
तराई–मधेशमा जन्मिएँ, उतै हुर्किएँ । त्यहाँ उकालो–ओरालो हुँदैन । युवाकाल समथर भूभागमा बिताएका व्यक्तिले गगनचुम्बी हिमाल चढ्न खोज्नु स्वाभाविक रूपमा चुनौतीपूर्ण हुन्छ । हिमालमा बस्नेहरूमा जनकपुरको रामजानकी मन्दिरप्रति गहिरो आस्था भएजस्तै तराईवासीलाई पनि हिमालप्रति उत्तिकै आत्मीयता र अपनत्व हुन्छ । मलाई हिमालप्रतिको आकर्षण सानैदेखि थियो ।
स्कुलका किताबमा भएका हिमालका फोटोहरूले खुब मन लोभ्याउँथ्यो । किताबका नक्सा काला हुन्थे, पछि पो थाहा भयो– हिमाल त सेता हुने रहेछन् । बुझ्दै जाँदा हिमालप्रति गौरवको अनुभूति हुन थाल्यो । अझ विदेशीहरू नेपाल आएर हिमाल चढ्छन् भन्ने थाहा पाएपछि मेरो मनमा पनि हिमाल आरोहणको सपना पलायो ।
समयसँगै संसद्को जिम्मेवारीमा पुगेँ । संसद्को जिम्मेवारी नीति निर्माण गर्ने हो । मिडिया र सामाजिक सञ्जालमार्फत थाहा भयो– जलवायु परिवर्तनका कारण सेता हिमाल क्रमशः काला पत्थरमा परिणत हुँदै छन् । तस्बिर र भिडियोहरूमा हिमाल उजाड बन्दै गएको देख्दा मन अमिलियो । लाग्यो– हिमालको वास्तविक अवस्था नजिकै गएर किन नबुझ्ने ? हिमाललाई आफैँ किन नचुम्ने ? आखिर, सानैदेखि हिमाल चढ्ने हुटहुटी थियो नै । संसद् सदस्यका नाताले आफैँ प्रत्यक्ष अवलोकन गरेर सरकारको ध्यानाकर्षण गराउनु आवश्यक देखेँ । अनि, हिमाल आरोहण गर्ने निर्णय गरेँ र पाँचजना साथीको टिम बनायौँ ।
अध्ययन गर्दै जाँदा मेरापिक आरोहण हाम्रा लागि सहज थियो । त्यो पठार प्रकृतिको भएकाले डोरी समाएर उकालो चढ्नु पर्दैनथ्यो । तर, चुनौतीपूर्ण यात्रा रोज्ने सोचेर ६ हजार १४५ मिटर उचाइको लोबुचे हिमाल चढ्ने निधो गर्यौँ । मनमा त सर्वोच्च शिखर सगरमाथा नै चढ्ने चाहना थियो, तर पहिलो प्रयासमै त्यत्रो ठुलो जोखिम उठाउने कुरै भएन । फेरि एउटा सानो हिमचुली नचढी सगरमाथा चढ्न अनुमति पाइँदैन ।
- मिडिया र सामाजिक सञ्जालमार्फत थाहा भयो– जलवायु परिवर्तनका कारण सेता हिमाल क्रमशः काला पत्थरमा परिणत हुँदै छन् । तस्बिर र भिडियोहरूमा हिमाल उजाड बन्दै गएको देख्दा मन अमिलियो । लाग्यो– हिमालको वास्तविक अवस्था नजिकै गएर किन नबुझ्ने ? हिमाललाई आफैँ किन नचुम्ने ? आखिर, सानैदेखि हिमाल चढ्ने हुटहुटी थियो नै ।
हिमाल चढ्ने मेरो अठोट दुई वर्षअघिकै थियो, तर यो यात्रा गर्ने अन्तिम निर्णय भने ६ महिनाअघि मात्रै भयो । हिमाल चढ्न चाहनेमा उचाइ सहने क्षमता हुनुपर्छ । त्यसका लागि फुटसल खेल्नेदेखि अन्य शारीरिक कसरत गरियो ।
