
महाकाली करिडोरको प्रतीक्षा
यस वर्ष (१६ माघ ०८१)को सहिद दिवसको पूर्वसन्ध्यामा बैतडी सदरमुकाम दशरथ चन्द नगरपालिकाको गोठलापानीमा रात बिताउने अवसर पाइयो । पुग्नेबित्तिकै मैले बैतडीलाई सोधेँ– कसा छाँै (अर्थात् तिमीलाई कस्ता छ ?) उसले जवाफ दियो– निकोई छु । थोक्कोइ थोक्कोइ दिल दुख्या छ (अर्थात् अलिअलि दिल दुखेको छ) । मलाई बैतडीबाट यो उत्तरको अपेक्षा थिएन । तर, बुझ्दै जाँदा हो जस्तो पनि लाग्यो ।
दशरथ चन्द नेपालका चार प्रसिद्ध सहिदमध्ये एक हुन् । उनकोे जन्म सोही नगरपालिकाको बस्कोटमा भएको थियो । नेपाल–भारतबिचको प्रसिद्ध नाका झुलाघाट बस्कोटबाट केही किलोमिटरमा छ । महाकाली नदीमा करिब डेढ सय वर्षअघि निर्माण गरिएको झोलुंगे पुल दुवै देशका जनताका लागि आवतजावतको एक मात्र माध्यम बन्दै आएको छ । नेपालको सुदूरपश्चिम र भारतको उत्तराखण्डमा यस्ता पुललाई झुला भनिन्छ । सायद त्यसैले होला पुल (झुला) भएको महाकाली घाटको नाम झुलाघाट रहेको । दुवै देशका सवारीसाधन पुलको दुवै छेउमा आउँछन् तर मानिसहरू एक–अर्काको देशमा पैदलै वारपार गर्न बाध्य छन् । नेपालबाट पुल पार गरेपछि प्रसिद्ध भारतीय सैन्य क्षेत्र पिथौरागढ बजार पुग्न सकिन्छ । दुई देशबिच भएको पञ्चेश्वर सम्झौताअन्तर्गत यो क्षेत्र पञ्चेश्वर बाँध क्षेत्रभित्र पर्ने बताइन्छ । यदि यो बाँध बन्यो भने पुलको अस्तित्वमाथि प्रश्न उठ्नेछ । कहिलेकाहीँ पुललाई विस्थापित गरेर पक्की पुल बनाउने चर्चा पनि चल्छ । तर, कुरै त हो ।
नेपालबाट झुलाघाट हुँदै महाकाली नदी (महाकाली करिडोर)मा एउटा सडक निर्माणाधीन छ । भीमदत्त नगरपालिका–९ ब्रह्मदेवदेखि दार्चुलाको तुसरपानीसम्म ३३४ किलोमिटर सडक महाकाली करिडोर सडक परियोजनाअन्तर्गत र तुसरपानीदेखि तिंकरसम्म ९१ किलोमिटरसमेत जोड्दा कुल लम्बाइ चार सय २५ किलोमिटर सडक बन्दै छ । दुई सय ४२ किलोमिटर सडकको ट्र्याक खुलिसकेको छ । ०६६ देखि उक्त सडक निर्माणाधीन छ । सोही सडकको झुलाघाट–ब्रह्मदेव खण्ड लगभग दुई सय किलोमिटरको हुनेछ । हाल अत्तरिया हुँदै डडेल्धुराको बाटो भएर यहाँ पुग्न २७० किलोमिटरभन्दा बढी यात्रा गर्नुपर्छ । यो करिडोर सडक निर्माणपछि, यहाँबाट तराई मधेश पुग्ने दूरी छोटो हुने र पहाडी सडकका यात्रा सुरक्षित हुने अपेक्षा गर्न सकिन्छ । मुख्य कुरा के हो भने दूरी कम हुनेबित्तिकै यसको आर्थिक र चौतर्फी प्रभाव पर्नेछ ।
बैतडीको कथा बैतडीको व्यथा
