
सन् १९४७ मा नेपाल–भारत संयुक्त अधिराज्यबिच नेपाली नागरिकलाई दुवै सेनामा भर्ना गर्ने त्रिपक्षीय सम्झौता, १९५० को शान्ति तथा मैत्री सन्धि, द्विपक्षीय व्यापार तथा वाणिज्य सन्धि र १९५१ को दिल्ली सम्झौतामा नेहरू र विजयशमशेरको अग्रणी भूमिका थियो । सरदार नरेन्द्रमणि आचार्य दीक्षित र सर गिरिजाशङ्कर पनि महत्वपूर्ण सहयोगीको भूमिकामा थिए । विजयशमशेरप्रति नेहरूको श्रद्धा, विश्वास र कार्यगत समझदारीलाई उनको १९५१ पछिको बदलिँदो राजनीतिक मानचित्रमा भारतका लागि राजदूत बनाउने नेपालको निर्णयले थप ऊर्जा प्रदान ग¥यो । विजयशमशेरको आकस्मिक मृत्यु, त्यस घटनालगत्तै नेपाली राजदूतावासमा नेहरूको आगमन, उनलाई बचाउन हरप्रयास गर्न डाक्टरलाई अपिल, उनको शवयात्रा र दाहसंस्कारमा भारतीय प्रधानमन्त्रीको उपस्थितिलाई यस प्रसंगमा उल्लेखनीय मान्न सकिन्छ ।
दीक्षित परराष्ट्र सचिव र विजयशमशेर नयाँदिल्लीमा राजदूत हुँदा राजदूतले नेपालको समग्र विदेश नीतिसँग सरोकार राख्ने एक संवेदनशील विषयमा मन्त्रालयको मनसाय र एकप्रकारको सहमतिसूचक सन्देशप्रति घोर आपत्ति जनाएका थिए । यो विषय थियो, नेपालको प्रतिनिधित्व नभएका मुलुकमा भारतीय कूटनीतिक नियोगले नेपालको हित हेर्ने भारतीय प्रस्ताव । विजयशमशेरको रायपछि यो विषय अघि बढ्न पाएन ।
सरदार दीक्षितले प्रधानमन्त्री मोहनशमशेरका निकट सहयोगी एवं निजी सचिवका हैसियतले आफ्नो नातेदार एवं त्यतिवेला नजरबन्दमा रहेका र पछि प्रधानमन्त्री भएका बिपी कोइराला र उनकी आमाको मोहनशमशेरसँग भेट गराउने व्यवस्था मिलाए । राजनीतिक एवं संवेदनशील मामिलामा समेत प्रधानमन्त्रीका विश्वासी सचिवका रूपमा दीक्षितको भूमिका रहेको प्रसंग स्वास्थ्योपचारका नाममा भारत गई बसेका प्रधानमन्त्री पद्मशमशेरलाई भेटघाट गरी राँचीबाट उनले सत्ता छाड्न लेखेको प्रधानमन्त्री पदको राजीनामापत्र लिई आएबाट पनि स्पष्ट हुन्छ ।
००० ०००
सामान्य अर्थमा देश छाडेर प्रधानमन्त्री गएको र मोहनशमशेर छिट्टै औपचारिक रूपमा पद सम्हाल्ने अपेक्षामा सिंहदरबारमा सरिसकेको प्रसंगमा पद्मशमशेरको भारत भ्रमणको सम्पूर्ण तयारी र व्यवस्थामा नरेन्द्रमणि आचार्य दीक्षित पूरै खटिएका थिए । औपचारिक भ्रमणको प्रक्रिया पूरा भएपछि दीक्षित काठमाडौं फर्की आफ्नो जिम्मेवारी सम्हालेका थिए । एक परराष्ट्रमन्त्री र राजदूतको मूल्यांकनमा सरदार दीक्षित ज्यादै अध्ययनशील, विद्वान्, अन्तर्राष्ट्रिय र गार्हस्थ दुवै मामिलामा सूचना बटुल्ने सौम्य कूटनीतिज्ञ थिए ।
