• वि.सं २०८१ चैत २० बुधबार
  • Wednesday, 02 April, 2025
ओजग जेन्क
२०८१ चैत ९ शनिबार ०८:००:००
अनुवाद

अब्दुल्लाह ओकालानको आह्वानले ल्याएको परकम्प

२०८१ चैत ९ शनिबार ०८:००:००
ओजग जेन्क

पिकेके र टर्की सरकारबिचको दशकौँ लामो द्वन्द्वमा ४० हजारभन्दा बढीको ज्यान गइसकेको छ

 

टर्कीको सशस्त्र समूह ‘कुर्दिस्तान वर्कर्स पार्टी’ (पिकेके)का संस्थापक अब्दुल्लाह ओकालानले समूहलाई विघटन गर्न गरेको आह्वान टर्कीभित्र मात्र नभई त्यस क्षेत्रभरि प्रतिध्वनित भइरहेको छ । यो कुरा भर्खरै कुर्दिस नेतृत्वमा रहेको ‘सिरियन डेमोक्रेटिक फोर्सेस (एसडिएफ)’ र सिरियाली सरकारबिचको सम्झौतामा पनि प्रतिबिम्बित भयो । ओकालानको सन्देशले टर्कीको सुरक्षा नीतिदेखि कुर्दिस समूहहरूको भविष्यको स्थितिसम्मलाई पुनः परिभाषित गर्न सक्ने देखिएको छ । यसो भए समग्र क्षेत्रीय शक्ति गतिशीलता बदलिनेछ ।

 

फेब्रुअरीको अन्त्यतिर टर्कीको जेलबाटै जारी विज्ञप्तिमा ओकालानले पिकेकेलाई ‘महाधिवेशन बोलाउन र एक निर्णय लिन आह्वान गर्न’ भनिएको छ । ‘सबै समूहले आफ्ना हतियार बिसाउनुपर्छ र पिकेके समूह विघटन हुनुपर्छ’ विज्ञप्तिमा भनिएको छ । इराकको कान्डिल पर्वतमा कमान्ड सेन्टर कायम राखेको पिकेकेको नेतृत्वले ओकालानको आह्वानको प्रतिक्रियामा अन्तिम विघटनसहित एकतर्फी युद्धविरामको घोषणा गर्‍यो । निःशस्त्रीकरण र अन्य विषयको निर्णय भने समूहको एक वा दुई महिनामा हुने महाधिवेशनले निर्णय गर्ने भनिएको छ ।

 

टर्कीले भने पिकेकेको सिरियाली शाखासहित सबै पिकेकेसम्बद्ध समूह विनासर्त विघटन हुनुपर्ने अडान कायम रहेको बताएको छ । पिकेकेले टर्की सरकारसँग लडेको दशकौँ लामो द्वन्द्वमा ४० हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ । ओकालान वैचारिक रूपमा आन्दोलनको नेता हुनुका साथै सन् १९९९ मा पक्राउ पर्नुअघिसम्म समूहका प्रमुख थिए । टर्की, संयुक्त राज्य अमेरिका र युरोपेली संघ पिकेकेलाई आतंकवादी संगठन मान्छन् । ओकालानले विगतमा युद्धविरामको आह्वान गरेका थिए । तर, पहिलोपटक उनले पिकेकेलाई विघटन गर्न भनेका हुन् । यसका पछाडि सम्भवतः कुर्दिस राजनीतिक आन्दोलनमा परिवर्तन, टर्की राज्य रणनीति र व्यापक क्षेत्रीय पुनर्संरचना, विशेषगरी सिरियामा विकसित गतिशीलता जोडिएको हुन सक्छ ।

 

कुर्दिस ‘डर कारक’ हटाउँदै

 

सशस्त्र संघर्षको घट्दो रणनीतिक मूल्य कुर्दिस राजनीतिक खेलाडीको उदयसँगसँगै भएको छ । यसले टर्किस राजनीतिमा ‘डर फ्याक्टर’को रूपमा पिकेकेको भूमिकालाई कमजोर बनाउँछ । अर्थात्, शान्तिपूर्ण कुर्दिस राजनीतिले गति लिँदै जाँदा पिकेकेको प्रभाव घट्दै गइरहेको छ । जुन २०१५ मा भएको निर्वाचनमा ‘पिपुल्स डेमोक्रेटिक पार्टी (एचडिपी)’ले संसदीय प्रतिनिधित्व सुरक्षित गर्न आवश्यक पर्ने १० प्रतिशत चुनावी थ्रेसहोल्ड पार गरेर नयाँ जग बसालेको थियो । यो उपलब्धि कुर्दिस समर्थक दलहरूले पहिले स्वतन्त्र उम्मेदवार उठाएर मात्र हासिल गरेका थिए ।

