• वि.सं २०८१ चैत २० बुधबार
  • Wednesday, 02 April, 2025
शान्ति तामाङ
२०८१ चैत २ शनिबार १०:५१:००
सम्झना

६० वर्षअघिको बौद्ध

पातलो बस्ती, प्रत्येक परिवारसँग ५० देखि १५० रोपनीसम्म जग्गा

२०८१ चैत २ शनिबार १०:५१:००
शान्ति तामाङ

 

  • समाजसेवी टासी लामा बौद्धका स्थानीय हुन् । उनले २० वर्षसम्म दुग्ध विकास संस्थानमा कर्मचारीको रूपमा काम गरे । स्वैच्छिक अवकाशपछि चीनमा १० वर्षसम्म काम गरेर विशेषज्ञता हासिल गरे । हाल बौद्ध क्षेत्रका विभिन्न संघसंस्थामा सल्लाहकारको रूपमा काम गरिरहेका छन् । तामाङ बौद्ध महासंघ, तामाङ कल्याण गुठीलगायत संघसंस्थामा सल्लाहकार रहेका लामाले ६० वर्षअघिको बौद्धको अवस्थाबारे शान्ति तामाङलाई सुनाएका छन् ।

 

६० वर्षअघिको बौद्धमा एक–दुई घर नेवारबाहेक सबै तामाङ समुदायको बसोवास थियो । त्यतिवेला स्तूपावरपरको क्षेत्रलाई मात्र बौद्ध भनिन्थ्यो । अर्थात्, अहिलेको काठमाडौं महानगरपालिका ६ नम्बर वडा कार्यालयदेखि टुसाल चोकसम्मको क्षेत्रलाई बौद्ध भनिन्थ्यो । त्यतिवेलाका सबै घर काँचो इँट्टाका थिए । धेरैजसो घरमा परालको छानो थियो । केहीका घरमा मात्र टायलका छाना थिए । पातलो बस्ती, प्रत्येक परिवारसँग प्रशस्त जग्गा थियो । हरेक परिवारको ५० देखि १५० रोपनीसम्म जग्गा थियो । घरवरपर ठुल्ठुला खेतका गह्रा थिए । खेतमा धान, मकै, कोदो, बदामजस्ता मौसमी बाली हुन्थ्यो । कृषिमा आत्मनिर्भर भएकाले मलका लागि पशुपालन गर्थ्यौं । त्यतिवेला कृषि र पशुपालन एक–अर्कामा अन्तरसम्बन्धित थिए । 

 

कृषि र पशुपालनको समय भएकाले पर्म प्रणाली थियो । पालैपालो एक–अर्कोको खेतीको काम सक्थ्यौँ । अलि पछि सुन्दरीजलतिरका मानिस खेतको काम गर्न आउन थाले । त्यतिवेला दिनको सुरुवात मिर्मिरेमै कोदालो बोकेर खेतबारी पुगेपछि हुन्थ्यो । महिलाहरू खाजा पु¥याउन आठ बजेतिर खेतबारीमै पुग्थे । ११ देखि १२ बजेभित्र खाना पकाउन घर फर्किन्थे । खाना बनाएर फेरि खेतकै काममा फर्किने गर्थे । 

 

सन् १९६० मा बौद्ध स्तूपाको दक्षिणी क्षेत्रमा खेत जोत्दै किसान । तस्बिर : ओल्ड नेपाल–फोटोज एन्ड इमेजेज

 