हाम्रो दैनिकी
हाम्रो आरोहण यात्रा २१ मंसिर ०८१मा सुरु भयो । पहिलो दिन लुक्ला ओर्लिएर फाक्दिङ पुग्यौँ र त्यहीँ बास बस्यौँ । दोस्रो दिन नाम्चे बजार पुग्यौँ । नाम्चे बजार निकै मनमोहक देखिन्थ्यो । तेस्रो दिन ‘एभरेस्ट भ्यु प्वाइन्ट’ होटेल पुगेर फेरि नाम्चे झरेर बास बस्यौँ । यो उचाइसँग अभ्यस्त हुनका लागि थियो ।
चौथो दिन तेङ्बोचे गुम्बा दर्शन गरेर डिङ्बोचे पुग्यौँ । पाँचौँ दिन चार–पाँच घण्टा हिँडेर पुनः डिङ्बोचेमै फर्कियौँ । छैटौँ दिन थुक्ला पुग्यौँ । थुक्ला खान–बस्न होटेल सुविधा भएको अन्तिम ठाउँ रहेछ । सातौँ दिन बिहान सबेरै हिँडेर तीन–चार बजे लोबुचे हिमालको हाइक्याम्प पुग्यौँ र केही समय आराम गर्यौं । त्यहाँ टेन्ट टाँगेर बस्ने र खानाको व्यवस्था गरिएको थियो । सोही दिन राति नै चुचुरोतर्फ लाग्नुपर्ने थियो । राति ८ बजे खाना खाएर उकालो चढ्ने तयारी थाल्यौँ । साढे ११ बजेतिर चुचुरोतर्फ उकालो लाग्यौँ ।
आठौँ दिन बिहान करिब साढे ६ बजे चुचुरोनजिक पुगेँ । चुचुरो चुम्न १००–१५० मिटर मात्र बाँकी थियो होला । अरू साथीहरू तलबाट आउँदै थिए, त्यसैले मैले उनीहरूलाई कुरेँ । मैले सँगै चुचुरो चुम्ने निर्णय गरेँ । साथीहरू आइपुग्न झन्डै एक घण्टा लाग्यो । हामी सँगसँगै चुचुरो चुम्यौँ, त्यसवेला उज्यालो भइसकेको थियो ।
चुचुरो चुम्दा खुसीको सीमा थिएन । यो मेरो पहिलो हिमाल आरोहण थियो । अनि आगामी कठिन आरोहणका लागि मार्गदर्शक पनि । हामीले चुचुरोमा फोटो खिच्यौँ, खुसीले करायौँ, नाच्यौँ र आपसमा खुसी साटासाट गर्यौं । राति साढे ११ बजे हाइक्याम्पबाट हिँडेको हाम्रो टोली बिहान सवा सात बजेतिर चुचुरोमा पुगेको थियो ।
यात्राका अनुभव
लुक्ला एयरपोर्ट झरेर खुम्बु यात्राका क्रममा मैले टेलिफोनबाटै पार्टीका काम पनि सम्हालिरहेको थिएँ । कोशी प्रदेश सम्मेलनमा उपस्थित हुन नसकेपछि खुम्बु क्षेत्रबाटै स्टेटमेन्ट पठाएँ । २३ मंसिरमा प्रधानमन्त्री केपी ओली झापाको मेरै निर्वाचन क्षेत्रमा आउँदै हुनुहुन्थ्यो । म हिमाली क्षेत्रमै भएकाले हिमाललाई पृष्ठभूमिमा राखेर एउटा भिडियो बनाएँ र उहाँलाई स्वागत गर्दै मेरो क्षेत्रलाई पनि झापा–५ (केपी ओलीको निर्वाचन क्षेत्र) लाई जस्तै माया गरिदिन आग्रह गरेँ । त्यो मेरा लागि विशेष क्षण थियो ।
