• वि.सं २०८१ चैत २१ बिहीबार
  • Thursday, 03 April, 2025
पवन बराइली
२०८१ फाल्गुण २४ शनिबार ०८:४७:००
रिपाेर्ट

मधेश मेरो कलायात्राको जग

२०८१ फाल्गुण २४ शनिबार ०८:४७:००
पवन बराइली

अहिलेका व्यस्त कलाकार हुन्, विजय बराल । नाटकमा मात्रै होइन, चलचित्रमा पनि उनको बेग्लै पहिचान बनिसकेको छ । उनी अभिनीत एकपछि अर्काे चलचित्रले दर्शकको मन जितिरहेका छन् । उनको अभिनय रहेको ‘पूर्णबहादुरको सारंगी’ अहिलेसम्मकै व्यावसायिक सफल नेपाली सिनेमा बन्यो । विश्व प्रतिष्ठित भेनिस, बुसान, मुम्बईजस्ता अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा प्रदर्शन भइसकेको उनी अभिनीत  चलचित्र ‘राजागंज’ रिलिजको तरखरमा छ । अभिनेता बरालले कला यात्रासँगै आफूले भोगेको समय र समाजबारे पवन बराइलीलाई सुनाएका छन् :

 

म सर्लाहीको लालबन्दी बस्तीपुरमा जन्मिएँ, हुर्किएँ । म ८–९ वर्षको थिएँ होला । मलाई हजुरआमाले बजारमा सिनेमा हेर्न लगेको मधुरो याद छ । सिनेमाको नाम याद छैन, तर राजेश हमालचाहिँ देखेको याद छ । त्यो सम्झना दिमागमा ताजै छ । त्यो समय मेरा लागि साँच्चै सुन्दर थियो । घरमा पुरानो रेडियो थियो । त्यो रेडियो पनि बुबाको बिहेमा दाइजो आएको हो रे ! त्यसवेला रेडियोमा फिल्मको चक्का हालेर सुन्न मिल्थ्यो । म बजारबाट फिल्मका सिडी किनेर ल्याउँथेँ । रेडियोमा फिल्मको चक्का हालेर हिरो–हिरोइनको डाइलग सुन्थेँ । हास्य कलाकार नारद खतिवडाका गीत सुन्थेँ । रेडियोमा गीत र फिल्मको चक्का हालेर बजाउँदा खुब मजा आउँथ्यो । पछि घरमा बुबाले टेलिभजन ल्याउनुभयो । शनिबार, शुक्रबार गाउँका सबै जम्मा भएर टिभी हेरिन्थ्यो । त्यसैको प्रभावले होला कक्षा ८ मा पढ्दा ‘क्यारिकेचर’ गरेँ । मेरो क्यारिकेचरलाई सबैले तारिफ गर्थे । तर, त्यसवेलासम्म कलाकार बन्छु भन्ने चेत पलाएको थिएन । क्यारिकेचरभन्दा पनि पढाइलाई ध्यान दिन थालेँ । 

 

मेरो हजुरबुबा सिन्धुलीबाट सर्लाही झर्नुभयो । बुबा सिन्धुलीमा जन्मिए पनि मधेशमै पढ्नुभयो । बस्तीपुरमा मिश्रित समुदाय भएकाले यहाँको संस्कृति पनि मिश्रित नै छ । हामी पहाडको ब्राह्मण समुदाय भए पनि मधेशी समुदायसँग सुमधुर सम्बन्ध थियो । घरमा नेपाली र मैथिली बराबरी बोलिन्थ्यो । म आफूलाई मधेशकै ठान्छु । मेरा स्कुलका साथीहरू पनि थारू, यादव, झा, तेली, मगर लगायत समुदायका थिए । म उनीहरूसँगै खेल्थेँ, हिड्थेँ । मेरो मधेशी साथीहरूसँग गहिरो सम्बन्ध भयो । आफू पहाडी भएको महसुस भएन । 

 

हुर्काइ मधेशी परिवेशमै भएकाले यहाँको संस्कृति अझ नजिकबाट बुझ्न पाएँ । मधेशका पर्वमा सधैँ रमाएँ । यहाँका सबै समुदायको संस्कृतिसँग नजिक भएँ । तिहारमा रातभर देउसीभैलो खेल्न हिँडेको छु । सत्यनारायण पूजा होस् या विश्वकर्मा पूजा सहभागी हुन्थेँ । थारू समुदायका विभिन्न चाडपर्वमा सहभागी भएको छु । मेरो सबैभन्दा राम्रो सम्बन्ध मधेशी साथीहरूसँग भयो । हिन्दु मात्रै होइनन्, मुस्लिम समुदायका मेरा धेरै साथी थिए । मैले यादव, झा, थारू, तेली, मगर, तामाङलगायतको संस्कृति नजिकबाट नियाल्ने अवसर पाएँ । म सानैदेखि हरेक समुदायको संस्कृतिसँग नजिक भएँ । सांस्कृतिक चेतका हिसाबले बाल्यकाल गजबको रह्यो । पहाडी भएर कसैमाथि कसैले कुनै पनि किसिमको विभेदजन्य व्यवहार गरिनँ । कहिल्यै कसैप्रति मनमा विभेद आएन । बरु उनीहरूले गर्ने कामलाई अझ नजिकबाट नियाल्ने र बुझ्ने अवसर पाएँ । 