हिँउदमा दाउरा संकलन गर्न शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज (शिवपुरी जंगल) पुग्थ्यौँ । त्यतिवेला शिवपुरी जंगल ठुलो थियो । घाँस, दाउराका लागि सहज थियो । जंगली जनावरको त्यति डर थिएन । हामी दाउरा संकलनका लागि बिहान ४ बजे नै घरबाट निस्किन्थ्यौँ । दाउरा संकलनका लागि ठुलै समूह बनाएर जान्थ्यौँ, करिब २५ देखि ३० जनाको समूह हुन्थ्यो । बौद्धबाट शिवपुरीको जंगल पुग्न चारदेखि पाँच घन्टा लाग्थ्यो । दाउरा संकलन गरेर फर्किने क्रममा अर्को समूह एक–दुई बजेतिर बिच बाटोमा भेट्ने गरेर पुग्थे । उनीहरूले लगेको खाजा बिच बाटोमा खान्थ्यौँ । त्यसपछि पहिलो समूहले खाजा खाने र आराम गर्ने अनि दोस्रो समूहले बिच बाटोसम्म ल्याएको दाउरा बोकेर पालो दिन्थे ।

 

डोकोमा हालेर असनबाट सामान ल्याइन्थ्यो 

 

शिवपुरीबाट ल्याएको दाउरा लामो समयसम्म जम्मा पारेर राख्थ्यौँ । चैत–वैशाखतिरको समय पशुपतिको जंगलतिर पनि जान्थ्यौँ । त्यतिवेला खुला जंगल भएकाले त्यहाँ पत्कर अर्थात् झरेको पात टिप्थ्यौँ । पत्कर संकलन गर्न पनि समूह नै बनाएर जान्थ्यौँ । शिवपुरीको जंगलतिरै भए पनि बिहानै पत्कर संकलन गर्न निस्किन्थ्यौँ । त्यो पत्कर घर ल्याएर गाईवस्तुलाई बिछ्याउँथ्यौँ र मल बनाउँथ्यौँ । त्यही मल अन्नबाली उत्पादनका क्रममा प्रयोग गरिन्थ्यो । हामी कहिलेकाहीँ पत्कर संकलन गर्न तारेभिरसम्मै पुग्थ्यौँ । ठुलो समूहमा जाने हुनाले जतिसुकै टाढा जाँदा पनि रमाइलो हुन्थ्यो । 

 

खानेपानीका लागि ढुंगेधारा थिए । ‘कोर’ बौद्धका लागि दुइटा ढुुंगेधारा थिए । त्यो धारामा नारायणथानबाट पानी ल्याइएको थियो । त्यहाँबाट किटको पाइप बिच्छ्याएर पानी ल्याइएको थियो । त्यो पानी बौद्धमा संकलन हुन्थ्यो । त्यही पानी ढुंगेधाराबाट आउँथ्यो । अहिले पनि त्यतिवेला प्रयोग भएको पाइप देख्न सकिन्छ । सहर विस्तार हुँदै जाने क्रममा घर बनाउँदा त्यस्तो पाइप पछिसम्म भेटिन्थे । त्यस्ता पाइप धेरैले काटेर फालिदिए । त्यसपछि पानीको स्रोत नै टुट्यो । बौद्ध बजारका लागि भने दुइटा कुवा थियो । दुई ढुंगेधारा र कुवाको पानी नुहाउने, लुगा धुने, गाईवस्तुका लागि प्रयोग गर्थ्यौं । ती दुई स्रोतको पानी प्रशस्तै हुन्थ्यो ।

 

सन् १९५२ मा टोनी हेगनले खिचेको तस्बिर

 

त्यतिवेला सबैतिर ससाना गोरेटा थिए । गोरेटो बाटो अनि खेतको आली हुँदै सामान किन्न असन जान्थ्यौँ । छोटो बाटोको प्रयोग गर्दा बौद्धबाट असन एक घन्टामै पुग्थ्यौँ । यहाँबाट चाबहिल, सानो गौचरन, हात्तीसार हुँदै दरबारमार्गको भित्री बाटोबाट असन पस्थ्यौँ । बजार जाँदा धेरैजसो पुरुषको समूह बनाएर जान्थ्यौँ । महिनामा एकदेखि दुईपटक मात्र बजार जान पाउने हुनाले रमाइलो लाग्थ्यो । बौद्धकै खेतमा उत्पादन हुने अन्नपातले पुग्ने हुनाले नुनतेल, मरमसलाजस्ता सामान मात्रै बजारबाट ल्याउँथ्यौँ । ती सामान डोकामा हालेर ल्याउँथ्यौँ । त्यतिवेला कपडाका लागि इन्द्रचोक र मसला, तेललगायत सामान किन्न असन जाने चलन थियो ।

