
क्यान्सरलाई जितेर अभिनयमा फर्केकी आशाको काम नेपाली सिनेमामा प्रेरणादायी छ
जीवनमा केही गर्ने र आफ्नै कर्मको बुतामा चिनिने अभिलाषा सबैमा हुन्छ । झन् नाटक र सिनेमाजस्तो सिर्जनशील क्षेत्रमा लागेका मान्छेबाट हरेक काममा भिन्न स्वादको अपेक्षा बढी नै हुन्छ । उनीहरूमा कसैको ‘फलोअर’ मात्रै बन्ने सोच नहुने हुँदा आफ्नो कर्ममा हरघडी प्रयत्नशील बनिरहेका हुन्छन् ।
यस्तै मिहिनेतले खारिएर जन्मिएकी अभिनेत्री हुन् आशा मगराती । नाटक र सिनेमामा उनको अभिनय यात्रा लामो छ । आशा केवल कलाकार मात्र होइनन्, उनी जीवनमा सकारात्मक दृष्टिकोण राख्ने प्रेरणा पनि हुन् ।
उनले ‘चौकठी’, ‘हाइवे’, ‘सेतो सूर्य’ ‘फोर नाइट्स’जस्ता सिनेमामा अभिनय गरिन् । उनी अभिनीत सिनेमा ‘राजागंज’ (पूजा सर) विश्व प्रसिद्ध भेनिस, बुसान, मुम्बईजस्ता फिल्म फेस्टिभलमा प्रदर्शन भइसकेको छ । जसले नेपाली सिनेमा क्षेत्रका लागि गौरव बढाएको छ । यसअघि उनी अभिनीत सिनेमा ‘हाइवे’ र ‘सेतो सूर्य’ले नेपाली फिल्म उद्योगलाई नयाँ दिशा र दृष्टिकोण दिन सघाए ।
फिल्म प्रदर्शनको सिलसिलामा उनले विश्व प्रसिद्ध कान्स, भेनिस, बर्लिन, बुसानजस्ता फिल्म फेस्टिभलमा चक्कर मारिसकेकी छिन् । स्वदेशमा मात्रै होइन, विदेशमा पनि आशाले आफूलाई एक प्रतिभाशाली अभिनेत्रीका रूपमा प्रमाणित गरिसकेकी छिन् । सिनेमामा उनको यो सफलता सहजै हात लागेको होइन । निरन्तरको मिहिनेत र लगावको परिणाम हो ।
आशाका बुबा धरान ब्रिटिस क्याम्पभित्र काम गर्थे । उनी ब्रिटिस क्याम्पमै हुर्किइन् । त्यतिवेला उनी एक घण्टाको बाटो हिँडेर स्कुल पुग्थिन् । क्याम्पभित्र साताको तीन दिन अंग्रेजी र हिन्दी सिनेमा देखाइन्थ्यो । उनी बुबाआमाको आँखा छलेर लुकी–लुकी सिनेमा हेर्न जान्थिन् । ती सिनेमाका संवाद र नृत्य नक्कल गर्थिन् । उनलाई सिनेमा हेर्ने लत नै बसिसकेको थियो । विभिन्न चाडपर्वमा क्याम्पभित्र हुने कार्यक्रममा सिनेमाको सिको गर्दै नाच्न खुब मन गर्थिन्, तर उनको पहुँच थिएन । ‘अरू समुदायसँग खुलेर बस्न, हिँड्न र बोल्न आँट थिएन । जातको कारणले गर्दा पनि खुलेर भन्न सकिँदैन । इच्छा–आकंक्षाहरू मनभित्रै खुम्च्याएर राख्थेँ । साथीहरू कुरै सुन्दैनथे,’ उनले स्मरण गरिन् ।
अभिनयको रस
