• वि.सं २०८१ चैत २० बुधबार
  • Wednesday, 02 April, 2025
राम गुरुङ
२०८१ चैत २ शनिबार ०९:३८:००
साहित्य

समाजशास्त्री राम गुरुङलाई मन परेका सात पुस्तक

२०८१ चैत २ शनिबार ०९:३८:००
राम गुरुङ

 

एभिक्टेड – प्रोभर्टी एन्ड प्रफिट इन द अमेरिकन सिटी : यो पुस्तक अमेरिकन समाजशास्त्री म्याथ्यु डेसमन्डले लेखेका हुन् । पुस्तकमा अमेरिकन समाजको भाडामा बस्ने परिवार र घर मालिबिचको सम्बन्धलाई देखाइएको छ । अमेरिकी सहरी समाजमा वर्ग कति महत्वपूर्ण छ भने भाडा तिर्न नसकेपछि घर मालिकले निकालेर लखेट्छ । यस्तो निष्कासनले पनि गरिबी निम्त्याएको छ भनेर लेखकले पुस्तकमा उल्लेख गरेका कारण मलाई रुचिकर लाग्यो । पुस्तकमा सहरीकरणले अन्ततःअसमानता निम्त्याउँछ भन्ने कुरा उल्लेख छ । 

 

पेडागोजी अफ द अप्रेस्ड : यो पुस्तक पाउलो फ्रेरेले लेखेको हुन् । ल्यान्ड राइट्स मुभमेन्टमा पिएचडी सुरु गरेपछि सामाजिक आन्दोलनलाई अलि धेरै हेरिरहेको छु । यस क्रममा भुइँ तहको मानिस कसरी आन्दोलित हुन्छ होला भनेर उत्तर खोजिरहेको थिएँ, उत्तर खोज्ने क्रममा यो पुस्तक पढेको थिएँ । उनीहरूलाई आन्दोलनमा सहभागी गराउन तपाईंको जमिन खोस्यो, यो सांस्कृतिक अधिकार हो भनेको छ । तर, उनीहरूले ती कुरालाई कसरी बुझे ? कति बुझे ? भन्ने कुरा महत्वपूर्ण हुन्छ । दीर्घकालीन रूपमा राज्यको अन्याय, खराब प्रणाली, संरचनात्मक विभेदविरुद्ध लड्ने हो भने सम्बन्धित व्यक्ति आफैँ बुझ्ने हुनुपर्छ । यसका लागि व्यक्तिमा आलोचनात्मक चेतको विकास गरिदिनुपर्छ भन्ने कुरा आफ्नो विद्यावारिधिमा कतै जोड्नका लागि यो पुस्तक पढेको थिएँ । 

 

द स्टेट एन्ड रेभुलेसन इन द ट्वान्टिथ सेन्चुरी : मेजर सोसियल ट्रान्सफर्मेसन अफ आवर टाइम : यो पुस्तक बर्च बरबेरोलुले लेखेका हुन् । पुस्तक सन् १९७० देखि ८० को दशकमा चीन, फ्रान्स, क्युवा, भियतनाम, निकारागुवामा जति पनि राजनीतिक परिवर्तन भयो, ती देशहरूको अध्ययन गरेर तयार पारिएको छ । पुस्तकले संसारभर वर्ग व्यवस्था जहाँतहीँ छ । तर, हरेक ठाउँको वर्ग व्यवस्था विशेष छ । कहीँको वर्ग कहीँसँग मिल्दैन भन्ने उल्लेख गरेको छ । साना कुराहरूको तथ्यांक ल्याएर, सन्दर्भ प्रयोग गरेर पुस्तक लेखिएको छ ।

 

