
बंगलादेशको राजनीतिक परिदृश्यले लामो समयदेखि पारिवारिक विरासत र चामत्कारिक नेताहरूको आकर्षणले आकार दिँदै आएको छ । यस पृष्ठभूमिमा विद्यार्थी नेतृत्वको नयाँ राजनीतिक दल ‘राष्ट्रिय नागरिक पार्टी’को गठनसँगै स्वाभाविक रूपमा प्रश्न उठ्छ– के विद्यार्थी आन्दोलनबाट जन्मेको र कुनै परिचित राजनीतिक अनुहार नभएको दल साँच्चै देशको प्रमुख राजनीतिक शक्ति बन्न सक्छ ? यसको जवाफ दिन हामीले बंगलादेशमा राजनीतिक सफलतालाई अगाडि बढाउने महत्वपूर्ण तत्व ख्याल गर्नुपर्छ । यी पक्षलाई मात्रै ध्यान दिँदा राष्ट्रिय नागरिक पार्टीको महत्वाकांक्षासामु ठुलो चुनौती देखिन्छ, जसले दलको सत्तायात्रामा कठिनाइ सिर्जना गर्नेछ । यसका बाबजुद पुराना दलबाट मोहभंग भएका युवापुस्तामा सुधारप्रति बढ्दो भोक तिनको अनुकूल छ ।
आन्दोलनको रापताप केही मत्थरपछि पार्टी गठन
राष्ट्रिय नागरिक पार्टी भेदभावविरोधी विद्यार्थी आन्दोलन र राष्ट्रिय नागरिक समितिको विकसित रूप हो भन्दा फरक पर्दैन । तिनले गत वर्षको सेख हसिनाको सरकारलाई अपदस्थ गर्न नेतृत्वदायी भूमिका खेलेका थिए । तैपनि, पार्टीको औपचारिक गठन आन्दोलनले शिखर छोएको कैयाैँ महिनापछि मात्र भएको छ । आन्दोलनको रापताप केही मत्थर भएपछि पार्टी गठन भएकाले यसले राजनीतिक गति खेर फालेको आरोप केही शुभचिन्तकले लगाएका छन् ।
क्रान्ति भावनाद्वारा सञ्चालित हुन्छ । प्रसिद्ध राजनीतिक वैज्ञानिक स्यामुएल पी. हन्टिङटनले उनको ‘पोलिटिकल अर्डर इन चेन्जिङ सोसाइटिज’ नामक पुस्तकमा उल्लेख गरेझैँ ‘जनताको जोस समाप्त हुनुअघि नै शक्ति सुदृढ गर्ने क्रान्तिकारी आन्दोलन मात्र सफल हुन्छ ।’ यदि राष्ट्रिय नागरिक पार्टी जुलाई–अगस्ट विद्रोहलगत्तै गठन भएको भए यसले जनतामा रहेको आलो ऊर्जालाई पुँजीकृत गर्न सक्थ्यो । यसलाई संरचित राजनीतिक आन्दोलनमा परिणत गर्न सक्थ्यो । पार्टी गठनमा ढिलाइ हुँदा प्रतिद्वन्द्वी राजनीतिक शक्तिले गुमाएको जमिन पुनः प्राप्त गर्ने समय पाए । यसले पार्टीले प्राप्त गर्न सक्ने प्रारम्भिक फाइदा गुमेको छ । त्यसअतिरिक्त विरोध प्रदर्शनपछिका महिनामा आममानिसको प्राथमिकता निरंकुशताबाट शान्ति सुरक्षा, आर्थिक अस्थिरता, शासकीय कमजोरी र विश्वव्यापी संकटतर्फ सर्न थालेको छ । अर्थात्, राष्ट्रिय नागरिक पार्टीलाई जन्म दिने आन्दोलनको प्रभाव कम भएको समयमा यसको गठन हुँदा पार्टीलाई सान्दर्भिकता कायम राख्न कठिन पर्न सक्छ ।
चामत्कारिक नेताको खोजी
बंगलादेशी राजनीति अत्यन्त वैयक्तिक छ । देशको सबैभन्दा सफल राजनीतिक आन्दोलनलाई ती नेताले नेतृत्व गरेका थिए, जसप्रति समर्थकमा झन्डै धार्मिकस्तरको भक्ति कायम छ । सेख मुजिबुर रहमान, जियाउर रहमान, हुसेन मुहम्मद एर्साद, यी केवल राजनीतिज्ञ मात्र थिएनन्, ती आन्दोलनका प्रतीक थिए । यसविपरीत राष्ट्रिय नागरिक पार्टीमा यस्तो बलियो व्यक्तित्व भएका नेताको अभाव छ । यसको नेतृत्व संरचना सामूहिक देखिन्छ, जसमा नाहिद इस्लाम संयोजकको भूमिकामा छन् । बाँकी पदमा अन्य सदस्य तोकिएका छन् ।