 

कुर्दिस मतले टर्किएको राजनीतिक परिदृश्यलाई आकार दिने भएकाले आज ‘पिपुल्स इक्वालिटी एन्ड डेमोक्रेटिक पार्टी (डिइएएम)’को नामले चिनिने यो पार्टीले चुनावमा निर्णायक भूमिका खेल्छ । यस पृष्ठभूमिमा, पिकेकेको विघटनका लागि ओकालानको आह्वान लोकतान्त्रिक प्रणालीभित्र कुर्दिस राजनीतिक प्रतिनिधित्वका लागि ठाउँ विस्तार गर्ने प्रयास हो । शान्तिपूर्ण राजनीतिक दलमार्फत कुर्दिस राजनीतिक परिचालन सशस्त्र संघर्षभन्दा बढी शक्तिशाली र प्रभावशाली भएको छ । राज्यले विभिन्न प्रतिबन्ध लगाउँदासमेत यो प्रभाव वृद्धि रोकिएको छैन ।

 

जस्तो– २०२४ को नगरपालिका चुनावपछि, केन्द्र सरकारले केही कुर्दिसबहुल नगरपालिकामा आफूप्रति बफादार उम्मेद्वार नियुक्त गरेको छ । डिइएम पार्टीका निर्वाचित मेयरलाई पदभार ग्रहण गर्नबाट रोेक्न यस्तो कदम चालिएको हो । यद्यपि, यी प्रतिबन्ध कुर्दिस समर्थक राजनीतिको क्रमिक सामान्यीकरणसँगै सहज हुन सक्छ । आज टर्किस राजनीतिमा पिकेकेप्रति सहानुभूति राखेको आरोपकै भरमा कठोर सजाय हुने गरेको छ । समग्र आन्दोलनमाथि लागेको ‘आतंकवादी’ आरोप हट्दा परिस्थिति धेरै सुधारिन सक्छ ।

 

तथापि, अझै पनि सरकारभित्र र राष्ट्रवादी वृत्तका कट्टरपन्थी समूहहरूले कुर्द राजनीतिज्ञको सामान्य राजनीतिमा प्रवेशको प्रतिरोध गर्ने सम्भावना छ । एके पार्टीको २३ वर्षे शासन अन्त्य गर्न प्रयास गरिरहेको रिपब्लिकन पिपुल्स पार्टी (सिएचपी) यो पहललाई समर्थन गर्न हिचकिचाइरहेको छ । सिएचपीले आधिकारिक रूपमा ‘कुर्दिस मुद्दा’को शान्तिपूर्ण समाधानलाई समर्थन गरेको छ । तर, उसले एर्दोगानको सरकारको नेतृत्वमा चल्ने प्रक्रियाप्रति सन्देह जनाएको छ । यसबाहेक, सिएचपी यो प्रक्रिया सफल भयो भने एके पार्टीको कुर्दिस मतदातामाझ लोकप्रियता बढ्ने कुराप्रति पनि सतर्क छ । अहिलेका लागि यसले पर्ख र हेरको नीति अपनाएको छ । किनभने, सम्पूर्ण प्रक्रिया पिकेकेको विघटनमा अडिएको छ, जुन अझै कार्यान्वयन भइसकेको छैन । 

 

सिरियाली समीकरण

 

ओकालनको आह्वानले यस क्षेत्रभरि गैरराज्य सशस्त्र समूहले अस्तित्व र वैधताका लागि गरिरहेको संघर्षलाई प्रतिबिम्बित गर्छ । उत्तरी सिरियामा डेमोक्रेटिक युनियन पार्टी (पिवाइडी) र यसको सैन्य विभाग पिपुल्स डिफेन्स युनिट्स (वाइपिजी)ले आफ्नो भूमि र राजनीतिक अवस्थिति जोगाइराखेको छ । सन् २००३ मा पिकेकेको सिरियाली शाखाको रूपमा स्थापित पिवाइडी पछि स्वतन्त्र रूपमा सञ्चालित हुन थाल्यो । अंकारा र सिरियामा सक्रिय अंकारा–समर्थित समूहले धेरैपटक यस समूहलाई निसाना बनाइसकेका छन् ।

 

