
बुद्धको मूल सन्देश ‘अप्प दीपो भव’ अर्थात् तिमी स्वयं प्रकाश हौ, आफैँ प्रकाशित हुन सक्छौ, प्रकाशित होऊ । त्यो प्रकाश इन्द्रेणीझैँ शान्ति, ऊर्जा, जागृति, सजगता, समता, साक्षी भाव, आनन्द, दया, करुणा, प्रेम र श्रद्धामा प्रकाशित हुन्छ ।
बुद्धले हरेक मानिसभित्र शान्ति र आनन्द रहेको र यसलाई खोज्ने ज्ञान र विधि दिए । मानिसहरू वृद्धावस्था, बिमार र मृत्युबाट दु:खी भएको देखेपछि शान्तिको खोजीमा उनले दरबार छाडेका थिए । यसपछिको तप ध्यानबाट प्राप्त अनुभव र अनुभूतिको आधारमा बुद्धले शान्ति र आनन्द खोज्ने ज्ञान र विधि पत्ता लगाएका हुन् । ‘ज्ञान’ हो चार आर्य सत्य र ‘विधि’ विपश्यना ध्यान ।
बुद्धले आफ्नै जीवनमा शान्ति र आनन्दको अनुभूति गरेर मात्र ज्ञान र विधि हात पारेका हुँदा हरेक मानिसले आफैँले अनुभूति गरेपछि मात्र उसलाई शान्ति र आनन्द बोध हुन्छ । सांसारिक कुरामा फसेर अशान्त र दु:खी भएको पत्ता लगाउँदै बुद्धले मानिसलाई आफैँभित्र फर्किन प्रेरित गरका हुन् । शान्ति दुईथरी हुन्छ । पहिलो भित्री र दोस्रो बाहिरी । बाहिरी परिस्थिति ठिकठाक हुँदा बाहिरी शान्ति प्राप्त हुन्छ । राग, द्वेष र मोहमा नफसी सुखद र दु:खद संवेदनाप्रति समता र साक्षी भावले निरीक्षण गर्दा आफूभित्रैबाट प्राप्त हुने भित्री शान्ति हो । बाहिरी शान्ति परिस्थिति तलमाथि परेपछि भंग हुन्छ । भित्री शान्ति मानिसले जस्तोसुकै परिस्थितिमा पनि अनुभूति गर्न सक्छ ।
शान्तिले चित्त निर्मल बनाउँछ । निर्मल चित्तले प्रेम, करुणा र दया जगाउँछ । प्रेम, करुणा र दयाले अरूको स्वभावको चक्कर र टक्करबाट मुक्त गराउँदै आफ्नो स्वभावमा जिउने कर्म गराउँछ । बुद्धले चार आर्य सत्य– दु:ख छ, दु:खको कारण छ, कारणको निवारण छ र निवारण अष्टाङ्गिक मार्ग पत्ता लगाए ।
दु:ख निवारणका अष्टाङ्गिक मार्ग सम्यक् दृष्टि, सम्यक् संकल्प, सम्यक् वाक (वाणी ), सम्यक् कर्म, सम्यक् आजीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति र सम्यक् समाधि उजागर गरे । विज्ञान प्रविधिको वर्तमान युगमा मानिस सफल हुने सूत्र भनी पश्चिमा विद्वान्ले औँल्याउने गरेका दूरदृष्टि, प्रतिबद्धता, सञ्चार सीप, क्रियाशीलता र सफल हुने बानीको विकास बुद्धले देखाएको अष्टाङ्गिक मार्गबाट सापटी लिएका हुन्, जो अपूरा छन् । सम्यक् स्मृति र सम्यक् समाधि अर्थात् सजगता र ध्यान छुटाएका छन्, अहिलेका विद्वान्ले । फलस्वरूप भौतिक उन्नतिको शिखरमा पुगे पनि मानसिक रोगी भए, साधनस्रोत निरर्थक रहे । किनकि, मानिसले आफ्नो धर्म गुमायो । धर्म हो स्वभाव । कागती अमिलो र अग्नि तातो स्वभावको भएजस्तै शान्ति र आनन्द मानिसको स्वभाव हो । बुद्धले सच्चा धर्मको मार्गशील समाधि र प्रज्ञा हो भन्ने देखाएका छन् । शील समाधि र प्रज्ञाको मार्गमा चल्नेले स्वतः शान्ति र आनन्द प्राप्त गरेको स्वअनुभूति गर्छ पनि । प्राणी हिंसा नगर्नू, चोरी नगर्नू, झुटो नबोल्नू, व्यभिचार नगर्नू र नशालु पदार्थ सेवन नगर्नू जस्ता सदाचार नै शील हो ।