 

वर्षको एक दिन खोलिने त्यो पसल

 

अहिलेजस्तो धेरै चाडपर्व मनाउँदैनथ्यौँ । पूजाआजा गरेर बुद्धजयन्ती मनाउँथ्यौँ । त्यसपछि तेमाल जात्रा मनाइन्थ्यो । हामी आफैँ त्यो जात्रा मनाउँदैनथ्यौँ । स्वयंसेवकको भूमिकामा हुन्थ्यौँ । तेमाल जात्राका लागि विभिन्न ठाउँबाट आउने भक्तजनका लागि घ्याम्पामा पानी जम्मा गरेर राख्थ्यौँ । र आवश्यकताअनुसार वितरण गर्थ्यौं । तेमाल जात्राकै लागि हरेक घरमा एक दिनका लागि पसल खोल्थ्यौँ । पसलमा चिउरा, मासु, आलु, अन्डा, रक्सी र छ्याङ (अन्नलाई कुहाएर बनाएको झोल पदार्थ) बेच्थ्यौँ । 

 

 

त्यतिवेला पनि तेमाल जात्रामा हजारौँ मानिस आउँथे । तेमाल जात्रा आउँदै छ भन्ने धेरै पहिले जानकारी हुन्थ्यो । आमाहरूले परालका ठुल्ठुला सुकुल बुन्थे । जात्राका दिन आँगन–आँगनमा सुकुल ओछ्याउँथ्यौँ । घरघरको सिँढीमा पसल खोल्थ्यौँ । सबै आफ्नै उत्पादन भएकाले सस्तो मूल्यमै बेच्थ्यौँ । एक लिटर छ्याङको १० पैसामा बेचिन्थ्यो । पछि एक, दुई रुपैयाँ हुँदै बढ्यो । त्यतिवेला व्यापारभन्दा सेवा धेरै हुन्थ्यो ।

 

यहाँका सबै स्थानीय बौद्ध घ्याङ गुठीमा आबद्ध भएकाले मंसिरको दशमीका दिन छेजु पूजा गथ्र्यौं । तीन दिनसम्म मनाइने यो पूजामा गुठीमा आबद्धले पूजा लैजान्थ्यौँ । मंसिर पूर्णिमामा हुने यो पूजामा गुरु रिन्पोछेको पूजा हुन्थ्यो । त्यसपछि माघे संक्रान्ति मनाउँथ्यौँ । तामाङको खानेकुरा बाबर रोटी, आलुम (पानीमा पकाइने गोलो रोटी) जस्ता खानेकुरा बनाइन्थ्यो । १ माघमा घरमा मिठा खानेकुरा खाइन्थ्यो । त्यसपछि आफन्तको घरमा जाने र आफन्तलाई बोलाउने गरेर हप्तौँसम्म मनाइन्थ्यो । त्यतिवेलाको माघे संक्रान्ति अहिलेको ल्होसारको अवधारणा जस्तै थियो । ल्होसारमा विशेष पूजाआजा गर्छाैं । तर, त्यो वेला पूजाआजाको काम हुँदैनथ्यो । बौद्धनाथ स्तूपाको सुरक्षाका लागि तान्त्रिक विधिबाट देवीको स्थापना गरिएको छ । सोही देवीको माघको अन्त्यमा पूजाआजा गर्थ्यौं । बिहान पूजा लाने, दिउँसो भोज खाएर खटमा देवी राखेर बौद्ध घुमाइन्थ्यो । 

 