म विश्वका सातवटै महादेश पुगेको छु । तर, कसैले मलाई फेरि फर्केर कहाँ जान चाहनुहुन्छ भनेर सोध्यो भने म निःसन्देह नेपालको हिमाली क्षेत्र भन्छु । किनभने यो हाम्रो सम्पत्ति हो । यहाँ आत्मीयता छ, माया पनि । नेपालका सबै ठाउँ सुन्दर छन् । तर, खुम्बु क्षेत्र र हिमाली भेगको सुन्दरता बेग्लै लाग्छ ।
तराई–मधेशको मान्छे भएर पनि हिमालमा पुगेपछि मलाई निकै आत्मीय अनुभूति भयो । हिमालयको देशमा जन्मिनुको गर्व महसुस भयो । त्यसैले, मैले एकजना कविको लोकप्रिय रचना गाएर पोस्ट गरेको थिएँ–
‘जहाँ ढुंगाढुंगामा देवताको बास छ,
जहाँ धुम्काधुम्कामा स्वर्गको आभास छ ।’
आरोहणमा दुई महिनाको तलब खर्च
लोबुचे हिमाल चढ्दा मेरो दुई महिनाको तलब सकियो, आरोहण अनुमति लिन, गाइड, भरिया र होटेललगायतलाई तिर्न । खानामा पनि खर्च गर्नुपर्यो । त्यो सबै दुई महिनाको तलबले पुग्यो । यो यात्रा आठ दिनको थियो ।
मैले हिमाल आरोही, पथ प्रदर्शक, हेल्पर सबै जोखिममा देखेँ । हिमाल आरोहण जोखिमकै काम हो । साहसिक मान्छे मात्र हिमाल चढ्न सक्छ । हिमाल आरोहण नगरकोटमा पिकनिक मनाउन गएजस्तो हुँदैन । हिमाल चढ्दाचढ्दै सयौँको मृत्यु भइसकेको छ । धेरै अंगभंग पनि हुनुभएको छ ।
जेम्स ह्यान्ड्रिक्स ६५ वर्षका बेलायती नागरिक छुकुम जाँदै हुनुहुन्थ्यो । तर, उहाँसँग गाइड पनि थिएन । मैले त्यहीँबाट ट्विट गरेर राज्यका निकायलाई ध्यानाकर्षण गराएको थिएँ । आरोहीहरूलाई सुरक्षित आरोहण गराउने पहिलो दायित्व गाइड वा भरियाको होइन्, सरकारको हो । तर, यहाँ सरकारको काम गाइड र भरिया गरिरहेका छन् । कुनै पनि पदयात्री वा आरोही नेपालमा गाइड छन् भनेर आउने होइनन्, नेपाल देश छ, त्यहाँ हिमाल चढ्न पाइन्छ भनेर आउने हुन् ।
अर्को कुरा, गाइड र भरियाको सुरक्षा कसले गर्ने ? भरिया माथिबाट खसेर घाइते भए कसले उपचार गर्ने ? आरोहीले हो कि स्थानीय सरकारले ? भरियाको बिमा के हो ? यहाँ त सामाजिक सुरक्षा कोष पनि छैन । यो विषयमा राज्यले सोच्नुपर्ने देखिन्छ ।
- म विश्वका सातवटै महादेश पुगेको छु । तर, कसैले मलाई फेरि फर्केर कहाँ जान चाहनुहुन्छ भनेर सोध्यो भने म निःसन्देह नेपालको हिमाली क्षेत्र भन्छु । किनभने यो हाम्रो सम्पत्ति हो । यहाँ आत्मीयता छ, माया पनि ।
आरोही र गाइड तब रहलान्, जब हिमाल रहला । हिमाल जोगाउन मुस्किल छ । हिमाल एकातिर हेर्दा टलल टल्किन्छन्, अर्कोतिर हेर्दै गर्दा खङ्ग्रङ्ग परेका छन् । जलवायु परिवर्तनको विश्वव्यापी असरबाट जुध्न कहाँ के गर्नुपर्छ भनेर नेपालले प्राथमिकतामा राखी अगाडि बढ्न जरुरी छ ।
