
इस्वीको चौथो शताब्दीमा प्रयागको अशोक स्तम्भमा उत्कीर्ण समुद्रगुप्तको प्रशस्ति लेखको २२औँ पंक्तिमा गुप्त साम्राज्यको सीमान्त क्षेत्रमा नेपालसहितका विभिन्न पाँचवटा राज्यका नाम उल्लेख छ । यो ऐतिहासिक अभिलेखअनुसार नेपालभन्दा पश्चिमतर्फ अवस्थित राज्यको नाम ‘कर्तृपुर’ हो । सुदूरपश्चिम तथा उत्तराखण्ड (भारत) को इतिहासमा चर्चा गरिएको प्राचीन कातियुर (कत्युरी) राज्य कर्तृपुरको अपभ्रंश रूप हो । मैदानी तथा पहाडी दुवै भूगोलसहित बृहत् रूपमा फैलिएको कर्तृपुर/कातियुर राज्य मध्यकालमा विभाजित भएर बनेका आठ प्रान्तमध्ये डोटी र अस्कोटमा सुदूरपश्चिमको भूगोल समावेश थियो ।
ऐतिहासिक ताम्रलेखअनुसार अस्कोटको प्रारम्भिक केन्द्र दार्चुलाको उकु तथा डडेल्धुराकाको अजयमेरू डोटीको राजधानी थियो । अधिकांश रूपमा घना जंगलले ढाकेको कैलाली कञ्चनपुरको तराई अस्वस्थ जलवायुका कारण बस्नयोग्य थिएन । अकबरका दरबारी लेखक बदायुनीका अनुसार इस्वीको सोह्रौं शताब्दीमा रैकाको देशमा आक्रमणकारी मुगलसेना तराईको अस्वस्थकर र प्रतिकूल जलवायुका कारण बिरामी परेर मर्न थालेपछि रैकाको सेनासँग पराजित भएर फर्केको थियो ।
तर, योभन्दा पहिले कर्तृपुर/कातियुरको राज्यकालमा तराई क्षेत्रमा गुल्जार बजार र मानिसको सुन्दर बस्ती थियो भन्ने मान्यता छ । कचनपुरको ब्रह्मदेवमण्डी कत्युरी राजा ब्रह्मदेवले स्थापना गरेका थिए, तत्कालीन समयमा त्यो बजारमा तिब्वती सामानको व्यापार हुन्थ्यो । एट्किन्सनका अनुसार पहाडी राजाहरूको अधिकारमा रहेको तराई क्षेत्र उनीहरूकै उपेक्षाका कारण उजाड भएर पछि जंगली रूप धारण गरेको थियो ।
सत्तारुढ वर्गको राजनीतिक सोच, सिद्धान्त, विचारधारा, चेतनाले आमजनताको जनजीवन, पर्यावरण एवं पारिस्थितिको स्वरूप तयार गर्छ भन्ने कुरा यो ऐतिहासिक तथ्यले पनि स्पष्ट गरेको छ । कैलालीको धनगढी पहिलेदेखि नै सुदूरपश्चिम क्षेत्रको व्यापारिक केन्द्रको रूपमा विकास भएको थियो । तर, अहिले सुदूरपश्चिम प्रदेशको राजधानीको भूमिकासमेत निभाउँदै आएको छ । जनसुविधाहरू विस्तार भएका छन् । पुराना सडकहरू नयाँ र फराकिला भएका छन् । सडकछेउमा नाला, फुटपाथ, हरियाली, सडक बत्तीहरूको व्यवस्था, नगरको स्वच्छताका लागि सरसफाइ र प्लास्टिकका झोला प्रतिबन्ध गरिएकाले धनगढी सहरको आकर्षण बढ्दो छ ।
धनगढी उदयको कहानी रोचक छ । पुराना मानिसका वृतान्त सुनेर ५०–६० वर्षअघिको धनगढीको तत्कालीन स्वरूपलाई मानसपटलमा उतार्न सकिन्छ । चारैतिर जंगलले घेरिएको जंगली जनावर र डाँकाहरूका कारण दिउँसै हिँड्न डराउनुपर्ने, सडकको ट्र्याकसमेत नखुलेको सुनसान धनगढी । पुरानो शिव मन्दिर र मस्जिद धनगढीको विकास र विस्तारको साक्षी बनेर उभिएका छन् । त्यस बखत मस्जिद र शिव मन्दिर क्षेत्रमा धनगढीको पुरानो बजार थियो । भारतीय व्यापारीका दुई–चार पसलहरू भएको त्यही सानो गल्लीबाट धनगढी फैलिँदै अगाडि बढ्यो ।