 

पढाइभन्दा बढी भोगाइ र देखाइ मुख्य कुरा रहेछ । अभिनयमा लागेपछि फरक–फरक चरित्र बाँच्न पाइन्छ । अभिनय गर्दा म जुन चरित्रमा छु, त्यसैमा डुब्छु, सहज पनि हुन्छ ।

 

दलित (चमार) समुदायका साथीहरूले छालाको काम गरेको हेर्थेँ । उनीहरूसँग नजिकै गएर बस्थेँ । घर्ती मगरहरूले खेत जोतेको हेर्थें, उनीहरूसँगै रमाउँथेँ । मधेशको सांस्कृतिक तथा सामाजिक परिवेशमा हुर्किएकाले होला मेरो मस्तिष्कमा त्यो परिवेशको गज्जबको ‘इमेज’ बनेको छ । सानैदेखि राज्यले पिँधमा पारेका समुदायसँग संगत गर्न पाएँ । यही हुर्काइले सिनेमाको चरित्र चित्रणमा प्रभाव पारेको छ । सिनेमामा मलाई भुइँमान्छेको भोगाइसँगको अनुभूतिले पात्रलाई रुचाइएको छ । सिनेमामा म आफैँले देखेको समाजका पात्रबाट चरित्र निर्माण गर्छु । म हुर्केको संस्कृति र समाजले चरित्र निर्माण गर्न सहयोग पुग्यो । पढाइभन्दा बढी भोगाइ र देखाइ मुख्य कुरा रहेछ । अभिनयमा लागेपछि फरक–फरक चरित्र बाँच्न पाइन्छ । अभिनय गर्दा म जुन चरित्रमा छु, त्यसैमा डुब्छु, सहज पनि हुन्छ । मधेशका परम्परा र रीतिरिवाजले मेरो जीवनमा ठुलो प्रभाव पारेको छ । मलाई तराई मधेशको संस्कार, संस्कृति, वेशभूषा, पहिरन आदिले आनन्द बनाउँछ । मधेशको सौन्दर्य पनि यही हो जस्तो लाग्छ । 

 

मधेश आन्दोलनपछि तराई अर्कै भयो 

 

०६२/०६३ को कुरा हो । त्यसवेला म कक्षा १२ मा पढ्थेँ । त्यसबेलाको मधेश आन्दोलनका केही दृश्य सम्झना बनेर आइरहन्छन् । आन्दोलनले पहाडे र मधेशबिच फाटो ल्याइदियो । आन्दोलनपछि मधेश र पहाडे भन्न थालियो । पहडेलाई ‘नाक चुच्चे’ भन्न थालियो । मधेशकालाई ‘काला’ भन्न थालियो । त्यसपछि मधेश र पहाडको द्वन्द्व देखियो । केही समूह मधेशी–पहाडीको सद्भाव बिगार्न लागिरहे । एक–अर्कालाई भड्काएर तघारो बनाए ।

 

विशेषगरी आन्दोलनका क्षण मानसपटलमा आइरहन्छन् । मेरो मनमा पनि मधेशीले पहाडे (हामी) लाई हेपिरहेका छन् भन्ने आयो । मलाई पनि दबिएर बस्न मन लाग्दैनथ्यो । तर, म आफू मधेशी नै हो भनेर प्रतिकार गर्थेँ । म मैथिली बोल्थेँ । मैथिली बोलेपछि हिँड्न दिन्थे । बाटो हिँड्दा पनि पहाडे भनेर डाक्थे । बाटोमा हामी (पहाडे) लाई देख्यो कि पहाडे रहेछन् मार्नुपर्छ भन्थे । पहाडेले पनि मधेशी समुदायलाई देखिनसक्ने अवस्था थियो । एक–अर्कालाई दुस्मन देखाइयो । आन्दोलनले त्यही खालको मानसिकताको विकास भयो । मधेश आन्दोलन गलत नियतबाट भयो जस्तो लाग्छ । त्यो समय सम्झँदा अहिले पनि दुःख लाग्छ । आन्दोलन सकिएपछि यस्तो भेदभाव मिलाउनुपथ्र्याे । तर, पछिसम्मै मधेश र पहाडबिच द्वन्द्व चलिरह्यो । आन्दोलनअघि तराईमा मधेशी–पहाडी एउटै थिए । मधेश मेरा लागि सधैँ तराई नै हो । अहिले पनि तराईकै भन्न रुचाउँछु । मधेश प्राविधिक शब्दजस्तो लाग्छ ।

