• वि.सं २०८१ चैत २० बुधबार
  • Wednesday, 02 April, 2025
रोजमेरी फेटेलबर्ग
२०८१ चैत २ शनिबार ०७:५८:००
अनुवाद

ह्वाइट हाउसमा ‘ड्रेस कोड’ उल्लंघन : जेलेन्स्की पहिलो विदेशी नेता होइनन्

२०८१ चैत २ शनिबार ०७:५८:००
रोजमेरी फेटेलबर्ग

 

इजरायल–हमास युद्ध, युक्रेनमा रुसी आक्रमण र ट्रम्प प्रशासनको शुल्कबारे चर्को बहसबिच ह्वाइट हाउसमा औपचारिक भेटमा कस्तो पोसाक लगाउने भन्ने प्रश्न पछिल्लो समय पेचिलो मुद्दा बनेको छ । युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की २८ फेब्रुअरीमा राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा आफ्नो मानक सैन्यशैलीको पोसाकमा देखा परेपछि अनजानमा विवादमा तानिए । राष्ट्रपतिले ‘आज त तपाईं निकै सजिएर आउनुभएको छ नि !’ भनेर व्यंग्यात्मक शैलीमा स्वागत गरेको केही मिनेटमै उपराष्ट्रपति जेडी भान्सले सुट नलगाएको भन्दै जेलेन्स्कीलाई बेस्सरी झपारे । जुन टेलिभिजनबाटै प्रसारण भएको थियो । जेलेन्स्कीको ‘आरामदायी लुक्स’ ह्वाइट हाउस भ्रमण गर्ने अन्तर्राष्ट्रिय नेताका लागि पूर्णरूपमा असामान्य भने थिएन । युक्रेनी नेता (जसले युक्रेनी डिजाइनर एल्भिरा गासानोभाले डिजाइन गरेको पहिरन लगाएका थिए)ले युद्ध सकिएपछि मात्र औपचारिक पोसाक लगाउने ओठे जवाफ फर्काए । युक्रेनी सेनाप्रति ऐक्यबद्धताको प्रतीकको रूपमा तीन वर्षअघि युक्रेनमा रुसी सेनाले हमला गरेदेखि उनले सर्ट र टाई लगाएका छैनन् । रियल अमेरिकाज भ्वाइसका प्रमुख ह्वाइट हाउस संवाददाता ब्रायन ग्लेनले जेलेन्स्कीलाई सुट नलगाएको विषयमा प्रश्न तेस्र्याएका थिए । 

 

जेलेन्स्कीले औपचारिक पोसाक नलगाएको विवादबिच अहिले ह्वाइट हाउसमा राष्ट्रपतिसँगको भेटमा लगाउने पोसाक के हो भन्ने विषय बहसमा छ । फक्स न्युजका पिटर डुसीले ह्वाइट हाउसका प्रेस सेक्रेटरी क्यारोलिन लेभिटलाई ‘ह्वाइट हाउसको ड्रेस कोड के हो ?’ भनेर खुला चुनौती नै दिएका छन् । तर, उनको जवाफलाई लेभिट र ह्वाइट हाउसका प्रवक्ताले बेवास्ता गरेका छन् । गत बुधबार ह्वाइट हाउसको प्रेस रुममा डुसीले सरकारका दक्षता विभाग (डोज)का प्रमुख इलोन मस्कले ‘कहिल्यै सुट नलगाएको’ भन्दै यस्तो नियम सबैमा लागू हुनुपर्ने बताए । जवाफमा लेभिटले मस्कले कहिलेकाहीँ औपचारिक पहिरनमा देखिने गरेको र गत मंगलबार राति कंग्रेसको संयुक्त सत्रअघि ट्रम्पको सम्बोधनमा उनी सुटमा ‘राम्रो देखिएको’ तर्क गरिन् । मस्क ह्वाइट हाउसका प्रायः भेटमा आफ्ना सन्तानलाई नै लिएर अनौपचारिक पोसाकमा जाने गरेका छन् ।

 

ह्वाइट हाउसको ड्रेस कोड उल्लंघन गर्ने जेलेन्स्की पहिलो विदेशी भने होइनन् । सन् २०१७ मा ग्रिसका तत्कालीन प्रधानमन्त्री एलेक्सिस सिप्रासले गाढा निलो रंगको सुटमा टाई नलगाउने निर्णय गरे । उनले ग्रिसलाई ऋण राहत नदिइएसम्म टाई लगाउन अस्वीकार गरे । यस्तै, २००० मा प्यालेस्टिनी नेता यासेर अराफातले ओभल अफिसमा बिल क्लिन्टनसँग भेट्दा सैन्यशैलीको पोसाक लगाएका थिए । सन् २००५ मा अमेरिकाकै नर्थवेस्टर्न युनिभर्सिटीका महिला ल्याक्रोस (एक प्रकारको खेल, जसमा रबरको बललाई लौरीले हानेर विपक्षीको पोस्टमा फालिन्छ) टोलीका सदस्यहरू चप्पल लगाएर ह्वाइट हाउसमा तत्कालीन राष्ट्रपति जर्ज बुसलाई भेट्न पुगेका थिए । उक्त दृश्य ह्वाइट हाउसका लागि अस्वाभाविक थियो । त्यो फेसन छनोटलाई मिडिया र आलोचकले पनि नजिकबाट निहालेका थिए । तर, ती कसैको पनि औपचारिक रूपमा विरोध भएन, जसरी युक्रेनी राष्ट्रपतिको सार्वजनिक रूपमै अपमान गरियो । 

