• वि.सं २०८१ चैत १८ सोमबार
  • Monday, 31 March, 2025
दिनेश पन्त
२०८१ चैत ९ शनिबार ०९:३३:००
फिल्म

‘पूजा सर राजागंज’ : विद्रोह,  न्याय र नेपाली समाजको ऐना

२०८१ चैत ९ शनिबार ०९:३३:००
दिनेश पन्त

 

०७२ भदौको अन्त्यतिर देशमा संविधान जारी गर्ने मिति नजिकिँदै थियो, संविधानमा आफ्नो अपनत्व नभएको भन्दै लाखौँ मधेशी नागरिक सडकमा आन्दोलनरत थिए । आन्दोलनरत नागरिकको नेतृत्व तत्कालीन संविधानसभामा अल्पमतमा रहेका मधेशकेन्द्रित राजनीतिक दलले लिएका थिए । उनीहरूले संविधानसभा बहिष्कार गरेका थिए । मधेश आन्दोलनका क्रममा बालबालिकादेखि वृद्धवृद्धासम्मको प्रहरी दमनका कारण भइरहेको हत्याको समाचार सामान्य बनेको थियो । यसैक्रममा तत्कालीन सत्ता घटक नेकपा (एमाले)का नेता केपी शर्मा ओलीले राजनीतिक वक्रोक्ति प्रदर्शन गरेका थिए । उनले आन्दोलनको स्वामित्व लिएका मधेशकेन्द्रित दललाई संविधानसभा बहिष्कार गरेको सन्दर्भमा कुहिएको आँप झर्दैमा फरक नपर्ने आशयले अभिव्यक्ति दिएका थिए ।

 

सम्भवतः सार्वजनिक विस्मृतिमा गएको यो घटनालाई अहिले ‘पूजा सर राजागंज’ चलचित्रले सतहमा ल्याएको छ । अहिले राजनीतिको म्युजिकल चेयरको खेलका क्रममा तिनै ओली देशका प्रधानमन्त्री छन् । सार्वजनिक वृत्तमा एक जिम्मेवार नेताले दिएको अभिव्यक्ति चलचित्रमा प्रयोग हुनु नौलो थिएन, जुन सत्तालाई सह्य भएन । त्यसैले चलचित्र विकास बोर्डले चलचित्रमा रहेको प्रधानमन्त्रीको करिब एक दशक पुरानो अभिव्यक्तिमाथि नै कैँची चलायो । यतिले नपुगेर प्रधानमन्त्री शब्द उच्चारण हुँदा सो शब्दमा ‘बिप’ लगाइयो । विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा प्रशंसा बटुलेको ‘पूजा, सर राजागंज’ले नेपालमा पहिलो गाँसमै ढुंगा भेट्यो । यद्यपि यो कदमले प्रधानमन्त्रीको अभिव्यक्तिलाई दबाउन त सकेन, बरु राज्य नै निरंकुश बन्दै गएको तथ्यलाई उजागर गर्‍यो । कलाको एउटा पाटो सत्ता र शक्तिलाई प्रश्न गर्नु हो, यो मामिलामा चलचित्र सार्वजनिक रूपमा प्रदर्शन हुनुअगावै सफल भयो ।

 

मधेश आन्दोलनताकाको कथा बोल्ने यो चलचित्रलाई झट्ट हेर्दा क्राइम ड्रामाको संज्ञा दिन सकिन्छ । तर, यसलाई मिहिन ढंगले हेर्ने हो भने नेपाली समाज र यसको राजनीतिको जटिलतायुक्त यथार्थलाई चलचित्रले उजागर गरेको छ । चलचित्रमा एक मधेशी महिला सरस्वती, जसले विधि र न्यायको वकालत गर्दा गर्भमा रहेको सन्तान गुमाएकी छिन् । न्यायको सबै मार्ग बन्द भएपछि उनले श्रीमान्सँग मिलेर अपराधको बाटो समातेकी छिन् । सोही क्रममा उनले शक्तिशाली सत्ताधारी मधेशी नेता एवं सभासद्का छोरा र उसको साथीलाई अपहरण गर्छिन् । चलचित्रभरि यो मामिलाको तहकिकात हुन्छ । यही तहकिकातले कर्मचारीतन्त्र, पुलिसराज, संरचनागत नश्लभेद, शक्ति सम्बन्ध र पितृसत्तालाई स्पष्ट पारिदिन्छ ।

 

संरचनागत नश्लभेद  

 