 

कलाकार बन्न काठमाडौं आएपछि मेरो मधेशप्रतिको बुझाइ र दृष्टिकोण फरक भयो । काठमाडौंले मधेशलाई अर्कै बुझ्दो रहेछ । मधेश त विविधता र सामूहिकता बोकेको ठाउँ हो । काठमाडौंले मधेशलाई अर्कै आँखाले हेर्छ । मधेशी समुदायलाई अर्कै ग्रहबाट आएजसरी हेरिन्छ । काठमाडौंले देखेजस्तो मधेश होइन । मधेशको सभ्यता, संस्कृति र सौन्दर्यले भरिपूर्ण छ । नेपालको करिब आधा जनसंख्या रहेको मधेशीलाई कमजोर देखाइन्छ । अझै पनि मधेशी समुदायले विभेदजन्य व्यवहार सामना गर्नुपरिरहेको छ । कुनै पनि ठाउँ र क्षेत्रका आधारमा विभेदकारी सोच हट्नुपर्छ । मधेशी भएको कारणले विभेदको सामना गर्नुपर्ने अवस्था आउनुहुँदैनथ्यो । 

 

‘राजागंज’मा मधेश आन्दोलनमा बाँचेको समय र समाज देखेँ 

 

‘राजागंज’मा मैले मधेश आन्दोलनमा बाँचेको समय र समाज छ । मधेशमै जन्मेहुर्केको मान्छे, मधेशकै बारेमा बनेको सिनेमामा अभिनय गर्दा सिनेमाभित्र आफूलाई देखेँ । सिनेमाको पात्रमा म आफू भएर बाँचेको छु । त्यसैले यो सिनेमाले मेरो जीवनमा महत्व राख्छ । 

 

म कमेडियन बन्ने सपना बोकेर काठमाडौं आएको थिएँ । तर, मलाई यहाँ आएपछि नाटकको चस्का पस्यो । यसका लागि अभिनय सिक्नुपर्ने रहेछ भन्ने लाग्यो । म नाटकमा काम गर्न थालेँ । पर्दापछाडि रहेरै दुई वर्ष काम गरेँ । त्यस दौरान धेरै कुरा सिकेँ । मैले नाटक र सिनेमामा १७ वर्ष बिताएँ । यो अवधिमा थुप्रै सिनेमाहरूमा विभिन्न चरित्र निभाएको छु । आफू बाँचेको समाज र परिवेशको चरित्रमा काम गर्न पाएको थिइनँ । तर, यसपटक सिनेमा ‘राजागंज’मा अभिनय गर्न पाएको छु । अहिलेसम्म अभिनय गरेका फिल्महरूमा भन्दा फरक चरित्र गरेको छु । यो सिनेमामा म मधेश आन्दोलनअघि र पछि मधेशलाई हेर्ने पात्रको भूमिकामा छु । सिनेमाको पात्रमा आफू भएर बाँचेको छु । मैले देखेको र भोगेको पात्र बनेको छु । त्यसैले ‘राजागंज’ले मेरो जीवनको महत्वपूर्ण अर्थ राख्छ । यो सिनेमामा मैले मधेश आन्दोलनमा बाँचेको समय र समाज छ । मधेशमै जन्मेहुर्केको मान्छे, मधेशकै कथामा बनेको सिनेमामा अभिनय गर्न पाएको थिइँन । ‘राजागंज’मा अभिनय गर्दा आफूलाई देखेँ । त्यसैले यो सिनेमाले मेरो जीवनमा महत्व राख्छ ।

 

‘राजागंज’मा काम गर्दा धेरै कुरा सिक्न पाएँ । यो सिनेमामा काम गर्न सजिलो थिएन । तर, निर्देशक दीपक रौनियार दाइले अभिनयको नयाँ टेक्निक सिकाउनुभयो । उहाँले मलाई सजिलो बनाईदिनु भयो । अरू निर्देशकको भन्दा उहाँसँग अभिनय गराउने तरिका र टेक्निक फरक महसुस गरेँ । उहाँ विषयलाई उठान गर्दा अनुसन्धानको गहिराइमा पुग्नुहुन्छ । त्यसैले, कलाकारलाई पनि चरित्रको गहिराइमा पु¥याइदिनुहुन्छ । ‘राजागंज’मा काम गर्दा चरित्रको गहिराइलाई अझ बुझ्न पाएँ । मलाई सिनेमामा ‘कमेडी’ मात्रै गर्छ भन्ने धेरैको बुझाइ थियो । तर, निर्देशकले यो इमेजलाई भत्काइदिनुभएको छ ।