• वि.सं २०८१ चैत २० बुधबार
  • Wednesday, 02 April, 2025
मीनराज बसन्त
२०८१ चैत ९ शनिबार ११:०६:००
रिपाेर्ट

घुमाइ मेरो मिठो लत हो

२०८१ चैत ९ शनिबार ११:०६:००
मीनराज बसन्त

मस्को स्टेट युनिभर्सिटी अफ सिभिल इन्जिनियरिङबाट स्नातकोत्तर जीवा लामिछाने गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक सदस्य एवं पूर्वअध्यक्ष हुन् । बैंकिङ, जलस्रोत, शिक्षा, स्वास्थ्य, होटेललगायत व्यवसायमा राष्ट्रिय–अन्तर्राष्ट्रिय लगानी गरेका उनी पेसाले व्यवसायी हुन् भने रुचिले लेखक । यसअघि ‘सरसर्ती संसार’ र ‘देशदेशावर’ प्रकाशन गरेका लामिछानेको तेस्रो कृति ‘अक्षत अन्टार्कटिका’ यसै साता सार्वजनिक भएको छ । अन्टार्कटिका यात्रा र पर्यावरणीय चिन्तनलगायत विषयमा केन्द्रित रहेर नयाँ पत्रिकाकर्मी मीनराज बसन्तले गरेको संवाद:

 

०४३ मा बाग्लुङका भुवनसिंह विश्वकर्मा पहिलोपटक अन्टार्कटिका पुग्ने आधिकारिक नेपाली हुन् । विश्वकर्माले पाइला टेकेको ३८ वर्षपछि तपाईं गतवर्ष अन्टार्कटिका यात्रामा निस्किनुभयो । यसअघिका तपाईंका एउटै कृतिमा धेरै ठाउँ घुमेको वर्णन हुन्थ्यो । यसपटक भने एउटै यात्रामाथि अर्थात् अन्टार्कटिकामाथि नै केन्द्रित रहेर सिंगो कृति ‘अक्षत अन्टार्कटिका’ ल्याउनुभयो । यो मनस्थिति कसरी बन्यो ? 

 

हो, भुवनसिंहले पाइला टेकेको ३८ वर्षपछि म अन्टार्कटिका पुगेँ । तर, उहाँपछि पुग्ने दोस्रो व्यक्ति भने म होइन । यसबिच थुप्रै नेपाली गएका छन् । अन्टार्कटिका अन्तभन्दा फरक ठाउँ हो । त्यसबारे नेपालीलाई कम जानकारी भएको र नेपालीमा पनि कमै लेखिएको छ कि जस्तो लाग्यो । त्यसैले ‘अक्षत अन्टार्कटिका’ लेखेको हुँ । अर्को कुरा १२ दिने यात्रामा अधिकांश समय पानीजहाजमै बित्यो । दिनमा दुईपटक मात्रै अन्टार्कटिकाको भुइँमा ल्यान्डिङ गराए, केबल दुई–अढाइ घण्टा घुम्न दिइन्थ्यो । दुई–अढाइ घण्टाबाहेक अरू समय प्रशस्तै थियो । त्यही समय सदुपयोग गर्दै आफूले देखेका, अनुभूत गरेका तरोताजा विवरण टिप्दै गएँ । त्यहाँबाट फर्केपछि अन्य किताब र इन्टरनेटबाट थप सूचना लिएँ । यसो गर्दागर्दै एउटा किताबलाई पुग्ने खुराक तयार भयो । 

 

अहिलेसम्म कतिजति नेपाली त्यहाँ पुगेका होलान् ?

 

संख्या त यकिन भएन । तर, धेरै नेपाली पुगिसकेका छन् । हामी त अन्टार्कटिकाको एउटा सानो क्षेत्रमा मात्रै पुगेका हौँ । दक्षिणी ध्रुव झन् विकट मानिन्छ । त्यहाँसमेत नेपाली पुगेको थाहा पाएको छु । त्यसमाथि अहिले कतिपय विभिन्न सेमिनार तथा मिटिङका लागि समेत आसपासका देश पुग्ने गरेका छन् । अनि यहाँसम्म आएपछि एकचोटि अन्टार्कटिका पनि पुगेर जाऔँ भन्छन् । अर्थात्, अन्टार्कटिका पुग्ने अरू नेपाली पनि छन् । 

 

मकरस्नान गर्ने देश नेपालदेखि हिमस्नान गर्ने देश रुस हुँदै ध्रुवीय स्नान गर्न अन्टार्कटिकासम्म पुग्नुभयो । खासमा तपाईंलाई यात्राको लत कसरी लाग्यो ?