नेपाली चलचित्रमा मधेश र मधेशी अनुहार बिरलै देखिन्छ । केही गरी मधेशी अनुहार देखिए नकारात्मक चरित्र चित्रण वा रुढीबद्ध (स्टेरियोटिपिकल) प्रतिनिधित्व गरी उपहास गरिन्छ । यी ढर्रालाई लत्याउँदै चलचित्रले आममधेशलाई राज्यको संरचनाले सीमान्तकृत, दमित र आवाज नसुनिएको समुदायका रूपमा प्रस्तुत गरेको छ । मधेश आन्दोलन र असन्तुष्टिलाई व्यक्त गर्न मधेशी आफँै सक्षम छन् भन्ने दृश्य एवं संवाद चलचित्रको कैयौँ ठाउँमा देखाइएको छ । मार्टिन लुथर किङ र नेल्सन मन्डेलाको तस्बिर एक आन्दोलनकारीको घरमा देखिनुले मधेश आन्दोलनका वेला आन्दोलनकारी ‘भारु’ले चलेका भिड हुन् भन्ने पहाडी नश्लभेदी पूर्वाग्रहलाई सहजै चिर्छ । 

 

यद्यपि, संरचना र व्यक्तिलाई निर्देशकले एकै कोणबाट देखाएका छैनन्, अर्थात् सबै पहाडी बलियो वा सबै मधेशी कमजोर भन्ने साम्प्रदायिक अतिवादमा यो चलचित्रलाई झोसिएको छैन । सत्तापक्षीय मधेशी सभासद्लाई ढाकाटोपी पहिर्‍याएर ‘खाँटी’ नेपाली देखाइएको छ । जसले पहाडी प्रहरीलाई तिमीहरूको जागिर खाइदिन्छु भन्ने धम्की त दिन्छन् । तर, उनकै घरमा पहाडी सम्भ्रान्त परिवारबाट आएकी श्रीमतीको हैकम र तजबिजी चलेको देखिन्छ । जहाँ श्रीमतीले सहजै श्रीमान्लाई ‘तँ’ भनेर सम्बोधन गर्छिन् । चलचित्रमा मधेशी महिला प्रहरीको चरित्र निभाउने ममता, जो प्रहरीभित्रको संरचनाले मौन पारिएकी हुन्छिन् । तिनै ममता कनिष्ठ प्रहरी अधिकारीलाई हिरासतमा कैदीको मृत्यु हुँदा गालीगलोजसहित थर्काउँछिन् । त्यसैगरी, एक दृश्यमा मधेशी पुरुषले नै ममतालाई नटेरेको, तर पहाडी अधिकारी पूजा सरले भनेको सहजै मानेको देख्न सकिन्छ । 

 

लिंगभेद र विद्रोह 

 

साहित्य, संगीत, चित्रकला, चलचित्रजस्ता कलाका विधाले समाजको प्रतिबिम्ब देखाउँछ । ‘पूजा, सर राजागंज’ समाजको प्रतिबिम्ब देखाउने यथास्थितिमा मात्रै अडिएको छैन । चलचित्रमा निर्देशकले यथास्थितिभन्दा पर विद्रोह पनि देखाउने जमर्को गरेका छन् । चलचित्रको शीर्ष पात्र ‘पूजा सर’ले यो विद्रोहलाई बोकेकी छिन् । यौनिक एंव लैंगिक अल्पसंख्यकको रूपमा सीमान्तकृत समुदायको पात्र प्रहरी संगठनमा इन्स्पेक्टरको हैसियत हुनु र पहिचानअनुसार बाँच्नु नेपाली समाजमा आफँैमा एक विद्रोह हो भन्दा अतिशयोक्ति नहोला । पूजा हाकिमले जे भन्यो, त्यसलाई आँखा चिम्लेर ‘हस्’ भन्दिनन् । उनका कामले विवेक, कौशल एवं स्वनिर्णयको क्षमता छ भनेर देखिन्छ । 

 

गर्भमै सन्तान गुमाएकी सरस्वती सम्झौता गर्ने पक्षमा देखिन्नन् । उनी बुताले सक्ने विद्रोह गर्छिन् । एक स्वभिमानी महिलाको प्रतिनिधित्व गर्दै आफ्नो न्याय सुनिश्चित गर्छिन् । तर, उनी अन्त्यमा राज्यबाट र यसका अवयवबाट ठगिन्छिन् । प्रहरीले बालक उद्धार गरेको र ‘अपराधी’ समातेकोमा वाहवाही पाइरहँदा यो दम्पतीको आँखामा लाचारी र क्रोध स्पष्टै देखिन्छ । तर, पूजा सर यथास्थितिमा चित्त बुझाउँदिनन् । पीडक सभासद् दम्पतीको पोल खोलेर विद्रोह गर्छिन् । यो अस्वाभाविक लाग्ने दृश्यमा निर्देशकले सम्भवतः यथार्थवादी चौघेरा नाघेर विद्रोहको बिगुल फुकेका छन् । चलचित्रमा जति संवादले कथा भनेको छ, त्यति नै दृश्यले पनि बोलेको छ । समाजको जटिल समस्यालाई मिहिन ढंगले दृश्यमा उतारिएको छ । यो कौशलका लागि निर्देशक दीपक रौनियारलाई बधाई छ ।