आशा १३–१४ वर्षकी मात्रै थिइन् । घोपाक्याम्प पनि सर्यो । उनको बुबाको काम सकियो । बुबा धरान छाडेर थातथलो मोरङ बेलबारी फर्किए । धरानबाट मोरङ गएपछि उनी पनि गाउँको विद्यालयमा भर्ना भइन् । त्यतिवेला गाउँमा अहिलेजस्तो बिजुली, टेलिभिजन केही थिएन । पिउने पानी कुवाबाट गाग्रीमा भरेर ल्याउनुपथ्र्याे । धरानको रमझम कल्पनाभन्दाको बाहिरको कुरा थियो । सुरुसुरुमा उनलाई गाउँको जीवनशैलीमा भिज्न निकै गाह्रो भयो ।
०४६ सालतिरको कुरा हो । गाउँमा कांग्रेस र वाममोर्चा नेतृत्वमा कार्यक्रम हुन्थे । त्यसवेला वाममोर्चाले नाटक मञ्चन गरेको थियो । भर्खर किशोर वयमा पाइला टेकेकी उनलाई मनमनै लाग्थ्यो, ‘ओहो ! मैले पनि अभिनय गर्न पाएँ... ।’ उनको मनले साचेकैजस्तो भयो । एक दिन गाउँका अगुवाले नाटकमा अभिनय गर्न बोलाए । कांग्रेस र कम्युनिस्टबारे थाहै थिएन । नाटकमा उनको भूमिका विद्रोही महिलाको थियो । उनले भनिन्, ‘यो नाटक गरेपछि लाज हट्यो ।’ यसपछि त गाउँका कार्यक्रममा डान्स गर्न बोलाउन थाले । मोरङ बेलाबारीआसपास उनको नाम चल्न थाल्यो । सबैतिरबाट अभिनय गर्न बोलाउन थाले । उनी गाउँका सामाजिक संघसंस्थामा पनि आबद्ध हुन थालिन् ।
०४८ सालतिरको कुरा हो । सर्वनाम थिएटरका अशेष मल्ल गाउँमा नाटकबारे कक्षा सञ्चालन गर्दै हिँड्थे । मल्लको कक्षामा उनी पनि सहभागी भइन् । त्यसपछि झन् अभिनयको चस्का पस्यो । त्यसवेला छोरी मान्छे नाटकमा काम गर्ने कमै हुन्थे । नाटकमा महिला कलाकार पाउँनै गाह्रो हुन्थ्यो । पुरुष नै महिला कलाकार भएर अभियन गर्थे । त्यसवेला धरानमा अनाम नाट्य जमात सक्रिय थियो । ०५१ सालको कुरा हुनुपर्छ । उनलाई अनाम नाट्य समूहले धरान बोलायो । त्यसवेला अनाम नाट्य जमातमा राजेन्द्र रिमाल सक्रिय थिए । सुनिल पोखरेल, नवीन सुब्बा, अनुप बराल धरानमा नाटक वर्कसप गर्न पुगेका थिए । उनी पनि मोरङबाट नाटक वर्कसपमा सहभागी भइन् । एक महिना धरानमै बसेर प्रशिक्षण लिइन् । त्यसपछि जीवनलाई हेर्ने दृष्टिकोण नै परिवर्तन भयो । नाटकबारे उनले विस्तारमा बुझेको धरानको अनाममा आएपछि हो । उनको अभिनय र जीवनलाई बुझ्ने दायरा यहाँबाट फरक भयो । ‘अनाम नाट्य समूहमा आउनुअघि ‘ज्वालामुखी’ र ‘धुन’ फिल्ममा काम समेत गरिसकेकी थिएँ । धुनमा मौसमी मल्ल दिदीसँग काम गरिसकेकी थिएँ,’ उनी सनुाउँछिन् । अभिनयको धुनले उनको पढाइ छुट्न थालिसकेको थियो । मोरङ फर्केर पढाइलाई निरन्तरता दिन थालिन् ।
