• वि.सं २०८१ चैत १८ सोमबार
  • Monday, 31 March, 2025
रामचन्द्र शर्मा
२०८१ फाल्गुण २४ शनिबार १०:४४:००
इतिहास

देशभक्ति देखाउने घडी

२०८१ फाल्गुण २४ शनिबार १०:४४:००
रामचन्द्र शर्मा

 

गर्भको बच्चालाई आवश्यक पर्ने सबै तत्व आमाबाट प्राप्त हुन्छ भने आमाको जीवनलाई आवश्यक पर्ने सबै तत्व उनी रहे बसेको भूमिबाट । उक्त भूमिको हावापानी, माटो, धर्म संस्कृति र भाषाले हुर्काइमा अनुकूलता प्रदान गरेको हुन्छ । जन्मभूमिलाई प्रेम गर्नु स्वयंलाई प्रेम गर्नु हो । देशभक्ति फगत विचार र भाव मात्र नभई जीवन पद्धति हो र बनाइनुपर्छ । जन्मभूमिको यो महत्व दर्साउन संस्कृतमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’ भनिएको हो । यो श्लोकले आफूलाई जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठुला हुन् भन्ने जनाउँछ ।

 

बाइसे–चौबीसे राज्यमा विभाजित नेपाललाई तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहमा रहेको देशभक्ति भावले एकीकरण गरायो । नालापानीको युद्धमा पानीसम्म पिउन वञ्चित गर्ने शक्तिशाली अंग्रेजलाई अमरसिंह थापा र बलभद्र कुँवरमा रहेको देशभक्तिले परास्त गर्ने ऊर्जा दियो । प्रजातान्त्रिक व्यवस्थामा राजादेखि रंकसम्मको देशभक्ति भावले पटक–पटक जनआन्दोलन भए । देशभक्ति भावकै कारण हामीलाई अरूको गुलाम हुनबाट जोगाउँदै आफ्नो भाग्य आफँै लेख्ने गणतान्त्रिक युगमा आउने अवसर दियो । नेपालको संविधानको धारा ५ को उपधारा १ मा नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता, स्वाधीनता, स्वाभिमान, नेपालीको हकहितको रक्षा, सिमानाको सुरक्षा, आर्थिक समुन्नति र समृद्धि नेपालको राष्ट्रिय हितका आधारभूत विषय हुनेछन् भन्ने उल्लेख गर्दै उपधारा २ ले राष्ट्रहित प्रतिकूलको आचरण र कार्य संघीय कानुनबमोजिम दण्डनीय हुने उल्लेख छ ।

 

हिजोका दिनमा देशको माटो, धर्म, संस्कृति, भाषा, साहित्यप्रति प्रेम, स्नेह र समर्पण भावमा देशभक्ति सञ्चारित देख्न सकिन्छ । यसको ऐतिहासिक तथ्यका रूपमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको दिव्योपदेशमा भेटिन्छ । प्रजा मोटा भया दर्बार बलियो रहन्छ । राजाका भण्डार भन्याका रैतान हुन् । यो मुलुक चार जात छत्तीस वर्णको साझा फूलबारी हो, सबै मिली यसको सम्भार गर्नूृ । न्याय शास्त्रबमोजिम अदालत चलाउनु, अदालतको पैसा दरबारभित्र नहुल्नू आदि । 

 

देशभक्तिलाई पछिल्लो समय राष्ट्रवादसँग जोड्ने गरिएको छ । राजतन्त्रकालमा राजा नै सबैथोक हो भन्ने राष्ट्रवाद, जनआन्दोलनपछि समावेशी धर्मनिरपेक्षतावाद, सनातन धर्मसापेक्ष हिन्दु राष्ट्रवादमा देशभक्ति जोडिँदै छ । केही कुरामा समानता देखिए पनि सारमा देशभक्ति र राष्ट्रवादमा फरक छ ।

 

देशभक्तिले मानवत्वको तहमा व्यक्तिगत रूपमा स्पर्श गर्छ, सबैलाई सम्मानको भावले समेटेर देश विकास गर्न आफूलाई समर्पित गर्छ । राष्ट्रवाद जनताको मनोभावनालाई शासकहरूले जाति, भाषा, धर्मको नाममा गलत तरिकाले मोडेर सत्ता प्राप्तिको भर्‍याङ बनाएको पाइन्छ । देशभक्तिविनाको राष्ट्रवाद आडम्बर मात्र हुँदो रहेछ भन्ने उदाहरण बनेको छ हाम्रै देश आज । छिमेकी भारतसँगको सम्बन्धमा होस नपुर्‍याउँदा विषाक्त भारतीय तरकारी निर्बाध रूपमा आयात हुन पुगेको छ । नेपाली कृषकको तरकारी खेतबारीमै सड्ने तर विषादीयुक्त भारतीय तरकारी महँगोमा उपभोग गर्न जनता विवश छन् ।

 

संकट समाधानका वेला बुद्धिविलास

 