ओकालान यो आशाबाट प्रेरित हुन सक्छ कि पिकेके विघटित भयो भने टर्की र पिवाइडीबिचको टकराव घट्न सक्छ र सो समूहले नयाँ सिरियाली शासन र संविधानभित्र स्वशासनको अधिकार बचाइराख्ने सम्भावना रहन्छ । यस दिशामा एउटा महत्वपूर्ण कदम गत सोमबार (मार्च १०मा) आयो । त्यस दिन वाइपिजीसमेत सम्मिलित एसडिएफले दमास्कसमा सिरियाका अन्तरिम राष्ट्रपति अहमद अल–सारासँग आफ्नो सेनालाई सिरियाली सेनामा विलय गर्ने सहमतिमा हस्ताक्षर गर्‍यो । सहमतिमा अन्य धेरै आर्थिक, सामाजिक र राजनीतिक मोर्चाहरूमा सहयोगको विषय समेटिएको छ । अहिलेसम्मका लागि सम्झौतालाई एर्दोगानले समर्थन गरेका छन् । सम्झौताको पूर्ण कार्यान्वयनले सिरियाको सुरक्षा र स्थिरतामा सहयोग पुग्ने साथै सबै सिरियालीलाई फाइदा पुग्ने उनले प्रतिक्रिया दिएका छन् । 

 

भावी मार्ग 

 

‘कुर्दिस मुद्दा’को शान्तिपूर्ण समाधानले टर्कीको कूटनीतिक प्रभाव बढाउन सक्छ । विशेषगरी युरोप र अमेरिकासँगको अन्तरविरोधका कारण बन्दै आएको कुर्द समस्या हटेपछि दुई पक्षको सम्बन्ध थप सुधारिनेछ । दिगो शान्ति प्रक्रियाले इराक र सिरियासँगको टर्कीको तनावलाई पनि कम गर्न सक्छ । टर्की ती देशमा रहेका कुर्दिस समूहविरुद्ध समय–समयमा सैन्य आक्रमण गर्दा तनाव बढ्ने गर्छ । यसले बग्दाद र दमास्कसको नयाँ सरकारसँग अंकराको सुरक्षा र आर्थिक सहयोगलाई अझ बलियो बनाउनेछ ।

 

शान्ति प्रक्रिया अघि बढेमा मुख्य ध्यान पिकेकेका लडाकुको भविष्यमा केन्द्रित हुनेछ । टर्कीमा तीव्र हुँदै गएको सार्वजनिक बहसका अनुसार यसमा धेरै सम्भावित विकल्प छन् । केही लडाकुले कानुनी आममाफी पाउन सक्छन् । यो समूहले समाजमा पुनर्स्थापनाका लागि राज्यबाट आर्थिक सहयोग पाउन सक्छन् । बाँकी धेरै वैधानिक कुर्दिस राजनीतिक संरचनामा समाहित हुनेछन् । पिकेकेका शीर्ष नेतालाई तेस्रो देशमा स्थानान्तरण गर्न सकिन्छ ।

 

अन्ततः यस प्रक्रियाको दिगोपन अर्थपूर्ण लोकतान्त्रिक सुधार, कुर्द सम्प्रदायको सांस्कृतिक र राजनीतिक अधिकारको विस्तार, नागरिक स्वतन्त्रताको रक्षा र थप समावेशी राजनीतिक व्यवस्थाले निर्धारण गर्नेछ । तर, टर्कीको राज्य पक्षबाट भएका हालसम्मका घोषणामा यीमध्ये कुनै पनि प्रमुख सुधारहरू समावेश गरिएका छैनन् । यी आधारभूत परिवर्तनविना पिकेकेको विघटन कसरी होला भन्ने खुला प्रश्न बाँकी नै रहन्छ । अरू केही नभए पनि अहिलेका लागि लडाकुहरूको निःशस्त्रीकरण, विघटन र पुनः एकीकरणका लागि कानुनी रूपरेखा आवश्यक हुन्छ ।

 

पिकेकेको युद्धविराम शान्ति प्रक्रियामा एक उल्लेखनीय पहिलो चरण हो । तर, यसको दीर्घकालीन व्यावहारिकता तिनलाई कसरी संस्थागत गरिन्छ भन्नेमा निर्भर हुन्छ । यो कुरा रणनीतिक वा हतारमा गरिएको सम्झौताले प्रदान गर्न सक्दैन । साथै, यो पनि ख्याल गर्नुपर्छ कि कुनै पनि शान्ति प्रक्रिया सम्झौताहीन माग वा आदर्श, घर्षणरहित रोडम्यापका आधार विकास गर्न सकिँदैन । दिगो शान्तिका लागि व्यावहारिक समाधान, चरणवद्ध कदम र वार्तामा अवरोध, प्रतिस्पर्धी हित र पारस्परिक लेनदेनको विषय आउँछ भन्ने स्वीकारोक्ति आवश्यक हुन्छ । 

 

(‘मिडल इस्ट काउन्सिल अन ग्लोबल अफेर्स’की आगन्तुक फेलो ओजगको लेख अल जजिराबाट श्रवण उप्रेतीले अनुवाद गरेका हुन् ।)