सामूहिक नेतृत्व लोकतान्त्रिक अभ्यास भए पनि देशको इतिहासले भने आफूवरिपरि गोलबन्द गर्न सक्ने बलियो नेताविनाका आन्दोलन बिरलै सफल भएको देखाउँछ । जनतालाई तरंगित गर्न सक्ने राष्ट्रिय नागरिक पार्टी कतै साना राजनीतिक दलको भिडमा अर्को अनुहारविहीन संगठन बन्ने त होइन भन्ने जोखिम बढेको छ । त्यसबाहेक बौद्धिक र शैक्षिक मताधारमा निर्भरताले पार्टीलाई नीति–निर्माणमा फाइदा गरे पनि त्यो कुरा जनअपिलमा नबदलिन सक्छ । सफल राजनीतिक व्यक्तित्वमा प्रायः व्यक्तिगत आकर्षण, बलियो वक्तृत्व कला र फरक–फरक मताधारसँग जोडिने क्षमताको संयोजन हुन्छ । यदि विद्यार्थी नेताले राष्ट्रिय नेतामा बदल्ने आशा राख्छन् भने राष्ट्रिय नागरिक पार्टीको वर्तमान नेतृत्वले यी सीपलाई मूर्त रूप दिने उपाय खोज्नुपर्छ ।
नयाँ मतदाता समीकरण
नवगठित राजनीतिक दललाई बलियो बनाउने एक पक्ष पनि छ । १६ वर्षको अवधिमा लगभग चार करोड नयाँ मतदाताको उदय भएको छ । अबामी लिगको शासनमा तीमध्ये धेरैले मतदान नै बहिष्कार गर्ने गर्थे । लोकतान्त्रिक प्रक्रियाको ह्रासबाट निराश यी युवा मतदाता वैकल्पिक राजनीतिक शक्तिको आधार बन्ने अपेक्षा गरिएको हुन सक्छ । तर, वास्तविकता यति सजिलो भने छैन । उल्लिखित युवा मतदाता देशभर छरिएका छन् । त्यसैले तल्लो तहमा बलियो सञ्जाल नभएको एउटा दलले यो समूहलाई प्रभावकारी रूपमा परिचालन गर्न अत्यन्तै गाह्रो छ ।
उनीहरूमा सामूहिक परिवर्तनको चाहना त छ, तर भौगोलिक विविधताले उनीहरूलाई चुनावी प्रभाव पार्न सक्ने केन्द्रीकृत मतदाता समूह बन्नबाट रोक्छ । उनीहरूको सामूहिक शक्तिलाई उपयोग गर्न सक्ने केन्द्रीकृत संरचना भएन भने मत बाँडिनेछ । परिणामस्वरूप, राजनीतिक प्रक्रियामा उनीहरूको समग्र प्रभाव घट्नेछ । युवामाझ नयाँ पार्टी लोकप्रिय होला, तर त्यो समर्थनलाई रणनीतिक फाइदामा रूपान्तरण गर्ने संयन्त्र आवश्यक पर्छ । त्योविना अर्थपूर्ण भिन्नता ल्याउन सकिँदैन ।
पूर्वाधारको अभाव
बंगलादेशका प्रमुख दल बिएनपी, अबामी लिग र जमात–ए–इस्लामीसँग माथिदेखि तल्लो तहसम्मको व्यापक सञ्जाल छ, जुन सहरदेखि दुर्गम गाउँमा फैलिएको छ । यी सञ्जाल मतदाता परिचालन गर्न, स्थानीय राजनीतिलाई प्रभाव पार्न र चुनावी सफलता सुनिश्चित गर्न महत्वपूर्ण छन् । सहरी विद्यार्थीमाझ लोकप्रिय रहे पनि राष्ट्रिय नागरिक पार्टीसँग त्यस्तो पूर्वाधारको अभाव छ । इतिहास हेर्ने हो भने बलियो धरातलीय सञ्जाल नभएका कुनै पनि दलले आफूलाई लामो समय टिकाउन सकेका छैनन् ।
उदाहरणका लागि, भारतको आम आदमी पार्टीले देशको राजधानी समेटिएको दिल्लीमा प्रारम्भिक सफलता पायो । तर, तल्लो तहमा कमजोर उपस्थितिका कारण राष्ट्रियस्तरमा विस्तार गर्न संघर्ष गरिरहेको छ । बलियो दलका रूपमा विकास हुन विद्यार्थी र सहरी कार्यकर्ताको परिचालन मात्र पर्याप्त हुँदैन भन्ने तथ्य राष्ट्रिय नागरिक पार्टीले स्विकार्नुपर्छ । स्थानीयस्तरमा व्यापक सञ्जालविना यसले आन्दोलनबाट सिर्जित उत्साहलाई चुनावी विजयमा रूपान्तरण गर्न संघर्ष गर्नुपर्नेछ । ट्रेड युनियन, किसान संघ र स्थानीय संगठनसँग बलियो गठबन्धन निर्माण गरे मात्र यस पार्टीलाई विश्वविद्यालय क्याम्पसबाहिरको जग प्रदान गर्न सक्छ ।
नयाँ दलले वंशवादी पकड तोड्न सक्छ ?