देशभक्तहरूले संकटको गहिराइप्रति जनतालाई सचेत र सजग बनाउन आवश्यक चर्चा परिचर्चा, चिन्तन मनन गर्नु राम्रै कुरा हो । तर, संकट समाधान प्रयास नगर्ने केवल वुद्धिविलासमा रमाइरहनु देशभक्तिको आवरणमा संकट बढाउनु हो । नेपालमा सबैखाले राजनीतिक व्यवस्थाको परीक्षण भइसकेकाले राजनीतिक परिवर्तनको औचित्य देखिँदैन । पूर्वराजासमेत अटाउने गणतन्त्र संकटको कारण होइन । गणतान्त्रिक नेपालमा सत्ता पक्ष र विपक्षमा रहेका राजनीतिक दल र नेताहरूको आचरण गणतान्त्रिक नहुँदा देश संकटले घेरिन पुगेको हो । संघीय गणतन्त्र नेताहरूको केन्द्रीकृत र सामन्ती प्रवृत्तिबाट सञ्चालित गरिँदा नेपाली राजनीतिले आफ्नो स्वभाव र धर्म गुमाएको छ । संकटको कारण अधर्म र निवारण धर्मको पालना देखिएको हुँदा धर्मको मूर्त रूप शील, समाधि र प्रज्ञामा देशलाई डोर्‍याउन स्वदेश र विदेशमा रहेका नेपाली देशभक्त एकजुट भएर अग्रसर हुनुपर्ने घडी आएको छ ।

 

आजभन्दा २५ सय वर्षअघि सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरी चार आर्य सत्य क्रमशः दुःख छ, दुःखको कारण छ, कारणको निवारण छ र निवारण अष्टाङ्गिक मार्ग हो भन्ने पत्ता लगाए । दुःख निवारणका अष्टाङ्गिक मार्ग सम्यक् दृष्टि, सम्यक् संकल्प, सम्यक् वाक् (वाणी), सम्यक् कर्म, सम्यक् आजीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति र सम्यक् समाधि हुन् ।

 

विज्ञान प्रविधिको यो वर्तमान युगमा मानिस सफल हुने सूत्र भनी पश्चिमा विद्वान्हरूले औँल्याउने गरेका दूरदृष्टि, प्रतिबद्धता, सञ्चार सीप, क्रियाशीलता र सफल हुने बानीको विकास बुद्धले देखाएको अष्टाङ्गिक मार्गबाट सापटी लिएका हुन्, जो अपूरा छन् । सम्यक् स्मृति र सम्यक् समाधि अर्थात् सजगता र ध्यान छुटाएका छन् । फलस्वरूप भौतिक उन्नतिको शिखरमा पुगे पनि मानसिक रोगी बढेका छन्, साधनस्रोत निरर्थक बनेका छन् । किनकि, मानिसले आफ्नो धर्म गुमायो । 

 

म, मेरो र प्रिय–अप्रिय लाग्ने राग द्वेषबाट अलग भई प्रत्येक व्यक्ति, वस्तु र स्थितिलाई जस्तो छ त्यस्तै रूपमा समता भावले हेर्ने अभ्यास गर्नु ‘प्रज्ञा’ हो । शील समाधि प्रज्ञाले मानिसको चित्त निर्मल पार्दै सुखपूर्वक जीवन जिउने उसको स्वभाव पहिल्याउँछ । सुख शान्तिपूर्वक जीवन जिउने आधार नै धर्म भएकाले धर्म धारण गर्नु अनिवार्य छ । त्यसैले संस्कृतमा ‘धारणा इति धर्म’ अर्थात् धारणा गर्नु धर्म हो भनिएको हो । मन, वचन र कर्मलाई निर्मल चित्तले निरीक्षण गरिरहने अभ्यास नै धर्म धारण हो । 

 

धर्म शान्ति प्राप्तिको मार्ग हो । प्रकृतिको नियम हो धर्म । समता धर्म हो । सरलता धर्म हो । सत्य धर्म हो । सहारा धर्म हो । होसियारी र जागृति धर्म हो । मानवता धर्म हो । यही धर्मको पालनाले मात्र देश सबैखाले संकटबाट मुक्त हुन सक्छ । यो धर्म पालन गर्ने र गराउन सक्ने सदाचारीलाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नेतृत्वमा पुर्‍याउन सम्पूर्ण देशभक्त आ–आफ्नो ठाउँबाट लागिपरेर देशभक्ति देखाउनुपर्छ । 

 

अन्त्यमा, धर्मभिरुले सम्प्रदाय हाबी बनाई प्रमुख स्थानमा राख्ने, धर्मलाई कर्मकाण्डमा सीमित गर्दै धन्दामा परिणत गरी तेजहीन र गौण पारिदिएकाले सुख शान्तिको जीवन दिने धर्म राष्ट्रिय र अन्तर्राष्ट्रिय लडाइँ झगडाको बिउ हो भन्ने भाष्य स्थापित भएको छ । पश्चिमा विद्वान्ले संस्कृत भाषा सिक्दै आध्यात्मिक ग्रन्थमा वर्णित ज्ञानका आधारमा विज्ञान प्रविधिको विकास गरे । नेपाली विद्वान्ले संस्कृत भाषा र आध्यात्मिक ग्रन्थहरूको अवमूल्यन गर्ने पश्चिमा विद्वान्का समाजवादी र पुँजीवादी दार्शनिक मान्यतामा मात्र राजनीतिलाई डोर्‍याउन तल्लीन रहनुले नेपाल बत्तीमुनिको अँध्यारोमा रहन पुग्दा समयमै समाधान हुन सक्ने समस्या संकटमा परिणत भए । संकट जतिसुकै ठुलो र गहिरो भए पनि भौतिक र अध्यात्म विज्ञानको संयोजनको मध्यमार्गबाट समाधान गर्दै अध्यात्मको जग बसालेको, अलौकिक ऊर्जा र अपार प्राकृतिक सुन्दरताले भरिपूर्ण नेपाल शान्त र समृद्ध बन्नेछ ।