मैले बैताडीको यस क्षेत्रको भ्रमण धेरैपटक गरेको छु । नेपाल पत्रकार महासंघको अध्यक्ष हुँदा (०६६), बैतडीको पाटनमा सुदूरपश्चिम क्षेत्रस्तरीय पत्रकार भेलाको आयोजना गरिएको थियो । सम्भवतः सुदूरपश्चिममा यस्तो भेला पहिलो थियो । यसै कार्यक्रममा मेरो पहिलो प्रत्यक्ष भेट लक्खाभाइ (पुष्करराज जोशी) र हेमबाबु (लेखक)सँग भएको थियो । यो कार्यक्रमपछि धेरैपटक बैतडी पुगेँ । यसपटक पाटन र गोठलापानीको अवस्था अलि फरक देखिन्थ्यो । मनस्थिति केही परिवर्तन भएकोजस्तो लाग्यो । बजारमा चहलपहल केही कम थियो । मानिसको चहलपहल कम थियो । समग्रमा, बजारमा मानवीय र व्यावसायिक गतिविधि प्रभावित भएको भान हुन्थ्यो । स्थानीयका अनुसार मानिस बिस्तारै यहाँबाट तल झर्दै छन् । होटेल, पसल र अन्य व्यावसायिक प्रतिष्ठान बन्द हुँदै छन् । भएका होटेलले पनि व्यापार अभाव झेलिरहेका छन् । किन यस्तो हुँदै छ ? कसैसँग पनि सायद उचित उत्तर छैन ।
उच्च शैक्षिक संस्थाको अभाव, रोजगारीको अभाव, सुविधाजनक स्वास्थ्य सेवाको अभाव, स्थानीयमाझ सहरप्रति बढ्दो लगाव, वैदेशिक रोजगारीको चाहना वा बाँदरको बिगबिगी ? यहाँ धेरै घर मानिस कम हुने वा पूर्ण रूपमा खाली हुनुका धेरै कारण हुन सक्छन् । कतिपय त तराई मधेशमा घरजग्गा नभएको केटाले विवाहका लागि केटी पाउन गाह्रो हुने समस्या उल्लेख गर्छन् । धेरै परिवार आफ्नो जग्गा बेचेर तल झरेका छन् । यो कति सत्य हो भन्ने खोजको विषय हो, तर यो निश्चित हो, यहाँ मानिस दिन–प्रतिदिन घट्दै गइरहेको छ ।
जीवनमा धेरै सम्बन्ध यस्ता हुन्छन्, जसलाई परिभाषित गर्न गाह्रो हुन्छ । केही सम्बन्ध यस्ता हुन्छन्, जहाँ कम भेटघाट हुँदा पनि सम्बन्ध घनिष्ठ र हार्दिक हुन्छ । सुदूरपश्चिमका सन्दर्भमा बैतडीका लख्खाभाइ र हेमबाबु मेरा लागि त्यस्तै हुन् । लक्खाभाइ दशरथ चन्द नगरपालिकाका मेयर हुन् भने हेमबाबु साहित्यिक तथा सांस्कृतिक अभियन्ता । म सामान्यतया उनीहरूको अनुरोधलाई अस्वीकार गर्न सक्दिनँ । यसपटक पनि त्यस्तै भयो । यसपटकको बैतडी भ्रमण उनीहरूकै अनुरोधमा भएको हो । विशेषगरी लेखकको । सहिद दिवसको अवसरमा लेखकको संयोजनमा १६ र १७ माघ ०८१ ( २९ र ३० जनवरी २०२५) मा दशरथ चन्द साहित्य उत्सव र अन्तर्राष्ट्रिय काव्य गोष्ठीको आयोजना गर्ने कार्यक्रम थियो । दशरथ चन्द नगरपालिकाको प्रमुख प्रवद्र्धन र सहिद दशरथ चन्द स्मृति प्रतिष्ठानको सहकार्यमा राष्ट्रियता संरक्षण अभियानले कार्यक्रम आयोजना गरेको थियो । लेखक राष्ट्रियता संरक्षण अभियानका अध्यक्ष हुन् ।
सहिद दशरथ चन्दको जन्मघरमा सम्मानको अवसर