 

मानिसको स्वभाव नै यात्रा गर्ने हो । यो अहिले मात्रै होइन, परापूर्वकालमा समेत हुन्थ्यो । हाम्रा पुराण वा ग्रन्थ हेर्‍यौँ भने पनि ऋषिमुनिले थुप्रै यात्रा गरेको पाइन्छ । पूर्वीय ग्रन्थमा पनि ‘चरैवति, चरैवति’ अर्थात् हिँड्दै गर भनिएको छ । वैज्ञानिक हिसाबले हेर्ने हो भने पनि हाम्रै पुर्खा अफ्रिकाबाट मानव विकास हुँदै छरिएर संसारभर पुगेका थिए । त्यसैले पनि घुम्नु सबैको रुचिको विषय हो जस्तो लाग्छ । मलाई पनि बाल्यकालदेखि नै नयाँ ठाउँ हेर्न र घुम्नमा रुचि थियो । पछि म अध्ययनका क्रममा सन् १९८६ मा रुस पुगेँ । फरक ठाउँ, फरक परिवेशको रुस घुमेँ । मेरो अन्तर्राष्ट्रिय घुमाइ त्यहीँबाट सुरु भयो । 

 

घुम्ने लत कतिसम्म थियो भने विश्वविद्यालयमा पढ्दै गर्दा छुट्टी हुन्थ्यो । छुट्टीका वेला कहिले एक्लै त कहिले साथीभाइ मिलेर घुमिन्थ्यो । सहकालको समय भएकाले थोरै पैसाले पनि युरोपका विभिन्न देश सजिलै घुम्न सकिन्थ्यो । अहिलेजस्तो भिसाको कठिनाइ पनि थिएन त्यतिवेला । यो घुमाइ अहिले एउटा मिठो लतमा परिणत भएको छ, जसले मलाई पृथ्वीका अनेक कुनामा पुर्‍याइरहेको छ । 

 

जीवा लामिछानेको तेस्रो कृति ‘अक्षत अन्टार्कटिका’ सार्वजनिक गरिँदै ।

 

एकातर्फ तपाईं उद्योगी–व्यवसायी हुनुहुन्छ, जुन अर्थतन्त्रसँग प्रत्यक्ष जोडिन्छ । यस्तै अर्कातर्फ साहित्य सिर्जना गर्नुहुन्छ, जुन मानवीय दृष्टिकोणबाट अत्यन्तै नजिक मानिन्छ । मानवीय दृष्टिले कठोर मानिने अर्थतन्त्र र कोमल मानिने साहित्यबिच व्यावहारिक जीवनमा कसरी तादाम्यता मिलाउनुहुन्छ?

 

मलाई के लाग्छ भने मानिसले जुन पेसा–व्यवसाय सम्हाले पनि दया, करुणा, क्रोध यी सबै संवेदना सबैसँग हुन्छन् । फरक यत्ति हो, कसैमा धेरै होला, कसैमा कम । व्यापार–व्यवसायमा लागेका मानिस डुबेरै लाग्छन् । मैले पनि पहिले त्यस्तै गर्थें । तर, मलाई लाग्यो, मान्छे जिउने त आफ्नो खुसीका लागि, रुचिका लागि हो । त्यसैले आफ्नो खुसी र रुचि के हो त्यसलाई पनि समय छुट्याउनुपर्छ भन्ने लाग्यो ।

 

व्यवसाय भनेको सिस्टमले, अटो पाइलटले चल्नुपर्छ भन्ने मान्यता राख्छु । केही समयसम्म आफूले नियन्त्रणमा राखे पनि एउटा बिन्दु आएपछि सिस्टममा छोडिदिनुपर्छ । सेल्फ डिसिजन मेकिङ, मनिटोरिङ गर्ने ठाउँमा बसेर बाँकी सबै सिस्टममा छोडिदिने हो भने समय व्यवस्थापन गर्न गाह्रो छैन । त्यसो हुँदो आफ्नो खुसी र रुचिका काम गर्न सकिन्छ । समय व्यवस्थापन नै ठुलो कुरा हो । केलाई प्राथमिकता दिने र केलाई छोड्ने भन्ने हो । त्यहीअनुसार मैले मेरो रुचिको कामलाई अलि बढी समय दिने गरेको छु । यसमा परिवारले पनि सधैँ साथ दिएको छ । 

 

संघर्षका वेला मानिसलाई एक अहोरात्र पनि ४८ घण्टाको भइदियोस् भन्ने लाग्छ । तपाईंलाई पनि भयो होला । तर, एउटा चरणमा पुगेपछि र सबै पुग्यो भन्ने लागेपछि रुचिका काम गर्न पाइने वा फिरन्ते भएर घुम्न निस्कन सकिने हो ?

 

त्यसो त हुँदैहुँदैन । कसैले पनि धनदौलतले पुग्यो भन्दैभन्दैन । किनकि यो त मृगमरिचिका हो । जति भए पनि कमै हुन्छ । तर, तपाईं कतिमा सन्तुष्ट हुने भन्ने कुरा मुख्य हो । यसमा एउटा बोर्डर लाइन राखेर चल्ने अनि यति भएपछि पुग्छ भन्ने र सन्तोष लिने हो । नत्र त यो प्यास अनन्त छ । 

 

वैज्ञानिकहरूले अन्टार्कटिकाको पश्चिमी भागमा तीव्र गतिले हिउँ पग्लिइरहेको भनिरहेका छन् । यो जलवायु परिवर्तनको असर हुन सक्छ । तपाईं आफूले पनि त्यहाँ हिउँ पग्लिएको र कतिपय ठाउँमा नांगा पहाड देखेँ भन्नुभएको छ । पर्यटन उद्योग फस्टाउँदै गर्दा र प्रकृतिमाथि दिन–प्रतिदिन मानव अतिक्रमण बढ्दै जाँदा अन्टार्कटिकाको अस्तित्व साँच्चै संकटमा छ भन्ने लाग्दैन ?