मार्क रिबाउडले खिचेको बौद्ध स्तूपामा चंगा उडाउँदै गरेको तस्बिर 

अहिलेजस्तो दसैँ भनेर मनाउँदैनथ्यौँ । म्हेनिङ मनाउँथ्यौँ । म्हेनिङ मनाए पनि अष्टमीका दिन भोज खान्थ्यौँ । रातो टीका, जमरा र नयाँ लुगा लगाउँथ्यौँ । त्यतिवेला म्हेनिङमा मात्र नयाँ लुगा लगाउँथ्यौँ । अरू वेला नयाँ लुगा लगाउने चलनै थिएन । फाटे पनि, मैलो भए पनि म्हेनिङमा मात्र नयाँ लुगा लगाउँथ्यौँ । असार–साउनमा रोपाइँ जात्रा मनाउँथ्यौँ । हरेक परिवार पर्म प्रणालीमा आबद्ध भएर खेतीपातीको काम सकिएर थकित हुन्थे । त्यसपछि रोपाइँ जात्रा भनेर मनाउँथ्यौँ । त्यतिवेला हामी पनि दौरा–सुरुवाल लगाउँथ्यौँ । हाम्रा बुबाहरूले बाचुन्जेल दौरा–सुरुवाल छोड्नुभएन । तर, हामी भने बिस्तारै समयसँगै परिवर्तन भयौँ ।

 

तिब्बती शरणार्थी प्रवेशसँगै फेरियो बौद्ध 

 

हाम्रो परिवारमा विद्यालय जाने क्रम मेरै पालाबाट सुरु भएको हो । त्योभन्दा अघि विद्यालय जाने, पढ्ने भन्ने प्रचलन थिएन । पढ्नका लागि हामी चाबहिलको मित्र माध्यमिक विद्यालय र पुतलीसडकस्थित पद्मोदय माध्यमिक विद्यालय र दरबार हाइस्कुल जान्थ्यौँ । खेतको आली–आली हुँदै विद्यालय जान्थ्यौँ । सुरुवाती दिनमा पुरुषहरू मात्र विद्यालय जान थाले पनि बिस्तारै महिलाहरू पनि विद्यालय जान थाले । हामीसँग स्कुल पढ्ने २५ प्रतिशतजति महिला हुन्थे । 

 

त्यतिवेला तामाङ समुदायबिच एकता थियो । स्तूपा निर्माण गर्नुअघिदेखि नै गुठी प्रणालीमा आबद्ध भएकाले गुठीले स्थानीयलाई बाँधेको थियो । त्यो वेला बौद्धलाई ६० घरे परिवार भनिन्थ्यो । जुन बलियो परिवारको रूपमा परिचित थियो । अहिले पनि साढे तीन सय परिवार गुठीमा जोडिएका छन् । गुठी प्रणाली भएकाले त्यहाँका मानिसमाथि अन्याय गरिहाल्न मान्छेहरू डराउँथे । तत्कालीन राजा महेन्द्रको पालासम्म बौद्ध गेटभन्दा भित्र जो कोही छिर्दैनथे । गुठीको अवधारणाले सबैलाई एउटै छातामुनि राखेको थियो । पर्म प्रणालीले एक–अर्कोलाई सहयोग गर्नुपर्छ भन्ने धारणा थियो । एकता भएपछि बल भयो । कसैले जिस्कायो भने मौरीको गोलोजस्तो जाइलाग्थे ।

 