धनगढी अहिले कंक्रिटको जंगलजस्तै भएको छ । भजनीमा सानोतिनो बजार थियो, तर धनगढी सुनसान थियो । समग्रमा कैलाली कञ्चनपुरमा हात्ती चढेर हिँड्ने जमिनदारहरूको रजाइँ थियो । नेपालको मुख्य भूमिसँग नजोडिएको अवस्थामा स्वास्थ्य, शिक्षा रोजगार दैनिक जीविकोपार्जन, व्यापार, कृषि उत्पादनको बिक्री गर्नेलगायत सबै प्रयोजनका लागि भारततिर नै बढी सम्बन्ध थियो । तत्कालीन समयमा तराईको अर्थव्यवस्था स्थानीय जमिनदार एवं भारतीय महाजनको हातमा थियो ।
खस्किँदो सुदूर पहाड
अंग्रेजी ‘जेन्ट्रिफिकेसन’को नेपाली रूपान्तरण अभिजातीकरण हुन्छ । यस प्रक्रियामा ग्रामीण बजारमा बाहिरबाट बसाइँसराइ गरेर आउने मध्यवर्गले उक्त स्थानमाथि अधिपत्य जमाएर आफ्नो अनुकूल सुविधासम्पन्न सहर बन्नमा योगदान गर्छन् । अभिजातीकरणले मूल निवासी तथा निम्नवर्गलाई विस्थापति गर्छ भन्ने विचार राख्नेहरू अभिजातीकरणविरुद्ध विचार प्रस्तुत गर्छन् ।
कैलाली–कञ्चनपुरसहित सीमावर्ती भारतीय तराई भूमिको मूल निवासी राना/राणा थारू समुदाय हुन् । ताम्रपत्रीय प्रमाणले पनि सुदूरपश्चिमको तराईमा ३५० वर्षअघि रानाहरूको बस्ती रहेको पुष्टि गरेको छ । जनसंख्याको हिसाबले बढी भए पनि चौधरी थारूहरूको सुदूरपश्चिमको तराईमा बसोवासको इतिहास धेरै पुरानो छैन । नयाँ मुलुकको रूपमा यो तराई भूभाग नेपालमा आएपछि करिब १५० वर्षअघिदेखि थारू समुदाय यहाँ बस्न थालेका हुन् ।
पुराना स्थानीय जमिनदारहरूद्वार कमैयाको रूपमा खास गरेर दाङबाट चौधरीहरूलाई ल्याइएको बताइन्छ । तसर्थ, धनगढीको अभिजातीकरणले रानाथारूहरूका केही जनसंख्या विस्थापित भएर भारततिर प्रवेश गरेको बताइन्छ । तर, सम्रगमा भन्दा धनगढीको अभिजातीकरणका कारण थारू समुदायले जीविकोपार्जनका अवसर प्राप्त गरेर विभिन्न व्यासायमा संलग्न भइरहेका छन् ।
पहाडी जिल्लाबाट निरन्तरको बसाइँसराइले धनगढी नगर फैलिँदै गएको हो । ०३७ सालतिर पहाडमा भएको खाद्यन्न संकट, प्राकृतिक प्रकोपले तराई क्षेत्रमा पलायन सुरु भएको थियो । हर्क गुरुङले महेन्द्रनगर बजारमा यस्ता पहाडी समूह बसाइँसराइ गर्दै गरेको प्रत्यक्ष देखेको उल्लेख गरेका छन् । तत्कालीन पञ्चायत सरकारले पनि उनीहरूलाई तराई झर्न प्रेरित नै गथ्र्याे । धनगढीको आकर्षणले यसमा थप वृद्धि भइरहेको छ । पहाडको घरखेत बाँझो परेर जंगली झाडीको रूप धारण गरेको छ । पुर्खाले उकालीओराली गरेका बाटामा अब कोही हिँड्दैनन् । जनसंख्या घट्दै जाँदा जंगली जनावरको संख्यामा वृद्धि भएर पहाडी अर्थतन्त्रको मुख्य आधार कृषि उत्पादनमा समस्या परिरहेको छ । मध्यकालीन राजनीतिक केन्द्र पहाडतिरै रहँदा सुदूर पहाडको वैभवको चर्चा मुगल दरबारसम्म सुनिन्थ्यो ।
सुदूरपश्चिम पहाड बचाउने राजनीति
हजारौँ वर्षदेखि सुदूरपश्चिमको हिमाली तथा पहाडी पारिस्थितिकी तन्त्रले यहाँका बासिन्दालाई पारिस्थितिकी तन्त्र सेवा प्रदान गर्दै आएको छ । पारिस्थितिकी तन्त्रले भोजन, पानी, आवास, जडीबुटी, ऊर्जा, स्वस्थ हावापानीलगायत विशिष्ट पहाडी कृषि उत्पादनका लागि चाहिने हावापानी, माटो, जलवायु प्रदान गरेको छ । रोग निरोधक स्वच्छ पर्यावरण दिएको छ । यहाँको पारिस्थितिकले आत्मिक शान्ति प्राप्तीका लागि गरिने योग तथा विपश्यनाका लागि उपयुक्त वातावरण र स्थल उपलब्ध गराएको छ । मनोरञ्जन एवं पदयात्राका लागि उपपोगी स्थानहरू प्रशस्त छन् । पहाडी पारिस्थितिकी तन्त्रले पहाडी गीत–संगीत, कला–संस्कृतिको स्वरूप प्रदान गरेको छ ।