दीक्षितको अन्तर्राष्ट्रिय संलग्नता पनि उल्लेखनीय छ । उनले परराष्ट्र मामिला सुपरीवेक्षण सुरु गर्दा नेपालले संयुक्त राष्ट्र संघको सदस्यताका लागि अन्तिम राणा प्रधानमन्त्री मोहनशमशेरका पालामा आवेदन दिएको थियो । त्यस सिलसिलामा संयुक्त राष्ट्रसंघीय महासचिव त्रिग्वे लीका नाममा नेपालको झन्डाबारे जिज्ञासापूर्ण पत्र प्राप्त भएको थियो । नेपालको झन्डाको नमुना सम्बन्धमा मोहनशमशेरले एक समिति बनाई नेपालको राष्ट्रिय झन्डाबारे छलफल चलाए । त्यसमा संलग्न ६ जना संस्कृतका विद्वान्मा कुलचन्द्र गौतम, पद्मप्रसाद भट्टराई, नयराज पन्त, हेमराज पाण्डे, कान्छा पुरोहित (घनराज सत्याल) र अर्का एकजना थिए । यी विद्वान्ले नेपालको झन्डाबारे चित्तबुझ्दो र तर्कपूर्ण वर्णन तयार गर्न नसकेपछि यही कारणले मात्र हाम्रो विश्वसंस्थामा प्रवेश रोकिन्छ भने झन्डाको नमुनै बदली सोहीअनुसारको निर्णय र बयान पठाइदिन प्रधानमन्त्री श्री ३ मोहनशमशेरले आदेश दिए ।
नेपालको पुरानो र मौलिक प्रकारको राष्ट्रिय ध्वजाप्रति विशेष लगावका साथ राजा त्रिभुवनले नेपालको झन्डा कुनै हालतमा नफेर्न र यसको विवरणबारे थप अनुसन्धान गर्न सल्लाह दिए । यसको प्रतिक्रियामा सायद दीक्षितकै सल्लाहमा वीरगन्जमा हेडमास्टर पदमा कार्यरत उनका भतिजा मदनमणि दीक्षितलाई काठमाडौं बोलाइयो । मदनमणि दीक्षित नेपालको झन्डा, दोहोरो त्रिगुणाकार जगन्नाथ पुरी र द्वारका मन्दिरमा रहेका झन्डालगायत वैदिक समयदेखिको इतिहासबारे अध्ययन गर्न यस क्षेत्रको विशिष्टीकृत भारतको वर्तमान महाराष्ट्र राज्यको डेक्कन कलेज पुस्तकालय पुना गए ।
सिन्धु घाँटी सभ्यताबारेको उत्खनन, मुद्रा, छाप र पुरातात्विक अवशेषलगायत उपलब्ध प्रमाण, कागजात र दस्ताबेजका आधारमा नेपालको राष्ट्रिय झन्डाको स्वरूप, उत्पत्ति, धार्मिक, सांस्कृतिक, पुरातात्विक र वैदिक सम्बन्धसहित मदनमणि दीक्षितले एक विस्तृत विवरण तयार पारे । यही आधारमा नेपालको झन्डा वैदिककालदेखि अविच्छिन्न रहेको ठोस प्रमाणसहित नेपाल सरकारका तर्फबाट नरेन्द्रमणि आचार्य दीक्षितले संयुक्त राष्ट्र संघमा प्रत्युत्तर पत्र पठाए । यो अध्ययनका क्रममा उनले प्राचीन सांस्कृतिक सम्बन्धबारे एक विस्तृत प्रतिवेदन तयार पनि पारे । तर, सरकारी उदासीनता तथा अन्य विभिन्न कारणले पनि हुन सक्छ, उनले यो प्रतिवेदन प्रकाशन गरेनन् ।
(पूर्वपरराष्ट्रसचिव डा. भट्टराईद्वारा लिखित आज सार्वजनिक हुने पुस्तक ‘नेपालको परराष्ट्र सम्बन्ध संक्रमणकाल र प्रो. नरेन्द्रमणि दीक्षित’बाट)