हेमबाबुले केही महिनाअघि मलाई भनेका थिए, ‘हामी तपाईंलाई बैतडीमा स्व. रामबहादुर चन्द स्मृति पत्रकारिता सम्मानबाट सम्मानित गर्न चाहन्छौंँ । तपाई आउनैपर्छ, उनले एक किसिमले हठ गरेका थिए । ज्येष्ठ पत्रकार स्व. चन्दको नामसँग जोडिएको सम्मान मलाई ? मैले लेखकको निमन्त्रणालाई अस्वीकार गर्न सकिनँ । यो सम्मानले मेरा लागि धेरै अर्थ राख्छ । मेरो पत्रकारिता प्रशिक्षण करियरमा मैले सुदूरपश्चिममा धेरै समय र ऊर्जा खर्च गरेको छु । यसकारण पनि हेमबाबुको प्रस्ताव मेरा लागि निश्चित रूपमा महत्वपूर्ण हुनु स्वाभाविक थियो ।
म १४ माघ साँझ धनगढी आइपुगेँ । भोलिपल्ट राष्ट्रिय समाचार समिति (रासस) का सुदूरपश्चिम प्रदेश प्रमुख सिद्धराज भट्ट र पर्यटन उद्यमी मायाप्रकाश भट्ट (मायाजीकै गाडीमा) बैतडी आयौँ । १६ माघको कार्यक्रममा मबाहेक सिद्धराज र मायाजी पनि सम्मानित भए । मायाजीसँग यो मेरो पहिलो भेट थियो ।
बैतडी आउँदा, हामी सतबाँझ (दार्चुला जाने बाटो यहाँबाट अलगिन्छ) भन्दा अलिमाथि निङलासैनी देवीको मन्दिरमा रोकियौँ । यो ठाउँ पनि देवीकै नामबाट प्रसिद्ध छ । प्राचीनकालदेखि नै लोकविश्वासको देवीको रूपमा स्थापित यो स्थान आस्था र भक्तिको केन्द्रका रूपमा रहँदै आएको छ । सायद मायाजीको अनुरोधमा पुजारीले विशेष पूजा गरे । यसपालि यहाँ केही फरक देखिन्थ्यो– अघिल्लोपटक यहाँ आएकोभन्दा कम मानिस थिए । हामी त्यहाँबाट जाँदै गर्दा गोठलापानीको मुखमा माया घरले सञ्चालन गरेको कपडा बैंक देख्यौँ । बैंकको स्थापनाको उद्देश्य हुनेहरूले दिने र नहुनेले लिने भन्ने रहेछ । यसका व्यवस्थापक महेश भट्टका अनुसार सञ्चालनको एक वर्षमा (त्यो दिन एक वर्ष १५ दिन पुगेको थियो) बैंकले आठ सय ६६ परिवारलाई लुगा वितरण गरेको छ । मायाजीले यस बैंकका लागि धनगढीबाट लुगा ल्याएका रहेछन् । बैतडीजस्तो ठाउँमा सञ्चालित यस्तो कार्यक्रमको जति प्रशंसा गरे पनि पुग्दैन ।
त्यहाँबाट हामी सीधै गोठलापानी बजार पुग्यौँ र पुजारा गएर त्रिपुरासुन्दरी देवीको दर्शन ग¥यौँ । यहाँको भ्रमण मेरा लागि जहिल्यै विशेष हुन्छ । हाम्रो कुलदेवी पञ्चभगिनी हुन् र तीमध्ये एक त्रिपुरासुन्दरी पनि मानिन्छिन् । हामी गोठलापानी बजार फर्कियौँ र छोटो पैदल घुमाइपछि होटेलको शरणमा पुग्यौँ । मैले होटेलमा हेमबाबु, पत्रकार महासंघ बैतडीका अध्यक्ष, नरी वडू, पत्रकार नरेन्द्र भट्ट, जिज्ञाासु, सिद्धराज र मायाजीसँग छोटो कुराकानी गरेँ । मैले विनोद विष्ट र लक्ष्मी पाण्डेसँग फोनमा कुरा गरेको थिएँ । पत्रकारिता र पत्रकारको अवस्थाबारे छलफल गरेका थियौँ । निष्कर्ष थियो– अवस्था सन्तोषजनक छैन । विज्ञापन बजार साँघुरिँदै गइरहेको छ । स्थानीय विज्ञापनको ठुलो हिस्सा डिजिटल र सामाजिक सञ्जालमा छ । पत्रपत्रिकाको बजार झन् दयनीय हुँदै गइरहेको छ । समस्या अर्को पनि छ– जिल्लामा मानिस घट्दै छन् र मिडियाको संख्या बढ्दो छ ।
