
कठ्यांग्रिदो चिसो होस् वा हपहपी गर्मी । अप्सरालाई सधैँ हतार हुन्छ । कहिले हँसिलो मुद्रा, कहिले तनावमय र कहिलेकाहीँ निराशवाला मुहार लिएर कुदिरहेको देख्छु । म यहाँ एउटा मात्र अप्सराको कुरा गरिराखेको छैनँ । म बस्ने हाउजिङपरिसरमा हरेक दिनजसो भेट्ने आधा दर्जनजति अप्सराहरूको कुरा गरिराखेको छु । प्रायः ती अप्सरासँग घरबाट बिहान निस्किँदा र साँझ प्रवेश गर्दा मेरो जम्काभेट हुन्छ ।
मोटा, दुब्ला, अग्ला, होचा, गोरा र काला अप्सराहरूसँग आँखा जुध्दा म फिसिक्क हाँस्छु । हालखबर सोध्छु । उनीहरू पनि त्यस्तै गर्छन् । मेरो ठम्याइमा यी अप्सरालाई हाउजिङका लब्धप्रतिष्ठित महिला र पुरुष खासै गन्दैनन् । बरू पढेलेखेका भनिएका महिलाहरू गर्मी महिनाको साँझपख वा जाडो महिनाको घाम तपाइको क्षण अप्सराबारे तिखा टिप्पणी गरिराखेको सुन्छु । उनीहरूका टिप्पणीको सार हुन्छ– समयमा काम गर्दैनन्, भरपर्दो कामै गर्दैैनन्, एटिच्युड देखाउँछन् यस्तै यस्तै...। अप्सराबारे टिप्पणीको खात एक अगाँलोजति पोखिँदा अप्सराहरूका दुःख, खेप्नुपरेको पितृसत्ताको कहर, तिनका भोक, रोग र शोकबारे खासै चर्चा हुँदैन । त्यसैले त अप्सराका लागि काम गर्ने घरहरू औसतमा मालिकका हुन्, प्रियजनका होइनन् । हुनत ‘महिला लिंग’ महलमा बस्ने हुन् कि झुपडीमा बाउ, पोइ, दाइभाइ लिंगको नोकर नै हुन् । त्यसै आधा धर्ती निर्णायक भूगोलबाट गायब भएका छन् र ? कथाव्यथा लामो छ ।
सहरिया जीवनमा जब महिला घरबाहिर पैसो कमाउने काममा लागे घरधन्दा कसले गर्ने ? कामकाजी महिलाले अर्थआर्जनसँगै करिब ९० प्रतिशत घरायसी बोझ बोक्न अर्को कुनै मान्छे चाहियो । गरिबी र बेरोजगारीले पिरोलिएका, सस्तोमा सजिलै उपलब्ध हुने भनेकै अप्सराहरू हुन् । वर्गीय उत्पीडनले थिल्थिलो भएका अप्सराहरू आफ्नो कामको मोलमोलाइ गर्न सक्दैनन् । राज्यको नियमले अप्सराहरूको श्रमको मोलतोल अझै गर्न भ्याएको छैन । सस्तो श्रममा घरधन्दा गर्न बाहिरबाट आएका वा घरमै शरण लिएर बसेका महिला र बालिका श्रमिकहरू मालिक पुरुषको वासनाका सिकार हुन्छन् । गरिब थारू समुदायका किशोरी कम्लरी बस्दा यौनशोषणको माखेजालोमा परेका सयौँ घटना बाहिरिएका छन् । १०४ वर्षे राणाशासनमा दरबारमा श्री ३ महाराज र अन्य राजखलकका प्रत्येक जनका सेवामा सुसारेहरूको लस्कर हाजिर हुन्थे । भित्रिया र बाहिरियाका नाउँमा थरीथरीका उमेर र जातका किशोरी दासीका रूपमा रहन्थे ।
घरधन्दा गर्दा तैले गरेको यो मिलेन, त्यो मिलेनको नाउँमा अप्सराहरूमाथि थुप्रै मानसिक र शारीरिक हिंसा भएका घटना बग्रेल्ती सुन्न र देख्न पाइन्छ । कतिपय गम्भीर प्रकृतिका घरेलु र यौनजन्य उत्पीडन अप्सराहरूमाथि घट्छन् । जुन भित्रभित्रै थोरै पैसा दिएर, समाजमै मिलाएर, प्रशासनका बडा हाकिमलाई घुस खुवाएर सामसुम पारिन्छ । किनकि, प्रायः अप्सराका पक्षमा बोलिदिने सरकार, कानुन र विवेकी मान्छे गायब छन् समाजमा ।
जातको सट्टापट्टा
रहँदाबस्दा मैले अप्सराहरूसम्बन्धी एउटा गोप्य तथ्य पत्तो लाएँ । एक अप्सरा मेरोमा काम गर्न आएको दुई महिनापछि उसको वास्तविक जात पत्ता लाग्यो । त्यो पनि उसकै मुखारविन्दबाट । सुरुमा भुजेल बनेर आएकी अप्सरा त सार्की समुदायकी पो रहिछ । त्यसताका मलगायत हामी केही साथीहरू रुकुम नरसंहारबारे निकै छलफल गर्थ्यौं । अप्सरा निकै चासो दिएर सुन्थी । अन्तर्जातीय विवाह गर्न गएका नवराज विकसहित ६ युवालाई १० जेठ ०७६ मा रुकुम सोतीमा सयौँको संख्यामा गाउँ नै उर्लेर कुटिकुटी मारेर सेती नदीमा फालिएको थियो । हामी अपराधीलाई हदैसम्मको कार्बाही र पीडित परिवारलाई न्याय दिने आन्दोलन र उपायबारे गहन छलफल गर्थ्यौं ।
