलिएको छ । यो सय वर्षभन्दा लामो लडाइँमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएका आवाजलाई शासकले, बजारले दबाउन खोजेको धेरै भयो । वर्षौं उही र उस्तै विषयका लागि लड्नुपर्ने बाध्यताले ती आवाज कमजोर बने । न नयाँ कुरा, न नयाँ एजेन्डा । के लेख्ने ? कति लेख्ने ? किन लेख्ने ? लेखेर ‘आम’ र ‘म’ पुस्ताको जीवनमा घाम लागेको छ र ?

 

बोल्न र लेख्न विषय सकिएका हुन् त ? पक्कै होइन । शोषित वर्ग उही छ । समस्या उनै छन् । तर, शोषण गर्ने तौरतरिका फेरिएका छन् । धेरै थरीका माध्यम अस्तित्वमा आएका मात्र हुन् । लेखेर, बोलेर सायद आमा र म पुस्तालाई फरक नपर्ला । तर, यति बोल्न र लेख्न पनि छोड्ने हो भने ‘छोरी’ पुस्ताले शोषणको जालोमा अल्झिएर, निसास्सिएर सास फेर्न सक्नेछैनन् । समाजमा अस्तित्व कायम राख्न खेज्नेहरूले कठोर परीक्षामा उत्तीर्ण हुन सक्नेछैनन् ।

 

प्रश्न उठ्छ, के नेपालमा महिला आन्दोलन पूर्ण रूपमा बजारसामु लम्पसार परेकै हो त ? के बजारले आफ्नो लाभका लागि या स्टलमा यदाकदा राख्ने बलात्कार, हिंसा, आँसु, रोदनकै वरिपरि हाम्रो आन्दोलन घुमेको हो त ? संविधानले महिला अधिकारलाई उच्चतम रूपमा सुनिश्चितता गर्दासमेत त्यसको कार्यान्वयनमा कतै देखिँदैन त महिला आन्दोलन ? कतै देखिँदैनन् त हिजो महिला अधिकारका पक्षमा पिठ्युँमा बन्दुक बोकेर हिँड्ने वीरंगनाहरू ? बजारले जे चाहन्छ, त्यही भइरहेको छ । महिला संगठनहरू त छन् नि सबै दलमा, सबै पार्टीमा । औपचारिकताभन्दा पर पुँजीवादले सर्लक्क समाज र सामाजिक चेतना निलेका वेला महिला आन्दोलनका मुद्दालाई पुनः परिभाषित गरेर एकताबद्ध महिला आन्दोलन सिर्जना गर्न केले छेकेको छ ? पितृसत्ता त बजारसँग पो छ । यसविरुद्ध लड्न नयाँ रणनीति बनाउन सकिन्न र ? नत्र एउटा रुटिनका रूपमा ८ मार्च मनाएर र क्लारा जेटकिनलाई सम्झेर महिला मुक्ति सम्भव होला र ?