जाँदै गर्दा देखेको दृश्य– चोलात्से हिमाल र तोबुचे हिमालको बिचबाट गएको पहिरोले जोङ्लाबाट आएको नदीलाई थुनेर ताल बनाएको रहेछ । अब नदी तालमा परिणत भयो । जलवायु परिवर्तनका कारण बढेको तापक्रमले ताल अस्थिर हुँदै विस्फोट भयो भने सबैभन्दा नजिकको फेरिचे गाउँ पूरै डुबाउँछ । फेरिचेभन्दा अझै तल पाङ्बोचे गाउँ छ, त्यो पनि जोखिममा छ । यस्ता चित्र प्रत्यक्ष हेरेर आएँ ।
त्यत्रो हिँड्दा एक ठाउँमा मात्र प्लास्टिक बोतल देख्यौँ । भिडियो बनाएर बोटल झोलामा हाल्यौँ । त्यहाँ सरकारले फोहोर संकलन गरेर ल्याउनुपर्ने नियम बनाएको छ । एक दशकअघिको जस्तो चर्चा हुने गरी फोहोर छैन । सफाइ चलिरहेको देख्यौँ । गाउँपालिकाले झन् कडा नियम बनाएको छ ।
आरोहण कसरी सुरक्षित बनाउने ?
सरकारले जेम्स ह्यान्ड्रिक्सजस्तै गाइड र भरियाविनै जान दिनुभएन । डकुमेन्टेसन गर्दै गाइड र पोर्टर उल्लेख हुनुपर्छ । त्यो उल्लेख भएको पत्र नभई आरोहणमा जान दिनुभएन । उसको फिजिकल अवस्था, तयारी, स्किल, गाइड, टिमको कुरा मिल्यो भने मात्र आरोहीको रक्षा गर्न सकिन्छ ।
हिमालबाट लाभ लिनका लागि पनि हरेक प्वोइन्टमा राज्यको उपस्थिति हुनुपर्छ । देशका तर्फबाट सरकार छ भनेर सुरक्षा आभास दिनुपर्छ । भरिया र गाइडलाई राज्यको प्रतिनिधि बनाउन सकिन्छ ।
भरियालाई ज्याकेट उपहार
कमल तामाङ हाम्रो भारी बोक्दिने जागिरे थिए । दिनको तीन हजार पाउने रहेछन् । भरियाले त्यही पैसाबाट खानेबस्ने गर्नुपर्ने रहेछ । हामीले उनलाई ज्यालाबापतको तीन हजार सबै बच्छ, हामी खानेबस्ने सुविधा दिन्छौँ भन्यौँ । टिप्स दिने वेलामा मैले ठमेलमा किनेको आठ हजारको डोल्पो ज्याकेट उनलाई उपहारस्वरूप दिएँ । त्यो पिकमा जाँदा लगाउने ज्याकेट थियो । तर, लगाएको थिइनँ । पिकमा जान भाडामा कपडा–जुत्ता लग्यौँ । झन्डै लाख रुपैयाँ पर्ने लुगा १४ हजार रुपैयाँ तिरेर भाडामा लिन पाइने रहेछ । त्यो ज्याकेट काठमाडौं फिर्ता ल्याउनुभन्दा हिमालमा काम गर्ने भरियालाई दिँदा उपयोग हुने देखेँ । काठमाडौंमा त्यस्तो ज्याकेट कामै थिएन ।
हामी त्यहाँ पुग्दै गर्दा कठ्यांग्रिरहेका थियौँं । तर, त्यहाँका बालबालिका सामान्य कपडामै खेलिरहेका थिए । उनीहरू हिमाली वातावरणमा ‘युज टु’ थिए । उनीहरूको छाला नै त्यस्तै छ, चिसो पचाउन सक्ने । जिन नै त्यस्तै छ ।
हिमाल चढ्नभन्दा झर्न खतरा