छलफलकै मेसोमा अप्सराले थाहा पाई म दलित समुदायको हुँ भन्ने । अनि ऊ खुलस्त भई । एकदिन उसले अलिक हच्किँदै आफू दलित भएको बताई । उसकै अनुसार प्रायः घरेलु श्रम गर्ने उसका थुप्रै साथी दलित समुदायकै छन् । उसको जिकिर थियो, ‘अब दलित भन्यो भने घरमा काम नै दिँदैनन् अनि ढाँट्न परेन त ?’ उसको कुरा सुनेर हामी दुवै मज्जाले हाँस्यौँ । आजभोलि अप्सराहरू बोल्न थालेका छन् । आफ्नो कामको उचित ज्याला खोज्नु, श्रमको सम्मान खोज्नु उनीहरूको सार्वभौम अधिकार हो । मेरोमा आउँदै अप्सरा अलिक अडान (अरूले एटिच्युड देखाएको भन्थे ) देखाएको मलाई राम्रै सम्झना छ ।
मलाई चाहिँ झन् कथित अटिच्युड देखाउनेवाली पो मन परी । श्रम गरेबापत ‘यति पारिश्रमिक चाहिन्छ, मलाई हप्ताको एक दिन छुट्टी चाहिन्छ ।’ कहिलेकाहीँ कुनै काम गर्न मन नलागे आज गर्दिनँ, भोलि गर्छु टाइपको अडान आफँैमा सुन्दर विद्रोह हुन् । जसले मान्छे हुनुको बोध गराउँछ । आफ्नै अस्तित्व नामेट हुने गरी त किन पो परिश्रम गर्नु र ? तर, आमबुझाइमा अप्सराहरूले विद्रोह गरेको, जवाफ फर्काएको पाच्य हुने कुरै भएन । घरधन्दा, जसलाई ‘लुते धन्दा’ भनेर हियाइन्छ । श्रम र मूल्यको गणना नै हुँदैन । राज्यले थिति नबसाएको कुरामा अप्सराहरूले कुनै दाबी गर्न सक्ने कुरो नि भएन ।
मेरो दुःखले जोडेको साइनो
मेरो सन्दर्भमा घरायसी काम गर्न जाँगर नलागेर, पैसा टन्न भएर अप्सराहरूको सहारा लिएको पटक्कै होइन । कहिलेकाहीँ त अप्सरालाई थोरै पैसा दिन नि हम्मेहम्मे पर्ने । आफू बाहिर पनि काम गर, घरभित्र पनि गर । कामले हुरुक्क हुनुभन्दा बरु जसरी भए पनि थोरै पैसाको मेसो मिलाउनुपर्छ भनेर थरीथरीका आधा दर्जनजति अप्सरासँग अन्तरंग साइनो लगाउन पुगेँ । साना नानीहरूसहित राजनीति, सामाजिक कार्य र लेखपढको काम महाभारत नै त थियो मेरा लागि । जो घरबाहिर निस्कन्छन्, अझ एक किसिमले घर र समाजमा विद्रोह गर्छन्, ती महिलालाई फलामको चिउरा चपाउनुजत्तिकै छ समाजमा ।
परिवारकै भतिजी र छोरीहरूले पनि मनग्य मेरा केटाकेटी र मेरो स्याहारसुसार गरे । मेरो थकाइको साक्षी बनेका छन् उनीहरू । आफन्तबाहेक मेरा दुःखमा जोडिएका आधा दर्जन अप्सराले मेरा साख्खै रगतको नाता र माया गर्नेहरूले भन्दा बढी गुन लगाएका छन् । मेरा थोरै गणनायोग्य कुनै काम छन् भने त्यसका योगदानकर्ता अप्सराहरू पनि हुन् ।
मान्छे बन्न नपाएका अप्सरा
अप्सराहरूसँग मलाई बात मार्न औधी मन पर्ने । कुरै कुरामा उनीहरू घर, नातागोता, श्रीमान्, प्रेम र यौनबारे सुनाउँछन् । धेरै अप्सराका कथाचाहिँ श्रीमान् कुलतमा फसेका, कमाएर नदिने, कुटपिट गर्ने छन् । सँगै जुन घरमा धन्दा गर्छन्, त्यो घरका पात्रबारे पनि चर्चा हुन्छ । सन्दर्भहरू तिता, मिठा हुने नै भए ।
धन्दा गर्ने घरमा ‘तिमी, त...’ भन्ने, भुइँमा बस्न लगाउने, घरबेटीले लगाउने चप्पल अप्सराहरूले लगाउन नहुने, शनिबार छुट्टी नदिने, बासी भात खान दिने, कोहीले त चार–पाँच घण्टा काम गर्दा पनि एक कप चियासम्म खान नदिने गर्दा रहेछन् । कोही काम लगाएको पैसा जतिसक्दो कम दिन खोज्ने खालका रहेछन् । राज्य के हो ? यसको शोषणरूपी जालो मान्छेका भान्सा, बेडरुमसम्म पुग्छ भन्ने कुरा प्रायः अप्सरालाई थाहा हुन्न । थाहा पाउन जरुरी पनि ठान्दैनन् । सरकार, नेता, पार्टी, नीति कानुन छ भन्नेसम्म चाहिँ उनीहरूलाई थाहा छ, तर यो हुनु र नहुनुले उनीहरूको जीवनमा केही फरक पार्दैन । आफ्नो दुःख, पिरमर्का नछुने भएसि कुनै कुरा हुनु र नहुनुको के अर्थ ?