 

 

ड्रेस कोडमा कट्टर बुस र ट्रम्प

 

ड्रेस कोडसँग सम्बन्धित विवाद ट्रम्पका लागि पहिलो होइन । सन् २०१७ मा पहिलोपटक राष्ट्रपतिमा निर्वाचित भएपछि ट्रम्पले ह्वाइट हाउसमा कठोर निर्देशन जारी गरे । जसअनुसार पुरुष विशेष पोसाकमा सजिनुपर्ने र महिलाले ‘नारीजस्तै झल्किने गरी लुगा लगाउनुपर्ने’ उर्दी गरे । त्यसपछि सामाजिक सञ्जालमा यसको तीव्र विरोध भयो । ह्यासट््याग ड्रेसलाइकअओमेन त्यतिवेलाको सामाजिक सञ्जाल ट्विटरमा फैलियो र महिलाले स्कर्ट र औपचारिक पोसाकविपरीत प्यान्टमा आफ्ना तस्बिर पोस्ट गरे ।

 

गुप्तचर सेवाले पोसाकसम्बन्धी कठोर दिशानिर्देशको पालना गर्छ भने ह्वाइट हाउसका कर्मचारीको शैली प्रायः बहालवाला राष्ट्रपतिको प्राथमिकतामा निर्भर हुन्छ । राष्ट्रपति क्लिन्टनले औपचारिक पोसाक कोड लागू गरेनन्, जसले गर्दा अझ बढी अनौपचारिक (आनन्दमय) वातावरण सिर्जना भयो । राष्ट्रपति जर्ज डब्लु बुसको नेतृत्वमा ह्वाइट हाउसका कर्मचारीले कठोर पोसाक कोड पालना गर्नुपथ्र्यो । पुरुषहरूले अनिवार्य सुट र टाई लगाउनुपथ्र्यो भने महिलाले पनि समान व्यावसायिक (औपचारिक) पोसाक लगाउनुपथ्र्यो । यस्तो ड्रेस कोडसम्बन्धी नीति उनका प्रमुख कर्मचारी एन्ड्रयु कार्डले लागू गरेका थिए ।

 

पूर्वराष्ट्रपति बुस टेक्सासस्थित आफ्नो खेतमा टहलिँदा वा पिकअप ट्रक चलाउँदा जिन्समा सजिएका तस्बिर पुराना भइसकेका थिएनन् । तर, उनले कर्मचारी, मिडियाकर्मी र आगन्तुकलाई भने त्यस्ता ड्रेस लगाउन कडा प्रतिबन्ध लगाए । दोस्रो कार्यकालमा नो–जिन्स नियमलाई कर्मचारी, मिडिया र आगन्तुकका लागि ह्वाइट हाउसको प्रवेशद्वारनजिकै पोस्ट गरिएका संकेतमा हाइलाइट गरिएको थियो । स्निकर, सर्ट, मिनीस्कर्ट, टिसर्ट र बाहुला र कलर नभएका लुगाहरू पनि लगाउन नहुने सूचीमा थिए । त्यसबाहेक चप्पललाई निषेध गरिएको थियो ।

 

ओबामाको कार्यकालमा ‘ड्रेस कोड’ खुकुलो

 

राष्ट्रपति बाराक ओबामाले कार्यस्थलको पोसाकमा अझ आधुनिक र ‘अलिकति आरामदायी दृष्टिकोण’ अपनाए । ओभल अफिसमा ओबामा प्रायः सुट–पाइन्टविनै देखिन्थे, जुन दृश्यले अघिल्लो प्रशासनका केही सदस्यलाई स्तब्ध बनायो । ओबामाका कर्मचारीलाई सप्ताहन्तमा प्रोफेसनल क्याजुअल ड्रेस लगाउन अनुमति थियो । फेसन इन्स्टिच्युट अफ टेक्नोलोजीका प्राध्यापकसमेत रहेकी लीका अनुसार ट्रम्पले सन् २०१७ मा पहिलोपटक पदभार ग्रहण गर्दा ड्रेस कोड नीति ‘अर्को दिशामा मोडिएकोे’ थियो । 

 

औपचारिक पोसाकका लागि कुन लुगा उपयुक्त छ र ह्वाइट हाउसका लागि के सम्मानजनक छ भन्नेबारे व्यक्तिको धारणामा निर्भर गर्छ । मानिसका फरक–फरक विचार हुन सक्छन्, जुन अप्रत्यक्ष रूपमा पोसाकमा झल्किन सक्छन् । उदाहरणका लागि राष्ट्रपति ओबामाले सन् २०१४ मा पत्रकार सम्मेलनमा विवादित खैरो सुट लगाउँदा आलोचकले हल्का रङ पर्याप्त औपचारिक नभएको महसुस गरे । गत ग्रीष्म मौसममा ओबामाले त्यो लुक्सको १०औँ वार्षिकोत्सव मनाउँदै गर्दा उनी र डेमोक्र्याट्स नेतृ कमला ह्यारिसले खैरो सुट लगाएका तस्बिर सार्वजनिक गर्दै लेखे, ‘यो पोसाक कसरी सुरु भयो ? र, अहिले कसरी चलिरहेको छ ? १० वर्षपछि यो अझै पनि राम्रो लुक्स हो !’

 

(याहु डटकमबाट फेसन जर्नल वुमेन्स वेयर डेलीकी सम्पादक फेटेलबर्गको आलेख, सुभाष शर्माको अनुवाद।)