हिमाल चढ्नभन्दा झर्न झन् खतरा रहेछ । चढ्दा अँध्यारै हुन्छ, टाउकामा बाँधेको लाइटले बाटो मात्र देखाइरहेको हुन्छ । बाँकी संसार देखिँदैन । वरिपरि कस्तो छ देखिँदैन । सुस्त–सुस्त चढिन्छ । माथि उज्यालो हुने वेला पुगिन्छ । झर्दा भने सारा संसार देखिने । ओरालो झर्दा भिर देखिन्छ । बाटो पनि डेन्जर देखिन्छ । उकालो चढ्दा शरीर ब्यालेन्स हुन्छ । ओरालो झर्दा ब्यालेन्स मिल्दैन । खुट्टाले बढी जोड दिएर अडिनुपर्छ ।
माथिबाट एकजना साथीलाई गाइडले बोकेर झार्दै हुनुहुन्थ्यो । हामीले तल झरेर सोच्यौँ, हाम्रो साथी र गाइड तल झर्दै गर्दा लडेमा कसरी सम्पर्क गर्ने ? बोकेर कहाँ लैजाने ? कोसँग सम्पर्क गर्ने ? उपचार कसले गर्छ ? हाम्रो त एकदिनको कथा हो । गाइडले त सधैँ भोगिरहेका छन् । भरिया अलि तल नै रोकिन्छन् । त्यहाँको जनजीवन कठिन देखेँ । भरिया र गाइडको सुरक्षाको कुनै प्रत्याभूति रहेनछ । उनीहरू दुर्घटनामा परे कसरी लैजाने ? कहाँ लैजाने ? हेलिकोप्टर कसरी बुक गर्ने ? त्यो खर्च कसले ब्यहोर्ने ? सरकारले के गर्छ ? उनीहरूको जीवन बुझ्दा निकै चिन्ता लाग्यो । कुनै सुरक्षा प्रत्याभूति छैन । आफ्नो कमाइले पुग्दैन ।
त्यो क्षेत्रमा काम गर्ने गाइड र भरियाको जनजीवन कठिन छ । त्यहाँका बासिन्दा शैक्षिक, सामाजिक, आर्थिक, प्रशासनिक सबै हिसाबले ठगिएका छन् । थुक्ला भन्ने ठाउँसम्म टेलिफोन कनेक्ट छ, त्यहाँबाट उता छैन । यद्यपि, त्यहाँभन्दा माथि जनजीवन पनि छैन । त्यहाँ आरोही, गाइड र पोर्टर मात्र जाने हुन् । उनीहरूले वाकीटकी प्रयोग गर्छन् । तर, कुनै दुर्घटना भइहाले सम्पर्क गर्न कठिन रहेछ ।
मैले संगीत भरेको र प्रमोदहरि गुरागाईंको शब्द रहेको ‘मन यतैकतै...’ गीत भर्खरै बजारमा आएको छ । त्यो गीत यात्राका क्रममा बाजुरामा निर्माण सुरु गरेको हो । तर, फिनिसिङ हिमाल चढेर फर्किएको उत्साहमा लुक्लामा गरेको थिएँं । गीत माथि नै रिलिज गर्न पाएको भए गज्जबै हुन्थ्यो । त्यो तयारी पुगेन । यदि मैले सगरमाथा चुचुरो चुमेँ भने त्यहाँबाट मैले संगीत भरेको गीत रिलिज हुन्छ नै ।
तर, सगरमाथा चढ्नका लागि समय निकाल्नै कठिन छ । करिब ४० दिन लाग्छ रे ! खर्च पनि उस्तै धेरै । हिमाल चढ्न मेरो स्वस्थ्यले साथ दिने देखेँ । किनभने मलाई लोबुचे चढ्दा श्वासप्रश्वास बढेको अनुभूति भएन । न टाउको दुख्यो, न वाकवाकी लाग्यो । मलाई कुनै औषधि खानु परेन । खुट्टा दु:खेर मुभ लगाउन पनि परेन । खाना पनि रुचेकै थियो ।