ईश्वरी गंगा, जगन्नाथ र पाताल भुमेश्वर
दोस्रो दिन, १६ माघ महत्वपूर्ण थियो । कार्यक्रम सुरु हुन अझै समय बाँकी थियो । हिजो राति भएको हामीबिचको सहमतिअनुसार आज हामी ईश्वरी गंगाधाम जानुपर्ने थियो । मायाजी सहजकर्ता र मार्गदर्शक दुवै थिए । बिहान करिब ७ बजे मायाजीको गाडीमा होटेलबाट निस्कियौँ । अलि परसम्म गाडीमा गयौँ र त्यहाँबाट छोटो पैदलयात्रा । गोठालापानी क्षेत्र अलिमाथि अग्लोमा छ तर यो ठाउँ यसको ठिक तल पर्छ । नदीको किनारमा सानो मन्दिर छ । यस नदीलाई ईश्वरीय वा ईश्वरी गंगा भनिन्छ । दशरथ चन्द नगरपालिकाको वडा नम्बर ४ र ६ को सिमानामा रहेको यो ठाउँमा मेरो पहिलो भ्रमण थियो । पहाडको खोचमा बग्ने नदीको किनारमा रहेको मन्दिर । मानिसको आवागमन शून्यबराबर छ । मैले पुजारीलाई यो ठाउँबारे सोधेँ । उनको जवाफ थियो– त्रेतायुगमा भगवान् रामले यहाँ स्नान गरेर शिवको तपस्या गरेका थिए । भगवान् रामले तपस्या गरेको मानिने ठाउँलाई स्थानीय रूपमा रामपाताल भनेर चिनिन्छ, जुन ईश्वरी गंगाको ठिक माथि छ ।
त्यहाँबाट गोठलापानी बजार फर्कियौँ र जगन्नाथधाम गयौँ । यो बैतडीको अर्को महत्वपूर्ण धार्मिक पर्यटकीय स्थलको रूपमा परिचित छ । धार्मिक मान्यताअनुसार यो ठाउँ ईश्वरी गंगासँग सम्बन्धित छ र यो मूल सदरमुकाम क्षेत्रमा अवस्थित भएकाले धेरैले यहाँ भ्रमण गर्छन् । मायाजी यी ठाउँबारे जानकारी दिँदै थिए । लगभग ९ बजेको थियो । बजार चोकमा खाजा खायौँ र अर्को गन्तव्यतिर लाग्यौँ, सहिद दशरथ चन्दजीको जन्मस्थल बस्कोट । अगाडि बढ्दै जाँदा धनगढीका सक्रिय पत्रकार शिवराज भट्टलाई भेट्यौँ । बैतडी आउनुभन्दा पहिले म उनीसँग सम्पर्कमा थिएँ ।
झुलाघाट अलि अगाडि बढेपछि बसकोट मोडमा रोकियौँ र झाँकी जुलुसमा सामेल हुन अगाडि बढ्यौँ । सायद २०–२५ मिनेटको यात्रापछि सहिद चन्दको जन्मस्थलको आँगनमा पुग्यौँ । मलाई लाग्यो, सय वर्षअघि यो गाउँमा कस्तो चेतना थियो होला कि यति दुर्गम ठाउँका मानिस राणाशाहीविरुद्धको आन्दोलनमा सहभागी भए र राणाबाट मारिए । सहिदलाई सलाम । सम्मानित भएपछि मलाई बोल्ने अवसर मिल्यो र मैले सहिद चन्दको चेतना, समर्पण र त्यागको बारेमा विचार व्यक्त गर्दै उनको सपना र वर्तमान पुस्ताको जिम्मेवारीका बारेमा धारणा राखेँ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति नारदमणि हर्तामछलीबाट मैले सम्मान ग्रहण गरेँ । यसैक्रममा सहिद दशरथ चन्द स्मृति प्रतिष्ठानको आजीवन सदस्यता पनि ग्रहण गरेँ । प्रतिष्ठानका अध्यक्ष विनोदबहादुर चन्दप्रति आभार ।
