
साधारण भाषामा जल रङ माध्यम हो । साहित्यको विविध विधा हुन्छ । त्यस्तैगरी, जल रङ पनि आर्टको एक विधा हो । चित्रकारितामा सबैभन्दा अप्ठ्यारो विधा जल रङलाई लिइन्छ । जल रङ पेन्टिङले एकदम ताजापन दिलाउँछ । त्यसैले हत्तपत यो विधामा कसैले हात हाल्दैनन् ।
पेन्टिङ गर्नुले मात्रै समाजमा महत्व राख्दैन । समाजको संवेदना उतार्न सक्नुपर्छ, जल रङ पेन्टिङ ‘अन्कन्सियस’ रूपमा उत्पन्न हुने कुरा हो । मान्छेको दिमागमा भएको संवेदना चित्रमा उतार्न सक्नुपर्छ । मैले क्यानभासमा विभिन्न चित्र उतारेको छु । मैले चित्रमा मानिसको संवेदना उतारेको छु । कतै घुम्दा–डुल्दा देखिने मानिसको पीडा र खुसीलाई स्केच गर्छु ।
पेन्टिङ सजावट मात्रै होइन, समाजको ऐना पनि हो । जीवनमा धैर्य चाहिन्छ । चित्रमा रङलाई ‘फिल’ गर्नु महत्वपूर्ण हुन्छ । आँखाले देख्दा विषय थाहा हुने, तर चित्रको गहिराइमा जान रङलाई फिल गर्नुपर्ने हुन्छ । पेन्टिङले समाजको कथा बोल्नुपर्छ ।
जल रङका लागि पानी र रंगको मात्रा मिलाउँदा निकै ध्यान दिनुपर्छ । किनकि, पारदर्शी हुने भएकाले रंग हल्का बढी र गाढा कम हुँदा पातलो स्पष्टै देखिन्छ । जल रङ चित्रको यसका लागि पर्याप्त समय र मनैभित्रदेखि लगाव चाहिन्छ । क्विक डिसिजन गर्न सक्ने खुबी भएन भने जल रङ चित्र बनाउन सकिँदैन ।
यसलाई यथास्थानमा बसेर बनाउँदा एकदमै सहज र उत्कृष्ट हुन्छ । कागज आफैँमा हलुका हुन्छ, रङ पनि बोक्न सजिलो हुन्छ । त्यहीकारण कलाकारहरू हिमाल हेर्दै वा सम्पदा हेर्दै मनमा फुरेका भावलाई पेन्टिङमा प्रत्यक्ष उतार्न मन पराउँछन् । त्यसरी बनाउँदाको मजा नै बेग्लै हुन्छ । जल रङमा जीवन खोज्न रुचाउँछु ।
मैले मान्छेका अनुहारलाई प्राथमिकता दिएर पेन्टिङ गरेको छु । पोट्रेटमा पनि मान्छेको आँखा, ओठ र मुहारमा झल्किएको बिम्बलाई पेन्टिङमा ल्याएको छु । मैले विभिन्न सम्पदाको आकृति पनि बनाएको छु । यसमा आकृति प्रत्यक्ष नदेखाई रङको बिम्ब देखाएको थिएँ । ‘मुस्ताङ’मा त्यहाँको वेशभूषा र प्राकृतिक वातावरणलाई देखाएको छु । मुस्ताङको चिसो मौसमलाई जल रङमै देखाएको थिएँ ।
रङ लगाउने, सुकाउने, फेरि लगाउने, सुकाउने एउटा विधि छ । यसरी तयार गर्दा दुई–चार दिन वा हप्ता दिन पनि लाग्न सक्छ । अर्काे चिसोमै सुक्ने खालको पनि हुन्छ, जसलाई ‘वेट एन्ड वेट’ भनिन्छ । यसरी पेन्ट गर्दा निकै चाँडै तयार हुन्छ । कलर च्वाइस, पेपर च्वाइसलगायतले पनि पेन्टिङलाई राम्रो देखाउन भूमिका खेल्छ । राम्रो गुण भएको पेपर छनोट गर्नुपर्ने हुन्छ ।