पढाइकै क्रममा ०५३/५४ सालतिर कलेजको ड्रेस किन्न इटहरी पुगिन् । त्यहाँ अनाम नाट्य जमातका राजेन्द्र रिमालसँग भेट भयो । राजेन्द्रले काठमाडौंको राष्ट्रिय नाचघरमा कलाकार खोजिरहेको सुनाए । सुनिल पोखरेलले ‘राम्रो कलाकार भए नाटकका लागि पठाउनू भनेको सुनाए । देशभरिका राम्रा कलाकार छानेर राष्ट्रिय नाचघरमा तालिम दिइन्थ्यो । राजेन्द्रले सुनिल पोखरेलको नाटकको स्क्रिप्ट नै हातमा थमाइदिए ।
त्यसपछि आशाको निद्रा हरायो । नाटक गर्न काठमाडौं जाने सपना बुन्न थालिन् । उनी काठमाडौं हान्निइन् । ‘एउटा कागजको टुक्रामा फोन नम्बर थियो । काठमाडौंमा झर्नेबित्तिकै सुनिल सरलाई फोन गरेँ । मेरो बस्ने र खानेको टुंगो थिएन । भोलिपल्टदेखि नाटकको अभ्यास गर्नुपथ्र्याे । बस्ने ठाउँ खोज्ने समय थिएन । एक सातासम्म सुनिल सरकै घरमा बसेर नाटक गरेँ,’ उनले भनिन् ।
‘श्रद्धालु वेश्या’मा उनको मुख्य भूमिका थियो । उनको अभिनयलाई दर्शकले प्रशंसा गरे । त्यसपछि त उनले लगातारजस्तो नाटकको मुख्य भूमिका पाउन थालिन् । राष्ट्रिय नाचघरमा एक वर्षको कोर्स पूरा गर्नुपथ्र्याे । नाचघरले महिनाको चार रुपैयाँ दिन्थ्यो ।
काठमाडौंको दुःख र नाटकको भोक
एक्लै काठमाडौं आउनुका आफ्नै दुःख थिए । आशाका लागि काठमाडौं सजिलो थिएन । काठमाडौंका गल्लीमा भोकभोकै हिँड्नुको पीडा एकातर्फ थियो भने अर्काेतर्फ नाटकप्रतिको भोक झन् गडिँदै थियो । गाउँमै हुँदा उनले समाजका वर्गीय खाडल देखिसकेकी थिइन् । काठमाडौं आएपछि त ती वर्गीय खाडल झन् गहिरा देख्न थालिन् । त्यसले सपनाको आयतन झन् फराकिलो हुँदै गयो ।
‘अभिनय गर्ने र कलेज पढ्ने सोचले आएको थिएँ । तर, सोचेजस्तो सजिलो भएन । बिहान नाटक अभ्यास गर्नुपथ्र्याे । गाडी चढ्ने पैसा हुँदैनथ्यो । भोक लाग्दा किनेर खाने पैसा हुँदैनथ्यो । भोको पेट धेरै बसिन्थ्यो,’ उनी भन्छिन्, ‘यद्यपि, ऊर्जा बेग्लै थियो । नाटक गरे पनि पैसा आउँदैनथ्यो । तर, नाटकको भोक यथावतै थियो ।’
त्यतिवेला काठमाडौंमा मञ्चन हुने हरेकजसो नाटकमा मुख्य भूमिका उनले पाउँथिन् । बिएस राणाको ‘वसन्ती’ नाटकमा गरेको अभिनय उनी बिर्सनै सक्दिनन् । उक्त नाटकमा उनी महारानीको भूमिकामा थिइन् । त्यो नाटक गर्दा दुई हजार रुपैयाँ परिश्रमिक पाएकी थिइन् । यो नै उनको पहिलो पारिश्रमिक थियो ।
त्यसपछि सविना लेमनको स्टुडियो सेभन होटेल बज्रमा नाटक गर्न थालिन् । सविना लेमनको नाटक ‘ह्वाइट टाइगर’मा मुख्य भूमिका निभाइन् । त्यतिवेलासम्म पनि नाटकमा महिला कलाकारको अभावै हुन्थ्यो । नाटक गरेपछि राम्रो पारिश्रमिक र खाना दिइन्थ्यो । त्यसपछि उनको जीवन अलि सहज हुन थाल्यो । बज्रमा नाटक गरेबापत ६ हजार रुपैयाँ पाइन् । त्यो ६ हजारले ६ महिना खर्च धानेको उनले सुनाइन् ।