राष्ट्रिय नागरिक पार्टीले सबैभन्दा ठुलो अवरोध बंगलादेशको वंशवादी राजनीतिको स्थापित संस्कृतिबाट सामना गर्नुपर्ने हुन्छ । अहिले देशका दुई ठुला दलमध्ये अबामी लिग सेख मुजिब परिवारको पर्यायवाचीजस्तै छ । त्यस्तै अर्को प्रमुख दल बंगलादेश नेसनलिस्ट पार्टी (बिएनपी) जिया परिवारको वरिपरि केन्द्रित छ । वैधताका लागि स्थापित पारिवारिक वंशसँग जोडिनुपर्ने राजनीतिक संस्कृति भएको ठाउँमा नयाँ दलहरूले मताधार बढाउन संघर्ष गर्नुपर्छ । बंगलादेशबाहिर पनि वंशवादी राजनीति अझै शक्तिशाली छ । भारतमा नेहरू–गान्धी परिवारले दशकौँदेखि देशको दुई प्रमुखमध्ये एक दल कंग्रेसमा प्रभुत्व जमाएको छ । पाकिस्तानमा भुट्टो र सरिफले देशका दुई दल सञ्चालन गरिरहेका छन् । राष्ट्रिय नागरिक पार्टीका सामु मतदातालाई राजनीतिक वैधताका लागि प्रसिद्ध थर भएका नेता आवश्यक पर्दैन भनेर विश्वस्त पार्नुपर्ने चुनौती छ । सेख हसिनाको सरकारको पतनले क्षणिक संकट सिर्जना गरेको थियो । तर, स्थापित राजवंशहरूको प्रभुत्वलाई उल्ट्याउन अझै धेरै मिहिनेत गर्नुपर्ने देखिन्छ ।
‘दोस्रो गणतन्त्र’को नारा एक राजनीतिक जुवा
राष्ट्रिय नागरिक पार्टीले पार्टी गठन हुँदा नै देशमा ‘दोस्रो गणतन्त्र’को आह्वान गर्यो । यसले बंगलादेशको राजनीतिक परिदृश्यलाई मौलिक रूपमा पुनः आकार दिने उसको मनसायलाई संकेत गर्छ । यस दृष्टिकोणअन्तर्गत नयाँ लोकतान्त्रिक संविधानको मस्यौदा तयार गर्ने, भ्रष्टाचार र नातावाद हटाउने र राष्ट्रिय सुरक्षालाई बलियो बनाउने विषय समावेश छ । यी लक्ष्य महत्वाकांक्षी छन्, तथापि संस्थागत समर्थनविना क्रान्तिकारी राजनीतिक रूपान्तरण कार्यान्वयन गर्न गाह्रो छ । इतिहासकार थेडा स्कोपोलले उल्लेख गरेझैँ ‘क्रान्तिले आदर्श नभई राज्य संयन्त्र नियन्त्रण गर्ने भएकाले सफल हुन्छ ।’ देशका प्रमुख संस्थाहरू सेना, न्यायपालिका, कर्मचारीतन्त्रमा नियन्त्रणविना राष्ट्रिय नागरिक पार्टीको दृष्टिकोण यथार्थवादीभन्दा बढी नारा बन्ने जोखिम छ ।
चुनौतीका बाबजुद, राष्ट्रिय नागरिक पार्टी अप्रासंगिक हुन्छ नै भन्ने छैन । राजनीतिक इतिहास हेर्ने हो भने सुरुमा शंका गरिएका आन्दोलनले नसोचेको सफलता हासिल गरेका छन् । यदि पार्टीले सबै चुनौती पार गर्न सक्यो भने बलियो राजनीतिक स्थान बनाउन सक्छ । अन्यथा, यो बंगलादेशको राजनीतिक इतिहासमा अर्को बिर्सिएको अध्याय बन्नेछ । नेल्सन मन्डेलाले भनेझैँ ‘काम पूरा नभएसम्म त्यो सधैँ असम्भव देखिन्छ ।’
आलम प्राज्ञ, पत्रकार र राजनीतिक विश्लेषक हुन् । ढाका ट्रिब्युनबाट श्रवण उप्रेतीले गरको अनुवाद