• वि.सं २०८१ चैत २० बुधबार
  • Wednesday, 02 April, 2025
टिएन भट्ट
२०८१ चैत २ शनिबार ०९:१६:००
यात्रा

...अनि हुन्छ यात्रा सुरक्षित 

२०८१ चैत २ शनिबार ०९:१६:००
टिएन भट्ट

 

म १० वर्षदेखि पथ प्रदर्शक (टुरिस्ट गाइड)का रूपमा काम गरिरहेको छु । यो अवधिमा पर्यटकलाई लिएर नेपालका धेरै ठाउँ पुगेको छु । यात्रुलाई सुरक्षित रूपमा गन्तव्य पुर्‍याउने मात्रै होइन, फर्काउने जिम्मा पनि पथ प्रदर्शक (गाइड)को हुन्छ । त्यसैले नयाँ स्थानको यात्रा गर्दा पथ प्रदर्शकको भूमिका निकै महत्वपूर्ण हुन्छ । पथ प्रदर्शक (गाइड)ले यात्रा गर्नुअघि जाने स्थानको जानकारी अनिवार्य राख्नुपर्छ । गाइडले यात्रुको यात्रालाई रमाइलो र सुरक्षित गराउनेतर्फ सधैँ ध्यान दिनुपर्छ ।

 

गाइडको अर्को जिम्मेवारी यात्रुलाई गन्तव्यबारे पूर्ण जानकारी दिनु हो । पथ प्रदर्शकले यात्रा गर्ने स्थानको ऐतिहासिक, सांस्कृतिक र भौगोलिक सौन्दर्य र महत्वलाई सरल तरिकाले बुझाउन सक्नुपर्छ । जसले यात्रालाई अझ मनमोहक बनाउँछ ।

 

पथ प्रदर्शकमा यात्रुलाई नयाँ संस्कृतिबारे बुझाउने र स्थानीयसँग संवाद गराउने क्षमता पनि हुनुपर्छ । यसका लागि भ्रमणस्थलको संस्कृति, इतिहास र जीवनशैली बुझ्नुपर्छ । जसले यात्रालाई अविस्मरणीय तुल्याउँछ । 

 

नयाँ ठाउँको यात्रा गर्दा पर्यटकलाई मात्रै नभई पथ प्रदर्शकलाई पनि ताजगी र ऊर्जा मिल्छ । यस्ता यात्राले शरीर र मस्तिष्कलाई विश्राम दिन्छ । यात्राका क्रममा नयाँ मानिसलाई साथी बनाउने अवसर मिल्ने मात्रै नभई प्राकृतिक सौन्दर्यको अवलोकनबाट शान्त र प्रसन्नता मिल्छ । त्यसैले नयाँ ठाउँको यात्रा जीवनको एउटा महत्वपूर्ण हिस्सा बन्ने खालको हुनुपर्छ । 

 

हामीले स्थानीय संस्कृति, भाषा र संस्कारको सम्मान गर्नुपर्छ । स्थानीयसँग सम्बन्ध राम्रो नभए यात्रा फिक्का हुन सक्छ । यसक्रममा पथ प्रदर्शकले यात्रुको सुरक्षामा विशेष ध्यान दिनुपर्छ । नयाँ स्थानमा यात्रा गर्दा यात्रुलाई सुरक्षा उपायबारे जानकारी दिनुपर्छ । यात्रुलाई स्थानीय नियम र परम्पराबारे जानकारी गराउनुपर्छ । साथै, कुनै आपत्कालीन परिस्थिति उत्पन्न भए गाइडले यात्रुलाई सुरक्षित स्थानमा लैजान आवश्यक सहयोग गर्नुपर्छ । 

 

यात्रामा हतारो गर्नुहुँदैन

 

यात्राका क्रममा कहिलेकाहीँ स्वास्थ्य समस्या पनि देखिन्छ । यात्रालाई सकेसम्म छिटो सकाउने हतारो कतिपयमा हुन्छ । यो राम्रो होइन । यात्रालाई छिटो सकाउने हतारो गर्नुभन्दा पनि दृश्यावलोकनको मजा लिँदै बिस्तारै हिँड्नुपर्छ । 

 

पहिलो दिनमै अति धेरै हिँड्दा भोलिपल्टै थाक्ने हुन्छ । दुई हजार मिटरभन्दा कम उचाइमा बसेका मानिस एकै दिन तीन–चार हजार मिटर उचाइमा पुग्न खोज्नु राम्रो होइन । वातावरणमा घुलमिल हुन नसकेर बिरामी पर्ने हुन्छ । भौगोलिक अवस्था र वातावरणले गर्दा पनि थकान र स्वास्थ्य समस्या देखिन्छ । त्यहीकारण यात्रामा हतारो गर्नुहुँदैन । 

 

कतिपय ग्रामीण क्षेत्रमा इन्टरनेट सुविधा नहुन सक्छ । मोबाइल नेटवर्क पनि नहुन सक्छ । बिजुलीबत्तीको पहुँच नहुन सक्छ । डिजिटल डिभाइस चार्ज गर्न नसकिने हुन्छ । यात्रा गर्ने ठाउँको जानकारी लिन असहज हुन सक्छ । त्यसैले डाटा केबल, टर्च, पावर बैंकलगायत उपकरण यात्रामा हिँड्दा बोक्नुपर्छ । मौसमअनुसार झोलामा डाउन ज्याकेट, पन्जा, प्राथमिक उपचारका सामग्रीलगायत बोक्नुपर्छ ।