
संस्कृत अध्ययन गर्नुभएको छैन, तर कर्मकाण्ड गर्न चाहनुहुन्छ भने पण्डित सुरज पराजुलीको विधिनिषेधादि प्रमाणसहितको अनुसन्धानात्मक सँगालो अग्निस्थापना विधि पुस्तक उपयुक्त हुन सक्छ । पण्डित पराजुलीले विशेषगरी संस्कृत अध्ययन नगरेका र गुरुकुल परम्परा नबुझेका व्यक्तिहरूका लागि हालै यो पुस्तक ल्याएका हुन् ।
पछिल्लो समय समाज वैदिक र शास्त्रोक्त पद्धतिबाट टाढिँदै गएको अनुभूति भइरहेका वेला यो पुस्तक शुद्ध र संग्रहयोग्य रहेको प्राडा ऋषिराम पोखरेल बताउँछन् । ‘हाम्रा प्रचलित अग्निस्थापना पुस्तकमध्ये प्रमाणसहित लेखिएको यो कृति शुद्ध र संग्रहयोग्य छ ।’
इतिहास पुराणाचार्य पराजुलीको अग्निस्थापना गुडविल पब्लिकेसनले तयार पारेको हो । १२२ पृष्ठको यो पुस्तकमा विशेषगरी विधि, निषेधहरूको प्रशस्त प्रमाण प्रस्तुत गरिएको लेखकको दाबी छ । ‘हाम्रा प्रचलित पद्धतिका केही मनगणन्ते त केही तार्किक चिन्तनबारे खोजिनिती गरी सकेसम्म प्रमाणका साथ प्रस्तुत गर्ने प्रयास गरिएको छ । अग्निस्थापना विधि एक उचित खुड्किलो हुनेछ भन्ने विश्वास छ ।’
पराजुलीले गौशालास्थित नेपाल वेद विद्याश्रम वनकालीबाट माध्यमिक तह उत्तीर्ण गरेका थिए भने वाल्मीकि विद्यापीठबाट उच्चशिक्षा पूरा गरेका हुन् । उनी वाल्मीकिमै इतिहास पुराणमा आचार्य तहमा अध्ययनरत छन् । पराजुलीले ०६७ सालमा वेद विद्याश्रम अध्ययनकै क्रममा अग्निस्थापना विधि लेख्ने योजना बनाए पनि सफल नभएको बताए । योग्यता र अविश्वासका कारण लामो समय कुर्नुपरेको दुःख उनले सुनाए ।
वाल्मीकि विद्यापीठका पूर्वमीमांशा विभागका सहायक प्राध्यापक नवराज न्यौपानेले बजारमा पाइने अन्य अग्निस्थापना विधिभन्दा पराजुलीको पुस्तक फरक रहेको सुनाए । उनले भने, ‘कर्मकाण्ड वैदिक सनातन धर्मको आत्मा हो । नित्य नैमित्तिक र काम्यका भेदले ती कर्मकाण्ड पनि तीन प्रकारका छन् । कर्मकाण्ड विधिपूर्वक अनुष्ठान गरेमा मात्र फलोत्पादक बन्न पुग्छ । अग्निस्थापनाको पुस्तक बजारमा उपलब्ध अन्य पुस्तकभन्दा राम्रो देखिएको छ ।’