 

पछिल्लो समय अन्टार्कटिकासहित विश्वमा जलवायु परिवर्तनप्रति सचेत समुदाय बढ्दै गएको छ । त्यसको प्रत्यक्ष अनुभव त्यहाँ पुगेर अनुभव गरेँ । औद्योगिक विकास चरमचुलीमा पुगेका देशका कारणले नै हो, ओजन तह खिइँदै गएको र जलवायु परिवर्तन भएको । यद्यपि उनीहरू पनि यसप्रति एकदमै सजग छन् । पर्यावरण बचाउनुपर्छ भन्नेमा सचेत छन् । त्यसकारण पनि म निराश छैन । संसारभर पर्यावरणमैत्री दिगो विकास, पर्यावरणमैत्री पर्यटन, हरित पर्यटनका प्रयास भइरहेका छन् । पहिले अनन्त प्राकृतिक दोहन गरिए पनि अब भने त्यसलाई नियन्त्रण गरिनुपर्छ भन्ने धेरैले आत्मसात् गरेको पाएको छु । त्यसकारण पनि आसै मारिहाल्नुपर्ने ठाउँचाहिँ म देख्दिनँ । 

 

किताबको वर्णनअनुसार अन्टार्कटिकाको सुन्दरता अद्भूत छ । कहीँकतै फोहोर छैन, प्रकृतिलाई कुनै असर पुर्‍याइएको छैन । यता हामीकहाँ पनि हिमसुशोभित सगरमाथा छ । बर्सेनि पर्यटक आरोहण गर्छन् । तर, दुःखद के भने, ती क्षेत्रबाट टनका टन प्लास्टिकजन्य फोहोर संकलन गरिएका समाचार आउँछन् । हाम्रा आधार शिविर, सगरमाथालाई बचाउन अन्टार्कटिका मोडल लागू गर्न सकिन्न ?

 

त्यहाँको जुन प्राकृतिक सुन्दरता छ, त्यसले डिस्टर्ब हुने कुरै भएन । पर्यटक भएर त्यहाँ जाँदा पनि अन्टार्कटिका टुर अप्रेटर्स अर्गनाइजेसनले जुन नियम बनाएको छ, त्यसैलाई सबैले पछ्याइरहेका छन् । जुत्ता स्यानिटाइज गर्नुपर्छ । खल्तीमा भएका बिउबिजन त्यहाँ उम्रिन वा त्यसले रोग सार्न सक्छ भनी भ्याकुम लगाएर सफा गर्ने चलन रहेछ । त्यसैगरी प्लास्टिकलगायत चिजबिज पनि लैजान नपाइने रहेछ । त्यहाँ पुगेपछि थाहा पाएँ प्रकृतिलाई कुनै असर नपुर्‍याई पर्यटक लैजान सकिँदो रहेछ । कसैले नीति–नियम बनाइदिएको छ, तर पालना गराउने कुनै निकाय छैन । त्यति हुँदाहुँदै पनि जसले नियम बनायो, त्यसैलाई सबैले पालना गरेका छन् । हामीकहाँ त यस्ता नियम पालना गराउने निकाय नै खडा गरिएका छन् । हामीले हरित पर्यटन र दिगो पर्यटन कुरा गर्दै गर्दा त्यसो गर्न जरुरी भइसकेको छ । पर्यावरणलाई बचाउने हो भने यी सबै कुरालाई मध्यनजर गरी राज्यले नीतिनियम बनाएर कडाइपूर्वक लागू गराउनेतिर जानुपर्छ । राज्यले चाहेमा अन्टार्कटिका मोडल नेपालमा पनि लागू गर्न सक्छ । 

 

ताना शर्माले नेपालका ग्रामीण भेगदेखि बेलायतसम्म पुगेर नियात्रा लेखे । प्रतीक ढकालले हिमाल घुमे, लेखे । युवराज नयाँघरेलगायतले पनि लेखिरहेकै छन् । यात्रावृत्तान्त, यात्रासंस्मरण, जसलाई गैरआख्यान पनि भन्न सकिन्छ, यो विधातर्फ पाठकको रुचि पनि बढ्दै गएको देखिन्छ । एउटा नियात्राकारका हिसाबले यो विधाप्रति तपाईंको जिम्मेवारी के हो ? 

 

मैले भन्दै आएको छु कि म सिकारु लेखक हुँ । केही कुरा लेख्ने अभ्यास पनि हुँदै गएको छ । यही कारण म लेख्छु । तर, यति हुँदाहुँदै पनि आफूलाई व्यवसायी नै मान्छु । लेखन मेरो रुचिको क्षेत्र हो । त्यसैले यसलाई मैले जिम्मेवारी वा योगदानका हिसाबले लिएको छैन ।