पितृसत्ताले अभिशप्त अप्सरा
नेपाली समाजमा छोरी मान्छेलाई कथित बहुतै सुन्दर उपमा दिनुपर्दा परी वा अप्सरा भनिन्छ । भनिएको बान्की मिलेको रूप र शरीरलाई सोह्र शृंगार गरेका मूलतः युवतीलाई परी, अप्सरा भनिन्छ । धर्मग्रन्थमा उल्लेख भएका अप्सराका काम, कर्तव्य हेर्दा त अप्सरा त बिचरा पात्र मात्रै हुन् । अप्सरा योनी भएका कथित स्वर्गका पुरुष देवताका चरणदासी हुन् ।
हिन्दु मिथकमा चर्चा गरिने अप्सरामध्ये उम्दा र चर्चित उर्वशी, मेनका र रम्भाको सुन्दरताको बखान सामान्य छैन । चर्चामा अप्सराहरू कथित स्वर्गका राजा इन्द्र र अन्य देवहरूको मनोरञ्जनका साधन हुन् । किंवदन्तीअनुसार अप्सरा देवताहरूलाई नृत्य, गायन र यौनबाट मनोरञ्जन गराउँछन् ।
मिथकअनुसार कथित स्वर्गमा नन्दन नामको अत्यन्त राम्रो बगैँचा छ । सबै देवता र पुण्य गर्ने मानिस अप्सरासँग स्वर्गमा भोग, विलास र बिहार आदि गरेर आनन्दमा रमाउने सपना साँच्छन् । वेलावेला कथित ठुला भनिएका देवताहरू ऋषिको तपस्या भंग गर्न, शक्तिशाली असुर जातिको सत्ता सिध्याउन अप्सरालाई मोहराको रूपमा प्रयोग गर्छन् । हिन्दु धर्मशास्त्रमा स्वर्गका राजा इन्द्रदेवसँग जोडिएका अप्सराहरूको विशेष उल्लेख पाइन्छ आखिर कथित देवलोकमा पनि महिला दोयम हालमै छन् । झन् अप्सराहरू त देवसत्ता र पुरुषका कठपुतली हुन् ।
श्रमले सुन्दर अप्सरा
संसारमा सबैभन्दा सुन्दर के हुन्छ ? सुन्दरताको परिभाषा समुदाय, भूगोल र वर्गसापेक्ष हुन्छ । कसैलाई रातो रङ मन पर्छ, कसैलाई कालो । महलका अत्तर मगमगाउने, सुनका पाउजु लाउने कोमल शरीरका इलाइट महिलाका ३२ गुण गरिखाने महिलाको खस्रा हत्केला र पसिनामिश्रित श्रम सुन्दरतासँग तुलना हुन सक्दैन ।
सिर्जनशीलता र श्रम नै सुन्दरताको उत्कृष्ट मापन हो । महिलाको श्रम सुन्दरतालाई लुकाएर छाला र बैँसको सुन्दरतालाई मात्रै बखान गर्ने पितृसत्तात्मक राजनीति हो । जसले हजारौँ वर्षदेखि महिलालाई ज्ञानको उज्यालोबाट वर्जित गर्दै आएको छ । विश्व भूगोलमा दोयम स्थानमानमा रहेका अप्सराहरू जुन दिन पूर्ण रूपले स्वतन्त्र र मर्यादित हुन्छन्, तब मात्रै श्रम सुन्दरताको मापनको घनत्व ओजिलो बन्नेछ ।