सदाचार पालनामा चित्त एकाग्र गरी वर्तमान अवस्थामा मन टिकाउनु समाधि (ध्यान) हो । म, मेरो र प्रिय–अप्रिय लाग्ने रागद्वेषबाट अलग भई प्रत्येक व्यक्ति, वस्तु र स्थितिलाई जस्तो छ, त्यस्तै रूपमा समता भावले हेर्ने अभ्यास गर्नु प्रज्ञा हो । सुख शान्तिपूर्वक जीवन जिउने आधार नै धर्म भएकाले धर्म धारण गर्नु अनिवार्य छ । त्यसैले संस्कृतमा ‘धारणा इति धर्म’ अर्थात् धारणा गर्नु धर्म हो भनिएको हो । मन, वचन र कर्मलाई निर्मल चित्तले निरीक्षण गरिरहने अभ्यास नै धर्म धारण हो । त्यस्तै संस्कृतमा अर्को प्रशिद्ध श्लोक छ, ‘धर्म रक्षति रक्षतः’ अर्थात् जसले धर्मको रक्षा गर्छ, उसको रक्षा धर्मले गर्छ ।
धर्म शान्ति प्राप्तिको मार्ग हो, प्रकृतिको नियम हो, समता हो, सरलता हो, सत्य हो । सहारा धर्म हो, होसियारी र जागृति धर्म हो, मानवता धर्म हो । प्रकृति नै सृष्टिकर्ता हो । तिमी आफैँभित्र रहेको दया, करुणा, प्रेम, श्रद्धाजस्ता गुण नै भगवान् अर्थात् भगवान् तिमी स्वयं हौ । मूर्ति, मन्दिर, चर्च, मस्जिद, गुम्बा त भगवान्का गुण सुझाउने प्रतीक मात्र हुन् । ती प्रतीक नै ईश्वर हुन् भन्ने भ्रममा नपर । आफैँभित्र नियालेर क्षमता, प्रतिभाका गुणरूपी भगवान् चिनेर सदुपयोग गरी शान्त र आनन्दित बन भन्ने शिक्षा हो बुद्धको सन्देश ।
२५ सय वर्षअघि बुद्धले प्रतिपादन गरेको शिक्षा र सन्देश समयक्रममा विभिन्न व्यक्तित्वले भिन्नभिन्न रूपमा प्रस्तुत गरेको देख्न, सुन्न, पढ्न पाइन्छ । अध्यात्म अध्येता जिद्दु कृष्णमूर्ति सच्चाइ जान्नका लागि विनापूर्वाग्रह र द्वन्द्वरहित भएर स्वयंलाई अवलोकन गर्नुपर्छ, बाहिरी सिस्टमद्वारा जान्न सकिँदैन भन्छन् । उनको आत्मदर्शनले कुनै पुस्तक, कुनै विद्यालय र गुरुले सत्यसम्म पुर्याउन सक्दैन, कुनै परम्परा, धार्मिक विचार र दैवीशक्तिले पनि सत्यसम्म पुर्याउन सक्दैन, केवल गुमराहमा राख्छन्, सत्यसम्म पुग्ने अन्य कुनै मार्ग छैन भन्छ । एउटा चिजबाट स्वतन्त्र हुनासाथ अर्को चिजमा बाँधिने मानवलाई सच्चा स्वतन्त्रता दिलाउँदै भूत र भविष्यमा नफसी वर्तमानमा जीवन जिउन प्रेरित गर्दै मानवताको सही मार्ग देखाउनु कृष्णमूर्तिको आत्मदर्शनको मुख्य उद्देश्य देखिन्छ, जुन बुद्धको मूल सन्देश हो ।
भागवत् गीताको दोस्रो अध्यायको ४५औँ श्लोकमा श्रीकृष्णले चिन्ता र तनावग्रस्त अर्जुनलाई ‘त्रैगुण्यविषया वेदा निस्त्रैगुण्यो भवार्जुन । निद्र्वन्द्वो नित्यसत्वस्थो निर्योगक्षेम आत्मवान्’ भनेका छन् । अर्थात्, सत्व, रज र तम तीन गुणको संयोगले बनेको तिम्रो शरीरभन्दा पर (मनको गहिराइमा) जाऊ, शान्ति पाउँछौ भनी समत्वभावमा रहने उपदेश दिइएको छ । आफ्नो स्वाभाविक अवस्था अनुभव गर्न भित्र होऊ, आफैँलाई नियाल भनिएको हो । आचार्य सत्यनारायण गोयन्काले मानिसमा उत्पन्न हुने सुखद र दु:खद संवेदनाप्रति शान्त सजग र समता भरिएको चित्तले