पहाडी संस्कृतिलाई जीवन्त राखेर सांस्कृतिक सेवा प्रदान गरेको छ । किनकि, सुदूरपश्चिमको पहाडी कला, लोकसाहित्य, संस्कृतिले मौलिक भूमि छोडेर पराई भूमिमा जाँदा आफ्नो मौलिकता एवं माटोको सुगन्ध गुमाएर विकृत रूप धारण गरेको हुन्छ । अलग पहिचान बोकेको सुदूरपश्चिमको पहाड नेपालका अन्य पहाडी क्षेत्रसँगको तुलनामा फरक एवं विशिष्ट प्रवृत्तिको छ । यसले स्थानीय विशिष्ट भाषाको संरक्षण गरेको छ ।
भाषा सञ्चारको माध्यम मात्र होइन, समुदायको पहिचान र आफूलाई हेर्ने ऐना पनि हो । आफ्नो ठाउँ छोडे अन्यत्र जाने भाषा अशुद्ध र अपभ्रंश भएर पिजिन भाषामा (मिश्रित) रूपान्तरण हुन्छ । भाषामा प्रयोग हुने शब्दहरूको माध्यमबाट हामी हाम्रा पूर्वजसँग परिचित हुन्छौँ । भाषाले इतिहासलाई जोडेको हुन्छ । किनकि, भाषाका मौलिक शब्दहरू लोप हुँदा पुराना दस्ताबेज, ऐतिहासिक अभिलेख, शिलालेख, स्तम्भलेख, ताम्रपत्र पढ्न तथा बुझ्न सकिँदैन र वास्तविक इतिहास अन्धकारमा बिलिन हुन्छ ।
सुदूरपश्चिमका पहाडका लागि पहाड जीवित रहनु आवश्यक छ । यहाँ पहाडीको पुज्ने इष्ट देवताको वास छ । जो जहाँ भए पनि पर्वमा वा विशेष अवसरमा पहाड उक्लनु अनिवार्य हुन्छ । सुदूपश्चिमको पहाडसँग जोडिएका अनेकौँ मुद्दा छन् । तर पनि पहाड बचाउने राजनीतिमा पहाडी समुदाय अग्रसर हुन सकिरहेका छैनन् ।
सबै क्षेत्र, जाति, नश्लको समग्र विकासका लागि, जल, जंगल जमिनमाथि सीमान्तकृत वर्गको पहुँच सुनिश्चित गर्न देशका कुनाकाप्चाका मुद्दालाई समेटेर केन्द्रीकृत देशलाई चारैकुनामा फैलाउने औचित्यले देशमा संघीय प्रणाली लागू भएको हो । हरेक देशमा क्षेत्रीय, स्थानीय मुद्दा हुन्छन् । प्रादेशिक मुद्दा उठाउन, संरक्षण गर्न प्रादेशिक दलहरूको भूमिका अपरिहार्य हुन्छ । देशका यस्ता मुद्दालाई उठाउने र त्यसको समाधानका लागि अग्रसर हुने नीति नियम बनाएर कार्यान्वयन गर्ने प्रादेशिक दलविना संघीयता सफल हुन सक्दैन । संघीयतापछि पनि राजनीतिको विकेन्द्रीकरण हुन सकेको छैन ।
सत्तारुढ पार्टीमा केन्द्रीकृत मानसिकता हटेको छैन । उनीहरूमाथि संविधान संशोधनको नाममा दुई पार्टी प्रणाली लागू गर्न खोजेको आरोप लागिरहेको छ । हेक्का राख्नुपर्ने कुरा के हो भने क्षेत्रीय मुद्दालाई बोक्ने पार्टीहरूको नामोनिसान मेटाएर सीमान्तकृत समुदायलाई आन्तरिक उपनिवेशीकरणतिर धकेल्दा देशले कुनै लाभ पाउँदैन ।
देशमा नयाँ शक्ति र नयाँ युवा भन्ने भाष्य तयार पारिएको छ । वास्तवमा त्यो एउटा भ्रमजाल मात्र साबित हुन सक्छ । किनकि, पुरानो पार्टीले नयाँ विचार लिँदा त्यो नयाँ हुन सक्छ, तर नयाँ युवा, नयाँ पार्टीले पुरातन र रुढिवादी विचार बोकेर हिँड्दा त्यसलाई पुरातन पार्टी नै भन्नुपर्छ । बरू सुदूरपश्चिमको पहाड बचाउने अभियानसहित प्रादेशिक राजनीतिक पार्टी निर्माण भएमा त्यो नयाँ राजनीतिक शक्ति निर्माण भएको मान्न सकिन्छ ।
(जोशी पर्यावरण एवं पारिस्थितिक तन्त्रका अध्येता हुन्)