सबाल्र्टन मुभमेन्ट इन इन्डिया : दक्षिण एसीया बुझ्नका लागि मनीषा देसाईंको यो पुस्तक उपयोगी छ । हाम्रोमा अध्ययन, अनुसन्धानका क्रममा कर्मकाण्डी रूपमा जेन्डरचाहिँ घुसाउनैपर्छ भन्ने छ, तर किन भन्ने छैन । गुजरातमा तीन ठुला आयोजना आयो । जग्गा, खोला मासेर हुन लागेको आयोजनाविरुद्ध आन्दोलन भयो । महिलाहरू ब्यानर बोकेर हिँडे । उनीहरू धर्नामा सहभागी भए । ढुंगा हाने । तर, भित्र कोठामा बैठक बस्ने वेला पुरुष मात्र सहभागी भए । त्यसलाई उनले ‘जेन्डर जियोग्राफी’ भनेकी छिन् । आन्दोलनमा महिला नभई नहुने तर निर्णय प्रक्रियामा चाहिँ महिलालाई कसरी ‘बायस्ड’ गराइएको छ भनेर उल्लेख गरेकी छिन् । पुस्तकले लैंगिकता, आदिवासी जनजाति, अपांगता भएकाहरू, दलितलाई  पनि अनुसन्धानमा कसरी समेट्ने भन्ने कुरा सिकायो । 

 

आइडेन्टिटी – द डिमान्ड फर डिग्निटी एन्ड द पोलिटिक्स अफ रेजिमेन्ट : मैले फ्रान्सिस फुकुयामाले लेखेका सबैजसो पुस्तक पढेको छु । सन् १९९२ मा द एन्ड अफ द हिस्ट्री एन्ड द लास्ट म्यान लेखेका लेखकले एकाएक सन् २०१८ यो पुस्तक प्रकाशन गरेर आफ्नै कुरालाई खण्डन गरेका छन् । ३२ वर्षअघि अलि गम्भीर भएर लेखिदिएको भए यो लेख्नुपर्ने अवस्था आउने थिएन । त्यसैले लेख्दा गम्भीर हुनुपर्ने रहेछ भन्ने लाग्यो । पहिचानलाई दुवै ढंगले हेर्नुपर्ने हुन्छ । पुस्तकमा उनले पहिचानको कुराले देशलाई खलबल बनाउँछ । प्रजातन्त्रलाई कमजोर बनाउँछ भन्ने तर्क गरेका छन् । सँगसँगै मान्छेले भित्रदेखि नै म फरक हो भनेर महसुस गरेको कुरालाई दबाउनु पनि हुँदैन भनेर स्वीकार गरेका छन् । 

 

सिमसारा : यो उपन्यास पत्रकार बसन्त बस्नेतले लेखेका हुन् । पुस्तक मिठो भाषामा लेखिएको छ । वाक्यको उठान एकदमै राम्रो लाग्यो । पुस्तकमा कतै वर्गको कुरा, कतै लैंगिक विभेदका कुरा पढ्न सकिन्छ । उपन्यासमा प्रयोग भएको भाषाले यसरी लेख्यो भने सामान्य मान्छेसम्म आफ्नो कुरा पुर्‍याउन सकिने रहेछ भन्ने लाग्यो । 

 

ल्यान्ड ओनरसिप इन नेपाल : ल्यान्ड राइट्स मुभमेन्टमा विद्यावारिधि गरिरहेकाले महेशचन्द्र रेग्मीको धेरै पुस्तक पढेको छु । यो पुस्तक मैले धेरैपटक पढेँ । हामी भूमिका लागि भएको आन्दोलन भन्छौँ । मान्छेहरू होमिएको भन्छौँ । तर, माथिल्लो तहको कुरा कहिल्यै पनि गर्दैनौँ । राज्यको कारण त्यो आन्दोलन कमजोर भएको कुरा चर्चा गर्दैनौँ । त्यसका लागि इतिहासबारे जानकारी हुनुपर्‍यो । जमिन राज्यले कसरी प्रयोग गर्न खोज्यो ? भुइँ मान्छेले कसरी प्रयोग गर्न खोजे ? सर्वसाधारणले जमिनलाई कसरी बुझ्छ ? राज्यले जमिनलाई कसरी बुझ्छ ? त्यो कुरा बुझ्न यो किताब उपयोगी छ ।