साक्षी भावमा निरीक्षण गर्न लगाई राग, द्वेष र मोहजस्ता विकारबाट मुक्त रहने बुद्धको शिक्षा र विपश्यना ध्यानको साधना भारतलगायत अन्य मुलुकमा फैलाएको पाइन्छ । स्वामी विवेकानन्दले चार आर्य सत्यको बुद्ध शिक्षा वैज्ञानिक छ भन्ने टिप्पणी गरेका छन् । ओशोले जगत्को गतिशीलता स्वीकार गर्दै आफू र अस्तित्वबिच समरसता भाव राख्नु नै शान्ति हो भनेका छन् । महर्षि रमणले नेतिनेति गरी शरीरका सबै अंग र नाम म होइन भन्दै म खोज्दै जाँदा सच्चिदानन्द स्वरूप भेटिन्छ भनी विषयवस्तुतर्फ नदौडी आफँैलाई अवलोकन गर्दा शान्ति र आनन्द प्राप्त हुने रहस्य खोलेका छन् । हाम्रो देशमा विगतदेखि जीवन विज्ञान विशेषज्ञद्वय रमेश नेपाल र एलपी भानु शर्माद्वारा बुद्धको शिक्षासमेत समेटेर योगध्यानको साधना गराउँदै आइएको छ । रमेश नेपालद्वारा लेखिएको मैले मलाई भेटेको दिन सम्झी–सम्झी मन हुन्छ फुरुंग भन्ने गीतले बुद्धको सन्देश बोकेको छ । गीतमार्फत मनको ढोका खोलेर भित्र पसी शान्ति र खुसी भेट्न, आफूभित्र रहेको मूल ज्योतिबाट प्रकाशित हुन र सजगताले क्षण सपार्दै वर्तमानमा बाँच्न उपदेश दिइएको छ ।
हाम्रो देश पुनः राजावादी र गणतन्त्रवादीको युद्धमैदान बनेर अहिलेसम्म बचेको नेपालको अस्तित्व संकटमा पर्ने हो कि भन्ने आशंका जन्मेको आजको पेचिलो अवस्थामा बुद्धको सन्देशको सान्दर्भिकता बढेर गएको छ । स्वदेशमा केही हुँदैन, विदेशै ताक्नुपर्छ भन्ने नकारात्मक भावले ग्रसित भई चिन्ता र तनावमा रहेका युवामा सकारात्मक भाव र शान्ति प्रतिस्थापित गराई तनाव र चिन्तामुक्त गराउने अचुक अस्त्र नै बुद्धको सन्देश र शिक्षा भएको हँुदा बुद्धको सन्देश मुलुकका लागि सान्दर्भिक मात्र होइन, अनिवार्य आवश्यकता बनेको छ ।
अन्त्यमा, बुद्धले शान्तिका लागि महल परित्याग गरे, हामीले महलका लागि शान्ति गुमाउँदा अनेक समस्याले घेरिएका छौँ । असल मानिस बनाएर जीवनको मूल्य बढाउने शील समाधि र प्रज्ञा(सच्चा धर्म) लोप हुँदै हिन्दु, बौद्धजस्ता धार्मिक सम्प्रदाय हाबी हुन पुगी अशान्त र द्वन्द्वग्रस्त भएको आजको समाज शील समाधि र प्रज्ञा पुनर्वहाली गरेर मात्र शान्त हुनेछ । सच्चा धर्मले मानिसमा आफूमा अरू, अरूमा आफू देख्ने तथा सुखद वा दु:खद परिस्थितिलाई समता र साक्षी भावले निरीक्षण गर्दै अविचलित रहने क्षमता विकास गरिदिन्छ । समताको गुणले मानिसको अहंभाव नाश हुन्छ । अहंतारहित व्यक्तिले ‘म’ र ‘तँ’ का पक्षपाती दृष्टिकोण हटाउँदै सबैको भलाइका लागि धनी, गरिब र जातीयतालगायत उँच–निचको पर्खाल भत्काउँदै सहयोग, सद्भाव, सहकारिता, सहिष्णुता र सौहार्दपूर्ण वातावरण सिर्जना गर्छ ।
देशको समस्या समाधान गर्न सबै पक्षले योगदान गर्न सक्ने सच्चा समावेशी स्वच्छ राजनीतिको विकास आवश्यक छ । वादको अवाञ्छित प्रतिस्पर्धा विनाशकारी हुनेछ । स्वच्छ राजनीतिले नेपाली सम्मृद्धिको ढोका खोल्नेछ । बुद्धको शिक्षा र सन्देशमा स्वच्छ राजनीति फुल्ने र फल्नेछ ।