यतिवेलासम्म उनी राष्ट्रिय नाचघरमा नाटकको कोर्स गरिरहेकै थिइन्, साथै बज्रको नाटक पनि । आम नाटककर्मीमा नाटक गरेपछि सिनेमा गर्नुहुँदैन भन्ने बुझाइ थियो । सिनेमामा रोल पाउन सहज पनि थिएन । आर्यन फेस भएकाहरू प्राथमिकतामा पर्थे । ‘साथै निर्देशकको नजिकको हुनुपथ्र्याे । अभिनेत्री हुन अग्ली, चुच्चो नाक, गोरो अनुहार भएको हुनुपर्छ भनिन्थ्यो । मेरो लुक्स मंगोलियन थियो । त्यसैले सिनेमाको आशा पनि गरिनँ,’ उनी भन्छिन् ।
नाटकमा अभिनयका लागि पहिलो नाम उनको आउँथ्यो । तर, दलित समुदायको कथामा आधारित टेलिसिरियल ‘दलन’मा अभिनयको लागि प्रस्ताव आयो । ‘दलन’मा उनी छानिइन् । तीन महिना पर्वतमा बिताइन् । ‘दलन’ले उठाएको विषय मात्रै नभएर कलाकारले अभिनयलाई लिएर खुब चर्चा भयो । ‘दलन’ आशाको अभिनयलाई निकै तारिफ गरियो । आशाले फिल्म ‘कर्मा’मा पनि काम गरिसकेकी थिइन् ।
आशाले आफैँले नाटक निर्देशन पनि गरिन् । उनको नाटकमा दयाहाङ राईले पनि अभिनय गरेका थिए । नाटक निर्देशन गरेपछि सबैले चिन्न थाले, तर नाटकले चर्चा पाए पनि राम्रो कमाइ गर्न सकेन । त्यसपछि नाटक निर्देशन गर्ने जाँगर चलेन । भन्छिन्, ‘त्यो नै मेरो निर्देशनको पहिलो र अन्तिम नाटक भयो ।’
आशा बुबाआमाको एक्ली छोरी थिइन् । आशाले दाजुको मृत्युपछि बुबाआमाले छोरा नै ठान्थे । आशाकी आमालाई छोराको वियोगले सताउँथ्यो । आशाले आमालाई छोराको न्यास्रो मेट्न विवाह नगर्ने सोच बनाएकी थिइन् । त्यतिवेला आशाको निर्देशक दीपक रौनियारसँग भेट भइरहन्थ्यो । त्यतिवेला दीपक वृत्तचित्र निर्माण गर्थे । आशा बुबाआमाकी एक्ली छोरी थिइन् । दाजुको मृत्युपछि बुबाआमाले आशालाई नै छोरा ठान्थे । ‘कर्मा’ सिनेमामा काम गर्ने क्रममा उनको दीपकसँग भेट भएको थियो । यसपछि उनीहरू नजिक भए । केही समयपछि उनीहरूले विवाह गरे । ‘भेटका क्रममा दीपकको महिलाप्रतिको सम्मान, म जुन समुदायबाट आएँ, त्यो समुदायलाई हेर्ने दृष्टिकोण फरक पाएँ । झन् मेरी आमा बितेपछि दीपकले ठुलो भरोसा दिए । ठुलो शोकमा थिएँ । एक्लो महसुस हुन थालेको थियो । यहीकारण दीपकसँग विवाह गर्ने निर्णयमा पुगेँ,’ उनी विगतमा पुगिन् ।