चीनले तिब्बत कब्जा गरेपछि तिब्बती शरणार्थी बौद्ध क्षेत्रमा आएर बस्न थाले । शरणार्थी व्यवस्थापनका लागि सरकारले गलैैँचा कारखाना खोल्ने, लामा गुरुहरूका लागि घ्याङ बन्न थाले । यसका लागि त्यहाँका स्थानीयबाट जमिन छुट्दै जान थाल्यो । धेरै जमिन भएका त्यहाँका तामाङले प्रतिरोपनी दुई–चार हजारमै जग्गा बेच्न थाले, त्यो पनि भएका वेला दिँदा हुन्थ्यो । हावापानीलगायत कारण शरणार्थीलाई पनि यहाँ सहज भयो । बिस्तारै सेतो गुम्बा, तिब्बत होटेलजस्ता भवन बन्न थाले । स्थानीय तामाङहरू जोरपाटी, सुन्दरीजल हुँदै बसाइँसराइ गरेर जान थाले । विभिन्न ठाउँमा बसाइँ सरेर गएपछि उनीहरू त्यहीँ नै अन्तरघुलन भए । त्यसपछि हामीले बोलाउँदा पनि कतिपय यहाँबाट गएका मान्छेहरू आउन छाडे । ०३२ सालपछि यहाँ देखिने गरी परिवर्तन आउन थाल्यो । सन् १९७९ देखि बौद्धनाथ स्तूपालाई युनेस्कोले विश्व सम्पदा घोषणा गरेपछि विश्कै नमुना गाउँ बनाउने भनेर मास्टर प्लान बनाउन भन्यौँ । हामीले पनि बनायौँं । यहाँ बनाउने संरचना त्यहीअनुसार बनाउन पनि भन्यौँ । तर, सम्बन्धित निकायबाट ध्यान नपुग्दा अहिलेको अव्यवस्थित बौद्धमा परिणत भयो ।

 

बाक्साजस्तो रेडियो 

 

त्यतिवेला डन्डीबियो, गुच्चा खेल्थ्यौँ । केहीले साइकलको पांग्रा गुडाएर हिँड्थे । धेरैजसोले नाङ्लो पुरानो भएपछि त्यसको बिटलाई पांग्रा बनाएर गुडाउँथे । पछिपछि कपडाको फुटबल बनाएर पनि खेल्थ्यौँ । बिहानको समय स्कुल जाने भएकाले साँझपख यस्ता खेल खेल्थ्यौँ । कहिलेकाहीँ छुट्टीका वेला पनि त्यस्ता खेल खेल्थ्यौँ । केटीहरू खासै खेल्न निस्किँदैनथे । कोही–कोही भुइँमा कोरेर खेल्थे । 

 

मनोरञ्जनको अर्को साधन रेडियो पनि थियो । रेडियो ठुलो काठको बाक्साजस्तो थियो । एक–दुई घरमा मात्र रेडियो हुन्थे । तर, गाउँभरिकाले सुन्ने गरी बज्थ्यो । अलि टाढा हुनेहरू रेडियो सुन्नकै लागि भनेर ती घरवरपर पुग्थे । ब्याट्रीबाट बज्ने हुनाले दिनमा एक–दुई घण्टाजति मात्र रेडियो बज्थ्यो । भारतबाट काम गरेर फर्केकाहरूले रेडियो बजाउने हुनाले भारतीय गीतसंगीत नै बजाउँथे । 

 

बौद्ध स्तूपा जाने कच्ची सडक

 

भारतको हिमाञ्चल प्रदेशतिर बाटो खन्न गएकाहरूले रेडियो ल्याउँथे । हामी उनीहरूलाई लाहुरे भन्थ्यौँ । काम गर्न सक्ने उमेरका केटाहरू १० देखि २० जनाको समूह बनाएर बाटो खन्न भारत जान्थे । उनीहरूमध्येकैले फर्किंदा रेडियो ल्याउँथे । मनोरञ्जनका लागि कहिलेकाहीँ बेलुका–बेलुका मादल बजाउने, लोकगीत गाउने र नाच्ने पनि हुन्थ्यो । विशेषगरी गर्मी महिनामा खेतमा काम गरेर फर्केपछि समूह बनाएर गीत गाएर नाच्थ्यौँ । 

 