दिउँसोको लगभग दुई बजेको थियो । कार्यक्रमस्थलमा आयोजित भोजमा सहभागी भयौँ । स्थानीय परिकार र शैलीहरू । धेरै स्वादिष्ट । भात, दाल, तरकारी, अचार, पापड र दही पकौडा । अद्भूत । खाना खाइसक्दा दिउँसोको तीन बजिसकेको थियो । अब प्रस्थान गर्नु आवश्यक थियो । मैले हेमबाबुसँग अनुमति मागेँ । सम्भव भएमा आजै धनगढी पुग्ने प्रयास गर्नेछौँ । म आज धनगढी पुग्न सकेको खण्डमा भोलि बिहान काठमाडौं पुग्न सजिलो हुन्थ्यो ।
त्यहाँबाट निस्कँदा मायाजीले पाताल भूमेश्वरको कुरा गरे ।मायाजीले यो ठाउँबारे यसरी कुरा गरे कि मैले त्यहाँ जाने लोभ रोक्न सकिनँ । आधा घण्टाको ठाडो उकालो । हिँडन मन त थिएन, तर म मायाजीको अनुरोध अस्वीकार गर्ने अवस्थामा पनि थिइनँ ।
हामी गोठालापानीबाट १८ किलोमिटर टाढा रहेको सतबाँझ–सिउडे पुग्दा लगभग ४:३० बजेको थियो । मायाजीका अनुसार अब यहाँबाट हिँड्न आधा घण्टा लाग्नेछ । मायाजी, सिद्धराजजी र म हिँड्न थाल्यौँ । आधा घण्टा होइन, लगभग ४०–४५ मिनेट लाग्यो । उकालो चढ्दा थकाइ लागे पनि माथि पाताल भूमेश्वरमा पुगेपछि सबै थकान हरायो । चारैतिर हरियाली । पाटन नगरपालिका र सुर्नया गाउँपालिकाको सिमानामा अवस्थित सिद्धनाथ सामुदायिक वन क्षेत्रमा अनुमानित ८५ मिटर लम्बाइ र ४५ मिटर चौडाइको ताल छ । बाज, कटुस र लालीगुराँसको जंगलले घेरिएको ताल, छेउमा शिव मन्दिर र मन्दिरको दक्षिणमा मूल गुफा छ, जसलाई पाताल गुफा भनिन्छ । यसको छेउमा अन्य तीन गुफा छन् । स्थानीयस्तरमा यस ठाउँबारे धेरै विश्वास र किंवदन्ती छन् । यस ठाउँको आवश्यक थप अध्ययन अपरिहार्य छ । पर्यटन उद्यमी मायाजीका अनुसार केही अध्ययन निजी रूपमा गरिएको छ, तर ती पर्याप्त छैनन् । ‘लगभग ११ वर्षपहिले एक फ्रान्सेली नागरिक, मोरिस डुसेनले गुफामा अनुसन्धानको नेतृत्व गरेका थिए । त्यतिवेला मूल गुफाभित्र लगभग आठ सय मिटर यात्रा गरिएको थियो । गुफा सकिएको थिएन । यसको अर्थ गुफा अझ अगाडि बढेको छ,’ मायाजीले जानकारी दिए ।
पत्रकार शिवराजजीले स्थानीयलाई उद्धृत गर्दै भने, ‘स्थानीयहरू विश्वास गर्छन् कि गुफाको अर्को छेउ आठ–नौ किलोमिटर टाढा बग्ने सुरनया नदीमा खुल्छ ।’
मलाई थाहा छैन सत्य के हो । जति धेरै मुख, त्यति धेरै कुरा । तर, एउटा कुरा निश्चित छ– यसको उचित अध्ययन र अनुसन्धान गर्न सकिए सुदूरपश्चिम नेपालको एक महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्न सक्छ ।
अब हामी सिउँडे फर्कंदै थियौँ वा ओर्लंदै थियौँ, जहाँ गाडी हाम्रो पर्खाइमा थियो ।