दीपकसँगै उनी फिल्म निर्माणमा सक्रिय भइन । दिपकको सर्ट फिल्म ‘चौकठि’ अभिनय गरिन । यो फिल्ममा आशाको मुख्य भूमिका छ । यो फिल्म कान्स फिल्म फेस्टिभलमै देखाइएको थियो । त्यसपछि फिल्म ‘हाईवे’मा अभिनय गरिन । ‘हाइवे’ दीपकको पहिलो फिचर फिल्म थियो । ‘हाइवे’ बर्लिन लगात थुप्रै अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा छनोट भयो । त्यसपछि आशाले अर्काे फिचर फिल्म ‘सेतो सूर्य’मा अभिनय गरिन । यसमा उनले ‘दुर्गा’को शसक्त भूमिका निभाईन । अन्तर्राष्ट्रिय मञ्चमा ‘सेतो सुर्य’ले आशाको अभिनेत्री ख्याति बढायो । जसले नेपाली सिनेमा उद्योगमा उनको स्थान उचो बनायो ।
क्यान्सरको जित र ‘राजागंज’को सफलता
आशालाई ‘राजागंज’ले थप लोकप्रियता दिलायो । तर,‘राजागंज’मा काम गर्नु उनको लागि सहज थिएन । ‘राजागंज’ फिल्म सुटिङको तयारी पूरा भएपछि उनमा क्यान्सर देखियो । यसबाट ठुलो मानसिक र शारीरिक तनावको सामना गर्नुपर्यो ।
फिल्मको सुटिङको तयारी गरिरहँदा एक दिन उनले एक्कासि घाँटी चलाउनै नहुने गरी दुःखेको अनुभव गरिन् । सिरानी अप्ठ्यारो भएर सुताइ मिलेन होला भन्ने लाग्यो । तर, बिस्तारै दुखाइ बढ्दै गयो । भोलिपल्ट दुखाइ कम भएपछि निर्देशक दीपकसँगै सुटिङको उपकरण लिन अमेरिका उडिन् । कतारमा पुगेपछि घाँटी सुन्निएको महसुस भयो । उनलाई लाग्यो– सामान्य चेकजाँचपछि औषधि सेवन गर्दा ठिक भइहाल्छ ।
अमेरिका पुगेपछि अस्पताल गइन् । अस्पतालले घाँटीमा गाँठो देखिएको र बायोप्सी गरेर हेर्नुपर्ने बतायो । साथै सिटी स्क्यान गर्न पनि सुझायो । यसबाट पनि छाती र घाँटीमा गाँठो देखियो । बायोप्सी रिपोर्टमा थाइराइड र ब्रेस्ट क्यान्सरपुष्टि भयो । यसपछि उपचारका लागि लामो समय अस्पतालमै बिताउनुपर्ने भयो । जसका कारण ‘राजागंज’को छायांकन रोकियो ।
उपचार अवधिभर उनले आफूलाई कहिल्यै नकरात्मक हुन दिइनन् । करिब एक वर्ष अमेरिकामै बसेर उपचार गरिन् । पूर्ण निको भइसकेपछि नेपाल फर्किइन् र ‘राजागंज’को सुटिङलाई निरन्तरता दिइन् ।
‘उपचारका क्रममा कहिल्यै हिम्मत हारिनँ, आत्मबल बलियो राखेँ । पीडामा पनि रमाइलो खोजिरहेँ । आफूलाई केही भएको छैन भन्ने महसुस गराएँ । दीपकले पनि निराश हुन दिएनन् । उसको आँटले र बलियो आत्मविश्वासले क्यान्सर जित्न सफल भएँ,’ उनी भन्छिन्, जीवनमा कठिन र निराशालाई चिरेर राजागंजको सपना पूरा भयो ।
‘राजागंज’ भेनिस, बुसान, मुम्बईजस्ता फिल्म फेस्टिभलमा प्रदर्शन भयो । जसले नेपाली सिनेमा क्षेत्रको गौरव बढायो । अझ क्यान्सरलाई जितेर अभिनयमा फर्केकी आशाको नाम नेपाली सिनेमामा प्रेरणादायी छ ।