हाम्रा बुबाहरूले त्यतिवेला इस्टकोट, दौरा–सुरुवाल लगाउनुहुन्थ्यो । पछिसम्म पनि उहाँहरूले दौरा–सुरुवाल छोड्नुभएन । आमाहरूले फरिया–चोली लगाउनुहुन्थ्यो । ती कपडा बेच्न नेवाः समुदायका मानिस घरघरमै आउँथे । बुबाआमाहरूले उनीहरूसँगै किनेर लगाउनुहुन्थ्यो । हामीले पनि त्यतिवेला दौरा–सुरुवाल नै लगाउँथ्यौँ । पछि–पछि भारतीय बजारबाट कपडा आउन थालेपछि सर्ट र पाइन्ट लगाउन थाल्यौँ । केटीहरू जामा लगाउँथे । खुट्टामा जुत्ताचप्पल त कसैको हुँदैनथ्यो । खाली खुट्टै दौडिन्थ्यौँ । अलि पछि भारतीय बजारबाट रबरको चप्पल आएपछि कसैकसैले लगाउन थाले । 

 

बागमतीको पिउन मिल्ने पानी

 

बागमतीमा सङ्लो पानी बग्थ्यो । असला माछा खेलेको किनारबाट देखिन्थ्यो । फुर्सदको वेला त्यहाँ माछा माथ्र्याैं, नुहाउँथ्यौँ, लुगा धुन्थ्यौँ । बर्खामा पौडी खेल्थ्यौँ । त्यही पानी पिउँथ्यौँ पनि । हाम्रो खेत बागमती किनारतिरै थियो । सिँचाइका लागि बागमतीकै पानीमा निर्भर थियौँ । गाईगोरु त्यहीँवरपरका फाँट र पशुपति क्षेत्रको जंगलमा चराउने भएकाले बागमती हाम्रा लागि दैनिकीजस्तै थियो । २०–२१ वर्षको उमेरसम्मै मैले बागमतीमा पौडी खेलेँ । 

 

एउटा मात्रै मासु पसल

 

मासुका लागि घरघरमा कुखुरा पाल्थ्यौँ । त्यतिवेला यहाँ एक ठाउँमा भैँसीको मासु बेच्ने पसल थियो । त्यो घर अहिले छैन । सडक विस्तारका क्रममा भत्कियो । बिहान १० देखि ११ बजेसम्म त्यो पसल खुल्थ्यो । पसल राख्ने नेवारको घर मित्रपार्कमा थियो । उनीहरू १० बजेसम्म पसल खोल्न बौद्ध आउँथे । खसीको मासु खाने त चलन नै थिएन । 

 

घरायसी सामान किन्न हामी बदाम, अन्नपात बेच्थ्यौँ । ती सामान किन्न भक्तपुर ठिमीतिरका मानिस घरैमा आउँथे । उनीहरू सामान किन्न लहरी भन्ने गाडी (मिनी ट्रक)लिएर आउँथे । उनीहरू धेरैजसो सामान किन्न हिउँदमा आउँथे । जोरपाटीसम्म मोटर चल्ने कच्ची बाटो बनिसकेको थियो । घरका सरसामान किन्न भने असन, इन्द्रचोक जान्थ्यौँ । खेतैखेत हिँडेर बजार जान्थ्यौँ । डिल्लीबजार, कमलादीमा समेत खेत थिए । बजार जाँदा पशुपति भण्डारखालतिर स्याल देखिन्थ्यो । गोकर्णतिर र शिवपुरीको जंगलबाट चितुवा नै आउँथ्यो । हाम्रो घरको तलतिर नै स्याल कराउँथ्यो । स्यालले कुखुरा चोथ्र्याे । बौद्ध क्षेत्रमा पनि धेरै ठाउँमा जंगल थियो । पछि फँडानी भयो । 

 

हाम्रा लागि अलि ठुलो गाउँ भनेको पश्चिमतिरको चाबहिल, गौशाला, बानेश्वर, डिल्लीबजार थियो । पूर्वतिर गोकर्ण थियो । तर, पातालो बस्ती । गोकर्णतिरबाट बौद्धमा दुध बेच्न आउँथे । पातलो गाउँ भएकाले हामी एक–अर्कालाई राम्रोसँग चिन्थ्यौँ ।